यो त्यो बेलाको कुरा हो जब युद्ध र राजनीतिक अस्थिरताका कारण रूसको आर्थिक अवस्था जर्जर थियो।
कम्युनिस्ट पार्टी सत्तामा आएपछि नेता भ्लादिमिर लेनिनले सन् १९२२ को एक भेलामा भनेका थिए, 'अब पार्टी (सरकार) ले तेल, स्टिल, खानी, रेलजस्ता मुख्य क्षेत्रमा ध्यान केन्द्रित गरेर अर्थतन्त्र अगाडि बढाउनुपर्छ।'
उनले 'कमान्डिङ हाइट्स' नाम दिएको ती क्षेत्रलाई प्रधान मानेर अर्थतन्त्र अगाडि बढाउने सोच कार्यान्वयनमा ल्याउन लामो समय पाएनन्। उनको स्वास्थ्य बिग्रियो, जोसेफ स्टालिन नेतृत्वमा आए।
लेनिनकै लाइनमा स्टालिनले आवधिक योजनामार्फत सरकारी नियन्त्रणमा अर्थतन्त्र चलाए, सन् १९२४ देखि १९५२ सम्म, झन्डै तीन दशक।
पश्चिम युरोप र अमेरिकाले शंका गरे पनि सोभियत संघको आर्थिक तथा सैन्य बलको दबदबाले संसार चकित थियो। आर्थिक विकासको स्टालिन मोडल ठीक हो भन्ने भ्रम धेरैलाई पर्यो।
अर्कोतिर कथित पुँजीवादी मुलुकहरू (पश्चिम युरोप र उत्तर अमेरिका) आर्थिक महामन्दीको चपेटामा आएका थिए। यसले विभिन्न नामका समाजवादी, कम्युनिस्ट, फासिस्ट लगायतका सामूहिकतावादीहरूको उदयलाई सघाउ पुर्यायो। पुँजीवादले लोकप्रियता गुमायो।
सरकारले मात्र आर्थिक सुव्यवस्था सुनिश्चित गर्न सक्छ भन्न थालियो। बेलायती अर्थशास्त्री जोन मेनार्ड केन्स (समाजवादी होइनन्) ले महामन्दीमा फसेको अर्थतन्त्रलाई सरकारले मात्र उतार्न सक्छ भने। सुखका बेला चुप लागेर बसे पनि दुःखको बेलामा सरकार नै उद्धारक हुनुपर्छ भन्ने उनको तर्क सबैतिर सुनियो।
केन्सले मन्दीका बेलामा उत्पादन तथा रोजगारी सिर्जना गर्न सरकारले खर्च बढाउनुपर्ने नीति सिफारिस गरे। उनको यो सिफारिसलाई गुरू मन्त्र मान्ने सरकारहरू धेरै भए। तर त्यति नै बेला अर्थशास्त्रीहरूको एउटा समूह थियो जसले त्यो उपायलाई डरलाग्दो बाटो हो भन्थे। अर्थतन्त्र चलाउने विषयमा सरकार प्रवेश गरेपछि बाहिर निस्किँदैन। अस्थायी र अन्तरिम भनिएका सरकारी कार्यक्रमले स्थायी रूप लिन्छन्। युद्धकालमा सुरू गरिएका कार्यक्रम शान्तिकालमा पनि निरन्तर रहन्छन् भन्ने तर्क उनीहरूले गरे।
सरकारी व्यवस्थापनले आर्थिक दिगोपन ल्याउँदैन बरू नागरिक स्वतन्त्रता जोखिममा पर्छ भनेर उनीहरूले सचेत गराएका थिए। यसरी सचेत गराउनेमा सबभन्दा अगाडि थिए फ्रेडरिक अगस्ट भन हायक।
ती प्रतिभाशाली उदारवादी चिन्तक हायकको निधन भएको आज ३१ वर्ष पूरा भयो। अस्ट्रियाको भियनामा ८ मे १८९९ मा जन्मिएका हायकले अर्थशास्त्र, राजनीति, कानुन, इतिहास र मनोविज्ञानका क्षेत्रमा विचारोत्तेजक कृति छोडेर गएका छन्।
