कम्तीमा सत्ताइस जिल्लामा साढे दुई सयजति लागुऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनर्स्थापना केन्द्र खुलेका छन्। तिनलाई बोलीचालीको भाषामा रिह्याब सेन्टर भनिन्छ।
रिह्याबको संख्या बढ्नु समाजका लागि गर्वको विषय होइन। बरू यसको सिधा सन्देश हो- लागुऔषधका प्रयोगकर्ता बढ्दै गएका छन्। दुर्व्यसन फैलिँदो अवस्थामा छ।
कानुनतः बालबालिकालाई त्यस्ता 'रिह्याब'मा राख्न नपाइने हो। तर परिवारै आएर निकै कर गरेपछि सुधारको लागि राखिएकी छन् १३ वर्षीया बालिका। मदिरा खाएर झगडा मात्रै गर्दा परिवारले झेल्न नसकेर सुधार्न ल्याइएकी ६२ वर्षीया महिलासहित केही महिलाहरू। केही किशोरीहरू।
सबैगरी अठार जना उपचाररत नेपालको कुनै एक महिला रिह्याब।
त्यही रिह्याबमा उपचाररतहरूको भीडमा एक १७ वर्षीया किशोरी छिन्। पल्लोपट्टि कुनामा। उनी अलग्गै बसेकी मात्र होइनन्, अरूभन्दा अलग पनि छिन्। हाँसखेल गर्ने उमेरकी। पढे लेखेकी। केही महिनाअघि अनुगमन गर्न गएका बेला मैले परिचय दिएर कुरा गर्न अनुमति माग्दा उनले मुन्टो हल्लाएर सहमति दिइन्।
तिमी के कारणले यहाँ आएकी?
'ड्रग्समा फसेँ। त्यसबाट छुट्कारा पाउन आएकी हुँ।'
कति भएको थियो नि ड्रग्स खान थालेको?
'(मुन्टो निहुराएर) अऽऽऽऽऽऽऽ! एक वर्षजति खाएँ। एघारमा पढ्न थालेपछि।'
एसइईमा राम्रो स्कोर ल्याएर भविष्यको करिअरको बाटो कोर्नुपर्ने बेलामा कूलतको बाटो पक्रिएकी उनलाई सोध्न मन लाग्यो- कुन कुन ड्रग्स खान्थ्यौ?
'ब्राउन सुगर मात्र खाएँ।'
ओहो! पहिलो पटक खाएको समय, ठाउँ याद छ?
'याद छ, सबैथोक। साथीले खाऔं भनेर कर गरी। उसकै घरमा खाएकी हुँ। एकदिन साँऽऽऽझपख।'
कति मात्रा खायौ?
'एक पुडिया। क्वाटर भन्ने रहेछ तेल्लाई।'
क्वाटर भनेको कति हुँदोरहेछ?
'एक ग्रामको एक चौथाई।'
किन हौसियौ त ड्रग्स खान?
'मेरो दादा पनि खान्थ्यो पहिले। पछि त छोड्यो। उसले फोनमा कुरा गरेको सुन्थेँ। मज्जा आएको कुरा गर्थ्यो साथीसँग। कलेजका अरू साथीहरू पनि ड्रग्सका कुरा गरिरहन्थे। डोज भन्थे। स्टिक भन्थे। एक पप हान्ने भन्थे। बोर्डर पारि गएर खाएर आयौं भन्थे। उनीहरूको कुरा सुनेर मलाई पनि ड्रग्स कस्तो हुने रहेछ भन्ने जिज्ञासा हुन थाल्यो। त्यही बेलामा मेरो मिल्ने साथीले खान अफर गरेपछि दुई पटक उसैको घरमा ट्राई गरेँ।'
अनि त्यसपछि?
'पछि मेरो शरीरले नै माग्न थाल्यो। तलतल लागेजस्तो। के नपाए जस्तो, नपुगे जस्तो। छटपटी भएजस्तो। अब किनेरै भए पनि खानुपर्छ भन्ने लाग्न थाल्यो। किन्न थालेँ। थाहै नपाई कुलतमा परिसकेछु।'
तिमीहरू कति जना खान्थ्यौ?
'मेरो कक्षाका चार पाँच जना क्लास मेटहरू नियमित खान्थ्यौं।'
किन्ने चाहिँ कहाँबाट?
'फोन कलको भरमा डिलरहरू घरमा, स्कुलमा, होटलमा, बाटोमा। जहाँ भन्यो त्यही ल्याइदिन्थे।'
अनि ब्राउन सुगर त निकै महँगो हुन्छ हैन? एक ग्रामकै छ सात हजार पर्छ भन्छन् नि!
'हो मैले पनि पाँचदेखि साढे आठ हजारसम्म तिरेकी छुँ।'
तिमी आफैंले कति रूपैयाँ खर्च गर्यौ त?
