नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त राष्ट्र हो। विश्वको सबैभन्दा पुरानो धर्मको रूपमा मनिने हिन्दु धर्म जुन नेपालको कुल जनसंख्या मध्य ८१.३ प्रतिशत हिन्दु धर्मावलम्बीहरु रहेका छन्। नेपाल एक धर्म निरपेक्ष राज्य हो।
नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान् चाडको रूपमा दशैँ र तिहारलाई नै लिने गर्दछन् भने तिहार अर्थात भाइटिकालाई गैर-हिन्दु धर्मावलम्बीहरुले समेत दिपावलीको रूपमा मनाउने गरेको पाइन्छ। दशैँ तिहारमा नयाँ कपडा लगाउने, मिठो मसिनो खाने, दान दक्षिणा गर्ने, मान्यजनकोमा पुगेर आशिर्वाद थाप्ने गरिन्छ।
सरकारले दशैँ तिहारमा धेरै बिदा दिने हुँदा आजकल विभिन्न देशहरु जस्तै थाइल्यान्ड, दुबई, लन्डन, सिङ्गापुर, मलेसिया र छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा घुम्न जाने तथा धेरै खर्च गर्ने प्रवृत्ति समेत बढेको देखिन्छ। विश्वको तुलनामा नेपालीहरुको प्रतिव्यक्ति आय ज्यादै न्यून रहेको छ। त्यो आम्दानी पनि सबै गैर-उत्पादनमुलक क्षेत्रमा खर्च गरेको देखिन्छ।
जसले नेपालीको जीवनस्तर माथि उठ्न सकेको छैन। नेपालीहरु गरिबीको कुचक्रबाट फुत्किन यस्तो प्रवृत्ति अर्थात् धार्मिक तथा सांस्कृतिक तत्वहरु राम्रोसँग बुझ्न आवश्यक छ। नेपालको आर्थिक विकासको बाधकको रूपमा धर्म तथा संस्कृतीहरुलाई पनि लिने गरिन्छ।
नेपालमा वित्तीय साक्षरताको अभावले गर्दा थोरै आम्दानी हुने व्यक्तिले अत्यावश्यक खर्च बाहेक अरु बचत गरी नाफा तथा उत्पादनमुलक क्षेत्र जस्तै शेयर, म्युचुअल फन्ड, सरकारी धितोपत्र जस्ता क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने ज्ञानको अभाव देखिन्छ। नेपाल सरकारले पनि वित्तीय साक्षरता सम्बन्धी प्रभावकारी कार्यक्रम गर्न सकेको छैन। त्यस्तै नेपाल राष्ट्र बैँक र अन्य बैँक तथा वित्तीय संस्थाहरु पनि सबै तहको नागरिकलाई समेट्न सक्ने गरी वित्तीय शिक्षा दिन सकेका छैनन्।
वित्तीय साक्षरता भन्नाले के बुझिन्छ?
सामान्यतया वित्तीय साक्षरता भन्नाले आम्दानी, खर्च, कर्जा, कर योजना, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्त्वपूर्ण विषयहरु बुझी निर्णय गर्न सक्ने क्षमतालाई जनाउँछ । वास्तविक रूपमा वित्तीय साक्षरताले व्यक्तिगत वित्तीय व्यवस्थापन सहितको विभिन्न प्रकारका वित्तीय कौशलहरू बुझ्ने र प्रभावकारी रूपमा उपयोग गर्ने क्षमतालाई बुझाउँछ।
ओइसिडी अर्थात आर्थिक सहयोग र विकास सङ्गठनले वित्तीय साक्षरतालाई वित्तीय अवधारणा, जोखिम र दक्षताको ज्ञान साथसाथै यसको प्रयोग गर्नका लागि प्रेरणा र विश्वास प्रदान गरी वित्तीय सन्दर्भहरूको दायरा भित्र रही प्रभावकारी निर्णयहरू गर्न, व्यक्ति तथा समुदायको वित्तीय कल्याणमा सुधार गर्न र आर्थिक जीवनमा सहभागितालाई सक्षम गर्न सक्ने ज्ञानको रूपमा परिभाषित गरेको छ।
नेपालमा वित्तीय साक्षरताको अवस्था के छ?
नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४–२०७७/७८) मा वित्तीय पहुँच र समावेशीकरण अभिवृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। जसलाई वृद्धि गर्न वित्तीय साक्षरता र शिक्षाको माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने रणनीति लिएको छ।
नेपाल राष्ट्र बैँकको तेस्रो रणनीतिक योजना (२०१७– २०२१) मा कोर पिलर भित्रको पिलर दुईमा वित्तीय स्थायित्व र वित्तीय क्षेत्र विकास अन्तर्गत वित्तीय पहुँच र वित्तीय समाबेशीकरणमा अभिवृद्धि गर्ने उद्देश्य रहेको छ। यसै रणनीति बमोजिम नेपाल राष्ट्र बैँकले वित्तीय साक्षरता ढाँचा (एफएलएफ) को २०२० मार्चमा तर्जुमा गरेको छ।
नेपाल सरकारको पन्ध्रौँ आवधिक योजना (२०७६/७७–२०८०/८१) को आधार पत्रले वित्तीय साक्षरता अभिवृद्धि गर्ने रणनीति लिँदै सोही बमोजिम कार्यनीति तर्जुमा गरेको छ। आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउँदै वित्तीय सेवाको माग अभिवृद्धि गर्ने र वित्तीय साक्षरता ढाँचाको कार्यान्वयन गर्ने नीति लिएको छ।
त्यस्तै बैँक तथा वित्तीय संस्थाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यमा थप उत्तरदायी बनाउँदै सहुलियतपूर्ण कर्जा, पुनर्रकर्जा, सफा नोट नीति विद्युतीय भुक्तानी सेवा, लगायत राष्ट्र बैँकले जारी गरेको नीतिगत व्यवस्था एवम् कार्यक्रमहरुको प्रवर्द्धनमा परिचालन गराइने नीति लिएको छ।
नेपाल राष्ट्र बैँकको एकीकृत निर्देशिकाले बैँक तथा वित्तीय संस्थाहरु मार्फत वित्तीय साक्षरता अभिवृद्धि गर्न आवश्यक निर्देशन जारी गरेको छ। कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैँकको शाखा विस्तार भएका छन्। राष्ट्र बैँकबाट इजाजत प्राप्त बैँक तथा वित्तीय संस्थाहरुको संख्या एक पूर्वाधार विकास बैँक सहित १५५ कायम भएको छ। त्यस्तै बैँक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ९७६५ पुगेको छ।
यो तथ्यांकबाट वित्तीय पहुँच अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको देखिन्छ जसले वित्तीय साक्षरतामा पनि वृद्धि भएको बुझ्न् सकिन्छ।
वित्तीय साक्षरताको महत्त्व केका लागि?
वित्तीय साक्षरताको महत्त्वलाई व्यक्ति तथा परिवार, बैँक तथा वित्तीय संस्था र राष्ट्रलाई गरी तीन भागमा हेर्न सकिन्छ। व्यक्ति तथा परिवारको सन्दर्भमा हेर्ने हो भने यसरी बुझ्न् सकिन्छ। प्रचलित कानुनले कालो धन भनी परिभाषित गरेका आर्थिक क्रियाकलापहरुको संलग्नताबाट जोगाउँछ। उपलब्ध स्रोत र साधनको प्रभावकारी उपयोग र परिचालन गर्न सिकाउँछ।
न्यून आय भएका व्यक्तिहरुले भविष्यको सुरक्षाको लागि आम्दानीको केही अंश बचत गर्ने बानीको विकास हुन्छ। बैँक तथा वित्तीय संस्थाहरुबाट विभिन्न प्रकारका कर्जा लिइ उद्योग तथा व्यवसाय संचालन गर्न सक्छन्। विप्रेषणबाट प्राप्त आम्दानी उत्पादनमुलुक क्षेत्रमा लगानी गर्न सचेतता प्रदान गर्दछ। व्यक्तिको जीवन तथा व्यवसायिक क्रियाकलापमा हुनसक्ने जोखिम तथा अनिश्चितताबाट बच्न बीमा तथा सुरक्षाका नीतिहरु खरिद गर्न सिकाउँछ।
वित्तीय साक्षरताले कुनै व्यक्तिको कम लागत, कम समय, सरल तथा सुरक्षित तरिकाले वित्तीय कारोबार गर्न सक्ने क्षमताको विकास गर्दछ। सरकारी तथा गैर-सरकारी संस्थाहरुले प्रदान गर्ने अनुदान तथा आर्थिक सुबिधाहरु उपभोग गरी व्यक्ति तथा परिवारको जीवनस्तरमा सुधार ल्याउन सक्दछ। वर्तमान समयमा प्रयोग हुने वित्तीय उपकरणहरु तथा सेवाहरुको प्रयोगमा वृद्धि गर्दै व्यक्तिलाई वित्तीय प्राविधि मैत्री बनाउँछ।
बैँक तथा वित्तीय संस्थाहरुको लागि पनि वित्तीय साक्षरताको महत्त्व रहेको छ। ग्राहकको फजुल खर्च गर्ने बानीमा सुधार हुँदा निक्षेप संकलनमा वृद्धि हुन्छ। समाजमा उद्यमशील संस्कृतीको विकास हुनाले कर्जा विस्तारमा वृद्धि हुन्छ। वित्तीय संस्थाहरुले व्यवसायको विकास विस्तार गरी अपेक्षित मुनाफा हासिल गर्न सक्छन्।
व्यवसायिक क्रियाकलापहरुलाई दिगो, सबल एवं प्रतिस्पर्धी बनाउँछ। बैँक तथा वित्तीय संस्थाहरुका विभिन्न प्रोडक्टहरुको कम लागतमा प्रवर्द्धन भइ सफल संचालन हुन्छ। ग्राहकहरुलाई वित्तीय प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गराइ उच्चतम सन्तुष्टि प्रदान गर्न सक्छ।
वित्तीय साक्षरता राष्ट्रको लागि पनि ज्यादै महत्त्वपूर्ण रहेको हुन्छ। देशमा उद्यमशील संस्कृती विकाससँगै लगानी वृद्धि, रोजगारी वृद्धि र गरिबी न्यूनीकरण गर्न सहयोग पुर्याउँछ। आर्थिक स्थायित्व, आर्थिक वृद्धि, आर्थिक विकास र सामाजिक न्याय कायम हुन्छ। राष्ट्रिय पुँजी निर्माण, उत्पादन क्षेत्रको विकास र औद्योगीकरण गर्नमा समेत सहयोग गर्दछ।
कसरी सुधार गर्न सकिन्छ वित्तीय साक्षरता?
