सन् १६०० को सुरूआततिर बेलायतमा एउटा संस्थाको जन्म भयो। बेलायती सरकार र व्यापारिक समूहबाट गठित उक्त संस्थाको नाम थियो- इष्ट इन्डिया कम्पनी।
दक्षिण एसियाबाट महँगा महँगा मसलाहरूको व्यापार गर्नु इष्ट इन्डिया कम्पनीको उद्देश्य थियो।
त्यति बेला बेलायतीहरू अमेरिकाको दक्षिणपूर्वी भूभागलाई वेष्ट इन्डिज भन्थे भने एसियाको दक्षिणी भूभागलाई इष्ट इन्डिज भन्थे। त्यसैले यी क्षेत्रमा व्यापार गर्ने उद्देश्यले गठित संस्थाको नाम इष्ट इन्डिया कम्पनी राखिएको थियो।
पोर्चुगाली तथा स्पेनीहरूले भारतीय भूभागमा एकछत्र व्यापार गरेर मनग्गे कमाएको देखेपछि बेलायती व्यापारीहरूले पनि भारतीय भूभागमा आँखा गाडेका थिए। बेलायतमा बसेर धेरै योजना बनाए पनि भारतीय भूमिमै पसेर व्यापार थालनी गर्न भने उनीहरूलाई ५० वर्षभन्दा बढी लाग्यो।
व्यापारीको उद्देश्य व्यापार गरेर मनग्गे कमाउने भए पनि बेलायती सरकारको उद्देश्य भिन्न थियो। ऊ आफ्नै गोप्य योजनामा अगाडि बढिरह्यो।
भारतीय भूमिमा विभिन्न देशका व्यापारीको जमघटले बेलायतीहरूलाई कठिनाइ हुन थालेपछि बेलायती सरकार आफ्नो सुरक्षा संयन्त्र तथा प्रशासनिक निकाय यही क्षेत्रमा राख्ने योजनामा थियो। यसैअनुसार बेलायतले भारतीय भूमिमा औपनिवेशिक राज्यको अवधारणा ल्यायो र व्यापारका साथै औपनिवेशक राज्य पनि स्थापना गर्दै गयो।
सन् १८५७ मा आइपुग्दा भारतीय सैनिकहरूमा अंग्रेज दमनको विरोध सुरू भयो।
पहिलो सिपाही विद्रोह फेब्रुअरी २६ मा पश्चिम बंगालमा भयो। सिपाहीहरूले राइफल तालिम लिन अस्वीकार गरे। एक महिनापछि सिपाही मंगल पाण्डेले अंग्रेज अफिसरमाथि गोली चलाए। त्यसको दस दिनमै मंगल पाण्डेलाई मृत्युदण्ड दिइयो।
मंगल पाण्डेलाई झुन्ड्याइएपछि विद्रोह चर्कियो। अंग्रेजले उक्त विद्रोहलाई 'गदर' नाम दिए र भारतीय भूमि आफ्नो अधीनस्थ बनाउने अभियान सुरू गरे। यो अंग्रेजका लागि आफ्नो अस्तित्वको लडाइँ थियो।
युद्धमा अंग्रेजविरूद्ध अधिकांश भारतीय लागेका थिए। अंग्रेजले ती भारतीय शासक, नवाव, जिम्मीन्दार, अफसर तथा जनताविरूद्ध साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरे। उनीहरूले कतिपय राजा तथा नवावहरूलाई सत्ता छाडेमा पेन्सनको व्यवस्था गरिदिने तर राज्यप्रति अधिकार राख्न नपाउने व्यवस्था गरिदिएका थिए। प्रस्ताव नमान्नेहरूका लागि लडाइँ लड्न बाध्य बनाए र हारपछि मृत्युदण्ड दिए।
यसमा सबभन्दा दुखद दिल्लीका शहंशाह बहादुर शाह जफरको नाम आउँछ। अंग्रेजसामु आत्मसमर्पण गर्नुअघि मुगल बादशाहले मृत्युदण्ड नदिन अनुरोध गरेका थिए। अंग्रेजले उनलाई ८२ वर्षको उमेरमा कैदीका रूपमा बाँकी जीवन बिताउन बर्मा लगेर राखे। अन्तत: ८७ वर्षको उमेरमा रंगुनको जेलमै उनको निधन भयो।
मुगल साम्राज्यका अन्तिम नायक बहादुर शाह जफरले जीवनको अन्तिम क्षण बिताउन दुई गज जमिन पनि आफ्नो देशमा पाएनन्।
उनको मृत्युपछि उनलाई कैदमा राखिएको घरकै पछाडि खाल्डो खनेर गाडियो तर कसैलाई जानकारी दिइएन। जमिनमा कुनै निशानी पनि छाडिएन।
बहादुर शाह जफरको निधन भएको १३२ वर्षपछि कुनै स्मारक भवन बनाउन जग खन्ने बेला गाडिएको अवस्थाको चिहान भेटियो। त्यसपछि छानबिन क्रममा अन्तिम मुगल बादशाहको चिहान रहेको थाहा भयो।
यसरी गुमनाम मृत्युवरण गरेका बादशाह उर्दूका प्रख्यात शायर पनि थिए। उनले बर्माको जेलमा रहँदा लेखेका थिए-
कितना है बदनसीब 'ज़फर' दफ्न के लिए,
दो गज़ ज़मीन भी न मिली कू-ए-यार में।
कति बदनसीब छ जफर, चिहानका लागि
दुई गज जमिन पनि पाएनन् पत्नीका साथ।
