अहिले एउटा घटना चर्चित छ- लाइन मिचेर अगाडि आउन खोजेका संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई एक सुरक्षा गार्डले लाइनमै आउन भने। मन्त्री श्रेष्ठलाई त्यो पचेन। छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङलाई प्रहरीले पक्राउ गर्यो।
गुरुङले सुरक्षा गार्डका रूपमा उनलाई ड्युटी बस्दा जे गर्न भनिएको थियो, जे सिकाइएको थियो, त्यही गरे। गर्नुपर्ने पनि त्यही थियो।
समाचारसँगै विभिन्न प्रतिक्रियाहरू आए। विदेशमा बस्नेहरूले भने, 'विकसित देशमा यस्तो भएको भए ती मन्त्रीको राजनीति सकिन्थ्यो।'
हामीकहाँ भने आफ्नो कर्तव्य निर्वाह गर्ने सुरक्षा गार्डकै जागिर सकिने देखियो। आफ्नो ड्युटी निर्वाह गरिरहेका एक सर्वसाधारणमाथि मन्त्रीको रिस देखियो।
गाडीमा झन्डा फहराउँदै हिँड्ने नेता, उसका अगाडिपछाडि खटिने सेना वा प्रहरीले आफूलाई अर्कै ग्रहबाट आएका जस्ता सम्झिन्छन्। जनताकै बीचबाट आएका भए पनि संयोगले दिन बदलिएकाहरू उनीहरू आफ्नो दिनसँगै व्यवहारै बदल्छन्।
मान्छेका दिनसँगै व्यवहार कसरी बदलिन्छ भन्नेबारे एउटा घटना छ। यो राजदरबार हत्याकाण्डताका राजाका शाही पार्श्ववर्ती रहेका नेपाली सेनाका महासेनानी सुन्दरप्रताप रानाले आफ्नो किताब 'दरबारको दुखान्त' मा उल्लेख गरेका हुन्।
शाही भ्रमणमा क्रममा ओखलढुंगामा भेटेर ल्याइएका धने भन्ने धनबहादुर खत्रीले रूम्जाटार विमानस्थलमा ओर्लिएपछि सिडिओलाई घोडा मागेर दुःख दिने गरेका रहेछन्। तत्कालीन रानी ऐश्वर्यले ओखलढुंगामा भेटेका बेला ती धनबहादुर रूम्जाटार विमानस्थलबाटै यात्रुका भारी बोक्थे। दाउराको भारी पनि बेच्थे। दरबारले दया देखाएर दिन फिरेपछि धनबहादुरले आफ्नो हैसियत फिरेको अनुभूति गरे। सिडिओलाई हैरानी दिन थाले।
सायद जनताका बीचबाट आएका हाम्रा मन्त्रीलाई पनि त्यस्तै भयो होला- म राष्ट्रिय झन्डासहित प्रहरी-सेनाका अफिसर पछाडि लगाएर आएका विशेष व्यक्ति! एउटा सामान्य सुरक्षा गार्डले अरू सर्वसाधारणलाई जस्तै लाइनमा लाग्न सिकाउने?
त्यसमाथि अगाडि, पछाडि 'हजुर त मन्त्री' भन्दै हिँड्ने एउटा स्वार्थ समूहको फेला परेपछि के चाहियो! हाम्रा मन्त्री पनि सिंहदरबारको आफ्नो कार्यकक्षमा पुगेपछि यस्तै स्वार्थ समूहको फेला परे होलान्। नत्र ठमेलको छाया सेन्टरमा सुरक्षा गार्डसँग विवाद हुँदा वा मन्त्रीले आरोप लगाएझैं उनीमाथि 'दुर्व्यवहार' हुँदा तत्कालै नजिकै दरबारमार्ग प्रहरीलाई खबर नगरी सिंहदरबार पुगेपछि गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयमा पत्र पठाएर पक्रिन लाउने र 'अभद्र व्यवहार' मा मुद्दा चलाउन मन्त्रीलाई केले उत्प्रेरित गर्यो होला?