हायकको सबैभन्दा प्रसिद्ध कृति 'द रोड टु सर्फडम' १९४४ मा प्रकाशन भएको थियो। यो किताबले सामूहिकतावादको आलोचना र व्यक्तिगत स्वतन्त्रताको पक्षपोषण गरेको थियो। किताबमा हायकले अर्थतन्त्रमा सरकारी हस्तक्षेपले सर्वसत्तावाद निम्त्याउँछ, बरू आर्थिक समृद्धिका लागि व्यक्तिगत स्वतन्त्रता अपरिहार्य हुन्छ भनेका थिए।
किताब लाखौं प्रति बक्री भयो। धेरैले पढे। रिडर्स डाइजेस्ट म्यागेजिनले १९४५ मा संक्षिप्त संस्करण छापेर यो पुस्तकलाई बुद्धीजीवीहरूको घेराभन्दा बाहिर करोडौं मान्छेमाझ पुर्याएको थियो।
तर सरकारहरूले हायकको कुरा सुनेनन्। सरकारी योजनाले काम गर्दैन, बजार व्यवस्थाले गर्छ भन्ने उनको तर्कलाई हाँसोमा उडाइयो। रोड टु सर्फडमलाई प्राज्ञिक कृति नै मानिएन, अखबारी लेखन भनियो।
बजार पूर्ण छैन तर आर्थिक साधनहरूको परिचालन गर्ने सवालमा बजार जत्तिको दक्ष अर्को कुनै प्रणाली छैन भन्ने उनको दाबी थियो। बजार मान्छेको योजनाअनुसार अस्तित्वमा आएको होइन। बजारसँग मानव सभ्यताको जम्काभेट भएको हो, हायक भन्थे।
सामाजिक विनिमय गर्दा समस्या देखियो अब यसलाई बजारका माध्यमबाट समाधान गर्नुपर्छ भनेर कसैले भनेको होइन। योजनावद्ध ढंगबाट कसैले बजारलाई ल्याएको होइन। जसरी मान्छेले बोल्ने भाषा कसैको योजनामा आएको होइन। मान्छेले प्रयोग गर्दै जाँदा भाषा विकसित भएको हो त्यसरी नै बजार विकसित भएको हो।
आर्थिक स्रोतहरूको दक्ष बाँडफाँट केन्द्रीय योजनाले गर्दैन। राज्यको हस्तक्षेपले अधिनायकवादतर्फ लैजान्छ, नागरिक दास बन्छन्। नियत असल भए पनि र पवित्र उद्देश्य राखे पनि समाजवादीले राज्यको हस्तक्षेप निम्त्याएर दासताको बाटो खनेका छन् भन्ने हायकको भनाय थियो।
उनका अनुसार बजारले व्यक्तिलाई आफ्नै स्वार्थको पछि लाग्न र आफ्नै ज्ञान र प्राथमिकतामा आधारित निर्णय गर्न दिन्छ। बजार संकेतअनुसार व्यक्तिले योजना बनाउँछन् र अरूका योजनासँग आफ्नो योजनालाई मेल गराउने निरन्तर प्रयास गरिरहन्छन्।
यसरी व्यक्तिहरूबीचको निरन्तर अन्तर्क्रियाले बजार मूल्यलाई अद्यावधिक गर्दै लैजान्छ। त्यो मूल्यले उत्पादकलाई के उत्पादन गर्ने, कति उत्पादन गर्ने, कहाँ उत्पादन गर्ने लगायतका संकेत दिइरहेको हुन्छ। उपभोक्ताको हकमा पनि यही लागू हुन्छ। उपलब्ध मूल्यमा उपभोग गर्ने कि नगर्ने, कति गर्ने भन्ने निर्णय उपभोक्ताले गर्छ।
यसविपरीत केन्द्रीय योजनामा एक जना मान्छे वा केही मान्छेको समूहले सबैका लागि निर्णय गर्नुपर्छ। यसका लागि एक विशाल नोकरशाही चाहिन्छ, जसले अक्षमता र भ्रष्टाचार प्रवर्द्धन गर्छ। सरकारी खटपटनमा चल्नुपर्ने भएपछि नागरिकको सिर्जनशीलता मर्छ।
