नागरिकता कानुनको विरोधमा जारी आन्दोलनमाथि सरकार समर्थक हिन्दुवादी समूहहरू सांघातिक आक्रमणमा ओर्लिएपछि उत्तरपूर्वी दिल्लीका विभिन्न ठाउँमा हिंसात्मक दंगा भड्किएको छ। दंगामा अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन्।
सरकार समर्थक भीडले मुस्लिम समुदायलाई निशाना बनाएका छन्। मुस्लिमहरूका घर, पसलदेखि मस्जिद, मदरसा र स्कुलमा समेत तोडफोड र आगजानी गरिएको छ। व्यक्तिगत रूपमा सांघातिक हमला पनि भएका छन्।
त्यस्तै आक्रमणको निशाना बनेको स्कुल हो, अरूण मोडर्न पब्लिक सिनियर सेकेन्डरी स्कुल।
उत्तरपूर्वी दिल्लीको मुस्तफाबादस्थित वृजपुरमा पर्ने यो स्कुल सन् १९८६ मा स्थापना भएको हो। हिन्दुवादी समूहहरूले हमला गरेका ठाउँमध्ये मुस्तफाबाद पनि एक हो।
'जाँच नजिक आइरहेको छ। हामीले केटाकेटीको प्रवेशपत्र पनि बाँड्न पाएका थिएनौं,' मोर्डन पब्लिक स्कुलकी नितु चौधरीलाई उद्धृत गर्दै भारतीय अनलाइन स्क्रोल डटइन लेख्छ, 'आक्रमणकारीहरूले हाम्रो १९८६ देखिका सबै रेकर्ड जलाइदिए।'
आक्रमणपछि यो स्कुलको परीक्षा अनिश्चित बनेको उनले बताइन्।
यही स्कुलमा शारीरिक शिक्षा पढाउने कसिम जैदका अनुसार, मंगलबार साँझ ४-५ बजेतिर यहाँ तोडफोड र आगजनी भएको हो।
'मुस्तफाबाद-वृजपुर इलाकामा ठूलो भीड जम्मा भएको छ भन्ने हामीले अघिल्लो साँझ नै खबर पाएका थियौं,' उनले भने, 'खबर पाउनासाथ विद्यार्थीको सुरक्षा हेरेर त्यस दिन स्कुल विदा गरेका थियौं, नभए हाम्रा धेरै विद्यार्थी हताहत हुने थिए।'
यो स्कुलमा करिब ७ सय ५० जना विद्यार्थी पढ्छन्, जसमा हिन्दु र मुस्लिम दुवै छन्। घटनाको दिन स्कुलमा सुरक्षा गार्ड मात्र थिए। कर्मचारीका अनुसार, मुख्य प्रवेशद्वारको ताला फुटाएर भीड स्कुलभित्र छिरेको थियो। उनीहरू स्कुलका अफिस र कक्षाकोठा तोडफोड गर्दै तेस्रो तलासम्म पुगे।
'स्कुल पछाडि मस्जिद थियो,' जैदले भने, 'उनीहरू छतमा चढेर त्यहीँबाट मस्जिदमा छिरे।'
आक्रमणकारीहरू वृजपुर र मुस्तफाबादका स्थानीय भएको उनको अनुमान छ। उनले ती कुन धर्मावलम्बी थिए भनेर बताउन चाहेनन्।
चौधरीले भने एकदमै जोड दिँदै भनिन्, 'यो सब मोहम्मदन (मुसलमान) हरूले गरेका हुन्।'
त्यसै साँझ ८ बजेतिर स्कुलकै छेउमा रहेको फारूकी मस्जिदमा हमला भयो। स्क्रोल डटइनका संवाददाता बुधबार दिउँसो त्यहाँ जाँदा मस्जिद आगोले ध्वस्त थियो। भुइँमा रगतका टाटा लतपतिएका थिए।
मस्जिद पछाडिको मदरसा पनि आक्रमणकारीको निशानाबाट बचेन। आगोको धुँवाले मदरसाका भित्ता काला देखिन्थे। बुधबार बिहान आक्रमणकारीले मदरसाभित्र घुसेर आगो सल्काएको स्थानीयले बताए।
हमलामा परेका स्कुल, मस्जिद र मदरसा एकअर्कासँग टाँसिएका छन्। यी तीन भवनको दुर्दशाले वृजपुरी-मुस्तफाबादमा पछिल्लो २४ घन्टा भड्किएको हिंसाको तस्बिर छर्लंग हुन्छ।
जल्दैछ दिल्ली
पछिल्लो चार दिनदेखि दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किएको छ। उत्तरपूर्वी दिल्लीको मौजपुर, जफराबाद, भजनपुरा, कर्दामपुरी, दयालपुर र चाँदबाद क्षेत्रमा हिंसा भड्किएको स्क्रोलले लेखेको छ। यी ठाउँ दिल्लीको केन्द्रबाट करिब १५ किलोमिटर दुरीमा पर्छन्।
भारतको दुवै सदनले 'मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी' नागरिकता कानुन पारित गरेपछि मोदी सरकारले अहिलेसम्मकै सबभन्दा ठूलो विरोध खेप्नुपरेको हो।
नागरिकता कानुनमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानबाट अवैध रूपमा आएका अल्पसंख्यक समुदायहरू- हिन्दु, बौद्ध, जैन, पारसी, ईसाई र शिख धर्मका शरणार्थीहरूलाई नागरिकता दिने भनिएको छ। यही कानुनअनुसार पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट आएका मुसलमानहरूले भने नागरिकता पाउँदैनन्।
