नेपालका एक सयभन्दा बढी जातजातिमा नेवाः पनि एक रैथाने जाति हो। पर्वते भाषामा यो जातिलाई नेवार भनिन्छ भने यसको आत्मनाम (इन्डोनिम) चाहिँ नेवाः हो।
नेवाः शब्दको मूल रूप नेवाल हो। नेवाः जातिलाई तिब्बती भाषामा 'बाल्पो' र तामाङ भाषामा 'बाइ' भनिन्छ।
नेवाः जातिको मूल थलो नेपाः उपत्यका (काठमाडौं उपत्यका) वरिपरिका क्षेत्र समेटिएको भूखण्ड 'नेपा: मन्दल' अर्थात् नेपाल मण्डल हो। नेपाल मण्डलमा नेवाः जातिलाई प्रथम-राष्ट्र (फस्ट नेसन) का रूपमा लिइन्छ। कुनै समय एउटा भूखण्डमा पहिलो मानव आवादी बसाली कालान्तरमा आफ्नै राष्ट्र निर्माण गरेको जनसंख्यालाई प्रथम-राष्ट्र भनिन्छ।
नेवाः बहुलतामा आधारित जाति हो। किनभने नेवाः जातिमा कुनै एकास्वरूपको (होमोजिनस) समूह होइन, विविधतामूलक जनसंख्या हुन्छ। उदाहरणका लागि, अहिले विश्वभरका मानिस अमेरिका जान्छन्। त्यहाँ स्थायी बसोबास भएपछि अमेरिकी कहलिन्छन्। कुनै समय नेपाः उपत्यका तथा नेपाल मण्डल पनि त्यस्तै प्रकारको स्थान थियो। यहाँ विभिन्न ठाउँबाट विभिन्न पृष्ठभूमिका मानिसको प्रवेश भयो। ती सबै जना कालान्तरमा एकअर्कासँग अन्तरघुलन भए। यसरी विविध उत्पत्तिका मानिसको अन्तरघुलनबाट नेवाः जाति सिर्जना भएको पाइन्छ। त्यसैले नेवाः जातिलाई आफैंमा एउटा राष्ट्र भन्न सकिन्छ।
नेवाः इतर समुदायले नेवाःलाई एउटै जातिका रूपमा हेरे पनि यसभित्र विभिन्न जातजाति छन्। यी विभिन्न जातिभित्र पनि जात (कास्ट) हुन सक्छ। कतिपय जाति आफैंमा जात पनि हो। उदाहरणका लागि, हाम्रो जुगि जाति आफैंमा एउटा जात हो। तर उराय् जातिभित्र तम्वः, कसाः जस्ता जात छन्। त्यसैगरी स्यस्यः जातिभित्र महाजु, ज्वसि, मुलमि, कसाजु, आचाजु जस्ता जात छन्।
यी विभिन्न जातजातिमा विभिन्न थर प्रयोग गरिन्छ। नेपाल सम्बत् ११३७ देखि ११४१ सम्म विजु कर्माचार्यले सामाजिक सञ्जालमा गरेको एक सर्वेक्षणबाट नेवाः जातिमा प्रयोग हुने १ हजार ५८ थर सूचीकरण गरिएको छ। यसबाट नेवाः जाति एक विविधतायुक्त जाति हो भन्ने बुझ्न सकिन्छ।
नेवाः जातिभित्रको जुगि जाति
नेवाःभित्रका विभिन्न जातजातिमध्ये जुगि जाति एक हो। काठमाडौं उपत्यकामा यस जातिको अस्तित्व लिच्छविकालदेखि देखिन्छ।
जुगि जातिलाई कहीँ जोगी (नेपाल भाषाको बोलाइमा ज्वगि) त कतै योगी भनिन्छ। जुगि जातिले कपाली, दर्शनधारी, दर्शणधारी, दर्शन, कुस्ले, कुश्ले, कुसलनाथ तथा कुस्ल्या थरहरू प्रयोग गरेको पाइन्छ।
जुगि जातिहरू आफ्नो देगुद्यः/दुगुद्यः/देउद्यः (भाषिकाअनुसार फरक शब्दावली) अर्थात् कुलदेउताका रूपमा गोरखनाथलाई मान्ने गर्छन्। त्यसैगरी बाला चःह्रे (बाला चतुर्दशी) का दिन प्रायः जुगिहरूको देगु/दिगु/देउ पूजा (कुलदेउता पूजा) हुन्छ। कतिपय स्थानमा सिथि नखःका दिन पनि पर्छ।
जुगि जाति आफूलाई नाथ सम्प्रदायको मान्छन्। त्यसैले प्रायः पुरूषहरूको मध्य नाममा नाथ उल्लेख हुन्छ।
जुगि जातिमा आफ्नै जातको पुरोहित हुन्छ। हामी उनीहरूलाई ग्वबाःजु भन्छौं। तर यिनीहरू बर्मुं (ब्राह्मण) वा गुभाजु (बज्राचार्य) नभएर जुगि जातिकै मानिस हुन्।
जुगि जातिमा कसैको मृत्यु भएपछि मृत शरीर गाड्ने गरिन्छ। नेवाःभित्र मृत शरीर गाड्ने परम्परा भएको जुगि जाति मात्र हो।
नेवाः समाजको मृत्यु संस्कारसँग जुगि जातिको सम्बन्ध रहेको पाइन्छ। नेवाः समाजमा कसैको मृत्यु हुँदा सात दिनपछि मृतकका नाममा भात लगायत खाद्यान्न प्यकालँ (चारदोबाटो) वा द्वपाः (दोबाटो) को मध्यमा रहेको 'छ्वास' भन्ने स्थानमा चढाउने गरिन्छ। यसलाई 'न्हय्नुमा' भनिन्छ। जुगि जातिले यो न्हय्नुमा लाने गर्थे।
मृतकको घरमा रहेको 'चाभुतू' (माटोको चुल्हो) भत्काएर त्यसका इँटाहरू पनि त्यही छ्वासमा फालिन्छ। त्यसरी भत्काएर फाल्नुअगाडि घरका छोरीहरूले उक्त चुल्होमा अन्तिम भात पकाएका हुन्छन्, जसलाई 'पाखा जा' भनिन्छ। त्यस्ता पाखा जा पनि जुगि जातिले नै लाने गर्थे।
मृतकका लत्ताकपडा पनि छ्वासमा लगेर विसर्जन गरिन्छ। यसलाई 'छ्वासय् वायेगु' भनिन्छ। यी लत्ताकपडा पनि जुगि जातिले लाने गर्थे।
जनविश्वासअनुसार यस्ता छ्वासमा खतरनाक प्रेतात्माहरूको बास हुन्छ। जुगि जातिको तन्त्रविद्याले त्यस्ता भूतप्रेत सामना गर्न सक्ने तथा भूतप्रेत पन्छाउन सक्ने मान्यता छ। जुगि जातिका महिलाहरू अजि (सुँडेनी) तथा झारफुकको काम पनि गर्छन्। तर यी परम्परागत पेसालाई हीनभावले हेरिने र यस्ता कार्य जातीय विभेद तथा उचनिचको उपजका रूपमा रहेकाले अहिलेको पुस्ताले प्रायः छाडिसकेका छन्। त्यसैगरी सुचिकाः ज्या (सिलाइ) पनि जुगि जातिको पुरानो पेसामध्ये पर्छ।
जुगि जातिको परम्परागत बाजं (बाजा) म्वहालि/मुहालि हो। यो फुकेर बजाउनुपर्छ, जसलाई नेपाल भाषामा पुइगु (पुइउ) भनिन्छ।
नेवाः समाजमा म्वहालि बाजाको ठूलो महत्व छ। म्वहालिको प्रयोग भिंज्या (सुमंगल कार्य) मा गरिन्छ। उदाहरणका लागि, विवाहको अवसरमा म्वहालि बजाइन्छ। मन्दिरहरूमा पनि म्वहालि बजाइन्छ। यो बाजाले देवीदेउता आकर्षित गर्ने मान्यता छ। मन्दिरहरू स्थापना गर्दा वा देवीदेउताको मूर्ति स्थानान्तरण गर्दा यो बाजा बजाउन महत्वपूर्ण मानिन्छ।
जात्रापर्वमा पनि म्वहालि बाजा प्रयोग गरिन्छ। तथापि हाल म्वहालि बाजा बजाउने मानिसहरू कम हुँदै गएका छन्।
जातीय विभेदमा जुगि
जयस्थिति मल्लले नारदस्मृतिलाई नेपाल भाषामा उतार गरी 'न्यायविकासिनी' जारी गर्दा चार जात कुस्ले भनेर उल्लेख गरेका छन्। मुलुकी ऐन, १९१० ले संस्थागत गरेको जात व्यवस्थामा कुस्ले नामले जुगि जातिलाई पानी नचल्ने तर छोइछिटो गर्नु नपर्ने भनी वर्गीकरण गरिएको थियो।
यो वर्गीकरणमा जुगि जातिसँगै नाय् जातिलाई पनि राखिएको छ। त्यसैले जुगि जातिले आफूलाई नाय् जातिभन्दा उच्च र नाय् जातिले आफूलाई जुगि जातिभन्दा उच्च मान्ने परस्पर विभेदको अवस्था छ।
