२०१६ सालमा देशमा प्रजातान्त्रिक सरकार स्थापना भएपछि राजा महेन्द्र फुर्सदिला भएका थिए। अर्कोतर्फ उनमा केही उकुसमुकुस पनि थियो।
देशको दस वर्षदेखिको अवस्थाले उनी दुःखी थिए। राणाशासनका दुर्गुण देख्ने नेताहरूको अवस्था देखेर उनी दिक्दार थिए। जनताको स्वतन्त्रताको चाहनाका नाममा नेताहरू स्वतन्त्र हुन चाहेको उनको बुझाइ थियो।
नेताहरू जनताका लागि होइन, आफ्ना लागि मात्रै राजनीतिक यात्रामा हिँडेको उनको ठहर थियो।
राजा महेन्द्रले बिपी कोइराला प्रजातान्त्रिक सरकारभित्र पनि आफ्ना कुरा सुनिदिने र कांग्रेसभित्रका गोप्य छलफलका निर्णयहरू आफूमा ल्याइदिने विश्वास पात्र घुसाएका थिए।
देश चलाउने जिम्मा बिपीको सरकारलाई सुम्पिएपछि राजा एक किसिमले फुर्सदिला भएर देशभित्र र बाहिर घुम्न निस्किरहेका थिए। यसै क्रममा राजा महेन्द्र रानी रत्नका साथ साढे तीन महिना लामो विश्व भ्रमणका लागि निस्किए।
२०१६ चैत २८ गते जापानका लागि उडेका राजा उतैबाट अमेरिकी राष्ट्रपति आइजनहावरको निम्तोमा २०१७ को वैशाख १३ गते अमेरिका पुगेका थिए। राजाका साथ केही नेपाली कूटनीतिज्ञहरू पनि थिए।
राजाको यो भ्रमण विशेष महत्वको थियो। नेपाली राजाको पहिलो अमेरिका भ्रमण थियो।
यसअघि २०१० सालमा राजा त्रिभुवन उपचार तथा भ्रमणका लागि अमेरिका जान चाहेका थिए तर अमेरिकी सरकारले अनुमति दिएको थिएन। अनुमति नपाउनुको मूल कारण थियो, राजा त्रिभुवन दुवै पत्नीका साथ अमेरिका जान चाहनु।
राजा महेन्द्रको लामो भ्रमण केवल विदेश घुम्ने रहर थिएन। अमेरिकी सरकारले पनि एक वर्षअघिदेखि राजाको भ्रमणको गोप्य तयारी गरेको थियो।
राजा महेन्द्रको सोभियत संघ भ्रमण तथा सोभियत सहयोगको स्वीकारोक्तिपछि अमेरिकी सरकारको टाउको दुख्न थालेको थियो। यसकारण २०१५ चैत १० गते राज्य सचिव क्रिस्चियन ए हर्टरले राष्ट्रपति समक्ष गोप्य पत्र पठाउँदै नेपालका राजालाई अमेरिका भ्रमणको निम्तो पठाउन अनुरोध गरेका थिए।
उनले गरेको उक्त अनुरोधमा सुरूका तीन दिन राष्ट्रपतिको अतिथि गृहमा राखेर विभिन्न विषयमा छलफल गर्नसमेत आग्रह गरिएको थियो। रूसी जासुसहरूको बाहुल्य रहेको अमेरिकामा राजालाई कतै अन्यथा सल्लाह नदिऊन् भन्ने उद्देश्य पनि थियो।
२०१६ चैत २८ गते राजा महेन्द्र, रानी रत्न तथा कान्छ छोरा धीरेन्द्र करिब साढे तीन महिनाको विश्व भ्रमणका लागि त्रिभुवन विमानस्थलबाट हङकङतर्फ उडेका थिए। हङकङमा आठ दिन किनमेल र घुमघाम गरेर वैशाख ६ गते आठ दिवसीय भ्रमणका लागि जापानको राजधानी टोकियो पुगेका थिए।
टोकियो विमानस्थलमा राजारानी तथा अधिराजकुमार धीरेन्द्रको स्वागतार्थ सम्राट हिरोहितो, साम्राज्ञी नागाको, युवराज अकिहितो, युवराज्ञी मिचिको, प्रधानमन्त्री नोबुसुके किशी तथा मन्त्रीहरू उपस्थित थिए।
