सम्माननीय प्रधानमन्त्रीज्यु,
नमस्कार,
मलाई यहाँ फिटिक्कै सन्चो छैन। तपाईका याद र कार्नामाले मेरो मन पोलिरहन्छ। तपाईको हालखबर म सोध्दिनँ। किनभने तपाईको हाल र खबर दुवै मलाई प्रष्टसँग थाहा छ। दिनदिनैका अखबार र समचार, म तपाईको यादमा हेरिरहेको हुन्छु। म यो चिठी देशको यथार्थ हालखबर तपाई समक्ष प्रस्तुत गर्न कोरेको हुँ।
प्रधानमन्त्रीज्यु, सर्वहाराको नेता भनेर पहिचान बनाएर त्यहाँसम्म पुग्नु भएको नेता हो हजुर। हो होइन, त्यो भनाइले होइन पछिल्लो समयको व्यवहारले पुष्टि गरिसकेको छ। सुकेका हातले फुलेका केश चलाउँदै बुढाहरु गफ गरिरहँदा, तपाईप्रतिको आशा, भरोसा देख्दा, म दंग पर्थेँ।
अहो! देशको मुहार फेर्ने व्यक्ति त तपाई नै हो, भन्ने लाग्थ्यो मलाई। म जस्ता म धेरै थिए त्यो बेला। रेलका कुरा गर्दा, पानी जहाजका कुरा गर्दा, मलाई कति गर्व लाग्थ्यो। किनकी मलाई लाग्थ्यो कि, यी सबै पूरा गर्न सकिन्छ, र तपाईले गर्नुहुन्छ।
तपाईले त्यती दुख गरेर, त्यती धेरै जेल जीवन बिताएर यहाँसम्म आउँदा गरेको संघर्ष, सायद त्यो त्यागको बारे अहिले हामी कल्पना पनि गर्न सक्दैनौँ। जीवन नै राष्ट्रको लागि अर्पण गर्छु भनेर लागिसकेको मान्छे हो तपाई। तपाईको जीवनको सुनौलो बाल्यकाल र निकै महत्वपूर्ण जवानी पनि राष्ट्र निर्माणकै लागी खर्चिनु भयो। त्यसको लागि म सम्मान गर्छु। तर बुढेसकाल?
हजुरको पहिचान त बोलीमा मात्र सीमित भएको देखिन्छ, पछिल्लो समयमा। खै त त्यो समाजवाद तर्फको यात्रा? त्यहाँ नपुगेपनि, यात्राको सुरुआत खै त? आज जनता भोकै छन्। अवस्था निकै गाह्रो भइरहेको छ जताततै। तर यस्तो बेला पनि, सचिवालयको बैठकको मिति सार्दै हुनुहुन्छ। अनि त्यही हो त समाजवादतर्फको यात्रा?
कोही मान्छे खोलामा डुब्न लागेको छ भने, बचाउने मान्छेले कपडा खोल्न थाल्दैनन् नि। तर यहाँ त जनता डुब्न लागिसक्दा पनि सत्ताको खेल चलिरहेको छ। त्यो कुन हिसाबले ठिक हो प्रधानमन्त्रीज्यु?
जवानीसम्म तपाईको रवैया अर्कै रह्यो। गणतन्त्रको गाडीमा लोकतन्त्रको पेट्रोल हालेर समाजवाद जाने कुरा गर्नु हुन्थ्यो। देश विकास गर्ने सपना सधैँ रहिरह्यो। तर आजभोलि, जतिबेला तपाईले जे चाहायो, त्यो हुन सक्छ, यस्तो बेलामा त्यो सपना कता गयो तपाईको? म राष्ट्रको यो स्थिति, यो हविगत देखेर आज तपाईलाई प्रश्न गरेको हुँ।
मलाई के विश्वास छ भने, सत्ताधारी पार्टी अनुशासित र मर्यादित भयो भने, अरु पार्टी त बाध्य भएर अनुशासित हुन्छन्। र त्यो अनुसासनको माहोल, तपाईले चाहानु भयो भने अवश्य हुन्छ। तपाईले भाषणमा बोलेका ती कुरा मात्रै पूरा गर्दिएको भए, आज तपाई आफ्ना दुई चार जनामा मात्र हैन, सबै जनताकै निकै लोकप्रिय हुनुहुन्थ्यो।
तपाईलाई लागेको छ, लोकप्रिय भएर न यति बहुमतका साथ, यहाँ यसरी आइपुगेको हुँ। हो, तपाई लोकप्रिय पक्कै हुनुहुन्थ्यो, तर बिडम्बना केही वर्ष पहिले, जब जनतालाई आशा थियो। यो यथार्थ कुरा, सायद तपाईका सल्लाकारले पनि कहिल्यै सलाह दिएनन्। अरु आसेपासेलाई त झन् चम्चागिरी गर्दागर्दै कहाँ फुर्सद होला र?
त्यसैले प्रधानमन्त्रीज्यु, मेरो बिन्ती के छ भने बरु एक हप्ता रेस्ट लिनुहोस्, आफ्नो समग्र जीवन सम्झनुहोस्, जवानीका ती बलिदानिपूर्ण भावना सम्झिनुहोस्। अनि अहिले गर्न सक्ने पदमा हुँदा, तपाईले भन्दै आएका यी दलाल, पुँजीवादी र बिचौलियाको चङ्गुरबाट माथि उठ्नुहोस्। उनीहरुले तपाईलाई अनि तपाईमार्फत देशलाई चुस्न कहिल्यै छोड्दैनन्। त्यसैले अब जति समय बाँकी छ, ताजा सुरुआत गर्नुहोस्। बिरामी म होइन, हामी सबै जनता छौँ, मेरो देश छ।
मेरो अन्तिम बिन्ती यही नै होकी, अर्को चिठी म धन्यवादको लेख्न पाऊँ।
देश र जनताको शुभचिन्तक,
सृजन ढकाल।