गैरमुस्लिमलाई मात्र समावेश गरेर नागरिकता दिने भनेपछि भारतका धेरै राज्यमा विरोध सुरू भएको हो। मुख्य रूपमा छ जातिका अवैध प्रवासीलाई फाइदा हुने यो कानुन 'मुसलमानविरोधी' भएको विपक्षीहरूले बताएका छन्। मोदी सरकारले मुसलमानलाई अलग्याएर अरू जातकालाई सहजै नागरिकता दिन खोज्नु धार्मिक चलखेल भएको उनीहरूको भनाइ छ।
यसैको विरोधमा दुई महिनादेखि जारी प्रदर्शनमाथि सरकार समर्थक हिन्दुवादी भीडले सांघातिक हमला गर्न थालेपछि आइतबारदेखि हिंसात्मक झडप भएका हुन्।
स्क्रोल संवाददाताले बुधबार दिउँसो वृजपुरी-मुस्तफाबाद र चाँदबाग क्षेत्र भ्रमण गर्दा बाटो छेउछाउका घर र पसल आगोमा जलेर खरानी देखिन्थे। कतिपय ठाउँमा घर र पसलबाट मिल्काइएका सामान सडकमा असरल्ल थिए। सडक किनार आगोले ध्वस्त भएका गाडीहरू पनि थिए।
मुस्तफाबाद र वृजपुरी क्षेत्रमा मस्जिद र मदरसा मात्र छैनन्, यहाँ ठूलो संख्यामा हिन्दु परिवार पनि बसोबास गर्छन्। वृजपुरी नहर वरिपरिको क्षेत्रमा भने मुसलमानहरूको बाहुल्य छ। यहाँ केही हिन्दुका पसल र दुईवटा मन्दिर छन्।
बुधबार दिउँसो स्क्रोल संवाददाताले यहाँका स्थानीयसँग कुरा गर्दा उनीहरूले दंगा बेला आक्रमणकारीहरूले स्थानीय बसोबासीका घर, मस्जिद र मदरसा तोडफोड गर्दा प्रहरी बचाउ गर्न नआएको बताए।
वृजपुरीका हिन्दु स्थानीयहरूका अनुसार तोडफोड र आगजनी सकिएपछि बल्ल प्रहरी आइपुगेको थियो। त्यति बेलासम्म आक्रमणकारीहरू सबै लाखापाखा लागिसकेका थिए।
मुस्तफाबाद र चाँदबागका मुसलमान स्थानीयले प्रहरी पनि आक्रमणकारीसँगै मिलेर तोडफोडमा सहयोगी बनेको आरोप लगाएका छन्।
'अरूण स्कुलकै अगाडि प्रहरीले सुरक्षा बार लगाएको थियो, तर आक्रमण अवधिभरि यहाँ कोही प्रहरी देखिएनन्,' वृजपुरीका स्थानीय २९ वर्षीय अरूणकुमारले भने, 'प्रहरी आउँदासम्म ठूलो क्षति होला भन्ने डरले हामी आफैं बाहिर निस्क्यौं। यही बस्तीका हिन्दुहरूले मिलेर आक्रमणकारीलाई रोके, अझ ठूलो क्षति हुनबाट जोगाए।'
उनका अनुसार आक्रमणकारीहरू फर्किएपछि साँझ साढे ५ बजेतिर बल्ल प्रहरी टोली आइपुगेको थियो।
'सायद प्रहरीलाई गोली हान्ने आदेश थियो। त्यसपछि आक्रमणकारीहरू फर्किएनन्,' उनले भने।
वृजपुरीका अर्का हिन्दु स्थानीयले आक्रमणकारीले नहरपारि घरको छतबाट गोली चलाएको दाबी गरे। उनीहरूका अनुसार, गोली लागेर २६ वर्षीय राहुल ठाकुर घाइते भएका छन्। उनलाई स्थानीयले नै गुरू टेगबहादुर अस्पताल भर्ना गराएका छन्।
मस्जिदमा आगोको लप्का
मुस्तफाबाद-वृजपुरी इलाकामा मंगलबार साँझ प्रहरी आइपुग्दासम्म स्कुल भवन जलेर ध्वस्त भइसकेको थियो। तर, प्रहरी आएपछि पनि हिंसा जारी रहेको स्थानीयले बताए।
करिब ६ बजेतिर अर्को भीडले नागरिकता कानुनविरूद्धको प्रदर्शन स्थल तोडफोड गरेको वृजपुरीका स्थानीय आसिफ सिद्दकीले जानकारी दिए।
त्यहाँ चौबीसै घन्टा चल्ने प्रदर्शन निम्ति पाल टाँगिएको थियो। वृजपुरीका स्थानीय, खासगरी महिलाहरूले नागरिकता कानुनविरोधी प्रदर्शनमा भाग लिँदै आएका थिए। पालमा आगो लगाइएकाले त्यहाँ रहेका केही महिला घाइते भएको स्थानीयले बताए।
त्यसपछि बेलुकी ८ बजेतिर आक्रमणकारीले फारूकी मस्जिदलाई निशाना बनाए। त्यति बेला मस्जिदमा १०-१५ जना नमाज पढ्दै थिए।
'हामी नमाज पढिरहेका बेला आरएसएसका मान्छे हुल बाँधेर आए र इमामसहित सबैलाई कुटपिट गर्न थाले,' स्थानीय अलिमुद्दीनले भने, 'मस्जिदका घाइतेहरू अस्पतालमा भर्ना छन्।'
उनले कति जना घाइते भए भन्ने यकिनसाथ बताउन सकेनन्। यहाँ आक्रमणकारीले गोली पनि हानेको आशंका छ।
(यो स्टोरी हामीले स्क्रोल डटइनबाट अनुवाद गरेका हौं।)
यो पनि हेर्नुहोस्: