मैले यो आलेख लेखिँरहँदा सम्माननीय प्रधानमन्त्री केपी ओलीले गत वर्ष फागुन ४ गते बोल्नु भएका कुराहरु मेरा मानसपटलमा नाचिरहेका छन्। 'नक्सा छाप्न के ठूलो कुरा भयो र? भूमि नै फिर्ता ल्याउँछौँ।'
त्यो समयकै वरिपरि रक्षामन्त्री ईश्वर पोख्रेलले हेलिकप्टरबाट सीमाको निरीक्षण पनि गरेका थिए। भनिन्छ, त्यतिबेला भारतले ७५ किमि बाटो निर्माण गरिसकेको थियो। सायद कालो चस्मा लगाएर निरीक्षण गरियो कि जसले गर्दा लिपुलेक र लिम्पियाधुराको बाटो र पहाड छुट्याउन उहाँलाई गाह्रो परेको होला।
हुन त देशको राजधानी तथा प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको जग्गा त व्यक्तिगत नाममा हुँदा राज्यले समयमा देख्दैन, लिम्पियाधुरा त धेरै परको नेपाली भूगोलको कुरा भयो।
सुखद् कुरा के भने विगत २७ महिनादेखि एउटा दुर्लभ कवि ह्रृदयी व्यक्तित्व सत्ताका शिखर पुरुष हुनुहुन्छ। म पनि एउटा साहित्यको विद्यार्थी भएका कारण केही सिक्न पाइन्छ कि भन्ने उत्कृष्ट चाहनाले यस्ता कवि ह्रृदयी मान्छेहरु भावनात्मक रुपमा नजिक लाग्छ।
उहाँबाट बेलाबेलामा मानवतावाद, राष्ट्रियता र जनमनसँग गाँसिएका मार्मिक र ह्रृदयस्पर्शी कुराहरु सुन्न पाइएको छ। ती कविताको मर्म केलाउँदा लाग्छ, आज मान्छेले सम्पन्नता, सभ्यता र शिष्टताका नाममा मानवता गुमाइ रहेको छ र त्यो गुमनाम मानवतालाई जोगाउन अहोरात्र खट्ने एक्लो व्यक्तित्व नै कवि प्रधानमन्त्री हुनुहुन्छ।
गणतन्त्र हो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
भन्दै कवि प्रधानमन्त्रीले रचना गरेको कवितामा व्यक्त उच्च राष्ट्रवाद सायद कमै कविहरुले उठाएका होलान्। कवि प्रधानमन्त्रीको राष्ट्रवाद कागजी नक्सा राष्टवाद होइन, भूगोल राष्ट्रवाद हो। त्यसैको प्रतिबिम्ब 'नक्सा छाप्न के ठूलो कुरा भयो र? भूमि नै फिर्ता ल्याउँछौँ' भन्ने सुक्तिमय कवितामा स्पष्टसँग झल्किएको छ।
त्यसोभए खै त कविज्यू, कविताको राष्ट्रवादले नेपाली भूमि प्रयोग गरेर मानसरोवर जाने बाटो रोक्न र रौतहटमा दशगजा मिचेर भारतले बनाई रहेको बाँध भत्काउन सकेको? आजभन्दा करिब २५ वर्ष पहिले महाकाली सन्धि गरिँदा वर्षमा १ खर्ब २० अर्ब (अहिलेसम्म वार्षिक १ खर्ब २० अर्बको २५ वर्षमा हुन आउने ४५ खर्ब) का दरले देशले आम्दानी गर्छ भनेर सहमतिमा हस्ताक्षर गरिएको राष्ट्रवादले खै त देशलाई विकास र समृद्धितर्फ लैजान सकेको?
आज यहाँको राष्टवादले उत्तरी छिमेकीले सगरमाथा नापीरहेको छ र तिनै छिमेकीद्वारा सिंहदरबारको नाकैमुनि नेपाली सुरक्षाकर्मी कुटिएका छन्। प्रत्येक रात दक्षिणी सीमाका जंगे खम्बाहरु भत्काइएको पाइन्छ। यहाँको राष्टवादमा कालापानीमा वषौँदेखि बसेका भारतीय सेना उठ्नु पर्दैन। के तपाईको राष्टवाद व्यवहारमा प्रतिबिम्बित हुन नपर्ने र कवितामा सिमित राष्टवाद हो?
कवि त श्रष्टा मात्रै होइन, द्रष्टा पनि हो भनिन्छ। त्यो कविभित्रको द्रष्टा व्यक्तित्व आवश्यकता परेको बेलामा देखिनु पर्ने होइन र? कि भारतले बाटो उद्घाटन गरेको पनि पत्रकारले फोटो खिचेर देखाइदिनु पर्ने? कोरोना महामारीका कारण खान नपाएर घर जान हिँडेका भोका पेटहरुको लस्कर र उनीहरुका दुख र सास्ती पनि अरुले नै सुनाइ दिनु पर्ने? यदि होइन भने यहाँका कवितामा दुराचारपूर्ण दोष देखिन्छ।
किनभने मान्छेमा रहने सदाचार र दुराचार भनेको भावना हो र यो भावना आचरण भएर अभिव्यक्त भईरहेको हुन्छ भन्ने कुरा अवगत गराउन चाहन्छु। म कवि त होइन तर कवितालालाई माया गर्ने मान्छे भएकाले सबै कविहरु कथनी र करणीमा यस्तै हुन् भन्ने कुरा आम श्रोता पाठकमा भ्रम पर्न नजाओस् भन्नी मात्र मेरो चाहना हो। साथै सबै नेपालीको चाहना पनि यही नै हो।
कवि प्रधानमन्त्रीज्यू, तपाई त देशकै अभिभावक हो, मार्गदर्शक हो र अभियन्ता हो। यहाँले नाकाबन्दीका बेला देखाएको राष्ट्रवाद र चुनावका बेला बाँडेका सपनालाई पत्याएर नेपाली जनताले त्यो ठाउँमा पुर्याएका हुन्। यहाँले के बिर्सन हुँदैन भने अरुलाई बाटो देखाउने मान्छेले त्यो बाटोका विषयमा आफूले बढ्ता जानकारी राख्नै पर्छ। समाज र राष्ट्रको हितका लागि केही न केही गर्छु भनेर सत्तामा पुगेको मान्छेले आफैमा सच्चरित्रता, नैतिकता, सरलता र विशालता प्रस्फुटन गर्न सक्नै पर्दछ र बोली र व्यवहार पनि एउटै हुनु पर्दछ। त्यसैले यहाँको राष्ट्रवाद र सार्वभौमिकता कवितामा होइन, व्यवहारमा देखिनु पर्छ भन्ने हो।
सुनकाण्डका ठूला माछा समात्नुस्, औषधि उपकरणमा गडबड गरेकालाई कुर्चीबाट झार्नुस्, अपहरण शैलीमा भएका कामबारे छानविन गर्नुस् र यो साढे दुई वर्षमा भएका काण्डैकाण्डलाई पारदर्शी रुपले छिनोफानो गर्नुस्। निर्मलाका बलत्कारी र हत्यारालाई ठेगान लगाउनुस्। लिपुलेकका विषयमा खेदजनक प्रेस विज्ञप्ति निकालेर मात्र हुँदैन।
कवि प्रधानमन्त्रीज्यू उठ्नुस्, मार्चपास गर्दै जाऔँ हामी लिम्पियाधुरा। तीन करोड नेपाली जनता यहाँलाई साथ दिन तयार छन्। यतिबेला भारतका विरुद्धमा लाग्दा भोलि कुर्ची रहँदैन भन्ने लाग्छ भने त्यो कुर्चीको माया नगर्नुस्। त्यसो गर्नुभयो भने अहिले दुई तिहाइको हुनुहुन्छ, फेरि अब आउने चुनावमा तीन चौथाईको बलियो सरकार बनाउन सक्नुहुन्छ।
त्यतिबेला कसैले पनि हेप्न र घेराबन्दीमा पार्न सक्ने छैनन्। मृगौला प्रत्यारोपण गर्नु भएकै छ, १५/२० वर्षलाई ढुक्कै छ। होइन भने आफूलाई निर्विकल्प ठान्नुहुन्छ र आफ्ना वरिपरिका मान्छेलाई अरु सबैलाई हैसियत बिनाका भन्न लगाउनु हुन्छ भने, पार्टीका विधि र प्रक्रिया मान्दिन भन्नुहुन्छ भने, अरुलाई फुटाएरै गणतन्त्र बलियो पार्छु भन्ने अड्डी कस्नुहुन्छ भने यहाँका कविताका मर्म र सपनाहरु खै कसरी पूरा होलान् र?
यहाँको कवितामा पाइने राष्ट्रवाद र सार्वभौमिकताका बारेमा यत्ति नै। अब अलिकति यहाँका कवितामा पाइने मानवता र मानवीय संवेदनाका कुरा गरौँ। कवि प्रधानमन्त्रीज्यू, हुन त यहाँले बारम्बार भावनामा बगेर हुँदैन भन्नुहुन्छ। पत्रकारलाई धम्क्याउनु हुन्छ। सीमाका भोका नेपालीको अपमान गर्नुहुन्छ। आफै भावनाका कुरा गर्नुहुन्छ। आजभोलि उखान थोरै र कविता धेरै सुनाउनु हुन्छ।
त्यसोभए यहाँका मानवता र मानवीय संवेदनायुक्त कविता भावनाका उपज होइनन् र? विपदका बेला आफ्नो गुँड सम्झेर देश फर्किन चाहनु अपराध हो र? अब आँसु खसाउनु पर्दैन भनेर कसका लागि कविता लेख्नु भएको हो? तिमीले जाऊ भन्छौ, देशले नआइज भन्छ, हामी कहाँ जाऔँ भनेर परदेशमा विलौना गर्ने नेपाली दाजुभाइका आँखाबाट खसिरहेका के हुन् कविज्यू?
