रूकुम पश्चिमको आठबिसकोटमा दुई महिनाअघि कुलोका पानी कसले प्रयोग गर्ने भन्ने विषयमा दुई गाउँबीच झडप भयो।
वैशाख २७ गते आठबिसकोट नगरपालिका- ३ को खदीमा माथिल्लो गाउँकाले तल्लो गाउँका जंगलमा बाटो ढुकेर आक्रमण गरे।
आक्रमणको नेतृत्व वडा नम्बर ३ का वडाध्यक्ष ३० वर्षीय केशरमान बिकले गरेका थिए। घटनालगत्तै वडाध्यक्ष बिक फरार भए। ८ जना घाइते हुने गरी भएको उक्त घटनाका केही घाइते अझै पनि अस्पतालमै छन्।
आक्रमणमा संलग्नमध्य २४ वर्षीय जीवन बिक, ३५ वर्षीय बिर्ख ऐरी, २४ वर्षका शशिराम बुढा र ३५ वर्षका सुरेश बिकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
उनीहरूका विरूद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइसकेको छ।
छलफलका लागि बोलाएर सुनियोजित तरिकाले जंगलमा ज्यान लिने उद्देश्यले आक्रमण गर्ने कार्यको नेतृत्वका गरेको वडाध्यक्ष बिकलाई भने प्रहरीले पक्राउ गरेको छैन।
प्रहरीका अनुसार उनी अझैं पनि फरार छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी ठकबहादुर केसीले वडाध्यक्षको खोजी भइरहेको भए पनि फेला नपरेको बताए।
फरार भनिएका वडाध्यक्ष बिक सोमबार पनि नगरसभामा उपस्थित रहेको स्रोतले सेतोपाटीलाई बतायो। असार २६ गतेबाट सुरू भएको ८ औं नगरसभा सोमबार पनि जारी छ।
डिएसपी केसीले आफूले पनि वडाध्यक्ष नगरसभामा सहभागी भएको भन्ने सूचना पाएको बताए।
‘उहाँ नगरसभामा सहभागी भएको भन्ने कुरा हामीले पनि सूचना पाएका छौं,’ केसीले भने ‘म त्यहाँ प्रहरी पठाउने तयारी गरिरहेको छु।’
यो पनि पढ्नुस्: