हिजोआज 'सद्गुरू' नामले चर्चामा आएका ६५ वर्षीय जगदीश वासुदेव उर्फ 'जग्गी' को नाउँ मैले नौ/दस वर्षअघिदेखि सुन्दै आएको छु। भारतको मैसुरमा जन्मेका सद्गुरूको प्रवचन, सेवाकार्य, वृक्षरोपण लगायतका क्रियाकलापबाट प्रभावित भएर नेपालमा पनि उनको नाममा केही गर्नुपर्छ भन्ने मनसायले २०७१ सालतिर एक व्यक्ति मलाई भेट्न आएकी थिइन्।
त्यति बेला म पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव थिएँ।
त्यसरी भेट्न आउने व्यक्ति अरू कोही नभई समाजवादी सिद्धान्त बोकेको राजनीतिक दलका तत्कालीन बहालवाला सांसद थिइन्।उनले 'सद्गुरूबाट प्रभावित भक्त वा शिष्यहरूको एउटा समूह नेपालमा छ, त्यसैले पशुपतिनाथ मन्दिर परिसरमा कतै जग्गा उपलब्ध भए सद्गुरूले परिकल्पना गरेको मन्दिर बनाउने इच्छा छ' भन्दै प्रस्ताव लिएर आएको म सम्झन्छु।
जवाफमा मैले भनेँ, 'पशुपति क्षेत्र यसै पनि साँघुरो छ, त्यहाँ अर्को मन्दिर बनाउने ठाउँ नै छैन। त्यहाँ पहिलेदेखि नै पशुपतिनाथ मन्दिर लगायत युगौं युगदेखि आफ्नै इतिहास, संस्कृति र मान्यता बोकेका प्राचीन मन्दिरहरू छन्। ती मन्दिर हुँदा हुँदै अर्को मन्दिरको आवश्यकता छैन।'
पशुपति क्षेत्रको महत्त्वका कारण होला, अरू व्यक्तिहरू पनि नयाँ मन्दिर निर्माणका लागि जग्गा प्राप्त हुन सक्छ कि भन्ने आसयले कोषमा आउने गर्थे। त्यसमा विभिन्न सम्प्रदायका आस्थावान्हरू धेरै हुन्थे।
त्यति भन्दा पनि ती सांसदले निकै कर गरेपछि मैले 'गोठाटारमा कोषको केही जग्गा छ, त्यहाँको गुरूयोजना बनाउने क्रममा कुनै क्षेत्रमा मन्दिर निर्माणका लागि जग्गा छुट्याइयो भने सम्पर्क गरौंला, प्रस्ताव तयार छ भने छाडेर जानू' भनेँ। मन्दिर निर्माणको विषयलाई भने मैले त्यति बेला बिराम लगाइदिएको थिएँ।
त्यसपछि उनले 'त्यति टाढा होइन, यतै कतै बनाउन मिल्छ कि' भनेर जिज्ञासा राखेको सम्झना पनि ताजै छ।
विश्व सम्पदामा सूचीकृत र प्राचीन कालदेखि आफ्नै इतिहास र गौरवगाथा बोकेको पशुपति क्षेत्रमा जो जसले अनुरोध गरे पनि नयाँ मठ/मन्दिर वा कुनै पनि निर्माणसम्बद्ध कार्य गर्नुअघि धेरै सोचविचार गर्नुपर्छ। त्यसैले उक्त प्रस्तावमा कुनै प्रक्रिया अघि बढेन।
यो घटनाबाट मैले सद्गुरूको प्रभाव नेपालमा पनि बढ्दै गएको अनुमान लगाएँ। त्यसयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूबाट सद्गुरूबारे धेरथोर सकारात्मक/नकारात्मक जानकारी पाइरहेँ। जीवन, जगत्बारे उनले दिएका आफ्नै प्रकारका तर्क र व्याख्यानहरू कहिलेकाहीँ युट्युबको माध्यमबाट सुनेँ। आधुनिक सञ्चार प्रविधिमा युट्युब हिजोआज सबैका लागि सजिलो माध्यम बन्न पुगेको छ।