उक्त वर्गीकरणमा पानी नचल्ने र छोइछिटो पनि गर्नुपर्ने अरू थुप्रै नेवाः जातिहरूको उल्लेख छ। पानी नचल्ने भनी वर्गीकृत जातहरूको तुलनामा जुगिलाई उच्च स्थानमा राखिएको पाइन्छ।
नेवाः जातिको थजाःक्वजाः धापू (जात व्यवस्था) तथा थलाःक्वलाः (उचनिच) को वर्गीकरणमा जुगिलाई सूचीको तल्लो खण्डमा राखिएको छ। यसरी जात व्यवस्थाबाट उत्पीडित जातहरूलाई हाम्रो समाजमा क्वलाकातःगु अर्थात् तल पारिएका जात भनिन्छ।
चलनचल्तीमा क्वजात (शाब्दिक अर्थ : तल जात, भावार्थ : तल्लो जात) भन्ने शब्द पनि चलिआएको छ। यो शब्द आफैंमा जातीय विभेदको उपज हो। कुनै जात ठूलो वा सानो हुँदैन। तर विभेदजन्य व्यवस्थामा कुनै जातका व्यक्तिलाई तल पारिएको हुन्छ। त्यसैले क्वलाकातःगु जातले कुनै जात निहित रूपमा तल्लो नभएर व्यवस्थात्मक रूपले तल पारिएको भन्ने बुझिन्छ।
जातीय विभेदको प्रभाव उक्त समुदायको सर्वांगीण विकासमा हुन्छ। जातीय विभेदले समुदायको शिक्षा, स्वास्थ्य, रोजगार लगायत जीवनका सबै पक्षमा गम्भीर असर पुर्याएको हुन्छ।
आदिवासी जनजातिको सूचीमा नेवार र थकालीलाई विकसित जातिका रूपमा सूचीकृत गरिएको छ। तर अरू आदिवासीभन्दा फरक र एउटै जातिभित्र विविध जाति रहेको तथा जात व्यवस्थाको उचनिचको मान्यतासमेत भएको नेवाः जातिको संयुक्त तथ्यांक मात्र हुँदा सबै नेवाःलाई एकै डालोमा राखिन्छ। राज्यसँग तथ्यांक पनि समग्र नेवाः जातिको मात्र छ। नेवाःभित्रका विभिन्न जातिको विखण्डित तथ्यांक राज्यसँग छैन।
जातीय विभेदले ग्रसित समाजमा जातीय आधारमा विखण्डित तथ्यांक नहुँदा कुन जातिको अवस्था कस्तो छ भन्ने प्रस्ट आधार देखिँदैन। नेवाः जातिलाई समृद्ध तथा विकसित जातिका रूपमा व्याख्या गर्दा नेवाःभित्र जात व्यवस्थाले उत्पीडित र जात व्यवस्थाको उचनिच सूचीमा तल पारिएका समुदायको अवस्था आधिकारिक तथ्यांकमा देखिन सकेको छैन।
नेवाः बस्तीको संरचनामा जात
नेवाः बस्तीको आफ्नै विशेषता छ। यसको स्वरूप पनि अरू बस्तीभन्दा पृथक छ।
भौतिक संरचना हेर्ने हो भने सहरको मध्यमा लाय्कू (दरबार) हुन्छ। यहाँ प्रत्येक टोल-टोलमा मन्दिर तथा चैत्य हुन्छ। जहाँ चैत्य हुन्छ, त्यहाँ मन्दिर पनि हुन्छ र जहाँ मन्दिर हुन्छ त्यहाँ चैत्य पनि हुन्छ। यहाँ तीनतर्फ घरले घेरिएको लाछि पनि छ। चारैतर्फ घरले घेरी घरमुनिको प्रवेशद्वारबाट चोक-चोकको जटिल सञ्जाल बनेका बहाः, बही, ननि, चुक, लिबि जस्ता पृथक संरचना पनि छन्। फल्चा, सतः, हिति जस्ता संरचना पनि छन्।
यिनै विविध संरचनामध्ये सतः अर्थात् सत्तल एक हो। सतः भन्नाले एक प्रकारको पाटीपौवाजस्तो संरचना हो। यात्रा गरिरहेका मानिसलाई बास बस्न सजिलो होस् भनेर यस्ता संरचना बनाइन्थ्यो। कतिपय मानिसले धर्म कमाउन आफ्नो घरमुनिको तल्लालाई सतःका रूपमा छाडेका पनि हुन्थे।
यिनै सतः (सत्तल) तथा सतःछेँ (सत्तल घर) को इतिहाससँग जुगि जातिको अन्योन्यास्रित सम्बन्ध रहेको पाइन्छ।
नेवाः बस्ती विभाजनको जातीय आयाम पनि छ। लाय्कू क्षेत्रमा राजपरिवारहरू बस्थे। त्यस वरिपरि कथित उच्च जातका मानिस बस्थे। त्यो घेराबाहिर ज्यापु जाति र त्यसपछि विभिन्न सेवामूलक पेसा अपनाएका जाति बस्थे। बौद्धमार्गी गुभाजु तथा बरेजु लगायतको बसोबास बहाः तथा बहीजस्ता स्थानमा देखिन्छ।
सहर वरिपरि पर्खालले घेरिएको हुन्थ्यो। कथित तल्लो जातका मानिसलाई पर्खालबाहिर राखिन्थ्यो। उदाहरणका लागि, प्वः जातिका मानिसले माछा मार्ने, सहर बढार्ने तथा द्यप/दीप (मसानघाट) को तान्त्रिकका रूपमा काम गर्थे। उनीहरूलाई सहरको बाहिरी भागमा राखिन्थ्यो।
च्यामिखलः जाति शौचालय व्यवस्थापनको पेसामा संलग्न थिए। शौचालय व्यवस्थापन गर्न सहरबाहिरका खोलानाला तथा खेतबारी प्रयोग गरिने हुनाले उनीहरूलाई पनि बाहिरै राखिन्थ्यो। त्यसैगरी मासु बेचबिखन र पशु वधशालाको काम गर्ने नाय् जातिको बास पनि सहरको बाहिरी भागमा हुन्थ्यो।
मूलतः कथित पानी नचल्ने तथा छोइछिटो गर्नुपर्ने भनिएका जात सहरको बाहिरी भागमा बसालिन्थे।
जुगिहरू पनि जात व्यवस्थामा तल पारिएको जात हो। तर अरू कथित तल्लो जातसरह जुगि जाति भने सहरको बाहिरी भेगमा नभएर भित्री भेगमै बसोबास गर्छन्। प्रत्येक त्वाः (टोल) को प्यकालँ (चारदोबाटो) तथा द्वपाः (दोबाटो) को संस्कारसँग जोडिएको हुनाले तिनै स्थान नजिकैको सतःछेँ (सत्तल घर) मा जुगि जातिको बसोबास रहेको छ।
कतिपय मन्दिर हेरविचार गर्न पनि त्यस नजिकैको सतःछेँमा जुगि जातिलाई राखिएको हुन्छ। भूतप्रेत पन्छाउनसक्ने तन्त्रविद्या जानेकाले भूतप्रेतको वास रहेको मानिने छ्वास नजिकका सतःछेँहरूमा जुगि जातिको बास राखिन्थ्यो।
सहरको मध्य भागमा राखिए पनि अरू कथित ठूला जातहरूसँगको समान हैसियत भने कायम हुँदैनथ्यो। प्रत्येक टोलको आ-आफ्नै छ्वासका लागि आ-आफ्नै जुगि परिवार र तिनको सतःछेँ देखिन्छ। उनीहरूले घरमुनिको सतः (सत्तल) मा मेसिन राखी सिलाइको काम गर्ने गरेको पाइन्छ।
हामी सबैलाई काष्ठमण्डप त थाहै छ। यसलाई एउटा राष्ट्रिय धरोहर मानिन्छ। नेपाल भाषामा मरू सतः भनिन्छ। यो पनि एउटा सत्तल हो र यहाँ जुगि जातिका मानिस बस्थे। २०३० सालताका मरू सतः राष्ट्रियकरण गर्न त्यहाँ बस्ने जुगि परिवारलाई उठाइएको थियो।
धनबहादुर कुँवरले नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयमा विद्यावारिधिका लागि मानविकी तथा सामाजिकशास्त्र संकायमा प्रस्तुत गरेको 'काठमाडौं उपत्यकाका कुसले जातिको सामाजिक तथा धार्मिक जीवन र परिवर्तनका स्वरूपहरू' शीर्षकको शोध प्रबन्धमा लिच्छविकालीन समयदेखि जुगि जातिको बसाइ सतःछेँमा रहेको तथ्य अघि सारिएको छ।
डेभिड गेल्नरको 'लो कास्टस् इन ललितपुर' मा पनि जुगि जातिको बसाइ सतःछेँमा हुन्छ भनी देखाइएको छ।