सन् १८५७ मा अंग्रेजविरूद्ध भारतीय विद्रोह हुँदा नेपालमा जंगबहादुर राणाको हैकम थियो। बेलायत भ्रमणबाट फर्केको केही वर्षपछि जंगबहादुरले शासनभार आफूले बोकेनन्। भाइ बमबहादुर कुँवरलाई प्रधानमन्त्री तथा प्रधानसेनापति बनाएर सहयोगीका रूपमा बसे। यसको वास्तविक कारण धेरैलाई थाहा थिएन।
क्रूर र कठोर शासकका रूपमा लिइने जंगबहादुर बेलायत भ्रमणमा एक नगरवधूको प्रेममा पागल भएका थिए। उनको नाउँ लाउरा बेल थियो। जंगबहादुरले लाउराकै प्रेममा परेर एक समय बेलायतमै बस्ने निर्णय पनि गरिसकेका थिए। तर भाइहरूले सम्झाइबुझाइ नेपाल फर्कन अनुरोध गरे।
जंगबहादुरले फर्कने निर्णय गरेका भए पनि बेलायती पत्रपत्रिकामा भने उनी लाउरालाई लिएर नेपाल जान लागेको समाचार छापिएको थियो। जंगबहादुरले यस्तो सोचेका थिए कि थिएनन् थाहा भएन तर उनले बेलायत छाड्नुभन्दा चार दिनअघि 'ब्रिस्टल टाइम्स एन्ड मिरर' पत्रिकाको अगष्ट १७, १८५० को अंकको दोस्रो पृष्ठमा यस्तो समाचार छापिएको थियो-
'नेपाली राजदूत यसै हप्ता यो देश छाड्दैछन् र साथमा बेलायती सुन्दरी पनि लिएर जाँदैछन्, अति सुन्दर तर भयानक पनि- दोश्रो लोला मोन्टेज (बेलायती सुन्दरी तथा नायिका) जसले निकै विश्वास र साहसका साथ नेपाली योद्धाहरू तथा उनका रानीहरूको एक्लै सामना गर्न सक्नुपर्छ। ओपेरामा महाराजाका लागि छुट्याइएको केबिनमा महाराजाका साथ ती युवतीको उपस्थितिले महाराजाको निकै बदनाम भएको थियो। यहाँ जुन महिलाको चर्चा गरिँदै छ उनको नाम लाउरा बेल हो। उनी एक सम्मानित आइरिस परिवारकी हुन् तर केही समयदेखि लन्डनमा लापरवाह जीवन बाँचिरहेकी छन्। उनको बग्गी सबभन्दा सुसज्जित तथा अत्याधुनिकमध्ये एक हो र यो प्राय: पार्कमा सामान्यतया घन्टौंसम्म देख्न सकिन्छ।'
यसले के जनाउँछ भने सधैं जंगबहादुरको साथ रहने लाउरा बेलप्रति बेलायतीहरू विशेष चासो राखिरहेका थिए।
लाउराको चर्चा बेलायतीमाझ महँगा र अतिसुन्दर नगरवधूका रूपमा थियो। उनको प्रेमीका रूपमा एक समयका प्रसिद्ध लेखक तथा कवि अस्कर वाइल्डका पिता डा. विलियम वाइल्डको नाम पनि गाँसिएको थियो।
जंगबहादुरको बेलायत भ्रमण बेला लाउरासँग अतिनिकटताका कारण एउटा हल्ला फैलिएको थियो, जंगले लाउराका लागि २ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए। पछि यो हल्ला फैलाउने अरू कोही नभएर भारतमा रहेका भाइसराय लर्ड क्यानिङ नै भएको प्रमाणित भयो।
लर्ड क्यानिङले किन जंगबहादुरलाई बदनाम गर्न खोजे भन्ने स्पष्ट छैन। पछि उनले आफ्नो भनाइ सच्याए। यो सम्भव पनि थिएन, किनकि जंगबहादुरले बेलायत भ्रमणका लागि केवल ३० हजार पाउन्ड लिएर गएका थिए जुन उनका सम्धि काजी हेमदल थापाले उपलब्ध गराएका थिए। नपुग रकम सुब्बा सिद्धिमानसिंह राजभण्डारीले पनि जुराएका थिए।
बेलायतमा जंगबहादुरको विषयमा प्रशंसाका समाचार मात्र छापिएका थिएनन्।
उनले छुट्टिने बेला आफ्नी बेलायती प्रेमिका लाउरा बेललाई हातमा लगाइराखेको बहुमूल्य हिराको औंठी दिँदै बाचा गरेका थिए, 'जब तिमीलाई कुनै सहयोग वा आवश्यकता पर्छ, मलाई यो औंठीका साथ सन्देश पठाउनू, म कुनै पनि हालतमा तिम्रो अनुरोध पूरा गर्नेछु।'
नेपाल फर्केपछि पनि जंगबहादुरलाई लाउराको यादले सताउन छाडेन। उनी विक्रम सम्बत् १९३१ माघ (सन् १८७५ जनवरी) मा नेपालबाट बेलायत जान बम्बई पुगेका थिए। त्यहाँ पानीजहाजको व्यवस्था मिलाइसकेका थिए। अचानक उनी घोडाबाट लडे। खुट्टामा सानो चोट लाग्यो। लामो यात्रामा निस्कनुअघि घोडाबाट लड्नु र चोटपटक लाग्नु अपसगुनको संकेत भन्दै उनका रानीहरूले बेलायत जानबाट रोके।
जंगबहादुर दोस्रोपटक बेलायत गएका भए नफर्कन पनि सक्थे!