उनको प्रवचन शास्त्रीय ग्रन्थहरूमा आधारित नभएर आफ्नै तर्क र विचारमा आधारित हुन्छन्। त्यसलाई विज्ञानसम्मत् बनाउन कहिलेकाहीँ उनले दिने गरेका उदाहरण र तर्क झट्ट सुन्नेहरूका लागि 'गजब' लाग्ने हुन सक्छ।
पूरा विषय नबुझी सुन्नेले जेसुकै होस्, बुझियोस् वा नबुझियोस्, अंग्रेजी भाषामा प्रभावशाली रूपले बोल्ने र व्याख्यान गर्ने उनको खुबीका कारण जीवनको दिशा र लक्ष्य नभेटेर अलमलिएका युवायुवतीदेखि व्यावसायिक, सामाजिक एवं व्यक्तिगत जीवनबाट निराश हुँदै खुसीको खोजमा भौंतारिएर भट्किरहेका सम्भ्रान्त वा अझ भनौं अंग्रेजी भाषाप्रति मोह र सम्मोह हुने व्यक्तिले उनको प्रवचनमा कतै कुनै गाँठी कुरा पो छ कि भनी आशा राख्ने गरेको अनुयायीहरूको भीड र ताँतीले इंगित गर्छ।
अनौठो कहाँनिर छ भने उनी सन्न्यासी होइनन्, पक्का गृहस्थ हुन्। हिजो उनको जीवन गरिबी र अभावमा बित्यो। आफ्नो जिजीविषाका लागि अनेक किसिमका सामान्य लाग्ने व्यावसायिक कामहरू उनले गरे। आज उनी भव्य र आलिशान जिन्दगी बाँचेका छन्।मानिसहरूलाई साधु, सन्तले लगाउने भेषभूषाप्रति आकर्षण हुने मनोविज्ञान बुझेका उनी आफूलाई धार्मिक भन्न रूचाउँदैनन्, आस्तिक भन्न पनि चाहँदैनन्। तर त्यही आस्तिक, नास्तिक र त्यसबारे कुनै रूचि नै नभएकाहरूको भीडलाई कसरी आकर्षित तुल्याउन सकिन्छ भनेर उनी औपचारिक कार्यक्रमहरूमा रंगीचंगी धोती, फेटा, ओढ्नीमा प्रस्तुत हुन्छन्।
गेरूवा रंगको धोती जो पायो त्यही व्यक्तिले लगाउन मिल्दैन, वास्तविक सन्न्यासी नै हुनुपर्ने नियम छ। त्यसैले उनी गेरूवामा नअल्मलिएर दर्शक र श्रोतालाई आकर्षित गर्न मञ्च, परिवेश र अवस्थाअनुसार विभिन्न रंग मिलाएर सेलिब्रेटी साधु/सन्तको परिधानमा देखिन्छन्। यो उनको विशेषताजस्तै भएको अनुभव हुन्छ।
अध्यात्मले मानिसलाई सद्भाव, सहभाव र समभावमा बाँच्न सिकाउँछ। जीवनको लक्ष्य र उपादेयता नबुझेर दिशाविहीन भई अल्मलिरहेका मानिसलाई चेतना, विवेक र बुद्धिको आलोकद्वारा जीवन जिउने सही कला सिकाउँछ।
सद्गुरूको प्रवचनमा जीवन बाँच्न चाहिने त्यही कलालाई विभिन्न घटना र उदाहरणसहित सरल भाषामा प्रस्तुत गरिएको हुन्छ।त्यसमाथि उनी हिजोआजका सर्वसामान्य धार्मिक गुरूहरूभन्दा केही धुवाँधार अंग्रेजी भाषामा आध्यात्मिक ज्ञान दिन्छन्। त्यही भएर नै होला, सुरू सुरूमा सम्भ्रान्त वर्गमा सीमित सद्गुरूप्रतिको अभिरूचि पछिल्लो समय नयाँ पुस्तामा पनि अत्यधिक रूपले बढ्दै गएको मैले अनुभव गरेको छु।
परम्परागत धार्मिक गुरूहरू सादा र सरल जीवनलाई महत्त्व दिँदै संसारमा बस्ने तर सांसारिक नहुने शिक्षा दिन्छन्। त्यसको ठिक विपरीत सद्गुरूको जीवनचर्या एवं शानसौकत आजभोलिका सम्भ्रान्त वर्गको भन्दा कुनै अर्थमा कम छैन। आजका नास्तिक/आस्तिक एवं केही पनि नमान्ने चिन्तन भएकाहरूलाई समेटेर प्रभावित पार्न सक्ने खुबी उनी राख्छन्।
यिनै कारणले भारत लगायत नेपालमा समेत सद्गुरूको चर्चा बढ्दै गएको पाइन्छ। उनी केही दिनअघि मात्र काठमाडौं भ्रमणमा आएका थिए। त्यति बेला टुँडिखेलमा उनको प्रवचन सुन्न न्यूनतम तीन सय पचासदेखि अधिकतम एक्काइस हजार रूपैयाँभन्दा महँगो टिकट काटेर सयौंको संख्यामा मान्छेहरू उर्लिएको थाहा भयो। यसले काठमाडौंमा उनको बढ्दो लोकप्रियता मात्र झल्काउँदैन, बरू नयाँ पुस्तामा अध्यात्म शिक्षाको कमीका कारण भोक जागेको अनुमान सहजै लगाउन सकिन्छ।
हुन पनि शारीरिक, मानसिक तथा प्राज्ञिक ज्ञान हिजोआजको सूचनामूलक शिक्षाले केही दिएकै छ, तर आध्यात्मिक ज्ञान कहाँ सिक्ने? कहाँबाट जान्ने? त्यसको जवाफ हाम्रो शिक्षामा नहुँदाको रिक्तता र तिक्ततालाई त यसले संकेत गरेको होइन?
यही भ्रमण क्रममा सद्गुरूले काठमाडौंको वसुन्धरामा 'लिंग भैरवी' को प्राणप्रतिष्ठा गरेको खबर मैले सञ्चारमाध्यमहरूबाट पाएँ। भैरव, भैरवी चलनचल्तीका देवीदेवता हुन्। तर यो लिंग भैरवी कहाँबाट आयो?
बुझ्दै जाँदा थाहा भयो, लिंग भैरवीको कहीँ कतै चर्चा भए पनि नाममा मात्र सीमित थियो। यहाँ भर्खरै स्थापित लिंग भैरवी सद्गुरूको परिकल्पनाको देवी रहिछिन्। सनातन हिन्दु धर्मका तीन देवीहरू- लक्ष्मी, सरस्वती र दुर्गालाई त्रि-शक्ति मानेर उनले सिर्जना गरेको यी देवी उनको संस्था इशा फाउन्डेसनको अगुवाइमा निर्माण गरेको भनिँदो रहेछ। झट्ट हेर्दा शिवलिंगझैं लाग्ने तर एउटा शिलामा दुई आँखा, फुलीसहितको नाक बनाएर उनले लिंग भैरवीको परिकल्पना गरेका रहेछन्। यस्तै एउटा मन्दिर यसअघि भारतमा स्थापना भइसकेको रहेछ।
आठ वर्षअघि नै सद्गुरूका नाममा मन्दिर बनाउने प्रस्ताव आएको र आज उनको परिकल्पना साकार पार्न उनका नेपाली अनुयायीहरूले काठमाडौंमा लिंग भैरवी मन्दिर स्थापना गरी उनकै उपस्थितिमा प्राणप्रतिष्ठा गरेको खबरले मलाई आफू इतिहास र संस्कृतिको विद्यार्थीसमेत भएको नाताले केही कौतुहल र केही जिज्ञासा स्वाभाविक रूपमा जागृत भयो।