लक्ष्मीप्रसाद कपाली, राजु कपाली तथा सुनिल कपालीले लेखेको 'कपाली : संक्षिप्त परिचय' मा पनि विभिन्न अभिलेख अध्ययन गरी जुगि जातिका मानिसको सतःछेँमा बसोबास रहेको पुष्टि गरिएको छ।
उलरिका मुलर बुकरले सन् १९८८ मा 'स्पेसल अर्गनाइजेसन अफ कास्ट सोसाइटी : एन इक्जाम्पल अफ द नेवार इन काठमान्डू भ्याली, नेपाल' नामक पुस्तकमा नेवाः बस्तीहरूको जातीय संघटनबारे अनुसन्धान गरेका थिए। उनले उपत्यकाका ४३ वटा नेवाः बस्तीमा अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानमा उनले भनेका छन्, 'अशुद्ध मानिने जोगीहरू सबै बस्तीभित्र बस्छन्। अक्सर आफूले संरक्षण गरिरहेको मन्दिर नजिकको सत्तलमा। यी सत्तलहरू बहुतल्ले संरचनाका हुन्छन्, जुन तीर्थयात्री तथा तपस्वीहरूको वासका लागि दान गरिएको हुन्छ तथा त्यहाँ देउताको पनि वास हुन सक्छ।'
यी विभिन्न दस्तावेजबाट ऐतिहासिक कालखण्डदेखि तथा नेपाः उपत्यकामा जुगि जातिको प्रवेशकालदेखि नै उनीहरूको बसोबास सतःछेँहरूमा रहेको तथ्य पुष्टि हुन्छ।
सम्पदा संरक्षणको जातभेदी परिभाषा
नेपाः उपत्यका लगायत नेपाल मण्डलका सबै नेवाः बस्ती ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक धरोहरले भरिपूर्ण छन्। यसका कुना-कुनामा सूक्ष्मदेखि विशालरूपी धरोहरको व्यापकता पाइन्छ। तर आधुनिकीकरणका क्रममा यस्ता धेरै ऐतिहासिक विशेषता लोप हुँदै गएका छन्। यसरी हाम्रो इतिहास लोप हुनबाट बचाउन सम्पदा संरक्षणका विभिन्न विधि अवलम्बन गरिएको छ।
नेवाः सभ्यता कुनै मृत सभ्यता होइन। त्यसैले मृत सभ्यताको विधि अपनाएर संग्राहलयीकरण गर्नु यसका लागि उचित छैन। नेवाः सभ्यता जीवित सभ्यता हो। प्रत्येक जीवित सभ्यता जस्तै हाम्रो सभ्यता पनि गतिशील हुनु स्वाभाविक हो।
सर्वप्रथम त सम्पदा भनेको मूर्त संरचना मात्र होइन, त्यससँग जोडिएका इतिहास, संस्कृति, रीतिरिवास र त्यसका मानिस पनि हुन्। सतः (सत्तल) मूर्त सम्पदा हो भने प्राचीन कालदेखि त्यहाँ बसोबास गरिआएका जुगि जातिका मानिस अमूर्त सम्पदा हुन्।
यल लाय्कू (पाटन दरबार) क्षेत्रको मनि गनेद्यः (मणि गणेश) छेउमा एउटा सतःछेँ छ। हाइजेनिक पानीपुरी पस्ने ठाउँ र दरबार क्याफेको बीचमा उक्त सतःछेँ रहेको छ। पहिले त्यहाँ एक जुगि परिवारको बसोबास थियो। सम्पदा संरक्षणका लागि भनेर उक्त परिवारलाई त्यहाँबाट हटाइयो। अहिले संरचना मौलिक स्वरूपमै यथावत् छ। तर त्यहाँ पर्यटक प्रहरी चौकी राखिएको छ।
पर्यटक चौकी राखेर उक्त संरचना प्रयोग गर्नुलाई सम्पदा संरक्षण ठान्ने तर पुर्खौंदेखि बसोबास गर्ने जुगि परिवारलाई सम्पदा संरक्षणको अंग नमान्ने जातिभेदी सोचको उपज हो।
उक्त स्थानमा प्रहरी चौकी राखिएको थिएन भने पनि जुगि परिवार हटाएर सत:छेँलाई मात्र एउटा आत्माविहीन शरीरजस्तै ठड्याउनुको महत्व के रहन्छ?
