मानिसका आ-आफ्नै
अनुमानहरु छन्
नेताका पछि लाग्ने
हनुमानहरु छन्
तर मलाई यति थाहा छ
कुनै पनि मानिसको
कर्मशिलता र श्रेष्ठताको नाप
जनतामा परेको प्रभाव र
सर्वकालिन हृदयस्पर्शितामा निर्भर रहन्छ,
जब तिमी कर्ममा कुनै श्रृगांर देख्दैनौ
आधुनिकताले चढाएको लाली भोग्दैनौ
खिंचातानी आडम्बर र उपमाहरु बोक्दैनौ
तिमी, तिमी मात्र रहेनौ कुलमान!
नेपाली मन मनमा
प्रभावकारी र सर्वप्रिय बाच्ने
राष्ट्रसेवक ठहरिएका छौ,
साँच्चै कुलमान
तिमी छौ र त देश नै उज्यालो छ अचेल!
हिजो तिम्रो अभावमा
हाम्रै आखाँ अगाडीबाट
दिव्य रोशनी खोसेर
बह्मलुट गर्नेहरु
आज उकुसमुकुस गरिरहेकाछन्,
तर हामी धन्य छौं आज
जलस्रोतको माहात्म्य पढ्न
मैनबत्ती बाल्नुपर्ने दिन सकिएका छन्
अँधेरीमा भविष्यको आकार कुँद्ने
दिन सकिएका छन्,
त्यसैले त हामी अचेल
विकास निर्माणका झिल्काहरु टिप्न सक्छौं
सुन्दर मन्दिरहरुमा आशाहरु जप्न सक्छौं
हिमालबाट पग्लिएको मसिले
पूर्वको स्वर्ण प्रभात लेख्न सक्छौं!
थाती छन् देशमा
पानीजहाजका तरंगहरु
मोनोरेलका सपनाहरु
मेलम्चीका प्यासहरु
तर तिमी दिन-रात,घाम-पानी
भोक-निद्रा,चाडपर्व इष्टमित्र नभनी
भाषणमा होइन कार्य क्षेत्रमा खटिएर
एउटा व्यवस्थापकीय कार्यकुशलता मार्फत
लोडसेडिङको युग समाप्त गरेर देखाइदियौ
तर अझै पनि खेल कहाँ सिद्यिएको रहेछ र
त्यसैले त यहाँ सल्बलाइरहेका छन्
विजुली माफियाका एजेन्टहरु
अँध्यारो युग तन्काएर
आसेपासे भरणपोषण गर्न
लोडसेडिङको साईत हेर्ने पण्डितहरु!
तर आफ्नो प्रदर्शन प्रति
हैसला राख र
तिमी अघि बढ कुलमान,
चाहे भ्रष्टाचारीले रंगहरु बदलिरहून्
चाहे काठमाडौंका गल्लीमा
अनेक हल्लाहरु चलिरहून्,
तिम्रो सत्य र ईमानको शक्तिमा
हाम्रो आकर्षणको उडान कम हुने छैन,
महाभारतमा
कृष्णले अर्जुनलाई रथमा हाकें जस्तै
तिमीलाई उज्यालो युगको सारथी मानेर
नेपाली जनताले सदैव हाँकिरहनेछन्!
चिकित्सा शास्त्र अध्ययन संस्थान(IOM)