'एक वर्षमा पाँच, छ लाखभन्दा बढी खर्च गरेँ हुँला।'
त्यत्रौ पैसा एउटा विद्यार्थीले कहाँबाट ल्याउन सक्छ?
'आर्थिक अवस्था राम्रै थियो। ममीसँग माग्थेँ। कहिले कपडा किन्नु छ भनेर। कहिले बुक किन्नु छ भनेर। कहिले साथीसँग घुम्न जाने भनेर। यही कूलतले बहाना बनाउन सक्ने मात्र बनाएन, एक-दुईपटक त घरको सामान चोर्न पनि हिम्मत दिलायो। अहिलेसम्म पनि रिह्याबमा नआएर बाहिरै भएको भए सायद कुनै अपराध पनि गरिसक्थेँ कि? अहिले सम्झिँदा पनि डर लाग्छ।'
बाबाआमा के गर्नुहुन्छ?
'बिजनेस।'
केको?
'जडिबुटीको।'
रिह्याब सेन्टरमा कसरी पुग्यौ त?
धेरै खान थालेपछि दादाले थाहा पाइहाल्यो। बाबामम्मीलाई त थाहै थिएन। धेरै ध्यान दिएन भने अरूले त थाहै नपाउने रैछन्। आफूले पहिले खाएर सुध्रिएको हुनाले मात्र दादाले थाहा पाउन सकेजस्तो लाग्छ। अनि मम्मी बाबालाई भनेर उसैले रिह्याबमा उपचारका लागि ल्याएको हो।'
तिमी रिह्याबमा बस्न मान्यौ त। अप्ठ्यारो लागेन?
'मानेँ। किनकि मलाई रिस उठ्ने, कसैसँग बोल्न मन नलाग्ने, एकोहोरिने समस्या भइसकेको थियो। कसैसँग भेट्न नि मन नलाग्ने। जिन्दगीदेखि वाक्क लाग्न थालिसकेको थियो। ड्रग्स नै संसार हो भन्ने भइसकेको थियो। त्यसैले सुध्रिन सक्छु भनेर यहाँ आएकी हुँ। तीन महिनाजति हुन लाग्यो। ती कुराहरू नमिठा सपना ठानेर बिर्सिइसकेँ। त्यो बाटो छोडिसकेँ। यहाँबाट निस्किएर खादिनँ। पढाईलाई निरन्तरता दिन्छु। करिअर बनाउँछु।'
ड्रग्समा फसेकी केटीको सन्देश
'ड्रग्स खान सबभन्दा पहिले साथीले सिकाउने रहेछन्। पछि त आफू एकजनाले खान अरू दुई-तीन जनालाई बेच्नुपर्ने रहेछ। सुरूसुरूमा ड्रग्स साथीलाई बेच्न सजिलो हुने भएकाले साथीबाट बच्नुहोस् भन्छु। ड्रग्सले स्वास्थ्य, करिअर, परिवार सबै खत्तम पार्ने रहेछ। यसका पेशेवरहरू तपाईं हाम्रो वरिपरि दिनरात घुमिरहेका छन्। उनीहरूबाट सुरक्षित रहनुहोस्।'
रिह्याबमा बसेकी ती १७ वर्षीया छात्रा अहिले उपचार गरेर निको भएर फर्किसकिन् होला। तर उनीजस्ता हजारौं अरू छात्रछात्राहरू आज जानेर वा लहलहैमा लागेर लागुऔषधको शिकार भइरहेका छन्। ड्रग्सको कुलतमा फसिरहेका छन्। न ती उपचारका लागि जान सक्छन्, न आफ्नो पीडा कतै भन्न सक्छन्। यो समाजले तिनलाई बोल्ने वातावरण दिन नसकेर पनि होला।
देशभरका रिह्याब सेन्टरहरूमा पाँच हजारभन्दा बढी युवा दुर्व्यसनबाट छुटकारा पाउन उपचाररत छन्। त्यतिकै संख्यामा युवाहरू लागुऔषधको अपराधमा संलग्न भएका कारण कारागारमा छन्। कैदी वा थुनुवाको रूपमा।
यो डरलाग्दो चित्र हो जसलाई बेलैमा सही ढंगले सम्बोधन गर्न सकिएन भने यो समाजको चित्र अझ कुरूप बन्नेछ। साँच्चै भन्नुपर्दा, अबको पुस्तालाई लागुऔषधको जोखिमबाट बचाउन मुश्किल परिरहेको छ। सभ्य समाज बनाउने हो भने, सबभन्दा पहिले अभिभावकले, त्यसपछि विद्यालयले अनि समाज र तीनै तहका सरकारले निगरानी गर्नु आवश्यक छ।
होइन भने टोलटोलमा, घरघरमा ड्रग्समा फसेकी केटी वा केटा नभेटिएलान् भन्न सकिन्न!
(लेखक गोकर्णप्रसाद उपाध्याय गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाका प्रमुख हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)