विमानस्थलमा राजालाई २१ तोपको सलामी दिइएको थियो। साथमा शाही ब्यान्डले नेपाल र जापानका राष्ट्रिय धुन बजाएको थियो। साठी वर्ष उमेरका हिरोहितोले ४० वर्षीय राजा महेन्द्रलाई अंकमाल गर्दै ‘जापानमा तपाईंलाई हार्दिक स्वागत गर्छौं’ भनेका थिए।
विमानस्थलबाट राजा महेन्द्र र जापानी सम्राट रोल्सरोयसमा निस्किएका थिए। रानी रत्न र साम्राज्ञी अर्को कारमा पछिपछि आएका थिए। बाटोमा जापानीहरूले शाही परिवारको भव्य स्वागत गरेका थिए।
जापानी सम्राट हिरोहितोले जापानको उच्च सम्मान स्वरूप ‘द ग्र्यान्ड अर्डर अफ द क्रिसान्थेमम प्रदान गरेका थिए। नेपालका राजाले सम्राट हिरोहितोलाई नेपालको उच्च सम्मान स्वरूप ‘ओजस्वी राजन्य’ पदवी प्रदान गरेका थिए।
राजाले वैशाख ७ गते सम्राट हिरोहितोसँग भेट गरेका थिए। ९ गते जापानी संसद डायटको अवलोकन गरे। यसै दिन निप्पन इलेक्ट्रिक कम्पनी पनि भ्रमण गरेका थिए। राजारानीले जापानका ऐतिहासिक सहरहरू क्योटो र नारा पनि भ्रमण गरे।
जापानको आठ दिवसीय भ्रमण पूरा गरी राजारानी वैशाख १३ गते मेक्सिको र क्यानडासहित उत्तर अमेरिकी देशहरूका लागि हवाई पुगेका थिए। जेठ १९ सम्म करिब ३८ दिनको तालिकामा विभिन्न सहरहरूको भ्रमण तथा भेटघाटको कार्यक्रम तय गरिएको थियो।
हवाईको राजधानी होनोलुलु पुगेका राजारानीले दोस्रो विश्व युद्धको महत्वपूर्ण स्थल पल हार्वर पनि भ्रमण गरे।
सन् १९४१ डिसेम्बर ७ मा जापानले पर्ल हार्वर आक्रमण गर्दा करिब दुई हजार ४०० अमेरिकीहरूको निधन भएको थियो। यसको बदलामा अमेरिकाले जापानका दुई सहर हिरोसिमा र नागासाकीमा आक्रमण गरेको थियो।
यो आक्रमणमा ६० हजार जापानीहरूको निधन भएको थियो। बम आक्रमणबाट फैलिएको विकिरणका कारण लाखौं जापानी लामो समयसम्म बिमार भए। यसपछि जापानले आत्मसमर्पण गर्दै युद्ध रोक्न आह्वान गरेको थियो।
पर्ल हार्वरमा राजा महेन्द्रको सम्मानमा २१ तोपको सलामी दिइएको थियो।
हवाईबाट अमेरिकी राष्ट्रपतिको विमान चढेर राजारानी वैशाख १५ गते वासिङटन पुगेका थिए। राजारानीलाई अमेरिकी राष्ट्रपति आइजनहावरले स्वागत गरेका थिए।
वैशाख १७ गते राजारानीले पेन्टागनको भ्रमणपछि हेलिकप्टरबाट वासिङटन सहर अवलोकन गरेका थिए। यसपछि राजारानी वैशाख १८ सम्म राष्ट्रपति आइजनहावरका विशेष पाहुना भएर ह्वाइट हाउसको अतिथि गृहमै रहेका थिए।
वैशाख १५ राति राष्ट्रपतिले राजारानीका लागि डिनर पार्टी राखेका थिए। राजाले वैशाख १६ गते अमेरिकी कंग्रेसलाई सम्बोधन गरेका थिए। सोही दिन साँझ राजा महेन्द्र र राष्ट्रपति आइजनहावरबीच वार्ता भएको थियो।
तीन दिन वासिङटन बस्दा राजाको पहिरनका विषयमा केही खिसीटिउरी पनि भएको थियो।
त्यो समय वासिङटनमा छापिने ‘द डेली न्युज’ को १६ मे १९६० मा छापिएको पत्रिकाको चौथो पृष्ठको पाँचौं कोलममा रहेको ‘वासिङटन न्युज नोटबुक’ मा जेरी बेनेटले लेखेकी थिइन्– भ्रमणमा रहेका नेपाली राजाका बारेमा एउटा रमाइलो कुरा उनले लगाएको लुगाको बारेमा छ। राजाले लामो कुर्ता, त्यसमाथि जोधपुरी लगाएका थिए। त्यसको बाहिर बटन नलगाई कोट लगाएका थिए। भित्रको कुर्ता कोटभन्दा तलसम्म आएको थियो। त्यो देखेर वासिङटनवासीले सोचे, राजाले आफ्नो सर्ट प्यान्टभित्र हाल्नै बिर्सेछन्....।
वैशाख १८ गते न्यूयोर्क पुगेका राजारानीको लागार्डिया विमानस्थलमा भव्य स्वागत गरिएको थियो।
विमानस्थलमा राजालाई ‘द फेस अफ न्यूयोर्क’ पुस्तकको ठेली नै उपहार दिइएको थियो। रानीलाई न्यूयोर्क सहरको साँचोको सानो सुनको प्रतिरूप दिइएको थियो।
लोवर ब्रोडवेबाट राजारानीको स्वागतको जुलुस नै निकालिएको थियो। हजारौं न्यूयोर्कवासीले राजारानीको सम्मान गरेका थिए। न्यूयोर्क सहरका तत्कालीन मेयर रवर्ट वाग्नरले स्वागत गरेका थिए। राजारानीको सम्मानमा २१ तोपको सलामी पनि दिइएको थियो।
न्यूयोर्कमा रहँदा राजारानीका लागि त्यस बेलाको सबैभन्दा उत्कृष्ट एवं अग्लो होटल वाल्डर्फ एस्टोरियामा बिहानी खाना व्यवस्था गरिएको थियो।
संयुक्त राष्ट्र संघको मुख्यालयमा वैशाख २० गते पुगेर राजा महेन्द्रले महासचिव ड्याग ह्यामरशोल्डसँग भेटवार्ता गरेका थिए।
यस समय राजा महेन्द्रका साथ रानी रत्न, उपप्रधानमन्त्री सुवर्ण शम्शेर जबरा र राष्ट्र संघमा नेपाली प्रतिनिधि ऋषिकेश शाह पनि उपस्थित थिए।
न्यूयोर्क सहरको यात्रापछि १२ दिवसीय ‘कोस्ट टु कोस्ट' यात्रा सुरू भएको थियो।
न्यूयोर्कबाट राजा महेन्द्र फ्लोरिडा राज्यको मियामी, टेनेस्सी राज्यको नोक्सविल, मिचिगन राज्यको डेट्रोइट, टेक्सास राज्यको डलास, न्यू मेक्सिकोको अल्बुकर्क, लस एन्जेल्स, सान फ्रान्सिस्को, ओरेगन राज्यको सलेम तथा युजिनको लामो भ्रमणमा निस्किएका थिए।
अमेरिका भ्रमणका क्रममा २०१७ साल वैशाख २८ गते राजारानी तीन दिवसीय भ्रमणका लागि लस एन्जेल्स विमानस्थलमा उत्रिएका थिए।
लस एन्जेल्सको प्रमुख आकर्षणका रूपमा रहेको हलिवुड तथा डिज्नेल्यान्ड घुम्ने चाहना थियो राजारानीको।
डिज्नेल्यान्ड भ्रमणका लागि वाल्ट डिज्नेले राजालाई पहिले नै निम्तो दिएका थिए। लस एन्जेल्समा राजारानी चढेको विमान अवतरण गर्दादेखि नै वाल्ट डिज्ने साथमा थिए।
वैशाख २९ गते राजारानीले हलिवुड भ्रमणका लागि समय निकालेका थिए। राजारानी हेलिकप्टरमा लस एन्जेल्सको पहाडी भागमा रहेको सांता सुजाना फिल्ड ल्याबोरेटरी भ्रमणका लागि पनि पुगेका थिए।
डिज्नेल्यान्डमा राजारानीलाई वाल्टले विशिष्ट पाहुनाका रूपमा आफैंले घुमाएका थिए।
हलिवुडको भ्रमणमा राजारानी पारामाउन्ट स्टुडियो पुगेका थिए। स्टुडियोमा राजारानीका लागि शुभराज्याभिषेकको दृश्य समेटिएको फिल्म ‘सर्च फर प्याराडाइज’ देखाइएको थियो।
