राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘मैथिली संगीतको भाषा हो।’
मिथिलाका संगीतकार धीरेन्द्र प्रेमर्षि पनि यसमा सहमत छन्। भन्छन्, ‘मिथिलाबाट संगीत झिकिदिने हो भने यसको ‘हार्ट फेल’ हुन्छ।’
नहोस् पनि किन?
मिथिलामा गाइने सोहर, समदाओन, बधैया, संझा, पराती, गोसाउनि, विवाह, लगनी, कजरी, बटगबनी, बाह्रमासा, चैतावर लगायतमा गीत नभइ हुन्न। त्यस्तै जटजटीन, झिझिया, डोमकछ जस्ता नाच र छठि, समाचकेवा लगायत पर्वमा पनि गीत महत्त्वपूर्ण छ।
होलीमा त झन् गीत छुट्ने कुरै भएन। हामी पनि गीत सुन्दै–सम्झँदै मिथिलाको होली मनाऔं है त!
सुरूमा होलीसँग जोडिएका मिथिलाका चार कथा भन्छु।
मिथिलाको होली राम-सीता, कृष्ण–राधा, प्रह्लाद-होलिका अनि शिव-पार्वती र कामदेवको कथासँग जोडिएको छ।
राम–सीतासँग जोडिएको होली
त्रेतायुगमा मिथिलाका विभिन्न क्षेत्र हुँदै कञ्चनवन पुगेर श्रीराम र जनकनन्दनी सीता (मैथिली) ले फागुन शुक्ल सप्तमीका दिन आपसमा रंग-अबिर खेलेर वसन्त उत्सव मनाउँदै पूर्णिमाका दिन जनकपुरमा स्वजनसहित फागु खेलेको सम्झनामा होली पर्व मनाइन्छ।
यही प्रसंगलाई लिएर मिथिलामा एउटा गीत छ-
रामजीके हाथ कनक पिचकारी
सीयाजीके हाथ अबिर-झोरी...मिथिलामे
मिथिलामे राम खेलए होरी...मिथिलामे...
फागुन शुक्ल प्रतिपदाबाट सुरू हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीका दिन मिथिला विहारीको डोलासँगै कञ्चनवन पुग्छ। परिक्रमाका सहभागीले होली खेलेपछि मिथिलाञ्चलमा होली गाढा रूपमा प्रारम्भ भएको मानिन्छ।
भनिन्छ, त्यस दिन भगवान रामचन्द्रसँग मिथिलावासीले ख्याल-ठट्टा गर्दै होली मनाएका थिए। अहिले पनि छोरीको विवाहमा ज्वाइँलाई रामचन्द्र मान्दै मिथिलाका महिलाहरूले गाली गर्ने चलन छ।
राम लखन सिया सुन्दर वरकेँ
जुनि पढ़ियौ कियो गारी हे
खिर खेबाक लेल जनमौलनि
अवधपुरीके नारी हे
यो गीतमा ठट्टा गर्दै रामलाई भनिएको छ, ‘मिथिलाकै खिर खान अवधपुरीको नारीले तिमीलाई जन्माएको हो राम?’
यसरी रामलाई ख्याल-ठट्टा गर्दै गाली गर्ने र जिस्काउने सौभाग्य मिथिलावासीलाई मात्र छ।
कृष्ण–राधासँग जोडिएको होली
कंशले मथुराका राजा वसुदेवको राज्य खोसेर आफ्नो हातमा लिएका थिए। उनले एउटा भविष्यवाणीबाट चाल पाउँछन्, वसुदेव र देवकीका आठौं पुत्र उनको विनाशको कारक बन्ने छ।
व्याकुल हुँदै उनी वसुदेव र देवकीलाई कारागारमा थुन्छन्। कारागारमा जन्मेका सात पुत्रलाई कंशले घाटी दबाएर मार्छन्। आठौं पुत्रका रूपमा श्रीकृष्णको जन्म हुन्छ र उनको तेज प्रतापका कारण कारागारको ढोका आफैं खुल्छ।
वसुदेवले रातारात कृष्णलाई गोकुलमा नन्द र यशोधाको घरमा लुकाउन लैजान्छन् र उनको नवजात कन्यापुत्री आफ्नो साथ लग्छन्।
कंशले ती कन्यालाई मार्न खोज्दा कन्या अदृश्य हुन्छिन् र आकाशवाणी हुन्छ। आकाशवाणीले भन्छ, ‘कंशलाई मार्ने शिशुको गोकुलमा जन्म भइसकेको छ।'
त्यो शिशुको हत्या गर्न पुतना नामक राक्षसीलाई प्रयोग गरिन्छ। उनी आफ्नो सुन्दर रूप बनाउन सक्थिन् र महिलाको भेषमा सजिलै घुलमिल हुन सक्थिन्।
उनी स्तनपानको बहानामा शिशुहरूलाई विषपान गराउँथिन्। कृष्णले यो कुरा थाहा पाइसकेका हुन्छन् र उनी पुतनाको वध गर्छन्।
फागुन पूर्णिमाका दिन पुतनावधको खुसीमा होली मनाउने परम्परा सुरू भएको मानिन्छ।
कृष्ण–राधासँग जोडिएको होली गीत यस्तो छ-
होली कुञ्ज भवनमे खेलतु हे नन्दलाल
लाले श्याम, लाल भेलीह राधा
लाले सकल बृज भाल
लाले रङ्गसब गोपियन भेलीह
उड़त अबिर गुलाल