भारतले क्वारेनटाइनबाट निकाल्यो, सीमामा एसएसबीले कुटे हामी भोकै छौँ, हाम्रो उद्धार गरियोस् भन्नेहरु र भारतभन्दा पर बस्नेहरुका आँखाबाट खसेका आँसु, आँसु होइनन् र? लकडाउनले रोजीरोटी खोसिएपछि आहतमा राहत नभेटेपछि गर्भवती, अपांग, बेसहारा श्रमिकमजदूर, विद्यार्थी भोकभोकै घर फर्किरहँदा उनीहरुको अनुहारमा छचल्किएका शीतका दाना हुन् र कविज्यू?
यस्तो दृश्य देख्दा मेरो मन त भतभती पोलिरहेको छ। घरमा मिठो चोखो केही नहुँदा पनि मेरा बाआमाले गर्ने अतिथि स्वागत, दिनदुखीहरुका लागि आमाले छुट्याउने गरेको मुठीदान, छरछिमेकमा आपतविपद पर्दा घरकालाई कम वास्ता गरेर उनीहरुलाई गर्ने सहयोग आदि कुराहरु केटाकेटी अवस्थामा देखेकाले होला, मैले कविता नलेखे पनि यी घटनाले मलाई द्रवीभूत बनाएका छन्।
हो, देशमात्र होइन विश्वसमुदाय नै कोरोना महामारीको संकटमा छ। यस्तै संकटको बेलामा त राज्यको साथ चाहिँदो रहेछ नि। संकट पर्दा कसरी कुखुराको पोथीले आफ्ना चल्लाहरु ओतेको हुन्छ।
राष्ट्रियता र स्वाभिमानका एक्ला सतीशाल कवि प्रधानमन्त्रीज्यू, कविता तत्वका दृष्टिले यहाँका कविताहरु अब्बल छन्। तपाई यो देशको अर्को लक्ष्मीप्रसाद बन्नुहोस्, शुभकामना छ। हुन त आफ्नै पार्टीका वरिष्ठ नेताले दिनुभएको स्वास्थ्यलाभको शुभकामना नलिने यहाँले मेरो शुभकामना के स्वीकार गर्नुहोला र? तैपनि यहाँका कविताहरु जानीनजानी गर्वका साथ विद्यार्थीहरुलाई पढाउन पाइयोस् भन्ने मेरो चाहना हो।
कवि प्रधानमन्त्रीज्यू, राष्टवाद, मानवता, स्वतन्त्रता, अभिभावकत्व र जनजीविकाका सुखद कुराहरुले नै गणतन्त्रलाई सार्थक बनाउँछन् तर आज यो कुरामाथि शंका गर्ने धेरै ठाउँहरु उब्जेका छन्। २०६२/०६३ मा गणतन्त्रका लागि आन्दोलन भइरहँदा, गुलेली हानेर, बयलगाडा चढेर अमेरिका पुगिन्छ र? भन्दै यहाँले सुन्दर कविता सुनाउनु भएको थियो।
अहिलेको शंकाको पुष्टि कतै यही कविताले गरेको त होइन? शंका गर्न आवश्यक छैन भन्नुहुन्छ भने जनताको आँसु पुछ्ने काम गर्नुहोस्। तपाईको कविता स्वदेशभित्रका श्रमजीवी नागरिकको भान्साको रोटी बन्न सकोस्। रेमिट्यान्सका माध्यमबाट अर्थतन्त्रलाई बलियो बनाउन अहम् भूमिका खेलेका अलपत्र अवस्थामा विदेशमा रहेका नेपाली दाजुभाइका निम्ति दया होइन, माया बन्न सकोस्।
तपाईको कविता कोरोना बिरामीका लागि ओखती बन्न सकोस्। राष्टवादका एक्ला बादशाह, तपाईको कार्यकालमा माइतीघर मण्डलामा गएर भारतीय विस्तारवाद मुर्दावाद भनेर नारा लगाउन नपरोस्, लगाउनै परे पनि महेन्द्र पुलिस क्लबमा थुनिन नपरोस्।
गणतन्त्रका सारथी कवि प्रधानमन्त्रीज्यू, तपाईले सपना देख्नु भएको थियो। मलाई पनि तपाईको सपनाको पानीजहाज चढेर एउटा सुन्दर कविता लेखी कवि हुने रहर थियो। भैगो, त्यो रहर मैले अहिले थाती राखुँला। अहिले विपदलाई टारौँ, विपदलाई अवसर नबनाऔँ, मिचिएको भूमि आफ्नो बनाऔँ, देश र जनता सुरक्षित रहे सर्वस्व रहने हो। गणतन्त्र, नेपाली जनताका लागि भोको पेटमा माड बनोस्, सीमामा गार्ड बनोस् तर बोक्नलाई, हेर्नलाई पनि असहज हुने गलगाँड नबनोस्।