एक आध्यात्मिक पथप्रदर्शक भएर जगदीश वासुदेवले दिने शिक्षा र प्रवचनहरूबारे मलाई यहाँ भन्नु केही छैन। उनले चलाएका नदी सफाइ, माटो जोगाऊँ, बोटबिरूवा बचाऊँ भन्ने अभियान पनि सकारात्मक र सान्दर्भिक छन्। जहाँसम्म हाम्रो धर्म, संस्कृति, इतिहास र सभ्यतामा त्यति चर्चा नभएको 'लिंग भैरवी' को परिकल्पना गरेर त्यसलाई देवीको संयुक्त रूप मानी प्रतिष्ठापित गरिएको छ, त्यसबारे म केही विवेचना गर्न चाहन्छु।
म केही दिनअघि भर्खरै प्राणप्रतिष्ठा भएको लिंग भैरवी मन्दिर खोज्दै बसुन्धरा पुगेको थिएँ। कसैको व्यक्तिगत घर/कम्पाउन्डजस्तो लाग्ने जग्गामा फराकिलो हलको पश्चिमपट्टि भित्ताको आडमा मूर्ति प्रतिष्ठापित रहेछ। केही दिनअघि मात्र निर्माण गरिएकाले होला, त्यहाँको सरसफाइ सिनिक्क थियो। मन्दिर क्षेत्रको जग्गा सानो भए पनि आगामी दिनमा अनुयायी बढ्दै गएपछि विस्तारित हुँदै जाने सम्भावना त्यहाँ प्रशस्त देखिन्छ।
मैले त्यहाँ भेटिएका सद्गुरूका अनुयायीहरूसँग लिंग भैरवीबारे सोधपुछ गरेँ। उनीहरूले अंग्रेजीमा प्रकाशित एउटा आकर्षक पुस्तिका मलाई दिए। बेलुकी घर फर्किएर लिंग भैरवीको वेबसाइट पनि हेरेँ। मलाई दिइएको पुस्तिका र वेबसाइट अध्ययन गरेपछि केही कुरा खट्कियो।
त्यहाँ लिंग भैरवीका नाममा कर्मकाण्डमा आधारित विभिन्न प्रकारका पूजा आयोजना गरिँदो रहेछ।
उदाहरणका लागि वयस्कहरूका लागि गरिने 'क्लेषनाशन क्रिया', जुन पूजाले मान्छेको मनभित्र रहेको क्लेष अर्थात् नकारात्मक ऊर्जा हटाएर शारीरिक तथा मानसिक अवस्थामा सुधार ल्याउने भनिएको छ। 'कुमकुम सर्प सेवा' नामको पूजाले सम्बन्ध बलियो बनाउने दाबी गरिएको छ। गर्भवती महिलाका लागि यो पूजा लाभदायक हुने तथा विवाह गर्न वर वा वधूको खोजीमा रहेका व्यक्तिको मनोकामना पूरा हुने त्यस पुस्तिकामा उल्लेख रहेछ।
त्यस्तै, 'वाल्मिकम् सर्प सेवा' पूजाले सम्बन्ध प्रगाढ बनाउनुका साथै स्वास्थ्यसम्बन्धी जटिलता समाधान गर्ने र अनिद्रा तथा रोग प्रतिरोधात्मक क्षमता नभएकाहरूलाई लाभकारी हुने भनिएको छ। मान्छेको मनमा जरो गाडेका असीम आकांक्षा समाधान गर्न तथा विवाह गर्ने इच्छा भएका व्यक्ति र सन्तान जन्माउने इच्छा भएका दम्पतीका लागि 'दह निवारणम्' पूजा कामयाबी हुने भनी प्रचार गरिएको छ।
'विलक्कू सेवा' पूजाअन्तर्गत परिवारको सुस्वास्थ्य र समृद्धिका लागि लिंग भैरवी देवीका नाममा घ्यूको बत्ती बाले सबै ठिक हुने त्यहाँ उल्लेख गरिएको छ।
हरेक पूजाको सामग्री त्यही मन्दिरमा किन्न पाइने तथा मन्दिरको पूजा सन्न्यासी महिलाहरूले मात्र गर्ने व्यवस्था गरिएको पनि मैले पाएँ।