पारामाउन्ट स्टुडियोमा डिन मार्टिन शेर्ले माक्लेनको ‘अल इन अ नाइटस् वर्क’ फिल्मको सेट हेरेपछि त्यहीँ नजिकै रहेको अर्को सेटमा एल्भिस प्रेस्लेको ‘जी. आइ. ब्लुज’ को सुटिङ तयारी हेर्न पुगेका थिए।
राजारानी एल्भिस प्रेस्लेको गीतको रेकर्डिङ तयारीमा पुग्दा प्रेस्ले सैनिक पोशाकमा ‘फ्रांकफोर्ट स्पेशल’ गीत रेकर्डिङको तयारीमा थिए। सोफामा प्रेस्लेसँग भेट्न पर्खिएका राजारानीलाई प्रेस्लेले स्टेजबाट तल ओर्लेर स्वागत गरेका थिए।
उनले सोफामा बसेर केही बेर राजारानीसँग भलाकुसारी गरेका थिए। राजा महेन्द्रले आफू प्रेस्लेको प्रशंसक रहेको र गीत तथा फिल्मबाट राम्ररी चिनेको भन्दै प्रशंसा गरेका थिए।
त्यस बेला डिज्नेल्यान्डका मालिक वाल्ट डिज्नी पनि राजारानीका साथ हलिवुड पुगेका थिए।
त्यस बेला लस एन्जेल्स टाइम्सका संवाददाता वाल्टर आर्म्स राजाको लस एन्जेल्स भ्रमणभर साथमा थिए। उनले लस एन्जेल्स टाइम्सका लागि भ्रमणका समाचार लेखेका थिए।
राजारानी सोही दिन एल सेगुंडोमा रहेको तेल प्रशोधन केन्द्र पनि हेर्न पुगेका थिए। भोलिपल्ट भने वाल्ट डिज्नेको विशेष निमन्त्रणामा डिज्नेल्यान्ड पुगेका थिए।
त्यसपछि राजारानीले जेठ ३ देखि ५ गतेसम्म मेक्सिको तथा जेठ १४ देखि १५ गतेसम्म क्यानडा भ्रमण गरे। बाँकी समय र अमेरिकाकै विभिन्न राज्यहरूको भ्रमण गरेका थिए।
मेक्सिकोको राजधानी मेक्सिको सिटीको भ्रमणपछि राजारानी १० दिन व्यक्तिगत भ्रमणमा अमेरिकामै रहे। यसपछि जेठ १४ गते क्यानडाको राजधानी ओटावा पुगेका थिए। ओटावामा २१ तोपको सलामीसहित राजाको स्वागत गरिएको थियो।
त्यस बेला क्यानडाका तत्कालीन प्रधानमन्त्री जोन डिफेन्बेकर बिरामी भएका कारण राजाको स्वागतमा आउन सकेनन्। गभर्नर जनरल जर्ज फिलियस वेनियरले स्वागत गरेका थिए।
पब्लिक प्रोसेक्युटर लियोन बालसर पनि राजारानीको स्वागतका लागि उपस्थित थिए। राजाले क्यानडा भ्रमणका क्रममा त्यहाँको संसद बैठकको प्रक्रिया अवलोकन पनि गरेका थिए। नेपालमा प्रजातान्त्रिक सरकार गठन भएको हुँदा विश्व राजनीतिक अध्ययनका लागि राजा महेन्द्रले आफ्नो समय सदुपयोग गरेका थिए।
यसको साथै राजाले अमेरिकी विकासका नमूनाहरूको अध्ययन गरेका थिए जसले नेपालको विकासमा पनि सहयोग गर्न सक्थ्यो।
यसरी राजा महेन्द्र जापान, अमेरिका, मेक्सिको, क्यानडा तथा पोर्चुगलको भ्रमण पूरा गरेर स्वदेश फर्केका थिए।
भ्रमण केबल मनोरञ्जनका लागि थिएन, कूटनीतिक अध्ययन तथा देशमा एकतन्त्रीय शासनको लागि तयारीका लागि पनि थियो।
राजारानी अमेरिकाबाट पोर्चुगलको राजधानी लिस्वन हुँदै २०१७ साउन १३ गते स्वदेश फिरेका थिए।
यस विश्व भ्रमणको केही तालिका भने सार्वजनिक गरिएन।
त्यो समय राजा महेन्द्रले कहाँ बिताए, कोकससँग भेटे भन्ने कतै उल्लेख गरिएको पाइँदैन।