नेपालले आफ्नो छोटो क्रिकेट यात्रामा धेरै आरोह अबरोह पार गरेर डिभिजन ५ बाट एकदिवसीय यात्रासम्म आइपुगेको छ। तर, बिडम्बना नेपाल यस्तो देश हो जसको आफ्नो एउटा खेल्न लायक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छैन।
यही अवस्थामा धुर्मुस सुन्तली फाउन्डेशनका सिताराम कट्टेलले क्रिकेट रंगशाला बनाउने उद्घोषले नेपाली क्रिकेटप्रेमी खुसी भएका छन्।
उक्त संस्थाले यसअघि गरेका चार महत्वपूर्ण परियोजनाको सफलतापूर्वक सम्पन्न गरेकाले अबको योजना पनि पुरा हुने हामीसबै क्रिकेटप्रेमीको विश्वास छ।
विनोद चौधरीले रंगशाला निर्माण गर्छु भन्दा होस् या सरकारले निर्माण गर्छु भन्दानै किन नहोस् हामी खुसी भएकै हुन्छौ।
धुर्मुस सुन्तलीलाई क्रिकेट रंगशाला बनाउन अब झापा नै उपर्युक्त स्थान हुनसक्छ। झापामा धेरै रंगशाला निर्माण गर्न लायक सरकारी जमिन छ। जुन अहिले उपयोगबिहिन छ, प्रस्तावित आदिवाशी रंगशालालाई पनि क्रिकेट रंगशालाको रुपमा स्तरोन्नती गर्न सकिन्छ।
खेल क्षेत्रको लागि चाहिने खेलप्रेमीको उलेख्य उपस्थिति यहाँ आयोजना हुने स्थानीय तथा राष्ट्रिय प्रतियोगिताले पुष्टी गरेको छ। राजनीतिक पहुँचको हिसाबले हेर्दा प्रधानमन्त्रीदेखि अर्थमन्त्री यही क्षेत्रको भएको अवस्था छ साथै परियोजनाको अभियानकर्ता धुर्मुस सुन्तलीलाई यो परियोजनामा झापाली जनताको सहयोग नहुने कुरै भएन।
झापाबाट नेपालको सम्पूर्ण भूभागमा सडकमार्गको सहज पहुँच छ चाहे यो सुदूरपच्छिमको महेन्द्रनगर, धनगढी होस् चाहे राजधानी काठमाडौं चाहे नेपालको पर्यटकिय नगरी पोखरा।
हवाईमार्गको राजधानीसँगको केहि मिनेटको पहुँचले पनि यसमा सहजता प्रदान गर्छ, अझ भद्रपुर विमानस्थल स्तरोन्नती गरि बंगलादेश र भारतसँग सिधा हवाईपहुच निर्माण गर्न सकिन्छ।
झापाको काकडभिट्टाबाट केही किलोमिटर दुरीमा रहेको भारतको जल्पाइगुडीको रेल सेवाले अन्तर्राष्ट्रिय खेल खेलाउन उपर्युक्त स्थान हुनेछ। झापाबाट बंगलादेश पनि केहि किलोमिटरको दुरीमा भएकोले नेपाल, भारत र बंगलादेशको शृंखला आयोजना गर्न सकिन्छ।
झापामा मेडिकल कलेज छ र ५ तारे होटल पनि बन्ने क्रममा छ। जुन रंगशालाको पहुचमा हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ।
पर्यटकीय हिसाबले हेर्ने हो भने क्रिकेटको दर्शकलाई पूर्वी ताप्लेजुङको पाथिभरा, कंचनजंघा हिमाल इलामको चियाबगान धरानको पर्यटकीय क्षेत्र, धनकुटाको हिले र भेडेटार, तेह्रथुमको बसन्तपुर, गुरासको राजधानी तीनजुरे मिल्के पुर्याउन सकिन्छ।
सायद यो परियोजना धनगढीमा सुरू गर्न सकिन्थ्यो। तर, त्यहाँ ड्रिम फाप्लाको लागि सुबास साहीलाई सरकारले सहयोग गर्नुको विकल्प म देख्दिनँ। त्यस्तै काठमाडौंमा पनि ढिलोचाँडो मुलपानी क्रिकेट रंगशाला सम्पन्न हुने क्रममा छ। पोखरामा पनि मुख्यमन्त्रीले रंगशाला बनाउने निर्णय गरिसकेका छन्। त्यसैले यो परियोजना पूर्वको लागि अत्यावश्यक छ।
यो परियोजना जहाँ सुरु भए पनि सम्पूर्ण नेपालीको साथ र सहयोग रहने छ। हामीसँग समय एकदम कम छ र एकदिवसीय मान्यता मात्र चार वर्षको यो परियोजना चाडो देशले गर्व गर्ने रुपमा सम्पन्न होस् धुर्मुस सुन्तली र हामी सम्पूर्ण नेपालीलाई शुभकामना।