यी शक्तिकेन्द्र वा शक्तिशाली पदका वरपर रहेका स्वार्थ समूह भने अलिकति अवसर र मौका पाउनेबित्तिकै आफ्नो रङ देखाउन खोजिहाल्छन्।
एउटा दृष्टान्त सम्झिन्छु- २०५४ सालमा तत्कालीन प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठका छोराको दुर्घटनामा परेर निधन भएको थियो। शवयात्रामा प्रधानन्यायाधीश आफैं जाने भएकाले सुरक्षाका निम्ति प्रहरीले स्कर्टिङ गर्नुपर्यो।
म त्यो बेला वडा प्रहरी कार्यालय, महाराजगन्ज प्रमुख थिएँ। प्रधानन्यायाधीश चढेको गाडी अगाडि शववाहन र शववाहन अगाडि प्रहरीको गाडीमा म थिएँ। शवयात्रा सामान्य चलिरहेको थियो।
त्यही क्रममा गाडीको ऐनाबाट पछाडि हेरेँ- शवयात्रामा भएको एउटा गाडीबाट टाउको निकालेर दुई जना युवा अर्को छेउमा आउने गाडी वा उही छेउबाट ओभरटेक गर्ने गाडीलाई हातले इशारा गर्दै ठूलोठूलो स्वरले 'उता जा, उता जा' भन्दै गाली गरिरहेका रहेछन्।
हामीले गाडी रोक्यौं। ती युवाहरू प्रधानन्यायाधीशका छोराका साथी रहेछन्।
'किन त्यसो गरेको, अरू गाडीहरूलाई त्यस्तो हर्कत किन गरेको' भनेर सोध्यौं।
उनीहरूले सहजै भने, 'अरू गाडी शववाहनको छेउछेउमा आए!'
हामीले बुझिहाल्यौं, प्रधानन्यायाधीशको गाडीसँगै प्रहरी गाडीको स्कर्टिङमा हिँड्न पाएपछि उनीहरूले पनि आफ्नो हैसियत बढेको अनुभूति गरेछन्। त्यसपछि प्रहरीले ती युवा चढेको गाडीलाई शवयात्राबाट हटाएर छेउ लाइदियौं। दु:खी प्रधानन्यायाधीशले त्यो दृश्य चुपचाप हेरे, सायद उनलाई पनि पचिरहेको थिएन।
केही समयअगाडि अर्को यस्तै समाचार बाहिरिएको थियो।
जनकपुरको जानकी मन्दिर प्रांगणमा झन्डासहितको एउटा गाडी जबरजस्ती छिर्यो।
सुरक्षा गार्डले रोक्दा ड्राइभरले हप्काएछन्, 'मन्त्रीको गाडी पनि चिन्दैन?'
उक्त गाडी मधेस प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्र सोनलको रहेछ।
मन्दिरका एक साधुले हात जोड्दै अनुरोध पनि गरेछन्, 'गाडीभित्र ल्याउँदा मन्दिर प्रांगणको टायल टुट्छ हजुर।'
तर सुन्ने कसले?
