नागरिकता कानुनको विरोधमा शुक्रबार उत्तर प्रदेशका विभिन्न भागमा भएको प्रदर्शनमा पाँच जनाको ज्यान गएको छ।
भारतको दिल्ली, उत्तर प्रदेश लगायत राज्यमा शुक्रबार बिहानैदेखि प्रहरीको निषेधाज्ञा तोड्दै दसौं हजारले प्रदर्शन गरेका थिए। उत्तर प्रदेशका बुलन्दसहर, मेरठ, मुजफ्फरनगर, गोरखपुर, बहराइच, बनारस, साम्बाल, फिरोजाबाद लगायत १५ जिल्लामा प्रदर्शनले हिंसात्मक रूप लिएको थियो।
इन्डियन एक्सप्रेसका अनुसार त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच ठाउँ-ठाउँमा झडप भएका थिए। सार्वजनिक गाडीहरूमाथि आगो लगाइएको थियो। यही क्रममा पाँच जनाको ज्यान गएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।
योसँगै नागरिकता कानुनविरोधी आन्दोलनमा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। बिहीबार कर्नाटकाको मेंगलुरूमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो। उत्तरप्रदेशको लखनउमा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।
दिल्लीमा प्रहरी अवरोधका बाबजुद ठाउँ–ठाउँमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भयो। दिल्ली गेटमा प्रहरीले प्रदर्शनकारीको भीड पन्छाउन पानीको फोहोरा चलाएको थियो। त्यहाँ एउटा कारमा आगो लगाइएको छ।
दिल्लीको जामा मस्जिदमा शुक्रबारको प्रार्थनापछि भीम आर्मी प्रमुख चन्द्रशेखर आजादको नेतृत्वमा विशाल जुलुस निस्क्यो। आजाद आन्दोलन सुरू भएदेखि प्रहरी निगरानीमा थिए। प्रहरीको आँखा छल्दै उनी शुक्रबारको प्रार्थना सकिनेबित्तिकै जामा मस्जिदको एक नम्बर गेटमा पुगे। त्यहाँ उनलाई प्रहरीले नियन्त्रणमा लिए पनि फुत्किन सफल भएका थिए।
विरोध प्रदर्शनमा मान्छे जमघट हुन नपाओस् भनेर मोबाइल, एसएमएस र मेट्रो सेवा रोक्ने काम शुक्रबार पनि जारी रह्यो।
उत्तर प्रदेशका थुप्रै भाग, दिल्लीका केही भाग र कर्नाटकाको दक्षिण कन्नाडामा शुक्रबार दिनभरिजसो इन्टरनेट र एसएमएस सेवा बन्द गरियो। आसाममा भने नौ दिनपछि इन्टरनेट सेवा चालू गरिएको छ। आसामका केही भागमा केही दिनदेखि लगाइँदै आएको कर्फ्यू पनि शनिबारबाट खुकुलो पारिएको छ। शनिबार बिहान ६ देखि राति १० बजेसम्म कर्फ्यू हटाइएको स्क्रोल डटइनले जनाएको छ।
दिल्लीमा राजीव चोक, केन्द्रीय सचिवालय, प्रगति मैदान, जनपथ, खान मार्केट लगायत १३ मुख्य इलाकामा मेट्रो स्टेसन बन्द गरियो। आवागमन रोकेर प्रदर्शन निस्तेज पार्न बिहीबार पनि दिल्लीमा मेट्रो सेवा आंशिक बन्द गरिएको थियो। यसले मान्छेलाई एकजुट भएर प्रदर्शनमा भाग लिनबाट रोकेको छैन।
तामिलनाडुमा विरोध प्रदर्शनमा भाग लिएको भन्दै ६ सयभन्दा बढीलाई प्रहरीले मुद्दा दायर गरेको छ। यसमा अभिनेता सिद्धार्थ, संगीतकार टिभी कृष्णा, लोकसभा सांसद थोल थिरुमाभलवन, पूर्व विधानसभा सांसद एमएच जवाहिरुल्लाह लगायत छन्। दिल्लीमा गृहमन्त्री अमीत शाहको घरअगाडि विरोध गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
भारतको दुवै सदनले 'मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी' नागरिकता कानुन पारित गरेपछि मोदी सरकारले अहिलेसम्मकै सबभन्दा ठूलो विरोध खेप्नुपरेको हो।
कानुन पारित हुनुअघि नै आसाममा ठूलो विरोध भएको थियो। यसका बाबजुद मोदी सरकारले संसदमा विचाराधीन विधेयक फिर्ता लिएन। विपक्षीहरूको तीव्र विरोधबीच बहुमतका आधारमा कानुन पारित गर्यो।
लगत्तै गत आइतबार राति नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडले नागरिकता कानुनविरूद्ध सल्केको आगोमा घिउ थप्ने काम गरेको छ, जसको राप देशव्यापी रूपमा फैलिँदै छ।
यो पनि हेर्नुहोस्: भारतमा किन दन्किँदैछ आन्दोलनको आगो?