भारतमा नागरिक कानुनविरुद्ध चर्किएको आन्दोलन क्रममा भारतीय कम्युनिस्ट पार्टीका नेता कन्हैया कुमारले आफ्नो बहुचर्चित ‘हम लेके रहेंगे आजादी’ भन्ने नारा घन्काउँदै दसौं हजारको प्रदर्शन गरेका छन्।
नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि कन्हैया कुमारले उक्त प्रदर्शन गरेका हुन्।
कन्हैया दिल्लीकै जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संगठनका पूर्वअध्यक्ष हुन्। उनले त्यही विश्वविद्यालयबाट पिएचडी गरेका थिए।
नागरिकता कानुनविरुद्ध सोमबार पूर्णियामा भएको विशाल प्रदर्शनमा कन्हैयाले जामिया मिलिया विश्वविद्यालयमा प्रहरी धरपकडको विरोध गरे। उनी मञ्चमा उभिएर ‘गान्धीवाली’, ‘बिस्मिलवाली’ ‘भगत सिंहवाली’ भन्थे, जवाफमा हजारको भिड ‘आजादी’ भन्दै नारा लगाउँथे।
कन्हैया कुमारले उक्त प्रदर्शनको भिडिओ आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। उनी नरेन्द्र मोदी सरकारको प्रखर आलोचकका रूपमा चिनिन्छन्। मोदी सरकारले हिन्दुत्वलाई बढावा दिएर देशलाई जातीय र धार्मिक रूपमा विभाजित गरेको भन्दै उनले विरोध गर्दै आएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा बिगुलसराय निर्वाचन क्षेत्रबाट उनी पराजित भएका थिए।
यो पनि हेर्नुहोस्:
साथी बचाउन दिल्ली पुलिससँग भिड्ने पाँच छात्रा
भारतमा नरेन्द्र मोदी सरकारले हालै ल्याएको नागरिकता कानुनको विरोधमा आसाम राज्यबाट सुरू प्रदर्शनले राजधानी नयाँदिल्ली आइपुग्दा उग्र रूप लिएको छ।
भारतीय संसदबाट बहुमतले पारित नागरिकता कानुनमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट अवैध रूपमा आएका हिन्दु, बौद्ध, जैन, पारसी, ईसाई र शिख धर्मका शरणार्थीलाई नागरिकता दिने भनिएको छ।
साविकमा कुनै पनि व्यक्तिले भारतीय नागरिकता पाउन कम्तिमा ११ वर्ष भारत बसेको हुनुपर्ने प्रावधान थियो। नयाँ कानुनले यी तीन देशका अल्पसंख्यकका लागि यो अवधि छ वर्षमा झारेको छ। साविकमा अवैध तरिकाबाट आएकाहरूलाई नागरिकता दिइँदैन थियो। यसरी आएकालाई उनीहरूकै देश फर्काउने वा हिरासतमा राख्ने गरिन्थ्यो। अब त्यस्ता व्यक्तिले पनि नागरिकता लिन सक्ने छन्।
यही कानुनअनुसार पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट आएका मुसलमानहरूले भने नागरिकता पाउँदैनन्।
गैरमुस्लिमलाई मात्र समावेश गरेर नागरिकता पाउने भनेपछि भारतका धेरै राज्यमा चर्को विरोध सुरू भएको हो। मुख्य रूपमा छ जातिका अवैध प्रवासीलाई फाइदा हुने यो कानुन 'मुसलमानविरोधी' भएको विपक्षीहरूले बताएका छन्। मोदी सरकारले मुसलमानलाई अलग्याएर अरू जातकालाई सहजै नागरिकता दिन खोज्नु धार्मिक चलखेल भएको उनीहरूको भनाइ छ।
दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रदर्शन क्रममा आइतबार प्रहरीले बिनाअनुमति विश्वविद्यालय छिरेर त्यहाँका कर्मचारी र विद्यार्थीलाई कुटेका थिए। प्रहरीले लगभग सय जना विद्यार्थीलाई हात माथि उठाएर बाहिर निकालेको थियो। विद्यार्थीहरूका अनुसार उनीहरूलाई जबर्जस्ती प्रहरीले पुस्तकालयबाट बाहिर निकालेको हो। पुस्तकालयभित्रै अश्रुग्यास प्रहार गरिएका भिडिओ फुटेजहरू सार्वजनिक भएका छन्।
उत्तर प्रदेशको अलिगढ मुस्लिम विश्वविद्यालयमा पनि विरोध चर्किन थालेपछि सबै विद्यार्थीलाई उनीहरूको घर पठाइएको छ।
आसाममा सबभन्दा ठूलो विरोध भइरहेको छ। प्रहरीको गोलीबाट यहाँ चार जनाको मृत्यु भइसकेको छ। राज्यका धेरै ठाउँमा मोबाइल, इन्टरनेट बन्द गरिएको छ। लखनउमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। पश्चिम बंगालमा र्यालीका साथै केही ठाउँमा आगजनी र तोडफोड भइरहेको छ।
तमिलनाडु, हैदराबाद, पटना र केरलमा पनि विरोध चर्किरहेको छ। यी ठाउँमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेका छन्।