उनी बेलायत छाडेर फ्रान्स पुगेको केही समयमा लाउरा पनि फ्रान्स पुगेका थिए। जंगसँग सायद उनको भेट भएको थिएन। त्यहाँ उनी एउटा अर्को समस्यामा अल्झिइन्। बेलायतमा किनेको गहनाको पैसा नतिरेको आरोपमा उनी झन्डै जेल पुगेकी थिइन्। एक सहयोगीबाट प्राप्त पैसाका कारण उनी जेल जानबाट जोगिइन्।
सन १८५० को यो घटनापछि १८५१ मा पनि लाउरालाई आर्थिक संकट रहिरह्यो। उनले १८५२ जनवरीमा एक धनाढ्य पूर्वसैनिक क्याप्टेन अगष्टस फ्रेडरिक टिस्टिलवेथसँग विवाह गरिन्।
महिला भनेपछि भुतुक्कै हुने जंगबहादुर पेरिसमा पनि केही महिलासँग नजिकिएका थिए।
एकदिन जंगबहादुर पिस्तोलको गोली प्रशिक्षण गर्ने ठाउँमा पुगे। त्यहाँ एक महिला पनि थिइन्। जंग उनलाई देखेर भुतुक्कै भए।
एकैछिनको हेराहेरपछि ती महिलाले जंगलाई गोली यसरी हानिन्छ भनिन्।
जंगले आफ्नो हातमा भएको पिस्तोल उनलाई दिए।
ती महिलाले पिस्तोल हातमा लिएकी मात्र थिइन्, झुक्किएर ट्रिगर अचेटिन पुगेछ।
अचानक छुटेको गोली सँगै रहेका भाइ धिरशमशेरको तिघ्रामा लाग्यो। हुन त चोट साधारण थियो तर त्यसपछि ती महिलासँग जंगबहादुरको नियमित भेट भयो।
ती महिला प्रख्यात नर्तकी तथा नगरवधू लोला मोन्टेज थिइन्। उनको बाल्यकाल भारतमा बितेको हुँदा टुटेफुटेको हिन्दी बोल्थिन्। त्यसैले जंगबहादुरलाई उनीसँग कुरा गर्न लाउरा बेलसँग भन्दा सहज भएको थियो।
पेरिसमै ब्याले हेर्न जाँदा प्रख्यात ब्याले नर्तकी फैनी सेरिटोको नाच हेर्दाहेर्दै जंग यति दंग भए, उनले हातमा लगाइराखेको हिराजडित बाला नै उनलाई उपहार दिए।
जंगबहादुर नेपाल फर्कंदा भारतबाट काठमाडौंसम्म सँगै रहेका लारेन्स ओलीफेन्टले आफ्नो पुस्तक 'जर्नी टू काठमान्डू' मा लेखेका छन, 'म बनारस पुग्नु केही दिनअघि महाराजा बनारस पुगेका थिए। उनको निवासमा सधैं ठूलाबडा, राजामहाराजा तथा अंग्रेज अफसरहरूको भीड हुने गर्थ्यो। मैले प्राय: एक स्थानीय राजालाई देखिरहेको थिएँ। एकदिन अचानक थाहा भयो, ती पूर्वराजाले आफ्नै माहिली छोरीको विवाह महाराजा जंगबहादुरसँग गराइसकेका रहेछन्। मैले नयाँ दुलहीका साथ महाराजा जंगबहादुरलाई बाल्कोनीमा देखेँ।'
अंग्रेजले भारतलाई आफ्नो अधीनमा लिइसकेपछि कुर्ग राज्य उसको अधीनमा आइसकेको थियो। त्यहाँका राजा वीराराजेन्द्र आफ्नो छोरीको विवाहको चिन्तामा थिए। उनले तत्कालै भ्रमणमा आएका जंगबहादुरसँग विवाह गराइदिए।
जंगले राजा वीराराजेन्द्रको उद्देश्य थाहा पाउन सकेका थिएनन्। वीराराजेन्द्रले आफ्नी माहिली छोरी मुदम्मा मुस्सामत, जसको पछि गंगा महारानी नामाकरण भयो, को विवाह गराएपछि उनी जंगकै सहयोगमा बेलायत पुगे।
जंगबहादुरपछि भारतीय महाद्वीपबाट बेलायत पुग्ने दोस्रो महाराजा वीराराजेन्द्र नै थिए। बेलायतमा अंग्रेज इष्ट इन्डिया कम्पनीसँग मुद्दा लडेका वीराराजेन्द्रले आफ्नी कान्छी छोरी गोरम्मालाई महारानी विक्टोरियाकी धर्मपुत्री बनाउनसमेत सफल भए।
यसरी जंगबहादुरकी कान्छी सालीको नाम पछि विक्टोरिया गोरम्मा भयो। उनको विवाह लन्डनमा एक बेलायतीसँग भएको थियो।
सन् १८५७ मा भारतमा अंग्रेजविरूद्ध आन्दोलन सुरू भएपछि बेलायती सरकार धेरै चिन्तित थियो। उनीहरूले भारतीयविरूद्धको युद्ध जसरी पनि जित्नु थियो। अन्यथा भारत छाड्न बाध्य हुनुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो। अंग्रेजलाई जसरी पनि यो आन्दोलन निरस्त्र पारेर भारतीय भूमिमा आफ्नो राज्य कायम गर्नु थियो। त्यसैले बेलायतमा विभिन्न छलफल चलिरहेका थिए।
बेलायत भ्रमणबाट फर्केका जंगबहादुर बेलायतीहरूबीच सम्पन्न र शक्तिशाली महाराजाका रूपमा स्थापित भइसकेका थिए। अंग्रेजहरूबीच प्राय: उनको चर्चा हुने गर्थ्यो।
जब भारतमा अंग्रेज सरकारविरूद्ध सिपाही आन्दोलनले उग्र रूप लिन थाल्यो, तब जंगबहादुरलाई धेरैले सम्झे। सबैमा एउटा शंका भने थियो, के जंगबहादुरले भारतीय जनताविरूद्ध युद्ध लडेर अंग्रेजलाई साथ दिन सक्लान्?
बेलायती सरकारका लागि यो अविश्वसनीय थियो।
यसैबीच जंगबहादुरको चर्चा-परिचर्चा दरबारमा हुन थालेको थाहा पाएका लाउरा बेलले कुनै सन्देशवाहकमार्फत प्रिन्स अफ वेल्सलाई जानकारी पठाए, 'म जंगलाई मनाउन सक्छु।'
लाउरालाई प्रिन्स अफ वेल्सले बोलाएर सबै कुरा बुझे।
लाउराले जंगको पुरानो बाचा सम्झाउँदै उनले उपहार दिएको हिराको औंठीमा बेरेर सन्देश पठाइन्, 'मलाई मात्र होइन, सिंगो बेलायतलाई तिम्रो सहयोगको खाँचो छ, पूरा गर्न सक्छौ?'
केही सातापछि यो सन्देश जंगको हातमा पुग्यो।
जंग त्यति बेला एक किसिमले अधिकारविहीन थिए। उनले सत्ता सुम्पेका भाइ बमबहादुरको भर्खरै निधन भएर अर्का भाइ कृष्णबहादुर कायममुकायम प्रधानमन्त्री थिए। प्रधानसेनापतिको पद पनि उनैसँग थियो। जंगले श्री ३ को पद भने त्यागेका थिएनन्।
सन्देश प्राप्त भएपछि जंगबहादुरले १९१४ जेठ २३ गते (सन् १८५७ जुन ३) थापाथली दरबारमा गोलबैठक गरी अंग्रेजलाई सहयोग गर्ने इच्छा व्यक्त गरे। भाइहरूले अंग्रेजलाई सहयोग गर्न उचित नहुने सल्लाह दिए।
सुगौली सन्धिमा भएको अंग्रेजको धोखा धेरैले बिर्सेका थिएनन्। तै पनि जंगले अंग्रेजलाई सहयोग गर्ने निर्णय गरे।
जंगबहादुरले किन यस्तो निर्णय स्विकार्न सबैलाई विवश बनाए भनेर धेरैले अड्कल गर्न सकेनन्।
जंगबहादुरको उक्त निर्णयका पछाडि थुप्रै स्वार्थ लुकेका थिए। पहिलो त आफ्नो शासन लामो समय चलाउन अंग्रेजको सहयोग आवश्यक छ भन्ने उनले बुझिसकेका थिए।
दोस्रो, उनले सम्पन्न र शक्तिशाली अवध आक्रमणमा लुटिने धनदौलत तथा जवाहरातको हक पाउने गोप्य सम्झौता गरेको दाबी गर्नेहरू पनि छन्। यसरी लुटिएका कुनै पनि सामग्रीबारे अंग्रेजले सोधखोज नगर्नुले यो तथ्य प्रमाणित हुन्छ।
तेस्रो कारण बेलायती प्रेमिका लाउरा वेलको अनुरोध हो भन्ने दाबी पनि बेलायती पत्रिकाहरूले गरेका थिए।
यसरी भाइहरूलाई अंग्रेजका लागि भारतीयविरूद्ध लड्न मनाएको एक महिनापछि १९१४ असार १६ गते (सन् १८५७ जुन २८) राजा सुरेन्द्रबाट जंगबहादुरले पुनः प्रधानमन्त्री र प्रधानसेनापतिको पदभार प्राप्त गरेको लालमोहर लिए।
आफू प्रधानसेनापति बनेको केही दिनमै जंगले १९१४ असार २० गते (सन् १८५७ जुलाई २) कर्णेल मदनमानसिंह बस्नेतको नेतृत्वमा छ रेजिमेन्टअन्तर्गतका तीन हजार सिपाही भारत पठाए।
बुटवलबाट भारतीय भूमि प्रवेश गरेका नेपाली सिपाहीहरू भदौ १५ गते जौनपुर पुगे। त्यहाँ इरादत खान नाम गरेका जमिन्दारले अवधका नवावको अनुपस्थितिमा आफैंलाई राजा घोषणा गरेर स्थानीय करहरू उठाइरहेका थिए। नेपाली सिपाहीहरूको नेतृत्व कर्णेलशमशेर थापाले गरेका थिए।
जौनपुरमा भएको आक्रमणमा नेपाली सिपाहीहरू विजयी भए। उनीहरूले अगाडि बढ्दै आजमगढ पनि विजय गरे।
यहाँबाट अगाडि बढेका नेपाली सिपाहीहरूमाथि बाटोमा पर्ने चंदापत्तीमा विद्रोहीहरूले आक्रमण गरे। नेपाली सेनाका कमान्डर मदनमानसिंह बस्नेतको मृत्यु भयो। उनको मृत्युपछि जोशिएका लेफ्टिनेन्ट गम्भीरसिंह रायमाझीले तोप हान्ने पाँच जवानलाई तलवारले काटे। विद्रोहीको आक्रमणमा गभ्मीरसिंहको भुँडी पनि छेडियो। उनले कटौरा थापेर छेडिएको भुँडीबाट आन्द्रा बाहिरिन रोके र तोप नै आफ्नो अधीनमा लिन सफल भए।
कमान्डरको मृत्यु भएपछि भाइसराय लर्ड क्यानिङले नेपाल सरकारसँग थप सेनाको माग गरे।
अंग्रेजलाई सहयोग गर्न नेपाली सिपाहीको नेतृत्व गर्दै जंगबहादुर स्वयं जान लालायित भए। जंगले आफ्नो नेतृत्वमा सिपाहीहरू लिएर जाने निर्णय गरे। उनी साहिँला छोरा पदमजंग जन्मेकै दिन १९१४ मंसिर २७ गते सिपाहीहरूको नेतृत्व गर्दै अवधका लागि काठमाडौंबाट निस्केका थिए।
जंगबहादुर अवधको लडाइँका लागि निस्कन जब हात्तीमाथि सवार भए, त्यसै बेला दरबारभित्रबाट सूचना आयो, 'महाराज छोरा भयो।'