नेपाः उपत्यका, नेवाः सभ्यता तथा ऐतिहासिक नेवाः बस्तीहरूको महत्व यहाँका संरचना मात्रले नभएर त्यस संरचनाको अभिन्न अंग भई पुर्खौंदेखि बसिआएका मानिस पनि हुन्। वर्षभरि चलायमान रहने अनेकौं मानवीय गतिविधिले संस्कृति, सभ्यता र सम्पदा जीवित राख्ने हो। यदि संरचना एक्लैले सम्पदा संरक्षण हुन्छ भने जुगि जाति बसिआएका सतःछेँ मात्र किन, यस नेपाल मण्डलका प्रत्येक ऐतिहासिक नेवाः बस्तीको घेराभित्र रहेका सम्पूर्ण घर खाली गरेर सिंगो सहरकै संरक्षण गरौं न त?
कथित उच्च जातका नेवाःहरूको भूमिका
जुगि जातिको उठीबासका सन्दर्भमा कथित उच्च जातका नेवाःहरूको महत्वपूर्ण भूमिका रहेको पाइन्छ। प्राय: टोलमा एक घरबाहेक जुगि परिवार देखिँदैन।
जुगि जाति बस्ने सतःछेँहरू प्रायः कथित उच्च जातका मानिसको बाहुल्य रहेको ठाउँमा हुन्छ। अरू कथित तल्लो जातका मानिसको आ-आफ्नै टोल हुन्छ, जुन प्रायः कथित उच्च जातका मानिसको टोलभन्दा फरक हुन्छ। जुगि जातिको बसोबास भने मध्यसहरको टोल-टोलमा हुने भएर कथित उच्च जातका नेवाःहरूबाट घेरिएको अवस्थामा छ। आफ्नो टोलको सम्पदा संरक्षण गर्ने नाउँमा सतःछेँको संरचनालाई कथित उच्च जातकाहरूले मिलेर जुगि परिवारलाई उठाएका कयौं उदाहरण छन्। नेवाः जातिभित्रको जात व्यवस्थाले हामी कथित तल्लो जातिहरूमाथि भइरहेको उत्पीडनको एउटा आयाम यो पनि हो।
ऐतिहासिक नेवाः बस्तीका सबै संरचना सम्पदा नै हुन्। प्रायः हुनेखानेले ऐतिहासिक सहरभित्रै आधुनिक संरचना खडा गरेका छन्। उनीहरू आधुनिक घरको विलासितामा बस्छन्। जुगि जातिलाई हटाएर सतःछेँ संरचनालाई आत्मा नभएको मृत शरीरजस्तै यथावत् राख्न तम्सिनेहरू प्रायःले आफ्नै घरलाई पुर्खाहरूको मौलिक शैलीमा निर्माण गरेको पाइँदैन। यी कथित उच्च जातहरूमध्ये कति जना आफ्नो आधुनिक शैलीको घर भत्काएर पूर्ववत् मौलिक शैलीमा निर्माण गर्न तयार छन्?
जसरी उनीहरूले आफ्नो पुर्खाबाट हस्तान्तरण हुँदै आएको संरचनालाई समसामयिक जीवनानुकूल निर्माण तथा पुनर्निर्माण गरेका छन्, त्यही समान सुविधा हामी जुगि जातिका मानिसले आफ्ना पुर्खाबाट हस्तान्तरण हुँदै आएको संरचनामा अपनाउन खोज्दा सम्पदा मासिन्छ भन्नु पूर्णतः दोगलापन तथा जातिभेदी मानसिकताको परिणाम हो।
सतःछेँ ऐतिहासिक सम्पदा हो भने ऐतिहासिक नेवाः बस्तीका सबै घर उत्तिकै सम्पदा हुन्। सम्पदा संरक्षणका लागि जुगि जातिले आफ्नो घर छाड्नुपर्छ भने यी कथित उच्च जातिका नेवाःहरूले पनि आफ्नो घर छाड्नुपर्छ र सम्पदा संरक्षणका लागि राज्यको हातमा सुम्पिदिनुपर्छ।
आफ्नो टोलको मृत्यु संस्कार पूर्ति गरिदिन 'ल्याएर राख्ने', आफूलाई चाहँदा 'राख्ने' तर नचाहँदा 'फाल्ने' गरेर हामीलाई फाल्नयोग्य समुदाय (डिस्पोजेबल कम्युनिटी) का रूपमा मानिएको छ। संरचनात्मक संरक्षणका निहुँमा जुगि जातिलाई टोल-टोलबाट हटाउने प्रयास जातीय सफाया (क्लेन्जिङ) को स्वरूपका रूपमा देखिन्छ।
