(पत्रकार हरिहर विरहीले साप्ताहिक विमर्शका लागि भण्डारीसँग लिएको अन्तर्वार्ताको साभार। यो अन्तर्वार्ता २०४८ मंसिर ६ गते प्रकाशित भएको थियो। सिक्किमका पूर्व मुख्यमन्त्री भण्डारीको आइतबार भारतको नयाँदिल्लीमा निधन भएको छ।) नरबहादुर भण्डारी– सिक्किमका मुख्यमन्त्री। सिक्किम विधानसभाको सम्पूर्ण (३२) सिट जित्ने पार्टी सिक्किम संग्राम परिषदका संस्थापक अध्यक्ष। नेपाली भाषालाई भारतमा संवैधानिक मान्यता दिलाउन चलिरहेको आन्दोलनका नेता। भारतीय नेपाली राष्ट्रिय परिषदका अध्यक्ष। नेपाली भाषाका कवि, कथाकार र पत्रकार। नेपालको यस वर्षको जगदम्बाश्री पुरस्कार विजेता।भारतमा सिक्किम विलयको प्रबल विरोधीका रूपमा चर्चित भण्डारी अहिले पनि आफूलाई एउटा प्रचण्ड राष्ट्रवादी र राजावादीका रूपमा प्रस्तुत गर्छन्। सिक्किममा उनलाई भ्रष्टाचारी पनि भनिन्छ, तानाशाह पनि ठानिन्छ। तर, उनले आफ्नो मीठो भाषा, सहृदयतापूर्ण व्यवहार र नाटकीय कार्यशैलीले त्यहाँका जनतालाई यस्तरी लठ्ठ पारेका छन् कि उनले त्यहाँ जे गरे पनि हुन्छ। लामो समयसम्म झारलाङ्गे प्रथा एवं काजी– ठेकेदारहरूको शोषण– उत्पीडन झेलेका जनता सिक्किमको आधुनिकीकरण र विकासको श्रेय भण्डारीलाई नै दिन्छन्। उनी परिश्रमी पनि छन्। आफ्नो जिम्मेदारीप्रति सचेत पनि छन्। देख्दा हँसिला छन्, फूर्तिला छन्, स्पष्ट बोल्छन्। उनले राजनीतिमा सफलताको सूत्र राम्रोसँग बुझेका छन्। विद्वानझैं अभिनय गर्छन्, तर विद्वान कम बाठो बढी छन्। जे भए पनि सिक्किममा अहिले यिनलाई चुनौती दिन सक्ने कुनै व्यक्ति वा शक्ति देखा परेको छैन। उनको लोकप्रियता घट्नु सट्टा बढ्दैछ। केही समययता सुवास घिसिङले नेपाली भाषालाई गोर्खे भाषा भन्न थालेपछि नेपाली भाषालाई भारतमा संवैधानिक मान्यता दिलाउन प्रयत्नशील करिब एक करोड भारतीय नेपालीको नेतृत्व भण्डारीले लिएका छन्। हालै गान्तोकस्थित मुख्यमन्त्री निवासमा लिएको यो अन्तर्वार्ताका क्रममा भण्डारीले व्यक्त गरेका कुराहरू सुनेपछि साथमा रहनुभएका भरत कोइरालाको टिप्पणी थियो, ‘यसले त यही तालले शासन गर्यो भने आजीवन खान्छ।’ प्रस्तुत छ साढे ३ घन्टा लामो उक्त टेप–अन्तर्वार्ताको केही अंशःराजनीतिमा कसरी लाग्नुभयो?म राजनीतिमा लागेको होइन, मैले राजनीति जानेको पनि छैन। नेपाली भाषा र साहित्यको सेवा गरी आएको थिएँ। एउटा टिचरका रूपमा काम गरी आएको थिएँ। अचानक देश अर्काले खान लागेको थाहा पाएपछि देशको मायाले गर्दा यता लागेको हुँ। नेपाली र भोटे–लाप्चे आपसमा झगडा गरेर अरूलाई मौका दिइरहेको। यो देखेर म नाम्चीमा सभा भइरहेको ठाउँमा गएँ र आफैं मञ्चमा उभिएर एक मिनेट भाषण गरेँ। छोटो भाषण।
मैले भनेँ, ‘तँ नेपाली भनेको पाङ्ग्रे बिरालो हो, तँ भोटे लाप्चे भनेको सिँगारे बिरालो हो। तलबाट ढेडु आउँदैछ। तिमीहरू झगडा गर, ढेडुले रोटी खानेछ।’ त्यसपछि म गेजिङ गएँ। त्यहाँ पनि मानिसहरूको भीड लागेको रहेछ– भारतको स्वागत गर्न। यताबाट बिएस दास (भारत सरकारका प्रतिनिधि) गएको थियो, स्वागत खान। सभा चलेपछि मैले फुत्त माइक खोसेर भनेँ, ‘सिक्किम अब इन्डियाले खान्छ। तिमीहरू भोटे, लाप्चे, नेपाली सबै अजिंगरको मुखमा पुग्यौ। तिमीहरू आपसमा मिल्न सकेनौ, अब सत्तरी करोड धोती बोक।’
त्यस बेला भारतको जनसंख्या ७० करोड भनिन्थ्यो।
मैले फेरि थपेँ, ‘अब ७० करोड धोती बोक, गधाले झैं।’ त्यसपछि भण्डारीलाई मार्नुपर्छ, यो राजाको दलाल हो भने। मैले भनेँ, ‘मलाई के मार्छौ, तिमीहरूलाई मार्ने (भारत) आउँदैछ ...।’
म मोटरमा बसेँ। एकछिनपछि मोटरबाट ओर्लिएर फेरि कराएँ, ‘मलाई मार्ने कोही छस्? छस् भने आइज।’
राति कोही आएन। म घर फर्किएँ।
राति उनीहरू मसित कुरा गर्न आए। अब टिचरी छाड्नस्, कत्ति दिनसम्म टिचर बन्ने, तपाईं जे माग्नुहुन्छ त्यही पद दिन्छौं भने।
मैले भनेँ, ‘मलाई कुनै पद चाहिँदैन, म टिचरमै बस्छु, तर म बाँचुञ्चेल सिक्किमको झन्डा निकाल्न दिन्न।’ पछि मलाई कुटे, पिटे र मारे। ३६ घन्टासम्म मरेको मान्छे म। त्यसपछि थुनामा हाले। सिक्किमको जेलले मात्र नपुगी बरहमपुर जेल (पश्चिम बंगाल) मा लगेर कोचे। देशद्रोहीहरूले त्यही बेला सिक्किमको झन्डा निकाले। त्यतिखेर म देशमा नभई जेलमा भएकाले त्यसको पाप भोग्नुपर्दैन कि?
उनीहरूले के–के गरेनन्। झन्डा बेचे, देश बेचे, सबै सिक्किमेलाई बेचिदिए। मातृभूमिको बलात्कार गरे। यस्तो देखेर म गाउँ गाउँ, घर घर गएँ। भोक्कै प्यासै। कहिले रुखमुनि पनि बास बसेँ, कतै सुकुल ओढेर पनि सुतेँ। जनताको दुःख देखेँ। आफ्नो मनको कुरा जनतालाई भनेँ। जनताले चुनावमा खडा गराइदिए। जनताले देश बेचुवाहरूलाई हराएर मलाई जिताए। यही हो मेरो राजनीति भनेको। म राजनीतिज्ञ होइन।
सिक्किम भारतमा सिक्किमी जनताको इच्छाअनुसार नै विलय भएको हो भन्ने मान्नुहुन्न?म मान्दिनँ। १९७२ मा यहाँ जुन आन्दोलन चल्यो, त्यो साम्प्रदायिक र सुनियोजित थियो। पछि भएको तथाकथित जनमत संग्रह पनि नक्कली थियो। देश बेच्ने र किन्ने जालसाजी थियो त्यो। त्यसमा सिक्किमका जनताले भाग लिएकै थिएनन्, २–४ जनाले भाग लिएका भए पनि भूलमा वा करकापमा परेर लिए होलान्। जानीजानी आफ्नो देश बेच्न कोही तयार हुन्छ? आमालाई बेच्नुजस्तै हो यो। म त आमालाई असाध्यै मान्छु। आज म जे छु, त्यो आमाकै आशीर्वादको फल हो। आफ्नो बाबु र आमालाई सबैले मान्नुपर्छ।
विलय नभएको भए सिक्किमले आफ्नो छुट्टै र स्वतन्त्र अस्तित्व कायम राख्न सक्थ्यो त?मज्जासित सक्थ्यो, आनन्दसित। सिक्किमभन्दा साना मुलुक पनि छन्, संसारमा।
के तपाईं अहिले पनि यसको मुक्ति वा स्वतन्त्रताको पक्षमा हुनुहुन्छ?यो कुरा भविष्यलाई नै छाडिदिउँ। आउने पुस्ताले जे चाहन्छ, त्यही होस्। हामी त आत्मा बेचिएका मान्छे। अरूहरू आफ्ना लागि नयाँ मुलुक बनाउने प्रयास गर्दैछन् भने हामीले आफ्नो भएको मुलुक पनि अर्कालाई सुम्पियौं। योभन्दा ठूलो विडम्बना के हुन्छ? जे होस्, भोलिको कुरालाई भोलिकै मानिसको जिम्मा।
अहिलेका जनता के चाहन्छन्, स्वतन्त्रै हुन चाहन्छन्?स्वतन्त्र हुनका लागि त एउटा क्रान्ति नै चाहिन्छ। स्वतन्त्र हुने सोचाइ सिक्किमको मात्र होइन, अरू पनि थुप्रै राज्यको छ। अस्ति राष्ट्रपति यहाँ आएका थिए। खाना खाने बेला उनले सोधे, ‘मिस्टर भण्डारी, तपाईंहरू पनि बढी स्वायत्तता माग्दै हुनुहुन्छ?’
मैले भनेँ, ‘किन नमाग्ने? भारतको संविधानबमोजिम काम गर्ने हो भने त हामी फेल हुन्छौं। भारतको न्यायपालिका पूरा फेल छ। कुनै कुराको फैसला चाहिएको छ आज, तर फैसला हुन्छ दुई वर्षबाद। कुनै ड्रग बेच्ने मान्छे पक्रियो, तर अदालतबाट त्यो छुट्न सक्छ। दस हजारमा ड्रग बेच्छ, एक सय जरिवाना तिर्छ, ९९०० खल्तीमा हालेर जान्छ। म त ड्रग बेच्ने मान्छे देख्यो कि च्याप्प समातेर धुलाई गर्छु र रम्पू (सीमा) पार गरिदिन्छु। तिम्रो अदालतले त त्यो गर्न दिँदैन।’
मेरो कुरा सुनेर राष्ट्रपति पनि मरीमरी हाँसेको थियो।
विलय नभएको भए यति विकास हुन्थ्यो त?तपाईंले यहाँ जुन विकास देख्नुभयो, त्यो दिल्लीको पैसाले मात्र भएको नठान्नु होला। यसमा हाम्रो पनि खुनपसिना लागेको छ। आफ्नो पनि स्रोत बनाएको छ। लटरी चलाएको छ। चादरको छाना लटरीकै पैसाबाट बाँडेको छ। भारतको कुन्नि कुन ठाउँमा अस्ति भूकम्प गएछ। त्यस निम्ति पनि चन्दा पठाइदिएँ।
तपाईंहरूले मागेजति सहायता केन्द्रले दिएको छैन?नियमित रूपमा दिने बजेटबाहेक मैले केन्द्रसित थप केही मागेको छैन। आसाम र पञ्जाबले जस्तो दुःख दिएको छैन। यस्तो शान्ति कुनै राज्यमा छैन।
भ्रष्टाचार नि?यो घिसिङको राज्य हो र? हिन्दुस्तान सरकारको अडिटर बसेको छ यहाँ। सबै हिसाबकिताब देखाउनुपर्छ। अडिटरले रिपोर्ट दिएको छ– सबैभन्दा व्यवस्थित हिसाबकिताब सिक्किममा रहेछ भन्ने। भारत सरकारले हालै एउटा अर्को रिपोर्ट प्रकाशमा ल्याएको छ, केन्द्रले राज्यलाई दिएको रकममध्ये कसले कति प्रतिशत खर्च गरे भनी मूल्यांकन गरिएको। त्यस रिपोर्टमा सिक्किममा ८१ प्रतिशत खर्च भएको उल्लेख छ, जबकि दिल्लीमा ७५ प्रतिशत रहेछ, कयौं राज्यमा त ६० प्रतिशतभन्दा कम छ। म अलिकति पनि चुकेको भए दिल्लीले अहिलेसम्म छाड्ने थियो?
तपाईंका हरेक गतिविधिमाथि दिल्लीले आफ्नै गुप्तचर पठाई निगरानी गरेको हुन्छ भन्ने के सत्य हो?निगरानी होइन, कडा निगरानी। एकदम कडा निगरानी।
अहिले ‘ग्रेटर नेपाल’ को जुन कुरा उठिरहेको छ, त्यो के हो? कसले उठाएको हो यो? त्यसमा तपाईंको नाम पनि गाँस्दा रहेछन्।ग्रेटर नेपालको कुरा सुवास घिसिङ गर्छ, त्यो घिसिङ बोलेको होइन नि, नेपालीमा एउटा शब्द छ– पिठ्ठू। घिसिङ त्यही पिठ्ठू हो।
भर्खरकै कुरा हो, खर्साङमा एउटा मिटिङ भएछ, जसको सभापति घिसिङ रहेछ। त्यसमा खुल्लर (घिसिङ समर्थित दार्जिलिङको एमपी) ले भनेछ, ‘हिन्दुस्तानमा नेपालीको स्थान छैन। नेपालीहरूले भोट हाल्न पाउँदैन।’ त्यो खुल्लर यहाँ आएर त्यस्तो बोलोस् त। यहाँ त्यस्तो बोल्यो भने त्यसको चोक्टा चोक्टा हुनेछ, सबै नेपालीहरूलाई बाँड्ने हो भने एउटा एउटा चोक्टा पनि पुग्ने छैन।
खुल्लरले त्यस्तो बोल्यो भन्ने सुन्नासाथ म दिल्ली गएँ र प्रधानमन्त्री (पीभी नरसिंह) रावलाई भनेँ, ‘यो ठिक भएन। खुल्लर भनेको कांग्रेसको एमपी हो। ऊ बोलेको कांग्रेस बोलेको हो कि खुल्लर बोलेको हो, स्पष्ट हुनुपर्यो।’
मैले चेतावनी नै दिएँ। त्यसपछि प्रमले उसलाई तुरुन्तै झिकाए। दुई जनाबीच के कुरा भयो, थाहा छैन। नेपालीहरूलाई त्यस्तो गाली गरेकोमा मैले सुप्रिम कोर्टमा मुद्दा हाल्न लागेको थिएँ। सबै तयारी भइसकेको थियो। पछि सबैले ‘अहिले भैगो’ भनेर म फर्किएँ। नेपालीविरुद्ध कसैले औंला ठड्यो भने म त्यसलाई छाड्ने छैन। गोर्खाल्यान्ड आन्दोलनताका घिसिङलाई मैले कति सहयोग गरेँ, उसैलाई थाहा छ। त्यसबीच यहाँ ऊ ४५ पल्ट आयो। हेलिकप्टरमा पठाएँ। उसले चढेको हेलिकप्टरको बिल अझै चुक्ता भएको छैन। उसका हजारौं मानिसलाई ६ महिनासम्म भात खुलाएर पालेँ। राजीव गान्धीले मलाई दिएको बुलेट प्रुफ ‘लाइफ ज्याकेट’ पनि उसैलाई दिएँ। त्यो दिनु भनेको जीवन नै दिनु हो नि।
तर, आज त्यही भतुवा मलाई नेपालको एजेन्ट भन्छ, म सिक्किमलाई नेपालमा मिलाउन चाहन्छु रे। त्यसपछि मैले पनि भनिदिएको छु, ‘दार्जिलिङ हाम्रो हो’ भनेर। यो सुनेपछि उसको सातो गएको छ। कस्तो मूर्ख, दिल्लीले जे भुक्न लगायो, त्यही भुक्छ। भुकेन भने दिल्लीले भ्रष्टाचारमा समात्ने डर छ। स्वार्थ र लोभले गर्दा ऊ नराम्रोसँग फसिसकेको छ। उसले पहिले अमेरिकाको, चीनको, नेपालको सरकारलाई लेखेका गुह्य पत्र पनि मसित छन्। मैले त्यो चिठी प्रेसलाई दिएँ वा दिल्लीलाई देखाइदिएँ भने उसको के हालत हुन्छ? तर म त्यसो गर्दिनँ। त्यसो गर्नु अनैतिक हुन्छ। तर, उसले बुझ्नुपर्ने हो।
[caption id="attachment_62806" align="aligncenter" width="635"]
तस्बिर स्रोत: फ्रन्टलाइन[/caption]
भारत सरकारले नेपाली भाषालाई संवैधानिक मान्यता दिने कुरामा तपाईं कति आशावादी हुनुहुन्छ?आशावादी? आशावादी होइन, म त पक्कावादी पो छु त। त्यसको बाबुले पनि दिनुपर्छ। एक करोड नेपाली भनेको ठट्टा हो। हिन्दुस्तानका गरिब जनतालाई लुटेर जम्मा पारेको पैसाबाट ७२ करोड घिसिङलाई दिँदैमा र घिसिङले गुन्डागर्दी गर्दैमा नेपाली भाषा ‘गोर्खाली’ हुँदैन। भारतको संसदमा विल आयो भने सबै पार्टीका सदस्यले नेपाली भाषाको पक्षमा हात उठाउने छन्। अस्ति राष्ट्रपतिलाई मैले मेमोरान्डम पनि दिएँ। भारतमा कुनै मुख्यमन्त्रीले मन्त्रीहरूका साथ राष्ट्रपतिसामु गएर मेमोरान्डम दिने आँट गर्दैन। मैले गरेँ। त्यसमा मैले स्पष्ट लेखेको छु– विलयको जुन स्प्रिट थियो, त्यसमा केन्द्रबाट बिट्रे भयो, विश्वासघात भयो।’ विलयमा भएको सर्तअनुसार विधायिकामा नेपालीहरूको निमित्त पनि सिट आरक्षण हुनुपर्थ्यो। तर, दिल्लीले धोका दियो। मैले यसबारे सुप्रिम कोर्टमा मुद्दा पनि हालेको छु।
चुनाव एकलौटी जित्नुभएको छ। विरोधीहरूलाई विस्थापितजस्तो गराउनुभएको छ। प्रतिपक्ष भएन भने प्रजातन्त्र नै कमजोर हुँदैन?हो विरहीजी, तपाईंले ठिक भन्नुभयो। म यो मान्छु। तर, के अपोजिसनमा म मेरा मानिसलाई पठाउँ त? अपोजिसनको काम जनतालाई के समस्या परेको छ, कहाँ पानी पुगेन, कहाँ बिजुली पुगेन, जनताले कहाँ दुःख पायो, के गरे जनताले अझ सुख पाउलान्, त्यो कुरा उठाउने हो नि। यहाँको पोल दिल्लीमा लगाउने त हैन नि। उनीहरू जनताबीच जाँदै जाँदैनन्। खाली भण्डारीको चरित्रहत्या गर्ने र दिल्लीको खेताला बन्ने मात्र काम गरिरहेछन्। खेतालाको भरले त कतै पनि पार्टी चल्दैन नि। म ठोकेर भन्छु– यहाँ अपोजिसनका नेता भनिनेहरू सबै कांग्रेस आईका भाडाका खेताला मात्र हुन्। दिल्लीले पैसा दिउन्जेल अलिअलि कुद्छन् र पैसा सकिएपछि चुपचाप बस्छन्। चुनावको बेला बोरामा भरिभरि पैसा ल्याउँछन्। बाकसमा होइन, बोरामा। त्यो पैसा पनि जनताले पाउँदैन, माथिका २–४ जनाले खान्छन्। जनताले त्यस्तालाई किन भोट दिन्छन्?
तपाईंले आफ्नो कार्यकालमा सिक्किम र यहाँका जनतालाई के दिनुभयो?म एउटा साधारण गरिब परिवारमा जन्मिएको साधारण मान्छे हो। मलाई आमाले बढो दुःख गरेर पढाउनुभयो। सुरुमा केही छात्रवृत्ति पाउँथेँ, एउटा पत्रिकामा एउटा कथा लेखेकोमा सरकारलाई गाली गरेको अर्थ लगाएर छात्रवृत्ति पनि काटियो– राजाकै पालाको कुरा हो। राम्रो र नयाँ लुगा लगाउने औकात थिएन। किताब कापी किन्ने पैसा थिएन। आमाले कुखुराको अन्डा बेचीबेची पाल्नुभयो। पढाइ चलाउन काम पनि गरेँ। २ कक्षादेखि नै आफ्नै खुट्टामा उभिएर पढेको हुँ। मलाई गरिब जनताको दुःख थाहा छ। त्यसैले जनताले मलाई मुख्यमन्त्री बनाएपछि मैले गरिबी हटाउनुलाई नै पहिलो प्राथमिकता दिएँ। फलस्वरुप अहिले बाटो नपुगेको कुनै गाउँ छैन, बिजुली नपुगेको कुनै ठाउँ छैन, ठाउँठाउँमा स्कुल खोलिदिएको छु। बूढाबूढीहरुलाई घरैमा पेन्सन पुर्याइदिएको छु– अरु केही नभए पनि बिहान बेलुका मुखमा माड लगाउन त पुग्छ।
म सानो हुँदा गाउँ छिमेकमा कसैले चादरको छाना लगाए भने ‘आहा, कुनै दिन हाम्रो घरमा पनि यस्तै छाना भए कस्तो हुन्थ्यो’ भन्ने लाग्थ्यो। अहिले मैले सबैको घरमा चादर लगाइदिएको छु। सित्तै। चादरको पैसा तिर्नु पर्दैन। अब २–४ घर बाँकी छन्, यो वर्ष त्यो पनि सकिन्छ। गरिबहरुले बिजुलीको दुइटा बल्ब बालेसम्म पैसा लाग्दैन– एउटा बल्ब बूढाबूढीलाई, एउटा बल्ब नानीहरुलाई। धन भएकाहरुले चाहिँ पूरै तिर्नुपर्छ। पढ्न १२ कक्षासम्म पैसा लाग्दैन। पुस्तकहरु फ्री। नास्ता फ्री, नास्ता गुरुबा गुरुआमालाई पनि फ्री। स्कुलको स्तर नराम्रो छैन। ७ हजार गुरुबा, गुरुआमालाई तलब ख्वाएको छु। तलब पनि राम्रै छ। नानीहरु झोलामा मैले दिएको पुस्तक लिएर मैले खोलेको स्कुल जान्छन्, सित्तै पढ्छन् र घर आएर मैले दिएको बत्तीमा मैले दिएको पुस्तक पढ्छन्।
युनिभर्सिटीमा पढ्नेलाई छात्रवृत्तिको व्यवस्था छ। मेडिकल र इन्जिनियरिङमा सिक्किमको लागि भनेर सिट आरक्षण गराएको छु। कोही बिरामी भएर इलाजको लागि जानेहरुका निम्ति दिल्ली, कलकत्ता, सिलगुडीमा घर किनिदिएको छु। साम्प्रदायिक सद्भाव कायम गराएको छु। जाती–जातीबीच पहिलेजस्तो झगडा छैन। मैले यहाँ ५००० भन्दा बढी मन्दिर बनाइसकेँ। कुनै ओडार र बाङ्गो रुख खाली छैन। सबै ठाउँमा भगवान राखिदिएको छु। मन्दिर बनाउन धेरै गाह्रो कहाँ छ? त्यस्तै बौद्ध मठहरु पनि बनाएँ, गुरुद्वारा पनि बनाएँ, मस्जिद पनि बनाएँ। गिर्जाघर पनि बनाएँ। मैले भनेको छु– धर्म गर तर धर्मको नाममा झगडा गर्न पाउँदैनौ। बख्खु लगाए नेपाली पनि भोटेजस्तो देखिन्छ भने दौरा सुरवाल लगाए भोटे पनि नेपाली हुन्छ। झगडा किन?
मैले अन्तरजातीय विवाहालाई पनि प्रोत्साहन गरेको छु। जागिर नपाएका घरका मान्छेले तुरुन्तै जागिर पाउँछ। व्यापार गर्नेलाई पनि अनेकौं छुट दिएको छु। १० वर्षसम्म त इनकम ट्याक्स नि लाग्नै दिइनँ। तर अझै थुप्रै काम गर्न बाँकी छ।
तर तपाईको कार्यशैली तानाशाहको जस्तो छ भनिँदो रहेछ। प्रजातान्त्रिक मुलुकको मुख्यमन्त्री भएर यसरी नियम कानुन मिचेर काम गर्नु कति उचित हुन्छ? कि यो असत्य हो?तपाईंले सुन्नुभएको कुरा असत्य होइन। विरोधीहरुले मलाई कहिले हिटलर भन्छन्, कहिले जियाउल हक भन्छन्, यसपल्टको चुनावमा इदी अमीन पनि भने। हिटलर र जियाको बारेमा त मलाई थाहा थियो, इदी अमीनबारे थाहा थिएन। मलाई नै इदी अमीन भनिएपछि कस्तो रहेछ त्यो मान्छे बुझ्नुपर्यो भनेर बुझेँ। किताब समाएर पढेँ। मलाई इदी अमीन भनिएकोमा केही हास पनि उठ्यो, केही खुसी पनि लाग्यो, तर धेरै खुसी लागेन। किनभने म त्यस्तो छैन। तर तपाईंलाई योचाहिँ प्रष्ट गरिदिउँ– मेरो काम चाहिँ अलि कडा छ। मैले साथीहरुलाई , मन्त्रीहरुलाई भनेको छु– ठूलो ठाउँमा पुगिहाल्यौ, एउटा घर बनाएसम्म बनाए हुन्छ। मन्त्री भएपछि मगन्ते जस्तो भएर कुकुर जस्तो भएर हिँड्नु त भएन नि। एउटा घर बनाउनु, इज्जतका साथ बस्नु। तर जनताको कामचाहिँ राम्ररी गर्नू। जनताको कामै कति छ र ? मेरो सर्कुलर छ– कुनै मन्त्री वा अफिसरले ३ दिनभन्दा बढी फाइल राख्न पाउँदैन। मैले ३६ वटा विभाग लिएको छु। मुख्यमन्त्रीको हैसियतले गर्नुपर्ने अनेक काम सकेर पनि म ३६ विभागको फाइलमध्ये एउटा पनि ३ दिनभन्दा बढी राख्दिनँ भने एउटा मात्र विभाग सम्हाल्ने मन्त्री र सचिवले ३ दिनमा किन सक्तैनौं?
सत्तामा आएपछि म अफिस–अफिस गएँ। कोही पनि काम गर्दा रहेनछन्– सबै गफ गरेर बसेका, महिलाहरु स्वीटर बुन्दा रहेछन्। मैले त्यो सब स्वीटर बुन्ने सामान खोसेर झ्यालबाट फ्याँकिदिएँ र भनेँ– स्वीटर बुन्ने भए घर जाऊ, सरकारले स्वीटर बुन्न यो तलब दिएको होइन, अफिसमा त जनताको काम गर्नुपर्छ। ’ जुवा खेलिँदो रहेछ। त्यो पनि रोकाएँ। कतै जुवा खेलेको थाहा पाएँ भने म आफैं त्यहाँ पुग्छु बदमासी गर्नेलाई म आफैं पक्रिन्छु।
म घर झगडा पनि मिलाई दिन्छु। लोग्ने स्वास्नी छुट्टिन खोज्यो भने तलाक पनि म आफैं गराइ दिन्छु। र लोग्नेलाई भन्छु, हरेक महिना आफ्नो तलबको आधा बूढीकहाँ पुर्याइदिनू, नत्र सरकारले नै कट्टी गरेर पुर्याइदिन्छ। यसपल्ट गिनिज बुकमा पनि लेखिएको छ– सबैभन्दा कम अपराध हुने राज्य सिक्किम हो भनेर। मलाई पुलिसमाथि विश्वास छैन। मैले आफ्ना मान्छे छ्याप्छ्याप्ती फिजाएको छु। पुलिसभन्दा मेरा ती मान्छेले राम्ररी काम गर्छन्। म पनि आफ्नो पार्टीको कार्यकर्ताका लागि ज्यान दिन तयार छु। उनीहरुकै सहयोगले त म सफल भएको हुँ। मेरो काम गराई यस्तै छ। यो तानाशाही हो कि के हो भन्ने तपाईं आफैं छुट्याउनुस्। यदि म इदी अमीन भएको भए जनताले मलाई यसरी भोट दिन्थे?
नेपाल भारत सम्बन्धलाई तपाईं कसरी हेरिरहनुभएको छ? खासगरी भारतको एउटा मुख्य मन्त्रीका रूपमा ...तपाईंले मलाई अघि पनि ‘भारतीय’ भारतीय भन्न खोज्नुभयो। तर म दिल खोलेर भनिदिन्छु– म भारतीय होइन, म नेपाली हुँ, सिक्किमे हुँ। भारतवासी हुँ। यहाँको मुख्यमन्त्री हुँ, तर नेपाली हुँ। कसै कसैले त मैले नेपालको नागरिकता नै लिइसकेको छु, नेपालमा मेरो जग्गा छ, त्यहाँको बैंकमा मेरो पैसा छ, त्यो हिसाब मिलाउन म बराबर काठमाडौं जान्छु भनेर प्रचार गरेका छन्। नेपालको एउटा पत्रिकाले पनि लेखेको छ रे। म यस्तो प्रचारदेखि डराउँदिनँ। तर, नेपालप्रति मेरो असाध्यै सहानुभूति र माया छ।
दुई वर्षअघि भारत–नेपाल सम्बन्ध चिसिएको बेला गृहमन्त्रीले छलफल गर्न डाकेको बैठकमा मलाई पनि बोलाएका थिए– युपी, बिहार र बंगालका मुख्यमन्त्रीसँगै। पहिले मलाई बोल्न भने। मैले भनेँ, ‘नेपाललाई दुःख दिएर फाइदा छैन। कुरा गर्नुपर्यो, मिल्नुपर्यो। मलाई विश्वास छ, अरू मुख्यमन्त्रीले पनि यही भन्नुहोला।’
यसरी मैले फसाइदिएपछि उनीहरूले पनि ‘हो भण्डारीजीले ठिक भन्नुभयो’ भने। मैले गृहमन्त्रीलाई यो पनि भनेँ, ‘नेपाल भनेपछि मलाई असाध्यै माया लाग्छ। मेरो देश तिमीहरूले खाएको बेला म गुहार माग्न त्यहीँ गएको थिएँ। नेपालले मलाई साथ दिएको पनि हो। तर, बिचरा आफैं तिमीहरूबाट पेलिएको छ, कति गरोस्?’
मैले भनेँ, ‘नेपाल जाँदा मैले भारत र नेपालको सीमाना नै छुट्टयाउन सकिनँ।’
उसले ‘किन’ भनेर सोध्यो। मैले भनेँ, ‘नेपाललाई मधिसेहरूले खाइसकेछन्। तिमीहरूले अब नेपाललाई पनि सिध्याउने भएछौ ... ।’
नेपालले त्यसरी माया गरेर दिएको जगदम्बाश्री पुरस्कार तपाईंले लिन अस्वीकार गर्नुको खास कारण के थियो त?त्यो पुस्कार मैले लिन नचाहेको होइन। तर, मैले कुनै पुरस्कार पाउनासाथ कुरै नबुझी पुरस्कार थाप्न दौडिन मिल्दैन। किनभने, नेपाली भाषा र साहित्यसित मात्र मेरो सम्बन्ध छैन। म भारतको एउटा राज्यको मुख्यमन्त्री हुँ, सत्तारुढ पार्टीको प्रेसिडेन्ट हुँ, भा.ने.रा.प. को अध्यक्ष हुँ। त्यस कारण कुन कुराको असर कहाँ पर्छ भन्ने बुझेर मात्रै कुनै काम गर्नुपर्छ।
त्यो पुरस्कार मलाई दिने निर्णयमा ‘नेपाल बाहिर बसेर’ पनि नेपाली भाषाको सेवा गरेकाले पुरस्कार दिइएको लेखिएको रहेछ। यो शब्दको अनेक व्याख्या हुनसक्छ। यस्तो अर्थ पनि लगाउने सम्भावना थियो कि यी सिक्किमे नेपाली चाहिँ सबै नेपालकै हुन्। मैले त्यो पुरस्कार थापेको भए नेपाली भाषा विदेशी नै रहेछ भन्ने अर्थ लगाइन्थ्यो। यदि मैले त्यो पुरस्कार थापेको भए यो इस्यू यति भयंकर हुन्थ्यो कि हिन्दुस्तानका सारा नेपालीलाई यो