हारि गेलीह राधा रस दंगलमे
हँसि खेल तु नन्दलाल
राधा कृष्ण युगल जोडी छवि
ॠतु वसन्त विशाल
प्रह्लाद-होलिकासँग जोडिएको होली
दैत्यराज हिरण्यकश्यपुले भगवान विष्णुका भक्त आफ्ना छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। आगोले जलाउन नसक्ने वरदान पाएकी होलिका उक्त षड्यन्त्रमा आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई भने केही हुँदैन। आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दहन गरिएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।
प्रह्लाद-होलिकासँग जोडिएको होली गीत भने मिथिलामा खासै छैन।
शिव-पार्वती र कामदेवसँग जोडिएको होली
हिमालयपुत्री पार्वती आफ्नो विवाह भगवान शिवसँग होस् भन्ने चाहन्थिन्। शिवजी तपस्यामा लिन थिए। कामदेव पार्वतीको सहायता गर्न आउँछन्। उनले पुष्प बाण चलाउँछन् र भगवान शिवको तपस्या भंग गर्छन्।
शिवजी क्रोधका साथ आफ्नो तेस्रो आँखा खोल्छन् र उनको क्रोधको ज्वालामा कामदेवको शरीर भष्म हुन्छ।
शिवजी पार्वतीतर्फ हेर्छन् र पार्वतीको आराधना सफल हुन्छ। शिवजीले पार्वतीलाई पत्नीका रूपमा स्वीकार गर्छन्।
यस कथाका आधारमा होलीको आगोमा वासनात्मक आकर्षणलाई प्रतिकात्मक रूपमा जलाएर सच्चा प्रेमको विजय उत्सव मनाइन्छ।
शिवसँग जोडिएको होली गीत यस्तो छ-
खेले मसानेमे होरी दिगम्बर
खेले मसानेमे होरी
भूत पिशाच बटोरी
दिगम्बर खेले मसानेमे होरी
लखि सुन्दर फागुनी छटाके
मन से रंग गुलाल हटाके
चिता भसम भरी झोरी
दिगम्बर खेले मसानेमे होरी...
मिथिलामा यी चार होलीका कथा प्रख्यात भए पनि गीतमा राम-सीता र राधा-कृष्णकै गीत बढी भेटिन्छन्।
मिथिलाको होली रंग र राग दुवैको उत्सव हो। मिथिलामा वसन्त पञ्चमीदेखि नै फगुआ (फागु) गायन सुरू हुन्छ। फगुआ गीत डम्फा, झाइल, मृदंग, मजिरा, हरमुनियाँ लगायत बाजाका साथ गाउने परम्परा छ। होलीको दिन दिउँसोदेखि साँझ वा रातिसम्म गाउँले वा आफन्तको घरदैलो पुगेर गाउने र खेल्ने गरिन्छ। यसमा बेलौती (खुसी भएबापत दिने दक्षिणा) माग्ने वा दिने चलन पनि छ।
बेलौतीको प्रक्रिया दसैंको देउसी-भैलोजस्तै हुन्छ। बेलौतीलाई मण्डलीद्वारा आफैंमा बाँड्ने, नयाँ बाजा वा मिठा खानेकुरा किन्ने पनि चलन छ।
मिथिलामा होली पूर्णिमाको भोलिपल्ट मात्र मनाइन्छ। यसको एउटा कारण के भने पूर्णिमाको रात होलीका गीतहरू (फगुआ) गाएर होलिका दहन गरिन्छ र बिहान मात्र उत्सवका रूपमा होली मनाइन्छ।
फगुआको दिन रंग-अबिर खेलेर राति होलिका दहन गरेको स्थानमा खरानी उडाउँदै ‘जे जीबए से खेलए फागु, जे मरए से लिअए लेखा’ चैतावर गीत गाउँदै फर्किने चलन छ।
मिथिलामा होली पूर्णिमाको भोलिपल्ट मनाइनुको अर्को कारण पन्ध्रदिने मिथिला मध्यमा परिक्रमाको समापन पूर्णिमाकै दिन पर्ने भएर हो। मिथिलावासीहरू परिक्रमामा हिँडेर थकित भएकाले र पूर्णिमामा मदिरा र मासु सेवन वर्जित भएकाले भोलिपल्ट होली मनाइन्छ।
मिथिलामा तीनवटा कुरा विशिष्टताका रूपमा रहेका छन्- फगुआ, जोगिरा र खाने परिकारहरू।
मैथिली परम्परागत होली गीतका धुनहरू सीमित भए पनि परम्परागत मौलिक गीतले विश्वमा लोकप्रियता पाएको देखिन्छ। परम्परागत फगुआ त अनन्त छ, जुन अहिले पनि ग्रामीण भेगका लोक गायक, कलाकार, किर्तन मण्डलीहरूको कण्ठमा सजिएको पाइन्छ।
जोगिरा भनेको सायरीजस्तै हुन्छ। फगुआसँग बीच-बीचमा जोगिरा पनि गाइन्छ। गीतमा दोहोरीजस्तै सवाल-जवाफका रूपमा पनि जोगिरा आउँछ।
सवाल:
कोन ताल पर ढोलक बाजे, कोन ताल मृदंग?