बहालवाला मन्त्रीहरूका हरकत यस्ता छन्। पूर्व मन्त्रीहरूका चुरिफुरि पनि सम्हाली नसक्नु हुन्छ।
पाँच-छ वर्षअगाडिको घटना हो।
एक जना ट्राफिक प्रहरीले कुनै गल्तीमा पूर्वमन्त्री तथा तत्कालीन सांसद कृष्ण गोपाल श्रेष्ठलाई चिट काटेर ट्राफिक नियमसम्बन्धी जानकारीका लागि कक्षा लिन बोलाए। श्रीमतीसहित बग्गीखाना पुगेका सांसद श्रेष्ठले ट्राफिक प्रहरीलाई थर्काउँदै भने, 'नबिर्सिनू, म भूतपूर्व मन्त्री पनि हुँ।'
तत्कालीन ट्राफिक प्रमुख एसपी बसन्त पन्त गलेनछन्। ट्राफिक प्रहरी नगल्दा भूतपूर्व मन्त्री श्रेष्ठको स्वर झन् झन् ठूलो हुँदै गएछ। तब बग्गीखानामा त्यस्तै ट्राफिक कारबाहीमा परेर आएकाहरू थपिएछन् र हेर्न थालेछन्।
रमिता र रमिते बढ्दै गएपछि सँगै आएकी श्रेष्ठकी श्रीमतीले श्रीमानलाई भनिछन्, 'आफैं नियम मिच्ने अनि आफ्नै बेइज्जत हुने गरी कराउने? तपाईं यस्तै बेहोरा देखाउनुहुन्छ भने म हिँडेरै घर जान्छु।'
अनि बल्ल पूर्वमन्त्री श्रेष्ठ थामिएछन्। ट्राफिक प्रहरीले चलाएको कक्षामा बसेर ट्राफिक नियम सिकेर घर गएछन्।
त्यो दिन त्यहाँ भएका ट्राफिक अधिकृतहरूले भन्थे- सबै मन्त्रीका श्रीमती यस्तै भइदिए मन्त्रीहरू आफ्नो हैसियतमा आउने थिए होलान्!
मन्त्री पदको शक्ति मात्र होइन, त्यसको आफ्नै मर्यादा पनि हुन्छ।
मर्यादा कस्तो हुन्छ भन्ने कुरा सन् २०१२ अप्रिलमा बेलायतमा भएको एक घटनाबाट बुझ्न सकिन्छ।
लन्डन, बकिङहम प्यालेसनजिकै बहालवाला सुरक्षा मामिला मन्त्री लर्ड वेष्टको गाडी रोकेर प्रहरी अधिकारीले खानतलासी लिए। त्यो घटनालाई मिडियाहरूले निकै प्राथमिकतासाथ प्रकाशन गरे।
पछि संसदमा बोल्दै ती मन्त्रीले भने, 'सन् २००५ मा लन्डनमा विष्फोट भएपछि सुरक्षा व्यवस्था कडाइ गर्न ल्याइएको 'द टेरोरिजम एक्ट' को सेक्सन- ४४ अनुसार प्रहरीले मेरो गाडी रोकेर तलासी लिएको हो।'
ती मन्त्रीले आफ्नो तलासीबारे जानकारी दिए। न कि तुरून्त गृह मन्त्रालयमा चिठी पठाएर आफूलाई तलासी लिने प्रहरीलाई कारबाही गर्न भने। कारबाही गर्न भनिहालेको भए पनि गृह मन्त्रालय वा गृहमन्त्रीले हचुवाका भरमा कारबाही गर्न प्रहरीलाई हतारहतार पत्र लेख्ने पनि थिएनन् होला। मन्त्रालयले लेखिहाले पनि लन्डन प्रहरीले सोधपुछ नगरी, यथार्थ नै नबुझी तत्कालै पक्रिहाल्ने थिएन होला।
आफ्नो कार्य क्षेत्रमा स्वतन्त्र ब्रिटिस प्रहरी र राजनीतिले थिचेको हाम्रा प्रहरीबीच सायद यही फरक होला।
बहालवाला कर्मचारीले आफ्नो कर्तव्य निर्वाह गर्नेबारे नेपाल प्रहरीभित्रै चर्चामा आएको घटना सुनाउँछु।
२०४७ सालको कुरा हो। जनआन्दोलनपछि तत्कालीन एसएसपी (पछि आइजिपी) अच्युतकृष्ण खरेल तत्कालीन सदर प्रहरी तालिम केन्द्र (हाल राप्रप्रप्र) मा समादेशकका रूपमा थिए।
एकरात समादेशक बाहिरबाट तालिम केन्द्र आउँदा गेटमा सेन्ट्रीले रोकेर पासवर्ड (प्रहरी र सैनिक कार्यालयमा राति १० बजेपछि तोकिएको पासवर्डबिना कोही प्रवेश गर्न पाउँदैन) मागेछन्। तर समादेशक, उनका ड्राइभर र गार्डसँग त्यो दिनको पासवर्ड रहेनछ।