सम्पदा संरक्षणको आड लिएर जुगि जातिलाई पुर्ख्यौली घरबाट हटाउने हो भने भित्री सहरबाट जुगि जातिको अस्तित्व नै मेटिन्छ र यो जाति पूर्णतः पलायन हुन्छ। ऐतिहासिक कालखण्डदेखि जुगि जातिहरू बसिआएको सतःछेँको संरचना अरू घरको भन्दा फरक हुँदैमा सम्पदा संरक्षणको नाउँ दिएर हाम्रो उठीबास गराउनु भनेको जातीय भेदको पराकाष्ठा हो।
राज्यले पनि नेवाः जातिलाई एकतात्मक समूहका रूपमा हेर्ने गरेकाले कथित उच्च जातका नेवाःहरूको संरचनात्मक लाभ तथा कथित तल्लो जातका नेवाःहरूको सीमान्तीकरणको विषय ओझेलमा परेको छ।
सतःछेँको सार्वजनिकीकरण
सतःछेँको अर्थ नै सत्तल घर हो। यहाँ दुई संरचनाको सम्मीश्रण हुन्छ, एउटा सत्तल र अर्को घर।
सत्तलको संरचना पाटीपौवाजस्तै हुन्छ। तर यो फल्चा (पाटीपौवा) होइन। सतःछेँ संरचनामा तलपट्टि सत्तल र त्यस सत्तलमाथि घर हुन्छ। सत्तलको परम्परागत प्रयोजन नै सार्वजनिक प्रकृतिको हुन्छ। यात्रुहरूले थकाई मार्न पाऊन् वा ओत लाग्न पाऊन् भन्ने हेतुले यसको निर्माण भएको हुन्छ। धर्म कमाउन पनि सत्तल बनाइन्छ। तर सत्तलमाथिको घरको संरचना पूर्णतः निजी हुन्छ।
अहिले यी सतःछेँहरू प्राय: सार्वजनिकीकरण भएका छन्। सतःछेँ (सत्तल घर) लाई पाटीपौवा वा सत्तल भनी कानुनी रूपमा कायम गरिएको तथा सरकारका नाममा दर्ता गरिएको अवस्था छ। यसरी सरकारले आफ्नो नाममा सतःछेँ दर्ता गर्दा जुगि जातिको आवास नै खोसिएको तथा पुर्ख्यौली सम्पत्तिबाट च्यूत गरिएको छ।
ऐतिहासिक महत्वका संरचना सरकारका नाममा दर्ता हुने र सार्वजनिकीकरण हुने हो भने ऐतिहासिक नेवाः बस्ती वा सिंगो सहर नै सरकारका नाममा दर्ता हुनुपर्ने हो। जुन संरचना कहिल्यै सार्वजनिक थिएन, त्यसलाई सम्पदा संरक्षणका नाउँमा सार्वजनिक कायम गरिरहेको अवस्था छ। यसरी सतःछेँहरू सार्वजनिकीकरण गर्ने नीतिका कारण जुगि जातिका मानिस विस्थापनको शिकार बनेका छन्, आफ्नो पुर्ख्यौली थलोबाट च्यूत पारिएका छन् तथा सुकुम्बासी पनि बनाइएका छन्।
फरक प्रकृतिको संरचना हुँदैमा सत: (सत्तल) लाई सार्वजनिक सम्पत्ति मान्ने हो भने ऐतिहासिक नेवाः बस्तीका सबै घरलाई सार्वजनिक सम्पत्ति मानेर सरकारका नाउँमा दर्ता गरिनुपर्छ। अन्यथा, हामी जुगि जातिको प्राचीन कालदेखि बसोबास रहेको सतःछेँहरू मात्र सरकारले एकलौटी आफ्नो नाममा दर्ता गर्नु भनेको जातीय विभेदलाई निरन्तरता दिने र ऐतिहासिक उत्पीडन भोगेको समुदायमाथि थप प्रताडना दिने कार्य हो।
सतःछेँ वासमा देखिने समस्या
सतःछेँ वासी हुनुपर्दा अहिलेको युगमा जीवनयापनका थुप्रै व्यावहारिक समस्याको सामना जुगि जातिका मानिसले गर्नुपरेको छ।
सतःछेँको भुइँतल्लामा अरू जातिका मानिस सरह व्यापार व्यवसाय गर्न पाइँदैन। अरू जातिका मानिसले आफ्नो घरको भुइँतल्लामा पसल राखेका हुन्छन्। तर प्रायः जुगि जातिका मानिसले आफ्नो घरमुनिको सतःमा मेसिन राखी सिलाइ काम गरेको देखिन्थ्यो।
