हाम्रो देश नेपाल
सुन्दर शान्त र विशाल,
अनि हिमालको उच्चतासँगै
गाँसिएको हाम्रो गौरव
र हाम्रो सार्वभौमिकता,
तर
हाम्रो सच्चा आर्यभावना
हार्दिकता पूर्वक व्यवहार
र सहिष्णु सम्बन्धमा
सधैं धावा बोल्दै आइरहेको छ भारत,
कहिले ठुल्दाइ त
कहिले नभइ नहुने छिमेकी बनेर त
कहिले रोटी बेटीको सम्बन्ध ब्यूँताएर त
कहिले पहाडमा नटिक्ने जवानी
र पानीको कथा सुनाएर,
तर के गर्ने
भूपि शेरचनले भने झै
‘हामी वीर छौं
तर बुद्धू छौं’
र त मोदीको विजयमा
जुलुस निकाल्न
वीरता हासिल गर्छौं तर
देशको समस्यामा बुद्धू भइराख्छौं!
के हो
भारतीयले एकतर्फी खनेको पाइलट च्यानल?
अनि बिना कुनै जानकारी पानीको बहाव छोड्न पाइन्छ?
आज गोबरगाढा बस्ती
अनि ९० परिवार
कोसीमा घेरिनु मात्र नौलो समस्या होइन
सदियौंदेखि
नेपालको सीमावर्ती क्षेत्रमा
भारतको यस्तै हेपाहा प्रवृत्तिले
वर्षेनी हजारौं जनसंख्याले
डुबानको सास्ती भोग्दै आइराखेका छन्!
भारत
अन्तर्राष्ट्रिय सन्धि सम्झौताको धज्जी उडाउँदै
नेपालको सीमा क्षेत्रमा एकतर्फी
बाँध नहर तटबन्ध र सडक बनाउँछ
तर हाम्रा नेता मन्त्रीहरू
जनताको मतमा सिंहदरबार पुग्छन्
रंग भेद बदल्छन्
नेपालीको पसिना पचाउँछन्
दिल्लीको रेड कार्पेटमा शरण पर्छन्
नेपालीको समस्यालाई चुट्किला बनाउँछन्
अनि रात्रीभोजमा खुश्बू उडाउँछन्!
नेपालको पानीमा
भारतको दादागिरी र थिचोमिचो
आखिर कहिलेसम्म?
कहाँ छ खै ति
अन्तर्राष्ट्रिय कानुनको पालना?
सीमा क्षेत्रमा
दुवै पक्षको सहमतिबिना
प्राकृतिक बहाव बदल्ने र
अर्को राष्ट्रका जनतालाई सास्ती
दिने कार्य निन्दनीय छैन र?
कति चै हामी
भारतको
जिउँदो प्रशंसक बनेर
भलादमी बनी राख्ने?
दुःख भोगिराख्ने?
आखिर
कुटनीतिक माध्यमबाट
तमाम यी समस्याको
स्थायी समाधान खोज्ने कसले?
प्रदेश २ को सरकार अनि
संघीय दुई तिहाइ सरकार कता छन्?
त्यही भूमिमा राजनीति गर्ने
मधेसवादी दल कता छन्?
मोदीको सपथ ग्रहण समारोहमा
यस समस्यालाई उठाएर
एकजुट भई
राष्ट्रवादले सामना गर्ने कि
प्रधानमन्त्री ज्यू?