कोन ताल पर गोरिया नाचे, कोन ताल पर हम?
जोगिरा सररर...
जवाफ:
एक ताल पे ढोलक बाजे, दू ताल मजिरा
तीन तालपे नारी नाचे, चारि ताल जोगिरा
जोगिरा सररररर...
मिथिलामा फगुआ र जोगिराको संरक्षण, प्रचारप्रसारका लागि मिथिला नाट्य परिषद (मिनाप) ले भव्य कार्यक्रम गर्छ। मिनापले एक दशकदेखि महामूर्ख सम्मेलन र फगुआ-जोगिरा प्रतियोगिता आयोजना गर्दै आएको छ। यसमा विभिन्न जिल्ला, गाउँघरबाट फगुआ गाउने कलाकारहरू सहभागी हुन आउँछन्। अघिल्ला वर्षहरूमा उत्कृष्ट फगुआ गाएर सप्तरीको टिम पुरस्कृत हुँदै आएको छ।
मिथिलाको मौलिकता र मधुरता वृद्धि गर्न संगीतविज्ञ कुञ्जबिहारी मिश्रको ‘मिथिलामे राम खेलथि होरी’, ‘बाबा हरिहरनाथ सोनपुरमे रंग लुटै’, ‘रसवन्ती नारी अलबेली रे’, ‘आजु ब्रजमे होरी रे रसिया’, सुनिल मल्लिकको ‘शिव मठपर राम खेलथि होरी, एमकी होरीमे गोरी मचेबै रे हुर्दङ्ग’, पुनम मिश्राको ‘परदेशियालए धोतिया रंगाबै गोरिया, होरी कुञ्ज भवनमे खेलए नन्दलाल’, प्रवेश मल्लिक र नेहा प्रियदर्शनीको, ‘होरीमे गोरी, परदेशिया, उडे रंग अबिर’ गीतले महत्त्वपूर्ण भूमिका खेलेको छ।
त्यस्तै, मोहम्मद अजिज र सुनिल पवनको ‘आयल फागुन महिनमा’, चन्द्रमणीको ‘ढोल बजा ढोलकिया’, नितिन गजुरेल र ज्योति विश्वकर्माको प्रेमक पिचकारी, शिवानी भगत र देव अहिरावको ‘आजु मिथिलामे होरी रे रसिया’, माधव रायको ‘होरी खेल, जुनि जाइह’, मैथिली ठाकुरको लाइभ मैथिली होली गीत गायन लगायतले मिथिलाको होलीमा रंग थपेको छ।
पछिल्लो समय केही नव युवा गायक-गायिकाले होलीको गीतमा अश्लीलता मिसाएर विष घोलिरहेका छन्। जस्तो- गीत र भिडिओमा देवर-भाउजू, प्रेमी-प्रेमिका र अरूका श्रीमतीलाई नकारात्मक शब्द र सिक्वेन्स जोडेर सम्मान, मानमर्यादालाई चिरहरण गर्दै आएका छन्। यसरी युट्युबको कन्टेन्टका लागि होलीका गीतमा अश्लीलता मिसाउनु मिथिलाकै लागि क्षति हो।
हामीले यस्ता गीतप्रति आवाज उठाउनु त छँदैछ, त्योभन्दा बढी यस्ता गीत नसुनेर निरूत्साहित गर्न आवश्यक भइसकेको छ।
यी सबै नकरात्मकता त्यागेर हामी होली यसरी खेलौं कि मृत्युपछि पनि समाजले भनोस्, ‘फलानोले त जीवनरूपी फगुआ खेलेको छ।’
मिथिलामा फगुआ खेल्नुको अर्थ जीवन जिउँदैछु भन्नु हो। जीवन जिउनुको अर्थ- हर्ष, उल्लास, प्रेम र रंगहरूले भरिनु।
मिथिलामा एउटा उखान नै छ – जे जीबए से खेलए फागु, जे मरए से लिअए लेखा।
यसको अर्थ हो, ‘जो बाँच्छ उसले होली खेल्छ। बाँच्ने मान्छेले जसरी भए पनि होली खेलेकै हुन्छ।’
(लेखक मिथिला साहित्य-कला प्रतिष्ठान नेपालका सचिव हुन्।)