यसरी लिंग भैरवीलाई सर्वेसर्वा मानी उहाँको नामस्मरण र पूजाले वैवाहिक जीवन सुखमय हुने, परिवार स्वस्थ र समृद्ध हुने, विवाह हुन नसकेकाहरूले इच्छाएको वर-वधू पाउने तथा सन्तान जन्माउन नसकेकाहरूले सन्तानसमेत प्राप्त गर्छन् भन्ने कुराले अन्धविश्वास बढाउला कि नबढाउला भन्ने विचारणीय छ।
धेरैलाई यो सामान्य लाग्ला। हाम्रो धर्म/संस्कृतिले सदियौंदेखि यस्तै अन्धविश्वास त छरिरहेको छ। यति सामान्य कुरामा के भनेको होला भन्ने विचार कसैले राख्न सक्छन्।
हो, हाम्रो धर्म/संस्कृतिका नाममा चलेका सबै व्यवस्था सुसंस्कृत छैनन्। संस्कृतिका नाममा विकृति पनि छन्। धर्मको सही अर्थ नबुझेर अन्धविश्वासले बढावा पाइरहेको यत्रतत्र देख्न पाइन्छ। यस्ता असंख्य देवी–देवताका अनेक स्थान र मन्दिरहरू छन्, जहाँ भाकल गर्यो भने परीक्षामा उतीर्ण होइन्छ, सन्तान प्राप्त हुन्छ, धन/सम्पत्ति प्राप्त हुन्छ जस्ता भाष्य निर्माण गरिएको छ। कतिपयले यही भाष्यका आधारमा ती मन्दिरमा गएर पूजाआजा गरी फलको आशा गरिरहेका पनि होलान्।
कर्म/सुकर्म नगरी फल प्राप्त हुँदैन। कुनै पनि परिणाम प्राप्तिका लागि त्यहीअनुसारको कर्म गर्नैपर्ने हुन्छ। हामीलाई फलको आशा नराखी कर्म गर्न र त्यसरी गरिने कर्मले जीवनमा दु:ख, कष्ट नहुने शिक्षा पनि दिइएको छ। विभिन्न देवदेवीप्रति आ-आफ्ना आस्था, श्रद्धा र भक्ति हुनु आफ्नो ठाउँमा छँदैछ, तर अन्धविश्वास, रूढीवाद र अज्ञानतालाई पुनर्जागृत गराउने यस्ता भाष्य ज्ञान/विज्ञानसम्मत् हुन सक्दैन भन्ने मलाई लाग्छ।
हामीले के पनि बुझ्नुपर्छ भने यस्ता अन्धविश्वास धर्मका नाममा सिर्जना गरिएका भए पनि धर्मले अन्धविश्वासमा लाग्न भनेर कहिल्यै भन्दैन। धर्मको मुख्य प्रयोजन चेतना बढाउनु हो; ज्ञान, विवेक, बुद्धि उजागर गर्न मद्दत गरी अन्धविश्वास घटाउनु हो।
हामीले विगत कैयन् वर्षदेखि समाजमा अनेक प्रकारका अन्धविश्वास पाल्दै आयौं। कम्तिमा आजका नयाँ पुस्ता बिस्तारै ती अन्धविश्वासबाट मुक्त हुँदैछन् र आफूभन्दा अघिल्लो पुस्तालाई समेत अन्धविश्वासबाट ज्ञान र विज्ञानतर्फ लाग्न प्रेरित गर्दैछन्। यी सबका बीच जीवन र जगत्बारे आफ्ना प्रेरक प्रवचनले नयाँ पुस्ताको समेत मन जित्न सफल भइरहेका सद्गुरूले लिंग भैरवीका नाममा अन्धविश्वासलाई नै बढावा दिएपछि त्यसको परिणाम के होला?
यसले त ज्ञान/विज्ञानतर्फ पाइला चालिरहेका नयाँ पुस्ता पनि सद्गुरूले देखाएको बाटो अनुसरण गर्दै पुन: अन्धविश्वासको अँध्यारोमा फस्ने डर हुन्छ कि हुँदैन?
मान्छेलाई कर्म/सुकर्मतर्फ प्रेरित गर्नुपर्ने आध्यात्मिक गुरूले नै धर्मका नाममा अन्धविश्वासलाई प्रोत्साहित तुल्याउने यस्ता विचारलाई 'जादूको छडी' जस्तो प्रयोग गर्दा हाम्रो नयाँ पुस्ता दिग्भ्रमित हुने खतरा छ। नयाँ पुस्ता त्यसै पनि जीवनमा विभिन्न किसिमका तनाव र पूरा हुन नसकेका आकांक्षाले छट्पटिरहेका छन्। त्यही भएर उनीहरू सद्गुरू लगायतका आध्यात्मिक गुरूहरूप्रति अभिरूचि राख्छन्। यो अभिरूचिको सदुपयोग गर्दै उनीहरूलाई ज्ञान/विज्ञानको सही बाटो देखाउनुपर्नेमा अन्धविश्वासतर्फ धकेल्नुले भावी पिँढी अल्मलिने सम्भावना म अत्यधिक देख्छु।
हाम्रो एउटा सिंगो पुस्ताले धामी–झाँक्रीबाट दुःख पायो। अहिले पनि धेरै ठाउँमा त्यो दुःखले निरन्तरता पाइरहेकै छ। पछिल्लो समय केही ठाउँमा धामी–झाँक्रीलाई पनि आधुनिक चिकित्साको सामान्य ज्ञान दिने र उनीहरूकहाँ आउने बिरामीलाई अस्पताल जान प्रेरित गर्ने चेतना विकास भइरहेको छ। यो अवस्थामा लिंग भैरवीका नामले फेरि अर्को खालको अन्धविश्वासको जकडमा समाज फस्ने जोखिम म देखिरहेको छु।
अन्धविश्वासको चर्चापछि कुरा गरौं, के यसरी जहाँ मन लाग्यो त्यहाँ जो कोहीले मन्दिर बनाउन पाउँछन् त?
इतिहास हेर्ने हो भने २००७ सालभन्दा अगाडि कसैले मन्दिर बनाउन चाह्यो भने गुठीको बन्दोबस्त गर्नुपर्ने चलन थियो। मन्दिरमा हुने पूजापाठदेखि त्यसको रेखदेख र मर्मतसम्भारको जिम्मा त्यही गुठीको हुन्थ्यो। कुनै कारणले मन्दिरको दुर्गति भयो भने त्यसको बोझ समाज र राज्यलाई नपरोस् भनेर यस्तो व्यवस्था गरिएको हो।
धर्म, संस्कृति र इतिहासको अध्ययनमा लामो समय बिताएको अनुभवका आधारमा मैले देशभरि थुप्रै मठ/मन्दिरको बिजोग देखेको छु। काठमाडौं उपत्यकामा मठ/मन्दिर व्यवस्थापन गर्न गुठी परम्पराले राम्रो काम गरेको छ। तर, यहाँ पनि गुठी परम्परा कमजोर हुँदै जाँदा मठ/मन्दिरहरू नासिँदै गएका थुप्रै उदाहरण छन्।
मन्दिरको भविष्यतर्फ विचार नै नगरी निर्माण मात्र गर्दै जाने हो भने भोलि समाजका लागि कतै बोझ त बन्दैन? यसमा चिन्तन जरूरी छ।
यसरी एकातिर भएका मठ/मन्दिर नै हामीले राम्ररी संरक्षण गर्न नसकेको अवस्था छ भने अर्कातिर १९६५, १९८०, १९९० र २०७२ को भुइँचालोमा भत्किएका कैयन् मन्दिर पुनर्निर्माण हुन सकेका छैनन्। २०७२ को भुइँचालोमा ढलेका मठ/मन्दिर पुनर्निर्माण गर्न आफ्नो स्रोतले नसकी विदेशी प्रभाव र स्रोतले प्रवेश पाइरहेको छ।
नब्बे सालको भुइँचालोमा यिनै मठ/मन्दिर क्षतिग्रस्त हुँदा हामीले आफ्नै स्रोत–साधनबाट पुनर्निर्माण गरेका थियौं। आज तिनै मन्दिर जोगाउन विभिन्न देशको सहायता लिनुपरेको छ। विदेशी सहायतामा बन्दै गरेका मठ/मन्दिर, गुम्बा, बिहारको प्रांगणमा सम्बन्धित दातृराष्ट्रको झन्डा र ठुल्ठूला शिलापत्र देख्दा अरूलाई मनमा कस्तो लाग्छ कुन्नि, मलाई त अप्ठेरो महसुस हुन्छ।
कुनै व्यक्तिविशेषको कल्पनाले सिर्जेको देवीदेवतालाई हामीले प्राथमिकता दिनुपर्ने हो कि होइन? त्यसको पूजा गराएर के हामीले नयाँ सम्प्रदायको संरक्षण गर्नुपर्ने नै हो?