अभिशाप हुन्थ्यो। रमाइलो कुरा के छ भने पुरस्कार घोषणा हुनासाथ मलाई बधाई पत्र आयो, आएको आयै। बधाईको बाढी नै आयो। तर, जब मैले अस्वीकार गरेँ, त्यसपछि धन्यवादपत्र आउन थाल्यो। त्यसको पनि बाढी। पहिले बधाई पठाउनेहरूले नै अहिले धन्यवाद पठाइरहेका छन्। रुचेको गाँस होस्, चाहे नरुचेको गाँस होस्, बाध्य भएपछि खानैपर्छ। हामी गर्दनभन्दा माथि त भारतीय छैनौं नि, गर्दनभन्दा मुनि मात्र भारतीय हौं, यो सबैलाई थाहा छ।
यहाँको एउटा सानु नानीलाई सोध्यो भने पनि उसले आफूलाई इन्डियन भन्दैन। गर्दनभन्दा मुनि त ‘इन्डियन नै हुँ’ भन्नैपर्यो। यस स्थितिमा नेपालले मलाई ‘नेपाल बाहिर बसेर’ भन्दा के अर्थ लाग्छ? तपाईंहरूको एउटा स्वतन्त्र राष्ट्र छ। आफ्नो अस्तित्व छ। राजा छ, प्रजा छन्। व्यवस्था भन्ने कुरो आउँछ जान्छ, तर राष्ट्र त छ। तर, हामी? हामीलाई नेपालले ‘प्रवासी’ भन्छ र यताबाट पनि लखेटिएका छौं। उताबाट उछिट्टिनु र यता पनि कसैले आफ्नो नठान्नु– आखिर हामी कताका हौं त?
अर्को कुरा, हिन्दुस्तानका अरू नेपाली र सिक्किमका नेपाली फरक छ। हामी ‘प्रवासी’ नेपाली होइनौं। हाम्रो एउटा राष्ट्र थियो, छुट्टै राजा थियो। हामी आफ्नो राजाको सिन्दुर पहिरेका नेपाली हौं। यस्तो स्थितिमा ‘नेपालबाहिर बसेर’ भन्ने शब्दले अनर्थ गराउँथ्यो। उनीहरूलाई के खोज्छस् कानो आँखो भनेझैं हुन्थ्यो। मैले पुरस्कार थापेको भए उनीहरू तुरुन्तै त्यो प्रमाणपत्र लिएर आई भन्ने थिए, ‘मिस्टर भण्डारी, यु आर नेपाली फ्रम नेपाल। नेपाल ने कह दिया कि तुम नेपालके हो और इसे तुमने स्वीकार भी किया ...।’ (हाँस्दै) मलाई त शंका लाग्छ, कमल दीक्षितजीसित भेट भयो भने सोध्नुछ, ‘के तपाईंलाई ‘र’ ले फिट गरेको त छैन– भण्डारीलाई यस्तो सर्टिफिकेट दिउँ र डुबाइदिउँ भनेर?’
के यसलाई बहिष्कार हुनबाट जोगाउन सकिँदैन थियो? त्यसको भाषा फेरेको भए ...हो सकिन्थ्यो। पहिले सल्लाह भएको भए र सुरुमा मलाई लेखिएको चिठी (प्रशस्तिपत्र) पहिले नै प्रकाशमा नआएको भए। यसलाई अस्वीकार हुनबाट तर्काउन सकिन्थ्यो। पछि दीक्षितजीले चिठी पठाउनुभयो— स्थितिलाई तर्काउन सकिन्छ कि भनेर। पहिले नै फर्काइ सकेपछि अब के तर्काउने? पत्रमा भाषाबाहेक अर्को पनि कुरा छ। मैले दीक्षितजीलाई पठाएको चिठीमा यो पनि खुलाएको छ– तपाईंहरूले यो पुरस्कार मलाई नेपाली भाषालाई समुन्नति गरेकोमा दिनुभएको रहेछ, तर मेरो मञ्जिल पूरा चाहिँ भएको छैन। नेपाली भाषालाई जतिसुकै सेवा गरेको भए पनि मेरो मञ्जिल चाहिँ नेपाली भाषालाई भारतको संवैधानिक मान्यता दिलाउनु नै हो। त्यो पूरा नभएसम्म म कुनै पनि पुरस्कार थाप्न योग्य छैन।