ड्राइभर र गार्डले 'पासवर्ड छैन तर समादेशक सरलाई चिनेन? छोड्' भन्दै आदेशात्मक भाषामा भनेछन्।
ती सेन्ट्रीले राइफल तेर्स्याउँदै 'अड' भनेर अगाडि बढ्न दिएनछन्। त्यो बेला मोबाइल थिएन। समादेशकसँग प्रहरी सेट पनि थिएन। तब समादेशक अच्युतकृष्ण खरेलले गाडी ब्याक गर्न लगाएर सिधै तत्कालीन महेन्द्र पुलिस क्लबमा जान भनेछन्। रात धेरै छिप्पिसकेको र वरपर सबै पसल बन्द भइसकेका थिए। पुलिस क्लब पुगेर तत्कालीन नगर प्रहरी प्रमुखमार्फत तालिम केन्द्रमा फोन गर्ने व्यवस्था मिलाएछन्। फिल्ड अफिसरमार्फत पासवर्ड पत्ता लगाएर समादेशक मध्यरातमा तालिम केन्द्र छिर्न सफल भएछन्।
भोलिपल्ट बिहान समादेशक खरेलले सबै अफिसरलाई उपस्थित गराएर राति ड्युटीमा भएको प्रहरी जवानलाई बोलाउन भनेछन्। रातिको घटना सबैले थाहा पाए।
सबैले ती जवानलाई गाली गरेछन्- 'समादेशक भन्ने चिन्दाचिन्दै जान्ने भएर रोकिस्, अब खाइस् जागिर!'
जवान मलिनो अनुहार लगाएर अफिसरहरू भेला भएको हलमा पुगे। बाहिर उनका साथीहरू, अन्य जवान र हवल्दारहरू अब के कारबाही हुने हो भन्दै कानेखुसी गर्दै थिए।
एकछिनपछि ती जवान निधारमा अबिर र दाहिने काँधमा प्रहरी हवल्दारको बिल्ला लगाएर बढुवा भएर हाँस्दैहाँस्दै बाहिर निस्किएछन्।
समादेशक खरेलले सेन्ट्रीले गर्नुपर्ने कर्तव्य राम्ररी बुझेका थिए।
माथिल्लो पद र प्रतिष्ठामा हुनेहरूको अहंकारले आफ्ना कर्तव्यमा अडिग सुरक्षाकर्मीहरूको मनोबल गिर्ने मात्रै होइन, ती अहंकारीको मर्यादा पनि गिर्ने हुन्छ।
कुनै पनि व्यक्तिलाई राष्ट्रले उसको पदअनुसारको मान र मर्यादा दिएको हुन्छ। त्यसलाई अरूले मात्रै होइन, पदमा रहने आफैंले पनि पालन गर्नुपर्छ। तर कतिपयले त्यही पद र मानको दुरूपयोग गर्दै अरूलाई प्रभाव पार्न खोज्छन्।
२०५५ सालको एउटा घटना सुनाउँछु। म त्यो बेला इलाका प्रहरी कार्यालय धरानको प्रमुख थिए। एक जना पाका व्यक्ति मलाई भेट्न कार्यालयमा आए। चिनापर्ची हुँदै जाँदा थाहा भयो, उनी तत्कालीन राजपरिषद (राजाको सल्लाहकार समूह, अस्थायी समिति) को सदस्य रहेछन्। मैले दिनुपर्ने यथोचित सम्मान दर्शाएँ।
कुरा हुँदै जाँदा उनी एउटा मुद्दामा पक्राउ परेर कारबाही हुँदै गरेका व्यक्तिलाई छुटाउन आएका रहेछन्। मैले प्रमाणसहित मुद्दा चलिसकेकाले केही गर्न नसक्ने बताएँ। उनी आग्रह गर्दै गए। मैले केही गर्न नसक्ने बताइरहेँ।
एक्कासि उनी कड्किन थाले, 'थाहा छ मेरो मर्यादाक्रम के हो? मेरो पद तपाईंको आइजिपीभन्दा १३ तह माथि हो। आइजिपीले समेत मलाई भेट्दा सलाम गर्छ। तर तपाईंले त्यो पनि गर्नु भएन। (मैले उनलाई सलाम नगरी नमस्कार गरेको चित्त बुझेको रहेनछ)। अनि मसँग अमर्यादित व्यवहार गरिरहनुभएको छ। म तपाईंलाई कारबाही गराउँछु।
उनी बम्किँदै बाहिर निस्किए। म चुपचाप हेरिरहेँ।
आधा घन्टापछि पूर्व क्षेत्र (विराटनगर) डिआइजी भुवन चन्द भट्टको फोन आयो, 'ए इन्स्पेक्टर, सम्माननीयलाई थर्काइस् हैन?'
