प्यारी साथी,
हरेक पटक भिडिओ कलमा आजकल तिम्रा नयनहरु राता देख्छु, निराशा देख्छु, पीडा देख्छु। मलाई थाहा छ, ती तिम्रा आँखाहरुले अपरिचित हजारौँ बिरामीका निदाएका निष्कृय आँखाहरुले प्रतिकृया दिन्छन् की, खुल्छन् की भनेर पटक-पटक नियालिरहेका हुन्छन्। मोनिटरको अलार्म बज्नासाथ झस्किने मुटु आजकल पक्कै बढी झस्किन्छ। बिरामीको छिनछिनमा धड्कन महशुस गर्छेउ तर तिम्रो धड्कन?
पसिनामा पिपिई भित्र लिप्त तिमी आइसियूमा जीवन र मृत्युको दोसाँधमा पुगेका शरीरहरुलाई मर्निङ कियर गर्छ्यौ, बेड मिलाउछ्यौ, शरिर धोइदिन्छ्यौ, ब्रस गराउछ्यौ, बेड सोर नहोस् भनेर ब्याक कियर गर्छ्यौ, कोल्टो फर्काइरहन्छ्यौ। दिसा, पिसाब, खकार सबै सफा गर्छ्यौ। आफ्नो कियर कति गर्न पाएकी छ्यौ होला!
पिपिई लगाएर १२ घन्टा डिउटी गर्ने तिमीले बिरामीलाई त ख्वाउँछ्यौ, आफू कत्तिको खानपिनमा ध्यान दिन पाएकी हौली र! पिसाब रोक्नु हुँदैन भनेर अरुलाई सम्झाउने तिमी आफूले कति पटक पिसाब थामेर बसेकी छ्यौ होला!
तिमीमा बिरामीहरु प्रति सेवा, र समर्पणको भाव नहुँदो हो त के हुन्थ्यो होला! ती जीवनहरु तिम्रा कोही हैनन् र पनि तिमी आफ्नो भोक प्यास तिर्खा भुलेर, आफ्नो परिवारबाट अलग्गिएर तिनै जीवनहरुलाई स्याहरिरहेछ्यौ, नियालिरहेछ्यौ, छोइरहेछ्यौ।
लगातार केही दिन, महिनाहरुसम्म नियालिरहेको, नजिक लागि सकेको बिरामी एक्कासी नरहँदा तिमी कसरी सम्हालिएकी हौली मेरी साथी! तिम्रा मायलु हातहरुले स्पर्श गरेका, छोएका, धाप दिएर हौसाला दिएका शरीरले देह त्यागेपछि ती शरिरलाई प्लास्टिकमा प्याक गर्दा तिम्रो मन कति टुट्छ होला, म कल्पना गर्नै सक्दिनँ साथी!
नरसाउन् कसरी ती तिम्रा आँखा, दिन प्रतिदिन मृत्यु देखेका, मृत्युलाई प्याक गरेका, अझ कहिलेकाही त बिरामीका परिवारको अनुरोधमा त्यो श्वासविहीन शरीरको फोटो खिच्न समेत बाध्य तिम्रो मन मुटु नरोउन कसरी!
पटक-पटक टुटेकी भएपनि तिमी फेरि जोडिनुपर्छ, फेरि अर्को ब्यक्तिलाई सेवा गर्नको लागि। भन्न सजिलो छ तर टुटिसकेपछि तिमी फेरि कसरी सम्हालिएकी हौली साथी। हिम्मत नहार मात्र भन्न सक्छु मैले। तिम्रो सेवाले धेरैलाई मृत्युको मुखमा पुगिसकेपछि बचाएको पनि त छ। सम्झ त, निको भैसकेपछि उनीहरुका खुसी भएका आँखाहरु!
निरन्तर सेवा गरिराख साथी। गर्व छ मलाई तिमीप्रति। सलाम छ तिम्रो त्याग, सेवा र समर्पणलाई!
उही तिम्री साथी,
सृक्की शर्मा।