तत्कालै जंगबहादुर कोचबाट झरे र छोराको अनुहार एकपटक हेरेर लामो यात्रामा निस्किए।
उनै छोरा पदमजंगले पछि जंगबहादुरको जीवनी लेखेर उनको चर्चा चारैतिर गराउन मद्दत गरे। तर दुर्भाग्य जंगबहादुर विदेशीका लागि विदेशी भूमिमा लडिरहँदा दरबारमा सुत्केरी रहेकी उनकी रानीको निधन भयो। बालक पदमजंगको पालनपोषण ठूली आमाले गरिन्।
यता जंगले अंग्रेजलाई सहयोग गर्न तयारी गरिरहँदा दिल्लीको साम्राज्य बिस्तारै ढल्दै थियो। मुगल बादशाह उमेरले मात्र होइन, साम्राज्यमा पनि कमजोर हुँदै थियो। कुनै बेला मुगल साम्राज्यको नाम लिँदा भारतीय उपमहाद्वीपमा एउटा शान हुने गर्थ्यो। त्यही मुगल साम्राज्यमा अंग्रेजविरूद्ध युद्ध लड्न आर्थिक रूपले समस्या पर्न थालिसकेको थियो। त्यसैले पनि होला, मुगल शासकप्रति जंगबहादुरको कुनै सहानुभूतिका शब्द भेटिँदैनन्। अवधप्रति भने जंगले विशेष चासो राखे।
अवध राज्य अहिलेको उत्तर प्रदेशमा पर्छ। राजधानी लखनउ अवधको पनि राजधानी थियो। त्यहाँका राजा नवाव वाजिद अली शाह शासकभन्दा बढी संगीतकार थिए। उनी भारतीय ठुमरीका जन्मदाता पनि थिए।
सन् १८५७ को सिपाही विद्रोहअगाडि नै अंग्रेजले छलछाम गरेर अवध राज्यमा आफ्नो हक कायम गराइसकेका थिए। तर अवध राज्यमा भित्रभित्रै सिपाही विद्रोहको आगो सल्किसकेको थियो। विशाल र बलियो राज्य हुनुले अवधमा आक्रमण गर्न भरपर्दो विदेशी सहयोगीको आवश्यकता अंग्रेजले महसुस गरेका थिए। भाइसराय लर्ड क्यानिङले भारतमा अंग्रेजी सेनाका प्रधानसेनापति कोलिन क्याम्पवेललाई पत्र लेखेरै यसबारे सूचित गरे।
चतुर अंग्रेजले अवधका नवावलाई वार्षिक १ लाख ५० हजार पाउन्ड दिने सर्तमा राज्य त्यागेर कलकत्ता निर्वासनमा जान मनाए। यसरी अवधमा पनि अंग्रेजराज सुरू भयो। तर बेगम हजरत महललाई यो चित्त बुझेन। उनी अन्य राज्य र आफ्नै सिपाहीहरूको सहयोग लिई छोरा बिरजिस कद्रलाई नवाव घोषणा गरेर युद्धमा होमिइन्।
बेगम हजरत महल एक नृत्यांगनाका रूपमा दरबारमा प्रवेश गरेकी थिइन्। नवावले विवाह गरेपछि उनी बेगम बनेकी थिइन्। साधारण परिवारमा जन्मेका बेगम काँतर थिइनन्। त्यसैले अंग्रेजसामु झुक्न चाहिनन्।
उनले आफ्नो नेतृत्वमा केही समय फेरि अवधलाई अंग्रेजबाट मुक्त गराइन्। तर यो लामो समय टिक्न सकेन।
नेपालबाट जंगबहादुर सिपाहीहरूको ठूलो काफिला लिएर लखनउतर्फ बढे। उनले आफ्ना सिपाहीहरूलाई तीन भागमा विभाजन गरेका थिए। आफूले आठ रेजिमेन्टको नेतृत्व सम्हालेका थिए। भाइ खड्कबहादुरको नेतृत्वमा सिपाहीहरूको अर्को समूह थियो भने तेस्रो समूह जनरल बखतजंगको नेतृत्वमा थियो। भाइहरू जनरल रणोद्वीप र धीरशमशेर भने जंगकै सुरक्षा र सहयोगीका रूपमा थिए।
काठमाडौंबाट हिँडेको दुई सातापछि जंगको टोली बेतिया पुग्यो। त्यहाँ अंग्रेज अफसर जनरल म्याक ग्रेगरसँग भेटेर उनीहरू संयुक्त रूपमा गोरखपुरतर्फ बढे।
जंगबहादुर नेतृत्वको नेपाली टोली र म्याक ग्रेगर नेतृत्वको अंग्रेज टोलीको संयुक्त आक्रमणमा गोरखपुर सहज विजय भयो।
विभिन्न स्थानमा आक्रमण गर्दै विजयी हुँदै जंगको टोली तीन महिनापछि १९१४ फागुन २७ गते 'सपनाको सहर' लखनउ नजिक पुग्यो। सम्पन्न र शक्तिशाली राज्य अवधको राजधानी रहेको लखनउमा अवध नरेशको दरबार हिरामोती, जवाहरातले भरिभराउ थियो।
जंगबहादुरको टोली लखनउनजिकै पुगेको खबर पाएपछि प्रधानसेनापति कोलिन क्याम्पबेलले दुई घोडचढी सैनिक टोली उनको सुरक्षाका लागि पठाइदिएका थिए। उनको सम्मानमा १९ तोपको सलामी पनि दिन लगाएका थिए। जंगको सम्मानका लागि सबै सैनिक अफिसरहरूलाई सैनिक पहिरनमा उपस्थित हुन आदेश दिएका थिए।
जंगबहादुर अंग्रेजहरूका लागि सम्मानित व्यक्तित्व थिए। उनको सम्मानमा कुनै कसर छाड्न चाहँदैनथे। जंगको सम्मानमा गरिएको विशेष कार्यक्रममा प्रधानसेनापति कोलिन क्याम्पबेल स्वयं जंग बसिरहेको क्याम्पभित्र गएर उनको हात समात्दै कार्यक्रम स्थलको विशेष आसनमा बसाएका थिए।
यता जंगको सम्मान कार्यक्रम हुँदै थियो, उता नेपाली सिपाही तथा अंग्रेजका सिपाही बेगमकी कोठीमा आक्रमण गर्दै थिए।
लखनउमा नवावको दरबारको एक महत्वपूर्ण हिस्सामा रहेको बेगमकी कोठीमा सफलता मिल्नु भनेको बेगम हजरत महल कमजोर हुनु थियो। दुई सेनापति कोलिन क्याम्पबेल र जंगबहादुर कुराकानी गर्दै गर्दा बेगमकी कोठीमा विजय हासिल भएको समाचार आइपुग्यो।
यहाँ अर्को संयोग पनि थियो, आक्रमणमा संलग्न अंग्रेज सिपाहीहरू स्वयं अंग्रेज सेनापति कोलिन क्याम्पबेलको निजी रेजिमेन्ट ९३ हाइल्यान्ड रेजिमेन्टका थिए भने नेपाली सिपाहीहरू नेपाली सेनापति जंगबहादुरका एक सिपाही अर्थात गम्भीरसिंह रायमाझीको नेतृत्वका थिए।
जंगले त्यति बेला खुसीका साथ सुनाए, 'पाँच वर्षअगाडि म बेलायत पुग्दा एडिनवर्गमा मेरो सम्मानमा गार्ड अफ अनर प्रस्तुत गर्ने पनि ९३ हाइल्यान्ड रेजिमेन्ट नै थियो।'
त्यसको पर्सिपल्ट अर्थात फागुन २९ गते जनरल क्याम्पबेलले जंगलाई साथसाथ हिँड्न अनुरोध गर्दै आलमबागको ठिकसामुन्ने लगे। बेगम कोठीको विजयसँगै छ हजार अंग्रेज र नेपाली सिपाहीहरू अगाडि रहेका महत्वपूर्ण तीनवटा मस्जिद कब्जा गर्ने तयारीमा थिए। पहिलो र दोस्रो मस्जिद त सहजै अधीनमा लिन सफल भए। तेस्रो मस्जिदमा भने लडाइँ सहज भएन।
यस्तैमा नेपाली सिपाहीहरूलाई हौसला दिन जंगले रौबदार आवाजमा उनीहरूतर्फ फर्कंदै भने, 'सिपाहीहरू हो! कुनै पनि हालतमा दुश्मनलाई खेद्नू। तिमीहरूको यो जितले नेपाली सिपाहीहरूको लखनउ प्रवेशको इतिहास नेपालको इतिहासमा गौरवशाली रूपले अंकित रहनेछ।'
सेनापतिका रूपमा जंगबहादुरको यो आवाज नेपोलियन बोनापार्टले आफ्ना सिपाहीहरूलाई दिएको आदेशझैं उनीहरूका भित्री आत्मामै आगो बाल्ने खालको थियो। नभन्दै नेपाली सिपाहीहरू यसरी जाइलागे, केही समयमै मस्जिद अधीनमा लिन सफल भए।
त्यसपछि आलमबाग, बडा इमामवाडा, छतर मञ्जिल, तारावाली कोठी र मोती महलमा केवल २२ घन्टामा झन्डा गाड्न सफल भए। यो आक्रमणमा ६१ नेपाली सिपाहीको मृत्यु भयो। तेह्र जना घाइते भए भने १३ जना नेपाली सिपाहीलाई दुश्मनले कैद गरे।
चारैतिरका दरबार र महल कब्जा भएपछि नवावको दरबार केशरबाग आक्रमण गर्न नेपाली सिपाहीहरू अगाडि बढे।
केशरबाग अवध नवावको प्रमुख दरबार थियो। यसको अगाडि रहेको बगैंचा साह्रै भव्य र सुन्दर थियो। केशरबाग आक्रमणमा हिरामोती र बेशकीमती पत्थर तथा जवाहरातहरू लुटिएका थिए। दरबारभित्र रहेका महिलाहरूले पनि आफ्नो जीवन बचाइदिन आफूसँग रहेका जवाहरातहरू सिपाही वा अफसरलाई सुम्पेका थिए।
लखनउमा गरिएको जवाहरात र धनसम्पत्तिको लुटले 'लखनउ लुट' का रूपमा नेपालमा निकै चर्चा पाएको थियो। कतिपय नेपाली सिपाहीहरूले जवाहरात र कीमती पत्थरहरूको महत्व नबुझ्दा ती पत्थर राखिएको सुनका धागोका लागि पत्थर तोडेर फ्याँकी सुन र चाँदी बोकेर आएका थिए। राणा अफसरहरूले भने बेशकीमती जवाहरात र पत्थरहरू नै बोकेर आएका थिए।
लुटका प्रत्यक्षदर्शी डा. डब्लु एच रसेलले त्यहाँको एक दृश्यबारे लेखेका छन्, 'एक नेपाली सिपाही दुई सय पचासवटा मोती भएको मालामा मोतीको महत्व थाहा नपाएर पत्थरले तोड्दै फ्याँकी सुनको धागो मात्र निकाल्दै थिए।'
बाइस घन्टा लामो केशरबाग लुटमा हिराजवाहरातको लुट मात्र भएको थिएन। दरबारका असीमित महँगा वस्तु पनि तोडफोड गरिएका थिए। सिपाहीहरूले दरबारभित्रका नर्तकी, दासी तथा दरबारीया महिलाहरूलाई बलात्कार गरेका थिए। लुटिएर ल्याइएका हस्तीहाडका सामग्री, महँगा कार्पेट, क्रिस्टल ग्लास, सुनका धागोले बनेका महँगा कपडा पछि राणाहरूका दरबारमा सजिएका थिए।
त्यही बेला जंगबहादुरका भाइ धीरशमशेर केशरबागमा भेटिएकी दरबारीया महिला जौहर जानप्रति मोहित भएछन्। उनले हिराजवाहरातसँगै ती महिलालाई पनि लुकाएर ल्याएका थिए। नेपाल भित्र्याएपछि 'कांगडाबाट विवाह गरी ल्याएको राजपुत कन्या' भनी जौहर कुमारी नामाकरण गरेका थिए। तिनै जौहरकुमारीलाई जुहारकुमारी भनियो। उनबाट जन्मेका जुद्धशमशेर पछि श्री ३ पनि बने।
धेरै समयसम्म पानी नचलाएका जुहारकुमारी र उनका छोरा जुद्धशमशेरलाई पछि वीरशमशेरले आफू श्री ३ भएपछि पानी चलाएका थिए।
लडाइँ सुरू भएको भोलिपल्ट चैत २ गते शनिबार जंगबहादुर स्वयं सिपाहीहरूले गरेको तोडफोड, लुटपाट र ज्यादती हेर्न पुगेका थिए। उनले कुनै पनि सिपाहीलाई दोष दिएनन्। युद्धको नियम यस्तै हो भन्दै चुपचाप फर्के।
चैत ७ सम्म लखनउ युद्ध करिब करिब समाप्त भइसकेको थियो। नवावका सिपाहीहरू ज्यान जोगाउँदै भागेका थिए। कतिपय लखनउ सहरमै लुकेर बसेका थिए। त्यस दिन घर घर पसेर नवावका सिपाहीहरू खोजी खोजी मारिएको थियो।
चैत ८ गते अर्को महत्वपूर्ण मूसाबागमा आक्रमणको तयारी भयो। यो अवध नवावका छोरा बिरजिस कद्र र उनकी आमा बेगम हजरत महलको निवास थियो। अन्तिम समयमा नवाव कलकत्तामा कैद भएपछि रानी बेगम हजरत महलले नै छोरा बिरजिस कद्रलाई नवाव घोषणा गरी नायबी चलाइरहेकी थिइन्। त्यसैले मूसाबागमा विजय हासिल गरेर बेगम हजरत महल र बिरजिस कद्रलाई त्यहाँबाट हटाउनु अंग्रेजहरूको उद्देश्य थियो।
यसपालि अंग्रेज सिपाहीको नेतृत्व जनरल औट्रमले गरेका थिए भने नेपाली सिपाहीको नेतृत्व जंगबहादुर स्वयंले सम्हालेका थिए। छोटो लडाइँमै मूसाबाग अंग्रेजको अधीनमा आयो। बेगम र बिरजिस कद्र त्यहाँबाट भागे।
यो विजयसँगै जंगबहादुरको लखनउ बसाइको आवश्यकता पूरा भयो। उनले नेपाल फर्कने तयारी गरे।
विक्रम सम्बत् १९१४ मंसिर २७ गते लखनउका लागि निस्केका जंगबहादुरले त्यसै वर्ष चैत १२ गते लखनउ छाड्ने तयारी गरे। करिब सय दिनको प्रवासमा जंगले अंग्रेजबाट विशेष स्याबासी पाए भने धनदौलत र जवाहरात पनि मनग्गे लुटे।
उनले चैत १२ गते लखनउ छाडे पनि नेपालतर्फको यात्रामा निस्केनन्। उनलाई अझै अंग्रेजलाई रिझाउनु थियो। त्यसैले लखनउबाट इलाहाबाद पुगे। चैत २१ गते इलाहाबाद पुगेका जंगलाई भाइसराय लर्ड क्यानिङले भव्य स्वागत गरे।
चैत २८ गते दोस्रोपटक भाइसराय लर्ड क्यानिङ जंगबहादुरसँग व्यक्तिगत भेटका लागि आए।
यो भेटमा जंगलाई बेलायत सरकारले गरेको निर्णय सुटुक्क भने, 'बेलायती सरकार सन् १८१५ को सन्धिअनुसार गोर्खाली सरकारबाट लिएको पहाडी भागदेखि दक्षिणको जमिन नेपाल सरकारलाई फिर्ता गराउन चाहन्छ।'
यी भूभागमा गोगरा नदीदेखि पश्चिम, गोरखपुरदेखि पूर्व, दक्षिणमा खैरागढ र बहराइच जिल्ला तथा उत्तरमा नेपाली पहाडहरूले घेरिएको करिब दुई सय माइल लामो हाल नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला पर्छन्।
सुटुक्क सुनाएको यो खबर दुई वर्षपछि मात्र कार्यान्वयन भएको थियो।
इलाहाबादबाट जंगबहादुर बनारस लागे। बनारसमा छ दिन बसेर विभिन्न अंग्रेज अफिसर तथा राजामहाराजासँग भेट गरी उनी नेपाल फर्के। अन्तत: १९१५ वैशाख २३ गते मंगलबार उनी थापाथली दरबार प्रवेश गरे।
नेपाल पुगेको केही दिनपछि जेठ १३ मा अवधका घोषित नवाव बिरजिस कद्रले पठाएको पत्र जंगको हात लाग्यो।
उनले जंगसँग हिन्दु र मुस्लिम धर्ममाथि प्रहार गर्ने अंग्रेजलाई सहयोग गरेकोमा दु:ख व्यक्त गरेका थिए।
जंगले पनि तुरून्तै जवाफ पठाई 'अंग्रेजले भारतीय भूमिमा प्रवेश गरेको यति लामो अवधिमा कुनै त्यस्तो कार्य गरेको आफूले थाहा नपाएको' भन्ने जानकारी दिए।
त्यसलगत्तै भाइसराय लर्ड क्यानिङको पत्र पनि जंगको हात लाग्यो।
नेपालले १८१५ को सन्धिमा गुमाएका केही भूभाग फिर्ता गर्ने विषयमा जानकारी दिन उक्त पत्र पठाइएको थियो। होम डिपार्टमेन्टले इष्ट इन्डिया कम्पनीका अफसरलाई पत्र पठाएर जानकारी गराएका थिए।
भाइसराय लर्ड क्यानिङले जंगबहादुरलाई सम्मान गर्न र अवधका केही उत्तरी भूभाग नेपाललाई फिर्ता गर्न पहल गरेका थिए।
त्यही बेला अचानक जंगबहादुरकी आमा गणेशकुमारीको १९१५ साउन २६ गते निधन भयो। जंग काजकिरियामा बसे। त्यसपछि जंगले ४५ दिन राजकीय कार्य केही गरेनन्। उनी कात्तिक ९ गते पाल्पा हिँडे।
पाल्पाबाट मंसिर १ गते जंग नुवाकोट पुगे। नुवाकोटमा उनको भेट अवधका नवाव बिरजिस कद्र तथा उनकी आमा बेगम हजरत महलसँग भएको थियो। नवाव र बेगमले नेपाल सरकारसँग शरण मागेका थिए। जंगबहादुरले दुवैसँग कुराकानी गरी शरण दिन मञ्जुरी दिए। बेगम र नवावलाई थापाथली दरबारनजिकै बस्ने व्यवस्था मिलाइयो।
बेलायती सरकारले जंगबहादुरको शूरता र वीरताको कदर गर्दै १९१६ कात्तिक ३१ गते 'हनररी नाइट्स ग्र्यान्ड क्रस अफ दी अर्डर अफ दी ब्याच' (जिसिबी) दियो। यो तक्मा नेपालका लागि बेलायती रेसिडेन्ट जर्ज रामसेले जंगबहादुरलाई हस्तान्तरण गरेका थिए। रानी एलिजावेथबाट प्रदान गरिएको यो तक्माका लागि जंगले प्रिन्स अलवर्टलाई पत्र लेखेर धन्यवाद व्यक्त गरेका थिए।
अंग्रेज सरकारले १९१७ कात्तिक १७ मा गरेको सीमा सन्धिअनुसार नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रहेको भूभाग फिर्ता पाएको थियो। यो जंगबहादुरले लखनउ युद्धमा अंग्रेजलाई सहयोग गरेबापत पाएको पुरस्कार थियो। यो भूभागलाई धेरै पछिसम्म 'नयाँ मुलुक' का नामले चिनिन्थ्यो।
जंगबहादुरले यही नयाँ मुलुकभित्र एउटा नयाँ सहर बसाउने योजना बनाए। बाँकेलाई मुख्य केन्द्र बनाएर बाँके बजारलाई नै नेपालगन्ज नामाकरण गरी सहर बसाउन बडाहाकिम सिद्धिमानसिंह राजभण्डारीलाई लगाए।
लखनउ आक्रमणका लागि भारत पुगेका जंगले 'गन्ज' जोडिएका थुप्रै नाम सुनेका हुँदा उनले नयाँ मुलुकको यो सहरलाई नेपालगन्ज नाम दिन लगाएका थिए। बाँकेको सुब्बाका रूपमा भने पद्मनाभ जोशी खटिए।
१९१७ सालमै जंगबहादुरले दुई वर्षको समयावधि दिएर सहर बसाउन निर्देशन दिएपछि तत्कालै ३६० कोठी छुट्याइयो। तत्कालीन भन्सारदेखि सदरलाइन र चोक बजारदेखि रानी तलाउसम्मको क्षेत्रमा घडेरी बनाइएको थियो। भारतबाट आएर व्यापार व्यवसाय गर्नेहरूका लागि नि:शुल्क कोठी दिने घोषणापछि भारतीय व्यापारीहरूले यहाँ कोठी लिएर व्यवसाय सुरू गरेका थिए।
सुब्बा पद्मनाभको काशीमा निधन भएपछि उनका छोरा नानीबाबु सुब्बा भए। उनलाई सबैले नानीबाबु सुब्बा भने पनि उनको खास नाम शिवप्रसाद जोशी थियो। पछि भारतको अवध राज्यको विस्कोहर गाउँका समूह नै यहाँ आएर बसे। यसरी नेपालगन्ज बिस्तारै गुलजार हुन थाल्यो।
युद्धपछि भारतबाट भागेर थुप्रै विद्रोहीहरूले नेपाल प्रवेश गरे। कतिपयलाई जंगबहादुरले शरण दिए भने कतिपयलाई भारतमा अंग्रेजलाई सुम्पिदिए। अंग्रेजलाई सुम्पिएका अधिकांश विद्रोहीलाई अंग्रेज सरकारले मृत्युदण्ड दिएको थियो।
अवध आक्रमण वा भनौं गदर आन्दोलनको समाप्तिपछि भारतमा रहेको इष्ट इन्डिया कम्पनी विधिवत रूपले अंग्रेज सरकारका रूपमा स्थापित हुन पुगेको थियो। गवर्मेन्ट अफ इन्डिया एक्ट १९५८ बेलायती संसदबाट पारित भएपछि भारतीय उपमहाद्वीपमा रहेको इष्ट इन्डिया कम्पनीको औचित्य समाप्त भयो र बेलायती महारानी भिक्टोरियाको शासन कायम हुन पुग्यो। इष्ट इन्डिया कम्पनीका नाममा रहेका सबै चलअचल सम्पत्ति बेलायत सरकारको अधीनमा रहन पुग्यो।
यसरी अंग्रेजलाई खुला दिलले सम्मान नगरे पनि जंगबहादुर लाउरा बेलसँगको प्रेम र उनकै अनुरोधमा भारतीयहरूको हत्या गरी अंग्रेजलाई सहयोग गर्न गएका थिए।
यो युद्धले जंगबहादुरलाई इज्जत मात्र दिएन, युद्धमा गरिएको लखनउ लुटले राणाहरू सम्पन्न पनि भए। देशले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको नयाँ मुलुक फिर्ता पायो।