'कुनै पनि देशको विकासको वास्तविक अवस्था हेर्न त्यस देशको सार्वजनिक यातायातको अवस्था के छ भनेर हेरे पुग्छ।'
यो वाक्य मैले धेरै वर्षअगाडि कुनै किताबमा पढेको थिएँ। किताबको नाम अहिले बिर्सेँ।
लाग्छ- म लगायत हामीहरू बिर्सन खप्पिस छौं। दैनिक जनजीवनमा विभिन्न घटनाहरू भई नै राखेका हुन्छन्। केही घटनाहरू मन-मस्तिष्क हल्लाउने खालका हुन्छन्। जुन हामीलाई लाग्छ, हामी सधैं सम्झिरहने छौं।
तर कालखण्ड बित्दै जाँदा हाम्रो स्मृतिबाट ती घटना पनि धमिलो हुँदै बिलाएर जान्छन्। मान्छेको यही स्वभावलाई कसै कसैले 'मूभ अन' भन्ने गरेका छन्। तर केही घटना र भोगिएका पलहरू बिल्कुलै बिर्सिन नसकिने खालका हुन्छन्। 'मूभ अन' त परै जाओस्।
आज एउटा यस्तै 'मूभ अन' गर्न नसकेको घटना तपाईंहरूलाई सुनाउँदैछु।
तौलिहवाको कपिलवस्तु अस्पताल आजकालको मेरो कर्मथलो हो। पाटन अस्पतालबाट एमडी गर्ने सिलसिलामा केही महिने पोस्टिङमा म यता खटिएको छु।
मसँग यतै काम गर्ने एक जना साथीले तौलिहवाको उच्च गर्मीबाट आलसतालस भएर एकदिन फेसबुकमा लेख्यो- बजारबाट मकै किनेर ल्याएको, कोठा आइपुग्दा पपकर्न भइसकेछ।
मैले उसको पोस्टमा आलसतालस हुँदै 'हाहा' कमेन्ट लेखेँ।
हुन पनि तौलिहवाको गर्मीको कुरा गरी साध्य छैन। दिनमा चार खेप नुहाइन्छ, पसिना कति बग्छ कति। एउटा रमाइलो कुरा के छ भने डाक्टरहरू 'पसिना बगाउनुस्, वजन घट्छ' भन्छन्, तर त्यो पसिना त कसरत गरेर आउने पसिना हो। तौलिहवाको गर्मीमा आउने खलखल्ती पसिनाले शरीरको बोसो घटाउँदो हो त, ज्यानमा हाडछाला मात्रै बाँकी हुन्थ्यो होला!
उष्ण हावापानीमा नबसेकाले पनि यस्तो अवस्था आइपरेको हो भन्ने मेरो बुझाइ हो। नत्र यहाँका स्थानीय बासिन्दाले वर्षौंदेखि गर्मी त पचाएर बसेकै छन्।
भनिन्छ- सत्य शाश्वत हुन्छ। तर यता आएर यो परिभाषा अलिक बेग्लै किसिमले बुझ्दै छु। हरेक मानिसको सत्य एउटै नहुन सक्छ। सत्यको आयाम फरक मान्छेका लागि फरक छ। मलाई पहाड लागेको गर्मी, यस्तो गर्मी पचाइसकेकाहरूका लागि सायद तिल हो।
तौलिहवाको मेरो बसाइमा दैनिक रूपमा कथाहरू भेटिराखेको हुन्छु। पात्रहरू आफ्नो पोल्टामा कथाहरू बोकेर कहिले अस्पतालको ओपिडीमा आइपुग्छन्, कहिले इमर्जेन्सी। कहिले अपरेसन थिएटरमा मलाई कथाले कुत्कुत्याउँछ त, कहिले आइसियूमा।
यी कथाहरू सबै लिपिवद्ध गर्न मन लाग्छ तर धेरैजसो कामको व्यस्तता र थोरबहुत गर्मीले दिने व्याकुलताले कलम अघि बढ्न अटेरी गरिराखेको हुन्छ। हुन पनि गर्मीले दिमाग तातेका बेला सिर्जनात्मक काम, लेखन आदिको गति अलिक सुस्त नै हुने रहेछ। यस्तो भोगाइ सायद मेरो मात्रै होइन होला!
यताको गर्मीबाट थोरै समयको ब्रेक लिन पाउने अवसर मलाई अस्ति वैशाखमा आइपर्यो। काठमाडौंको एउटा बिहेमा सरिक हुन मैले कम्मर पनि कसेँ र झोला पनि। अब प्रश्न आयो उडेर जाने कि गुडेर?
व्यक्तिगत रूपमा भन्नुपर्दा मलाई उड्नभन्दा गुड्न मन पर्छ। तर काठमाडौं पुग्नासाथ 'सुटेड बुटेड' भएर जन्ती जानुपर्ने सत्य मेरोअगाडि थियो। गुडेर जाँदा अनिँदो र थकित भइने, अनि धुस्रेफुस्रे पनि। जन्ती त फ्रेस मुद्रामा जानुपर्छ भन्ने लालचले म उडेर काठमाडौं जाने निर्णयमा पुगेँ।
अनलाइनबाट नाम चलेको एउटा एयरलाइन्सको टिकट काटेँ। अस्पतालबाट दुई दिन बिदा मागेँ अनि हान्निएँ भैरहवा विमानस्थलतिर।
तौलिहवाबाट भैरहवा विमानस्थलसम्म पुग्न करिब एक घन्टा लाग्छ। रिजर्भ गाडीमा जाने हो भने त्यति दुरीको लागि २५ सयदेखि ३ हजार रूपैयाँसम्म ठटाउने चलन रहेछ। सार्वजनिक बसमा चढौं भने विमानस्थल पुग्दा हवाइजहाज उडिसक्ला भन्ने तनाव! एक जना भाइले स्कुटरमा मलाई भैरहवा विमानस्थल पुर्याइदिने भए।
तातो पीचमा गुडिरहेको स्कुटरको अगाडिबाट उसले बोलेको कुरा म कमै सुन्थेँ। तर पनि 'अँ, अँ, त्यस्तो है? बाफ रे!' भन्दै उसको कुरा बुझेजस्तो गर्दै थिएँ। मोटरसाइकल, स्कुटर चलाउने र पछाडि बस्ने बीचको आधा अधुरो गफहरू सम्झियो भने हाँसो लागेर आउँछ।
विमानस्थल पुगेर एयरलाइन्सको काउन्टरमा उभिएँ। मअघि लाइनमा उभिएकाहरू 'आज उड्ला जस्तो छैन, एउटा ल्यान्ड गर्न नसकेर फर्कियो' भनेर कुरा गर्दै थिए। छेउका यात्रुहरू अझै सशंकित देखिन्थे। मलाई पनि केही गलत हुने वाला छ जस्तो आभास हुन थाल्यो। बोर्डिङ पास लिएर भीडभाड छल्दै कुनाको एउटा सिटमा बसेँ। ब्यागको भारी बिसाएँ अनि चारैतिर नियाल्न थालेँ।
नामले अन्तर्राष्ट्रिय विमानस्थल। त्यहाँको अस्तव्यस्तता नाङ्ले पसलेले नाङ्लोमा सामान फिँजाएर राखेको जसरी छरपस्ट देखिन्थ्यो।
एक मन त यसरी पनि चित्त बुझाएँ- यो आन्तरिक टर्मिनल भएकाले यस्तो दुर्गति भएको होला! अन्तर्राष्ट्रिय टर्मिनल त झकिझकाउ होला!
हामी नेपालीले जतासुकै अस्तव्यस्तता पचाउने 'डिफेन्स मेकानिजम' विकास गरेका रूपमा मैले यसलाई बुझेको छु। चुपचाप बस्नु नेपालीको जिनमै जो छ!
साँझ साढे ६ बजेको उडान थियो। साढे चार बजेको जहाज पनि उडेको थिएन। सबै यात्रुहरू तनावमा देखिन्थे। एयरपोर्टमा मेरो आफन्त पर्ने एक जना आमा र उहाँका दुई जना नातिहरू भेटिनु भयो। एक जना नातिलाई भोलि कतारका लागि उड्नु छ, अर्कालाई जापान। जसको मतलब आज जसरी पनि काठमाडौं पुग्नु छ। संयोगबस हामी चारै जना एउटै विमानको यात्रु रहेछौं। मलाई परिरहेको तनावभन्दा आमाका दुई नातिहरूलाई परिरहेको तनाव म स्पस्ट देख्न सक्थेँ।
करिब पौने सात बजे विमानस्थलमा माइकिङ भयो- काठमाडौंको विषम मौसमका कारणले आजका सबै उडानहरू रद्द गरिएका छन्, माफ गर्नुस्!
विमानस्थलमा हाहाकार मच्चियो। कोही एयरलाइन्सलाई गाली गर्न थाले, कोही मौसमलाई त कोही आफ्नो भाग्यलाई।
म भने चिउँडोमा हात राखेर सोच्दै थिएँ- मौसम खराबीमा उडान भर्न नदिनु ठीक। पाइलटको शारीरिक र मानसिक अवस्था तन्दुरूस्त नभए उडान भर्न नदिनु झन् ठीक। तर त्यसपछि अलपत्र परेका यात्रुको उचित व्यवस्थापन खोइ?
अझ दिमागमा के कुरा आयो भने एक जना डाक्टरको हिसाबले कति रात नसुती नसुती, आफ्नै ज्यान बिरामी हुँदा, थकानले चुरचुर हुँदा पनि ड्युटीमा खटिएर बिरामी हेर्नुपरेको अवस्था छ। एउटा थाकेको डाक्टरले पनि त बिरामी हेर्दा दुर्घटना गर्न सक्छ।
किन डाक्टरलाई 'तिमी सुतेको छैनौ, तिमी आराम गर र भोलि बिरामी हेर्न आऊ' भनिँदैन? यो बारेमा सोच्नुपर्ने निकायहरू तैं चुप मै चुपको अवस्थामा छन्। जसरी पनि 'चल्ता है' को नीतिमा स्वास्थ्य क्षेत्र मात्रै होइन सिंगो देश चलेको छ।
आमा, आमाका दुई नाति र म जसरी पनि काठमाडौं पुग्नुपर्छ भन्ने निधोमा पुग्यौं। हामीले बुटवल बसपार्क गएर नाइट बसमा काठमाडौं जाऊँ भन्ने सल्लाह गर्यौं। भैरहवा विमानस्थलबाट ट्याक्सीमा बुटवल बसपार्क पुग्दा लगभग पौने नौ बजेको थियो।
बुटवल बसपार्कका टिकट काउन्टर एकपछि अर्कोमा जाँदा एउटै जवाफ मिल्यो– 'सिट छैन, जाने भए एउटा लास्ट सिट खाली छ, मान्ने भए मुढामा बस्नुस्, काठमाडौं चल्नुस्।'
यस्तो कुरा सुनेर हामी झनै दोधारमा पर्यौं। तर त्यस्तो हविगत तालमा यात्रा गर्न सकिँदैन भन्ने निर्णय गरियो।
आमाका एक जना नाति अलिक चल्तापुर्जा, दुई-तीन ठाउँ फोन घुमाउनु भयो र अन्त्यमा एउटा कार रिजर्भ गरेर बुटवलबाट कान्तिपुरी नगरी जाने निधो भयो। भाडा १५ हजार रूपैयाँ। कारको अगाडि सीटमा आमालाई राखियो अनि हामी तीन जना केटाहरू पछाडि बस्यौं।
कार ड्राइभर निक्कै बोलक्कड थिए। तर पीडित मुद्राका हामी कसैलाई उनको गफ सुन्ने चाख थिएन। जहाज उडेको भए घर पुगेर, परिवारलाई भेटेर, तातो दालभात खाईवरि बिछ्यौनामा पल्टिसक्थ्यौं होला। तर हाम्रो अहिलेको सत्य अर्कै थियो।
केहीबेर शान्त बसेका ड्राइभर करिब दुई घन्टा कार गुडिसकेपछि फेरि बोल्न सुरू गर्छन्, 'तपाईंहरू नआत्तिनु होला है! म एउटा कुरा भन्छु।'
यत्ति भनेर ड्राइभर एकछिन चुप लागे। मान्छेको बानी जे नगर भन्यो त्यही गर्न मन लाग्छ। ड्राइभरले नआत्तिनु भने तर मन त्यसैत्यसै कुरै नसुनी आत्तिहाल्यो।
मैले प्वाक्क सोधिहालेँ- के भन्न खोज्नुभएको हो, लौ भनिहाल्नुस्।
मैले कुरा सक्नासाथ ड्राइभर हाँस्दै बोल्छन्, 'हेर्नुस् म नसुतेको दुई दिन भयो। हिजो पनि यही समयमा ट्रिप लिएर काठमाडौं गएँ। बिहान तीन बजे पुगेँ। फेरि मान्छे लिएर बुटवल आइपुगेँ दिउँसो १२ बजे। निद्रा त लागेको थियो तर साथीहरूसँग बसेर तास खेल्न थालियो। तपाईंहरूले फोन गरेपछि म त तासको खाल छाडेर आएको हुँ।'
यति कुरा सकेर उनले एकचोटि लामो हाइ गरे। ड्राइभरको त्यस्तो कुरा र क्रियाकलाप देखेर झसंग भइयो। अगाडि सिटमा बस्नुभएकी आमा जहान-परिवार सम्झेर खुइय खुइय गर्दै हुनु हुन्थ्यो। पछाडि बसेका हामी तीन जना चाहिँ एकअर्कासँग मुखामुख गर्दै थियौं।
स्कुल पढ्दा एक जना गुरुले भन्नु हुन्थ्यो- देशका ड्राइभर अर्थात् नेता गतिला भएनन् भने देश खाडलमा जाकिन्छ।
यही कुरा सम्झँदै सम्झँदै मैले सोचेँ- हाम्रो ड्राइभरको यस्तो पाराले हामी कुन खाडलमा जाकिने हो वा कुन नदीमा डुब्ने हो!
एकैछिनमा आमाका ती नातिले गाडी रोकौं र खाना खाऊँ भन्ने प्रस्ताव अघि सारे। ड्राइभरले दाउन्ने पुगेर खाना खाने र पुग्नलाई करिब आधा घन्टा अझै लाग्ने भने। अब भने अघिदेखि जहाज नउडेको विषादमा परेका हामी मच्चीमच्ची गफ गर्न थाल्यौं। आमाका दुई नातिले वैदेशिक रोजगारका भोगाई पालैपालो सुनाए। म बीचबीचमा पत्रकार जसरी संवाद र प्रश्नका शृंखला अघि बढाउँदै थिएँ। अब मेरो पालो आयो गफ गर्ने।
मैले पनि रफ्तारमा गफ गरेँ। अब पालो थियो ड्राइभरको। उनलाई पनि हामी मन नलागी नलागी जन्मथलोदेखि परिवारसम्मका यावत कुराहरू सोध्न थाल्यौं। यसरी गफ गर्नुको सिर्फ एउटै उद्देश्य थियो- स्टेरिङ घुमाइरहेका ड्राइभरलाई निदाउन नदिने!
गाडी रोकियो। हामी दाउन्ने पुग्यौं। बिग्रेको बाटोमा कारको यात्रा। जिउ थिल्थिलो भइसकेको थियो। एकछिन हातखुट्टा तन्काएर हामी खाना खान थाल्यौं। खानाको थालीमा प्याजको टुक्रा थियो। प्याजले निद्रा लगाउँछ, जुन हाम्रा लागि हानिकारक थियो। झन् ड्राइभरका लागि त अति नै हानिकारक!
तर अचम्मको कुरा के भने ड्राइभर थपीथपी प्याज चपाइरहेका थिए। यस्तो दृश्य देखेर मेरो त लगभग सात्तो नै गयो। आमाका नातिहरूको त झनै!
होटल साउनीले ड्राइभरले त्यसरी प्याज थपेको देखेर बोलिन्- ओइ, त्यसरी नखा प्याज! खोलामा लगेर हाल्लास् गाडी!
यो सुनेपछि झन् हंसले ठाउँ छाड्यो। म र आमाका नाति मिलेर ड्राइभरलाई तपाईं एक-दुई घन्टा यतै आराम गर्नुस्, अलि फ्रेसमा जाऊँ भनेर कुरा राख्यौं।
हाम्रो कुरा सुनेर उनी जोडले हाँसे र भने- नडराउनुस् न! ड्राइभरी लाइफ यस्तै हो, सधैं कहाँ पुग्छ र निद्रा! मलाई ठीक छ। बरू गई हालौं, फेरि काठमाडौं पुगेर यता छिट्टो फर्किनु छ मलाई।
हामी मन अमिलो पार्दै फेरि कार चढ्यौं। गाडी गुडेको लगभग आधा घन्टामा आमाका एक जना नाति घ्वारघ्वार घुर्न थाले। मलाई पनि निद्रा आइरहेको थियो तर समयकाल ठीक छैन भन्ने सोच्दै निदाइनँ।
करिब ४५ मिनेट गाडी गुडेपछि पछाडिको सिटबाट यसो ड्राइभरलाई हेरेको त उनी त झुल्दै पो रहेछन्। त्यसपछि म जोडले कराएँ र गाडी रोक्न भनेँ। यसरी बरू नजाऊँ भनेर ढिपी कसेँ। दस मिनेटपछि एउटा पसलमा गाडी रोकेर ड्राइभरले दुइटा रेडबुल घटघट खाए अनि मुखमा पानपराग राखे। उनका अनुसार रेडबुलले निद्रा भगाउँछ रे!
गाडी फेरि गुड्यो। यसपालि मैले मेरो मोबाइलमा ठूलो आवाजमा गीत बजाएँ। कारमा ब्लुटुथ थियो। पछि त्यसमा गीत घन्काउन थालियो। डाइभर गीतहरू सँगैसँगै गाउँदै थिए। उनी अघिभन्दा फ्रेस देखिन्थे।
गाडी रोकेर एकछिन चिया खाने कुरा चल्यो। धार्केमा गाडी रोकेर आमा, आमाका नातिहरू र म चिया खान लाग्यौं। ड्राइभर कता गएछन् भनेर एकछिन खोजी भयो। यसो हेरेको त पसलभित्रको खाटमा लमतन्न परेर उनी घ्वारघ्वार घुर्दै थिए। म र आमाका नातिहरू मिलेर ड्राइभरलाई एक-डेढ घन्टा सुत्न दिने सल्लाह गर्यौं।
एकछिन सुतेर उठेपछि उनी बढी फ्रेस देखिए। त्यसपछि हामी काठमाडौंतिर हानियौं। नागढुंगा आइसकेपछि हामीले ड्राइभरलाई गाली गर्यौं। यसरी जोखिम उठाएर यात्रा गर्नु-गराउनु गलत हो भन्यौं। तर देशका ड्राइभरहरूले जनताको कुरा गम्भीरताका साथ नलिएजस्तै उनले पनि हाम्रो कुरालाई जोक र हाँसोमा उडाइदिए। हामी चार जना धन्नधन्न सकुशल आ-आफ्नो निवासस्थान पुग्यौं। लाग्दै थियो कुनै युद्ध जितेर आएजस्तो।
समाचारका हेडलाइनहरूमा दैनिकजसो सवारी दुर्घटनाका कुराहरू आइरहेका हुन्छ्न्। कहिले ड्राइभरको सनक, कहिले सवारीको थोत्रोपन र दुर्गति त कहिले अत्यधिक गति। कारणहरू विभिन्न छन् तर निवारणका पहलकदमीहरू निकै सुस्त छन्। त्यसैले अनाहकमा कैयनले आफ्नो अमूल्य जीवन गुमाउनु परिरहेको अवस्था छ। यसमा ध्यान दिनुपर्ने निकायहरू मौन छन्। नागरिकले दैनिक जसो हत्केलामा ज्यान राखेर हिँड्नुपर्ने अवस्था छ। यो अस्तव्यस्तताको अन्त्य कहिले हुने हो, अन्यौल छ।
काठमाडौंको बिहेमा जन्ती जाँदा म अनिँदो र थकित मुद्रामै थिएँ। मेरो हालत देखेर कतिले भने- डाक्टरको लाइफ गाह्रो छ है, कामको, पढाइको प्रेसर!
तर उनीहरूमध्ये धेरैलाई थाहा थिएन यसपालि म भिन्न खालको 'प्रेसर' खपेर काठमाडौं खाल्डो आइपुगेको थिएँ। र त्यो प्रेसर मैले आफ्नो मुहारबाट लुकाउन सकिराखेको थिइनँ।
बिहे सकेर काठमाडौंबाट तौलिहवा फर्किनु थियो। यसपालि भने मैले गुडेर जाने निर्णय गरेँ।
तपाईंलाई के लाग्छ? मेरो यो यात्रा कस्तो रह्यो होला?
दस घन्टाको बाटो मुग्लिन-नारायणगढ आसपास पहिरो खसेर लगभग ३६ घन्टा लगाएर तौलिहवा पुगियो।
यो कष्टकर यात्रामा पनि कैयन सहयात्री र कैयन कथाहरू भेटेँ। कथाहरू आउने छन्, जोडिँदै गर्नु होला!
शोकलाई शक्ति र तनावलाई शान्तिमा बदल्ने, सायद मेरा लागि यही एउटा लेखाइ जो छ!
सर्वव्यापी बेथिति र तौलिहवाको गर्मीले यत्तिकै उकुसमुकुस।
कसैले सुनोस्, नसुनोस्, ध्यान देओस्, नदेओस्। यत्ति नलेखौं त झनै उकुसमुकुस!
(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)
ट्वीटर: @luintelaayas
(डा. आयास लुइँटेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)