यसमा चिन्तन गर्नुपर्ने खाँचो म किन पनि देख्छु भने, आज हामीले प्राचीन मन्दिरहरूले भरिएको काठमाडौं सहरमा सद्गुरूको मनले सिर्जेको नयाँ देउता स्थापना गरायौं, भोलि यस्तै सिर्जना अर्को आध्यात्मिक गुरूले गर्लान्, पर्सि अर्को गुरूबाट यस्तै परिकल्पनाको देवीदेवता रचना होलान्, हामीले ती सबै देवीदेवता स्थापना गर्दै तिनलाई अपनाउँदै जाने हो भने हाम्रो सांस्कृतिक मौलिकता कसरी जोगिएला?
नयाँ नयाँ आध्यात्मिक गुरूलाई देवत्वकरण गरेर उनीहरूको परिकल्पनाको मन्दिरलाई सार्थक बनाउँदै जानु भनेको पनि समाजलाई अन्धविश्वासतर्फ धकेल्नु नै हो। सँगसँगै, यसले समाजमा नयाँ–नयाँ सम्प्रदाय पनि जन्माउँदै लैजान्छ।
हुन त सम्प्रदायले हाम्रो प्राचीन परम्परा र सनातन धर्मलाई अलि अलि मलजल गर्छ नै। तर पूर्ण रूपमा गर्दैन। सम्प्रदाय भनेको आफैंमा धर्म होइन। यो एउटा मत मात्र हो। यस्तो मत जति धेरै भयो, मान्छेमा उति बढी अन्यौल हुन्छ। एउटा सम्प्रदायले मेरो कुरा ठिक भन्छ, अर्कोले मेरै कुरा ठिक भन्छ। यसले झगडाको बीउ रोपिन्छ।
त्यसै पनि पछिल्लो समय धेरै सम्प्रदायहरूको जगजगी नेपालमा बढ्दै गइरहेको अवस्था छ। सबैमा आफ्नो सम्प्रदाय ठूलो, हाम्रै दर्शन र गुरू ठूलो भन्ने मनोभावना बढ्दै जानु अस्वाभाविक होइन। असल कर्म/सुकर्म नगरे पनि गुरूको भक्तिभाव राखे यसै सफल भइन्छ भन्ने भ्रमलाई बढ्न दिनु हुँदैन।
सारांशमा भन्ने हो भने अहिलेको समय समाजलाई अन्धविश्वासबाट मुक्त गरेर ज्ञान, विज्ञान र अध्यात्मलाई साथ लिँदै सार्थक जीवन जिउन सिकाउनुपर्ने खाँचो छ। यसविपरीत हामी अयथार्थ र अशाश्वत कार्यमा लाग्यौं र धर्मको सही पहिचान गर्न नसकी अन्धकार र भ्रममा भासिँदै गयौं भने थप नयाँ समस्या सिर्जना हुनेछ। हामी यसतर्फ बेलैमा सचेत र सजग हुनुपर्छ।
(धर्म, संस्कृति र इतिहासका अध्येता डा. टण्डन पशुपति विकास कोषका पूर्व सदस्य-सचिव हुन्।)