नेपालमा वित्तीय साक्षरता प्रतिशत अन्य विकसित मुलुकको दाँजोमा ज्यादै न्यून देखिन्छ। देशको आर्थिक समृद्धिको लगि वित्तीय साक्षरता शिघ्र अभिवृद्धि गर्न आवश्यक छ। सरकार र सबै सम्बन्धित सरोकारवालाहरुले निष्पक्ष, जिम्मेवारीपूर्ण र समन्वयात्मक ढंगबाट वित्तीय शिक्षाको प्रवर्द्धन गर्नु पर्दछ।
मुलुकमा सम्पूर्ण नागरिकहरुले कम उमेरमै वित्तीय शिक्षा प्राप्त गर्न वित्तीय शिक्षा सम्बन्धी पाठ्यक्रम स्कुल स्तरबाट सुरु हुनु पर्दछ। जसले वित्तीय साक्षरतालाई औपचारिक शिक्षासँग जोड्ने काम गर्दछ।
वित्तीय शिक्षा बैँक तथा वित्तीय संस्थाहरुको संस्थागत सुशासनको एक मुख्य अंग हुनु पर्दछ, साथै जसको उत्तरदायित्व र जवाफदेहीतालाई प्रोत्साहन गर्नु पर्दछ। वित्तीय शिक्षा सम्बन्धी नीति तथा योजनाहरु वित्तीय विशेषज्ञबाट स्पष्ट रूपमा निर्धारण गर्नु पर्दछ। साथै वित्तीय संस्थाका कर्मचारीहरुलाई मार्गदर्शन गर्न वित्तीय शिक्षा आचार संहिताको विकास गर्नु पर्दछ।
वित्तीय साक्षरता कार्यक्रमहरु विशेषगरी जीवन उपयोगी आर्थिक योजनाहरु बनाउन सक्ने क्षमतामा केन्द्रित हुनु पर्दछ जस्तै बचत, कर्जा, लगानी, निवृत्तिभरण कर योजना आदि। वित्तीय शिक्षा सम्बन्धी कार्यक्रमहरु वित्तीय क्षमता निर्माणमा केन्द्रित हुनु पर्दछ। जहाँ विशेषगरी लक्षित समूह तथा सकेसम्म व्यक्तिगत रूपमा हुनु पर्दछ।
राष्ट्रिय अभियानहरु, विशिष्ट वेबसाइटहरु, नि:शुल्क सूचना सेवाहरु र वित्तीय ग्राहकहरुको लागि उच्च जोखिम सम्बन्धी चेतावनी प्रणालीलाई बढावा दिनु पर्दछ। वित्तीय पहुँच र वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न बैँक तथा वित्तीय संस्थाहरुमा जोड दिनु पर्छ। वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरु उत्पादन र वितरण गर्ने कार्यमा आधुनिक सञ्चार माध्यम तथा प्राविधिको प्रयोग गर्नु पर्दछ।
बैँक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वको कार्यक्रममा जोड दिँदै जसको लागि छुट्याइएको रकम वित्तीय साक्षरताको लागि खर्च गर्नु पर्दछ। सहकारी तथा लघु वित्त कम्पनीहरुको देशभर व्यापक संजाल भएको हुनाले वित्तीय साक्षरता कार्यक्रममा यिनै संस्थाहरुको साक्षरता वृद्धि गर्न सक्ने क्षमताको विकास गरी आवश्यक आर्थिक तथा प्राबिधिक सहयोग गर्नु पर्दछ।
बैँक तथा वित्तीय संस्थाहरुले वित्तीय जानकारीहरु पारदर्शीका साथ जानकारी दिनु पर्ने, सरल भाषाको प्रयोग गर्नुपर्ने, भ्रम सिर्जना हुने गरी सूचना दिन नहुने, सरल बैँकिङ सम्बन्धी व्यवस्था गर्नु पर्ने, वित्तीय सेवाको शुल्क लगायत सर्त परिवर्तन सम्बन्धी जानकारी दिनु पर्दछ।