सतःछेँको वासमा शौचालयको समस्या पनि हुन्छ। विशेषगरी पुराना संरचनामा तथा पुराना प्रविधिमा भुइँतल्लाबाहेक अन्यत्र शौचालय बनाउन सकिँदैन।
सतःछेँहरूमा प्राय: भुइँतल्लामा सतः र त्यसमाथि दुईतल्ले घर तथा कतिपय त्यस्ता घरको ओरालिएको छानो हुँदा ठाउँको अभाव पनि हुन्छ। यी घरमा कोठा छुट्याउन पर्दा र पछिल्लो समय प्लाइ काठ प्रयोग गरिएको पाइन्छ। ठाउँको अभावले धेरै जना मानिस गुचुमुच्च परेर बस्नुपर्ने वा अन्यत्र डेरा लिएर बस्नुपर्ने अवस्था छ। अंशबण्डा गर्न पनि चुनौती रहन्छ।
अन्ततः ऐतिहासिक नेवाः बस्तीमा जसरी अरू जातका मानिसले आफ्नो पुर्ख्यौली घरबास हस्तान्तरण गर्न पाएका छन्, जुगि जातिको हकमा पनि समान अधिकार कायम गर्न राज्यले कदम चाल्नुपर्छ। फरक प्रकृतिको संरचना हुँदैमा जुगि जातिलाई आफ्नो ऐतिहासिक पुर्ख्यौली थलोबाट लत्याउने कार्य राज्यले बन्द गर्नुपर्छ। राज्यले जुगि जातिको घरलाई सरकारका नाममा दर्ता गर्ने निर्णय फिर्ता लिएर त्यहाँका ऐतिहासिक बासिन्दाका नाममा कायम गर्न पहल गर्नुपर्छ।
नेवाःभित्र जातीय विभेदले उत्पीडित जातिहरूको उत्थानका लागि राज्यले नीति निर्माण गर्नुपर्छ। सर्वप्रथम सरोकारवालाहरूसँगको समन्वयमा नेवाः जातिभित्रका विभिन्न जातजाति यकिन गरी तिनको सूची तयार पार्नुपर्छ। जात व्यवस्थामा यी विभिन्न जातजातिलाई कुन तहमा वर्गीकरण गरिएको छ भन्ने यकिन गरी सबभन्दा बढी उत्पीडित समुदायलाई प्रमुख प्राथमिकतामा राखी उनीहरूको उत्थान तथा सशक्तीकरणका लागि सकारात्मक विभेदको नीति अवलम्बन गरिनुपर्छ।
नेवाः बस्तीहरूको स्वरूप र संरचना पृथक छ। भ्वताहिति वा असनको बस्तीलाई नयाँबानेश्वर वा तिनकुनेको बस्तीसँग एकै डालोमा राखेर हेर्न मिल्दैन। नेवाः बस्तीको पृथक प्रकृतिलाई मध्यनजर गर्दै यसका लागि विशेष प्रकारको कानुन तथा नीति तर्जुमा गर्नुपर्छ।
अन्त्यमा, म स्वयं पनि जुगि जातिको व्यक्ति हुँ। केही समययता म र मेरो परिवार बसिआएको सतःछेँबाट कथित उच्च जातका नेवाःहरूसहित राज्यले उठीबास लगाउने जमर्को गरिरहेको छ। यही दौरान मैले आफ्नो आवासको हकका लागि लडाइँ लड्ने निधो गर्दा आफ्नो जातिबारे थप खोजी, अनुसन्धान तथा अध्ययन गर्दैछु।
हाम्रो समाजमा जुगि जातिलाई कथित तल्लो जात मानिन्छ र जुगि हुनुलाई हेयभावले हेरिन्छ। हामीमा पनि जुगि हुनुप्रति आत्महीनताको भाव देखिन्छ। सकेसम्म जुगि जातिको व्यक्ति भनी नचिनियोस् भनेर थर फेर्ने गरिन्छ। आफूलाई यस जातिसँग सम्बन्धित भनी देखाउन चाहँदैनन्। मेरा बाबुबाजे, आमाबज्यैहरूले भोगेको जस्तै 'भयावह' भोगाइ बेहोर्नु नपरे पनि जुगि हुनुको लाञ्छना तोडेर आफ्नो जातिलाई आत्मसात् गर्दै मैले आफ्नो उपनाम तःधीमैं जुगिनी राखेको छु।
(लेखक रूक्शना कपाली पारलैंगिक अभियन्ताका साथै नेवाः अभियन्ता पनि हुन्।)