मैले भनेँ, 'सर मैले होइन, उहाँले थर्काउन खोज्नुभयो। म नथर्केपछि आफैं थर्केर हिँड्नुभयो।'
तब डिआइजी सा'ब मज्जाले हाँस्नुभयो।
मान खोज्ने तर मर्यादा पालना नगर्ने नेपालका 'प्रभावशाली' पदधारीहरूले पढ्नैपर्ने एउटा प्रसंग छ।
प्रसिद्ध अमेरिकी अर्थशास्त्री तथा कुटनीतिज्ञ जोहन गेलव्रेथ (अमेरिकी राष्ट्रपति लिन्डन बी जोनसनका आर्थिक सल्लाहकार थिए) ले आफ्नो किताब 'लाइफ अफ आवर टाइम्स' मा एउटा प्रसंग उल्लेख गरेका छन्।
आइतबार बिदाको दिन लन्चपछि उनी एकछिन सुत्न आफ्नो कोठामा जानुअघि आफ्ना सहयोगीलाई 'म एकछिन आराम गर्छु, डिस्टर्ब नगर्नू है' भनेछन्।
सुत्न गएको एकैछिनपछि राष्ट्रपति जोनसनले फोन गरेछन्। सहयोगीले फोन उठाएर 'गेलव्रेथ आराम गरिरहेका छन्, म डिस्टर्ब गर्न सक्दिनँ' भनिछन्।
उताबाट जोनसनले फोनमा 'ए चिनेनौ, म राष्ट्रपति बोल्दैछु, जरूरी कुरा छ' भनेछन्।
तब सहयोगीले जवाफमा भनिछन्, 'म गेलव्रेथको कर्मचारी हुँ, तपाईंको होइन राष्ट्रपतिज्यू।'
जब गेलव्रेथ उठे, सहयोगीले कुरा सुनाइन्। गेलव्रेथले राष्ट्रपतिलाई फोन गरे।
फोन उठाउनासाथ राष्ट्रपति जोनसनले भनेछन्, 'तिम्रो सहयोगी जस्तै आठ/दस जना कर्मचारी ह्वाइट हाउसमा आवश्यक छ।'
के हाम्रा मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपतिले यो स्तरमा सोच्न सक्छन्? उनीहरूबाट सिक्न सक्छन्? कि मन्त्री जीवनराम श्रेष्ठ जस्तै आफूलाई नियम पालना गराउन खोज्ने सुरक्षा गार्डलाई आफ्नो पदको दुरूपयोग गर्दै गृह मन्त्रालयमार्फत प्रहरीलाई दबाब दिएर पक्राउ गर्न लगाउँछन्?
यस घटनामा मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डलाई पक्राएर कारबाही गराउनुभन्दा ती सुरक्षा गार्ड आवद्ध गरुड सेक्युरिटी कम्पनीका प्रमुखलाई फोन गरेर 'हामीलाई शेरजंग गुरुङ जस्तै सुरक्षाकर्मी चाहिएको छ' भनेको भए यस घटनापछि उनको पनि एउटा नबिर्सिने इतिहास लेखिने थियो।
(श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्प्सायर पुलि कन्स्टेबुलरीका सल्लाहकार छन्।)