आदरणीय परीक्षा नियन्त्रक ज्यू
त्रिभुवन विश्वविद्यालय,
कीर्तिपुर,काठमाडौँ
सर नमस्कार! सकुशल हुनुहुन्छ भन्ने कामना गर्दछु। हुन त, कोरोनाको महामारी छ तर पनि घरमै बस्न त निश्चय नै पाउनु भएको छैन होला। लकडाउन केही महिना त हजुरलाई पनि आनन्द लागेको थियो होला तर काठमाडौँ सहर त्यसै पनि व्यस्त सहर न पर्यो। हजुर पक्कै थकित र व्यस्त नै हुनुहुन्छ।
हजुरलाई अवगत नै छ कि सरकारले चैत्र ५ गतेदेखि कोरोना त्रासका कारण विद्यालय र विश्वविद्यालय तहको सम्पूर्ण परीक्षा स्थगित गरेको थियो। दौडधुप गर्न पर्ने भएन भनेर हजुर जस्तै हामी विद्यार्थी पनि आनन्दित भएका थियौं। यति निर्णय भएपछि के हुने हो? कसो हुने हो? भनेर विद्यार्थीहरु नेपालमा कोरोना संक्रमित जम्मा तीन जना देखिएको र एक जना निको भइसकेको अवस्था थियो।
कलेज बन्द भइसकेको थियो तर कलेजको लाईब्रेरी खुल्ने संकेत पाएपछि म लगायत साथीहरु २०७६ साल चैत्र ६ गते विद्यालयको लाईब्रेरी गएर पढ्नका साथै अन्य पुस्तक लिन फेरि सामाखुसीबाट सानेपा गइयो। दुई वटा पुस्तक मात्र लग्न पाइने नियम भएको हुँदा एउटा नेपालको राजनीति बुझ्न कान्तिपुर राष्ट्रिय दैनिकमा काम गर्नु भएको लेखक तथा पत्रकार सुधिर शर्माद्बारा लिखित प्रयोगशाला भन्ने किताब र अर्को राजनीतिक विश्लेषक सुरेन्द्र केसिद्बारा लेखिएको नेपालको इतिहास भन्ने किताब लाईब्रेरीबाट ल्याएँ।
छिट्टो खुल्छ होला त नि, नेपालमा के बढी संक्रमित देखिएलान् भनेर अनुमान लाउँदा नेपालको इतिहास भन्ने किताब काठमाडौँमै छोडेर प्रयोगशाला मात्र ल्याएर चैत्र ७ गतेको बुटवल जाने टिकट मैले ६ गतेनै काटेको हुँदा मलाई काठमाडौँबाट घर बुटवल आउन मुस्किल भएन। काठमाडौँ बालाजुबाट निस्किदै गर्दा विद्यालय बिदा भएर होला, म जस्तै अन्य धेरै काठमाडौँ छोडन बाध्य र लालायित थिए।
कक्षामा मसँगै बस्ने साथीले कैलाली जाने गाडी नै नपाएर मलाई बुटवलबाट पश्चिम जाने गाडी गएका छन् कि नाई, नत्र हजुरकै घरमा एक दिन बाँस बसेर अर्को दिन बुटवलबाट जानुपर्ला भनेको साथीले संयोगले ९ गते काठमाडौँबाट कैलाली जाने गाडी पाएर खुसी हुँदै मलाई सम्पर्क गरेका थिए। हो, कोइ यस्तै बाध्य भएर त कोइ खुसी भएर काठमाडौँ छोड्न बाध्य भएका थिए।
सरकारले हालै साउन ६ गते मंगलबारदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ। सरकारले २०७६ चैत्र ११ बाट देशव्यापी बन्दाबन्दी जारी गरेको थियो र झण्डै १२० दिनपछि बन्दाबन्दी खोल्ने घोषणा सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले हर्षित हुँदै जानकारी दिनु भएको थियो तर सगंसंगै कोरोनाको जोखिम कायम भएको हुँदा भीडभाड सभा, सम्मेलन, भोजभतेर र अन्य तडकभडक गर्न नदिइने र नगर्न अपिल गर्नु भएको थियो।
दिनहुँ आइरहने स्वास्थ मन्त्रालयको सूचना र अपडेट गराउने स्वास्थ मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले पनि निश्चित काम नभएसम्म घरमै रहन र सुरक्षित रहन आग्रह गर्दै आउनु भएको छ र त्यसैलाई शिरोपरी गर्दै र अनुसरण गर्दै जनता सरकारी काम बाहेक घरमै बसेको सर्वविदित्तै छ।
तर सरकारले बन्दाबन्दी अन्तय गरेको घोषणा गरेतापनि भदौ १ गतेबाट मात्र लामो दूरीको सार्वजनिक सवारी साधन चलाउन दिने भनिएको थियो। अचम्म के भन्दा, यस्को ख्याल नै नगरी कोरोनाको डर नै सकिएजस्तो गरि बढी जोखिम र भीडभाड हुने विद्यालय खुल्ने तयारी गर्नु एकदम भयावह र घातकसिद्ध हुने निर्णय हो।
आश्चर्य लाग्दो कुरा के भन्दा, मुलुक कै जेठो विश्वविद्यालय र अन्य विश्वविद्यालयले हठात स्थगित भएको परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गर्ने सुरसार पो गरेका रैछन। त्यो पनि भदौ पहिलो साताबाट भन्दै पो समाचार आउँछ। जबकी सरकारले भदौमा लामो दूरीको साधन चलाउन भनेको छ।
अनि विद्यार्थीलाई साधनको मात्र होइन, कोठा भाँडाको लागि चिन्तिन छन्, कोइ पढने किताब काठमाडौँमै छोडेर अन्धाधुन्ध आएकोमा पछुतोबोध गरेका छन्। पढन मन नगर्ने विद्यार्थी त केही होलान् तर बाध्यताले परीक्षा हुन हुन्न भन्ने विद्यार्थी अहिले बढी छन्। म पहिलो सेमेष्टरमा अध्ययनरत छु, मैले पनि दुई वटा किताब र बाँकी एउटा उपन्यास काठमाडौँबाट ल्याएको थिएँ।
हो, विश्वविद्यालयले पढाउने होइन, आफै पढ्नुपर्छ तर बन्दाबन्दी यति लामो लम्बिन्छ र त्रिभुवन विश्वविद्यालयले यसरी अन्यायपूर्ण रुपले निर्णय गर्छ भन्ने थाहा भएको भए म लगायत सबै विश्वविद्यालयमा अध्ययनरत साथीहरुले किताब संगसंगै लिएर पक्कै आउन्थिए होलान।
मेरो एक जना साथीले हतारमा हिन्दा ल्यापटप त के चाहिएला र भनेर ल्यापटप बिनै कैलाली गए तर अहिले आफूले ल्यापटप नल्याएर पछुतोबोध गरेका छन्। मेरै कक्षाका साथीहरु एकजना दार्चुला छन् त एक जना हुम्ला गएको छन्। हुम्लाको साथी असारसम्म काठमाडौँ नै भएपनि बाध्य भएर हुम्ला गएका थिए।
म स्वयम स्नातक कानुन संकायको लागि एक वर्ष खेर फाली हाल त्रिभुवन विश्वविद्यालयको नेश्नल ल कलेज सानेपा, ललितपुरमा प्रथम सेमेष्टरमा अध्ययनरत छु। ५ वर्षको कोर्स समयमै सकिएला र सरकारी जागिर खाने सोच बनाएको म जस्ता विद्यार्थीलाई त अहिले मानसिक समस्या नै सिर्जित हुने अवस्था आइसक्यो।
अचम्मको कुरा त के भन्दा, नेपालको कानुन दैबले जानुन भनेझैं त्रिभुवन विश्वविद्यालयको पढाइ र व्यवस्थापन गर्ने शैली त्रिभुवन विश्वविद्यालयकै नीतिनिर्माताहरुले जानुन् भन्ने अवस्था छ। म लगायतका विद्यार्थी पहिलो सेमेष्टरमा प्रवेश गर्दा मेरा सिनियरहरु तेस्रो सेमेष्टरमा पुगिसक्नु पर्ने थियो तर दोस्रो सेमेष्टरको साथीहरुले एउटा परीक्षा दिएपछि त्रिभुवन विश्वविद्यालयले सरकारको निर्णय शिरोपर गर्दै परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो।