यस प्रणालीमा उत्पादकलाई धेरै उत्पादन गर्ने, सस्तो उत्पादन गर्ने, गुणस्तरीय उत्पादन गर्ने प्रेरणा हुँदैन। उपभोक्तालाई मितव्ययी बन्नुपर्छ भन्ने बाध्यता पनि हुँदैन। केन्द्रीय योजना सफल बनाउन केही व्यक्तिहरूको हातमा असीमित शक्ति हुनै पर्छ। राज्यले आफ्ना लक्ष्य प्राप्त गर्न समाजका सबै पक्षमा नियन्त्रण गर्नै पर्छ। किनकि गतिशील मानव समाजमा कार्यान्वयनयोग्य योजना बनाउने आवश्यक सूचना योजना अधिकारीसँग हुँदैन।
सूचना स्वभावैले तीव्र गतिमा परिवर्तन भइरहेको हुन्छ। सूचना समाजमा छरिएर रहेको हुन्छ। सूचनालाई शुद्ध रूपमा संकलन गर्न र लक्षित क्षेत्रतर्फ प्रसारण गर्न पनि सजिलो हुँदैन।
यिनै कारणले योजना असफल हुन्छ। तर सत्ताधारीको अहंकारले योजना असफल हुन्छ भन्ने मान्दैन। जुनसुकै मूल्यमा उसलाई योजना सफल बनाउनै पर्ने हुन्छ। योजनामा होइन कार्यान्वयनमा खोट हो भन्दै झन् शक्तिशाली कार्यान्वयनकर्ताका लागि माहौल खडा गरिन्छ।
सोभियत संघ, पूर्वी युरोप, दक्षिण अमेरिका, अफ्रिका, भारत, चीन र एसियाका थुप्रै देशमा योजनालाई सफल बनाउने हठ पूरा गर्न शक्तिशाली शासकयुक्त प्रणालीको प्रयोग भयो।
हायकले समाजवादीहरूलाई सामान्य हिसाबकिताब पनि गर्न आउँदैन भनेका थिए। जुन समाजमा बजार मूल्यलाई नियन्त्रण गरिन्छ, शासकको निर्देशनमा वस्तुको भाउ, श्रमिकको ज्याला, पुँजीको नाफा, भूमिको लगान निर्धारण हुन्छ त्यो आर्थिक चेत शून्य भएको समाज हो भन्ने उनको निष्कर्ष थियो।
समाजवादीहरूको जगजगी भएको र सक्रिय सरकारको माग गर्ने केन्सियन आर्थिक नीति लोकप्रिय भएको त्यो समयमा हायकका कुरा सुन्ने कम थिए। यसले हायकलाई निराश बनायो। मूलप्रवाहको प्राज्ञिक कर्मबाट उनी वाक्क भए।
अर्थशास्त्रका प्राविधिक विषयमा उनले कलम चलाउन छोडे। बेलायत र अमेरिकाका विश्वविद्यालय छोडेर हायक अस्ट्रिया फर्किए। उनलाई मानसिक रोगले छोप्यो। सरकारले खर्च गर्नुपर्छ भन्ने केन्सको सूत्रले १९६० दशकको मध्यदेखि काम गर्न छोड्यो। अर्थतन्त्र सुस्ताउन थाले, बेरोजगारी बढ्न थाल्यो, महँगी चर्किन थाल्यो। केन्सका अनुसार महँगी र बेरोजगारीबीच विपरीत सम्बन्ध हुनुपर्थ्यो, भएन। सरकारी हस्तक्षेपले सुस्त अर्थतन्त्रलाई गति दिन सक्छ भन्ने कुरा पनि मिथ्या साबित भयो।
त्यसपछि हायकका कुरा सुनिन थालिएको जस्तो देखियो। सन् १९७४ मा उनले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाए। नोबेल एकेडेमीले खासगरी हायकले आर्थिक (व्यापार) चक्रका बारेमा गरेको अध्ययनलाई कदर गरेको थियो। अर्थतन्त्रमा मन्दी र तेजीको चक्र कसरी आउँछ भन्ने कुरा उनले १९२० को दशकमा गरेको अध्ययनको विषय थियो।