मेरो एक जना मिलनसार साथी हाल प्युठान छन्। उनी दोस्रो सेमेष्टरको एउटा विषयको परीक्षा दिएर प्युठान गएका थिए। उनकै भनाइ उदृत गर्नुपर्दा उनका अनुसार त्रिभुवन विश्वविद्यालयले आन्तरिक मूल्यांकन गरेर सेमेष्टर प्रणालीलाई मिलाउन त्रिभुवन विश्वविद्यालयले गर्न मार्गप्रशस्त थियो।
म सरकार र त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक ज्यू समक्ष के भन्न चाहन्छु भने विद्यार्थी पढाइको निम्ति पक्कै चिन्तित छन्। मेरो ५ नं प्रदेशमा मात्र लकडाउनको सय दिनमा ३८० जनाले आत्महत्या गरेको छन् जसमा ३५ जना विद्यार्थी रहेको तथ्यांक आएको छ र देशैभर कति विद्यार्थी मरे र किन मरे भनेर सरकारले लेखाजोखा र विवरण राख्नुपर्ने देखिन्छ।
त्यसैगरी काठमाडौँ जानै जोखिम छ। वर्षातको समय छ मुग्लिङ र दाउन्नेमा पहिरो गएको गइ छ। नारायणीमा खोलाको पानीले खतराको संकेत पनि पार गरेर भेल आएको सबैलाई अवगत नै होला। कोरोनाले गर्दा हाल जिल्ला-जिल्लामा कतै निशेधाज्ञा त कतै समुदाय शिल गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा निर्देशक, नीतिनिर्माता, शिक्षा मन्त्रालयका कर्मचारी र अन्य सम्बन्धित सरोकारवाला निकायले अहिले रोकिएको परीक्षा कसरी गर्ने भन्दापनि देशलाई र विद्यार्थीलाई कसरी हित हुने निर्णय लिने भन्ने तर्फ सोच्नुपर्छ।
आफ्ना छोराछोरीलाई घर बाहिर निस्कन नभनेका बावुआमाले त्रास र भयकै बीच परीक्षा दिन जाउ भनेर कसैले भन्दैनन्। कोरोनाको न्यून टेष्ट गरेको सरकारले सिमा नाकामा कडाइ गरि अब टेस्ट गर्न कन्जुस्याइँ गर्नु हुँदैन तबमात्र जनता त्रासबाट उन्मुक्ति पाउने छन्। कोरोनाको करले कति गरिब हुँदैछन् कुन विद्यार्थीको आर्थिक स्थिति कस्तो छ? कसरी गुज्रिएको छ? स्वास्थ्य स्थिति कस्तो छ? भन्नेपनि विश्वविद्यालयका नीतिनिर्माताले मनन गर्नुपर्छ।
परीक्षा नियन्त्रक ज्यू, के तपाईलाई विद्यार्थीको माया छैन? विद्यार्थीको स्वास्थको माया छैन? के तपाईले कोठाको भाडा बुजाइदिनु हुन्छ? दशैँको बिदा मानेर कोठामा आएजस्तो होइन, अहिले परिस्थिति भिन्न छ अनि काठमाडौँ आएर क्वारेन्टाइन बस्नु परे, हामी कहाँ कसरी पढ्ने? मानसिक त्रासबाट गुज्रिरहेको विद्यार्थीलाई हठात् फेरि त्रास दिनु मानवीय कुरा होइन।
सबैलाई थाहा भएकै कुरा हो कोरोना कस्लाई लागेछ? के छ? अजै अत्तोपत्तो छैन। नेपालमा लक्ष्ण बिनाका बिरामी भेटिए भन्दैमा विद्यार्थीको जिवनमाथी खेलवाड गर्नु हुँदैन। सरकारले विद्यार्थीको उचित मूल्यांकन गर्ने,शैक्षिक वर्षाको कसरी सन्तुलन कायम गर्ने, विद्यार्थीको अध्ययनशील वर्षा कसरी खेर हुन नदिने भन्नेतर्फ सोच्नुपर्छ।
हामी किन परीक्षा भनेर बसिरहेका छौँ? परीक्षा बाहेक अरु उपाय-विकल्प नीतिनिर्मातामा थिएन? उपाय त जतिपनि भेटिन्छ नि होइन र? परीक्षा नियन्त्रक ज्यू, जवाफ चाहियो।
धन्यवाद!