केन्द्रीय बैंकले मुद्राको आपूर्ति बढाउँदा कर्जा सस्तो हुने, यसले उपभोग तथा कृत्रिम लगानी (उत्पादन बढाउने जस्तो देखिने तर नबढाउने) लाई उक्साउने र अल्पकालका लागि तेजीको अवस्था ल्याउने निष्कर्ष ती अध्ययनबाट हायकले निकालेका थिए। त्यो नक्कली तेजीलाई मन्दीलाई पछ्याउँछ। उत्पादन नगर्ने, बचत नगर्ने समाजले ऋण लिएर खर्च गर्दै जाँदा अर्थतन्त्र चौपट हुन्छ भन्ने उनले देखाएका थिए।
तापनि बजार अर्थतन्त्रले काम गर्दैन, अर्थतन्त्र राज्यको निगरानीमा चल्नुपर्छ भन्ने समाजवादप्रतिको मोहमा कमी आएको थिएन। त्यो वर्ष हायकसँगै नोबेल पुरस्कार थाप्ने स्विडिस अर्थशास्त्री गुनार मिर्डाल समाजवादका प्रखर हिमायती थिए।
हायकजस्तो बजार जडसूत्रवादीसँगै उभिएर पुरस्कार लिनुपर्दा उनलाई अप्ठ्यारो लागेको थियो रे! मिर्डाल भारतमा समाजवादी नेता जवाहरलाल नेहरूको आवधिक योजनाको समर्थन गर्न निम्त्याइएका ठूला अर्थशास्त्रीहरूमध्ये एक थिए। नेहरूले पहिलो पञ्चवर्षीय योजना (१९५१–१९५६) को नतिजाबाट हौसिएर अझै महत्वकांक्षी दोस्रो योजना बनाउँदै गर्दा धेरै देशका नामी अर्थशास्त्रीहरूलाई बोलाएका थिए।
नेहरूको दोस्रो योजना बनाउने टिमको नेतृत्व नै बेलायत पढेर आएका त्यति बेलाका नामी तथ्यांकशास्त्री पिसी महालनोबिसले गरेका थिए। उनको नाममा रहेको आर्थिक वृद्धिको मोडल (महालनोबिस मोडल) विश्वविद्यालयमा अर्थशास्त्रका विद्यार्थीहरूलाई अझै पनि पढाइन्छ।
महालनोबिसले तर्जुमा गरेको र समकालीन विश्वका घाघडान अर्थशास्त्रीहरूले सदर गरेको नेहरूको त्यो योजनाले काम गरेन। त्यो मात्र होइन त्यसपछिका कुनै पनि योजनाले काम गरेनन्। बेलायती उपनिवेशबाट स्वतन्त्र भए पनि भारत गरिबीमुक्त हुन सकेन। ब्रिटिस राजबाट मुक्त भारत समाजवादी परमिट राजको फन्दामा पर्यो।
हायक तिनै समाजवादीहरूसँग जुधिरहे। समाजवाद, साम्यवाद वा कुनै पनि रूपको सामूहिकतावादले काम गर्दैन भनिरहे। उनको मुख्य लडाइँ प्राज्ञिक क्षेत्रकै समाजवादीहरूसँग थियो। समाजवादी बुद्धिजीवीहरूले बुई चढाएका राजनीतिकर्मीले नै योजनामार्फत स्रोत साधनको हिनामिना गर्छन् भन्ने उनको आशय थियो।
तार्किक रूपमै समाजवादी दर्शन गलत छ नै प्रयोगहरूले पनि यो असफलसिद्ध भइसकेको छ भन्ने उनले तथ्य पेस गरेका थिए। सोभियत संघ, चीन, भारतमा प्राकृतिक तथा मानवीय स्रोत साधनको कमी थिएन। प्रचुर उत्पादन शक्ति भएका यी मुलुकमा करोडौं मान्छेले भोकमरीका कारण ज्यान गुमाउनुपरेको थियो।
केन्द्रीय योजनाबाट जोगाउन, खुला प्रतिस्पर्धी बजार र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न हायक निरन्तर लागि रहे। सन् १९६० मा 'द कन्स्टिट्युसन अफ लिबर्टी' नाममा उनको अर्को किताब आएको थियो। बेलायती कन्जर्भेटिभ पार्टीको बैठकमा मार्गरेट थ्याचरले हायकको त्यो किताब देखाउँदै 'यसैमा हो हामीले विश्वास गर्ने' भन्थिन् रे!
त्यो किताबमा मूलतः शास्त्रीय उदारवादको रक्षा र सामूहिकतावादको आलोचना गरिएको थियो। पुस्तकको अन्त्यमा हायकले आफू 'कन्जरभेटिभ' नभएको खुलासा गरेका छन्। यसमा कन्जरभेटिभहरूले राष्ट्रवादको सीमा कोरेर अलग्याउन खोज्ने भएकाले कुनै पनि नाममा मानव समुदायलाई विभाजन गर्ने सोच र व्यवहारसँग आफू सहमत हुन नसक्ने हायकले बताएका छन्।
हायकले किताबमा स्वतन्त्रताले समृद्धि अवश्य ल्याउँछ तर समृद्धिले स्वतन्त्रता सुनिश्चित गर्दैन भनेका छन्। अरू किताबजस्तै यसमा उनले व्यक्तिगत स्वतन्त्रता र स्वचालित समाजको वकालत गरेका छन्। उनले राज्यको भूमिकालाई कानुनी शासनको कार्यान्वयन र व्यक्तिगत अधिकारको रक्षामा सीमित गरेका छन्।
सत्तालाई सरकारमा केन्द्रीकृत गर्नु हुँदैन, निर्णय सबैभन्दा तल्लो तहमा गरिनुपर्छ। सामाजिक मूल्य मान्यता निर्माणमा सांस्कृतिक विकास र परम्पराहरूको भूमिका हुन्छ। समाजलाई स्वतन्त्र र समृद्ध बनाउन सामाजिक मूल्य मान्यता आवश्यक हुन्छन्।
राज्यले हस्तक्षेप गरेर सामाजिक न्याय स्थापित हुँदैन। राज्यले सम्पत्तिको पुनः वितरण गर्न खोज्यो वा नतिजामा समानतालाई जोड दियो भने समाज दुर्घटनामा पर्छ भन्ने तर्क पुस्तकमा गरिएको छ। आर्थिक परिवर्तनको कुनै पनि उतारचढावबाट जनतालाई जोगाउने दाबी गर्ने सरकारलाई नियमन र कर लगाउने असीमित शक्ति चाहिन्छ। संकटमा परेको अर्थतन्त्र उत्थानका लागि धराशायी भएको क्षेत्रबाट नयाँ क्षेत्रमा वित्तीय स्रोत र श्रमिकको स्थानान्तरण आवश्यक हुन्छ।
उत्पादनका साधनहरू बेरोजगार हुने यो अन्तरिम काल पीडादायी हुन्छ। यो पीडाबाट सरकारले मुक्त गर्न सक्छ भन्नु भ्रम हो। यस्तो शक्तिशाली सरकारको आकांक्षाले आर्थिक वृद्धिका सबै सम्भावना निषेध गर्छ।
जीवनको उत्तरार्द्धमा हायकको अर्को किताब आयो 'द फाटाल कन्सिट'।
सन् १९८८ मा आएको यो किताबमा हायकले समाजवादी सिद्धान्तहरू तार्किक रूपमा मात्र गलत नभएर तिनको उठानमै समस्या भएको दाबी गरेका छन्। निजी सम्पत्तिलाई महत्व दिने सामाजिक परम्परा भएका सभ्यताहरू टिकाउ भएको यसले व्यापार र आधुनिक पुँजीवादी प्रणालीलाई अग्रसर बनाएको दृष्टान्त प्रस्तुत गरेका छन्।
उनका अनुसार यो सामान्य सत्य बुझ्न नसक्नु समाजवादीहरूको दोष हो। निजी सम्पत्ति, व्यक्तिगत स्वतन्त्रता, प्रतिस्पर्धा, स्वैच्छिक सहकार्य तथा समन्वयलाई नियन्त्रण गर्ने प्रणाली विनाशकारी हुन्छन्।
हायकको निधन २३ मार्च १९९२ मा जर्मनीको फ्रेइबर्गमा भएको थियो। मृत्युको तीन दशकपछि पनि उनका विचारहरू सान्दर्भिक छन्। किनभने संसारमा सरकारहरू झन् ठूला र अधिक हस्तक्षेपकारी हुँदै गएका छन्। राजनीतिकर्मीका लागि यो ठीकै होला समाजका अन्य सदस्यका लागि ठीक होइन।
हाम्रा लागि त हायकका विचार अझ बढी सान्दर्भिक छन्। किनभने इतिहासको ज्ञान नै नभए जसरी हामीले संविधानमै समाजवादोन्मुख अर्थतन्त्र लेखेका छौं, राज्यलाई प्रधान मान्ने दलहरू सत्तामा छन्, सरकारले यो गर्छ, त्यो गर्छ भन्दै झुटा आश्वासन बाँड्ने दलहरूले पालैपालो सत्ताभोग गरिरहेका छन्। अझै डरलाग्दो कुरा नयाँ किसिमको राजनीति गर्छु भन्नेहरूको झुकाव पनि समाजवादतर्फ छ।
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)