प्रिय कमरेड, अभिवादन।
यतिबेला नेकपा विभाजित मोडमा छ भने देश र जनतालाई चुनावमा जान सरकारको आदेश छ। यस्तो अवस्थामा हजारौं लाखौं कार्यकर्ता तपाईंको निर्णयको प्रतिक्षामा रहेका छन्।
जता पनि अवश्य तपाईंको उपस्थितिले बेग्लै अर्थ राख्ने र पल्ला भारी हुने हुँदा पार्टीका दुई हस्ति पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री केपी शर्मा ओलीको तानातानमा तपाईं पर्नु भएको सर्वविदितै छ।
तथापि दुवैको व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताका लागि कुन उपयुक्त हुनेछ? देशले भविष्यमा कस्तो खालको नेता र नेतृत्व पाउने छ? भन्ने कुरामा तपाईंको चिन्तन अवश्य रहेको हामी पाउछौँ।
यद्यपि धेरै टाढा नगइ तपाईंमाथि पार्टी र नेतृत्वले गरेको कुठाराघातलाई स्मरण गराउदै एकपटक फेरि तत्कालीन अवस्थामा एमाले विभाजन गरेको दिनदेखि तपाईंलाई स्मरण गराउन चाहान्छु। तपाईंको उदाउँदो व्यक्तित्व खरो स्वभाव, कार्यकर्ता तान्ने शैली देखेर तत्कालीन एमालेका नेताहरु चकित थिए।
त्यसैले पार्टीले तपाईंलाई उपमहासचिवको पद दियो। त्यो पदलाई सदुपयोग गर्दै तपाईं कार्यकर्ता माझ झन् लोकप्रिय भएपछि तपाईंमाथि झलनाथ खनाल र माधव नेपालको गिद्धे दृष्टि पर्न थाल्यो। अन्ततः तपाईंलाई गुटबन्दी गरे र उपमहासचिव पद खोसिदिए।
०५४ सालमा तपाईं उपप्रधान गृहमन्त्री भएपछि पार्टीलाई स्थानीय तहमा व्यापकरुपले जिताउन सफल हुनुभयो। तपाईंलाई पार्टी अध्यक्ष मनमोहन अधिकारीले बधाइ समेत दिनुभयो।
सोही वर्ष महाधिवेशन हुँदा तपाईंलाई ‘कर्नर’ पारिदिए, तपाईंलाई महासचिवमा आउन दिएनन् र पार्टीबाटै निकालिदिए माधव नेपाल गुटल भने झलनाथ गुटले अन्तिममा धोका दिए। त्यो नमिठो विष पिएर तपाईं माले गठन गर्न बाध्य हुनुभयो।
०५६ सालमा कांग्रेस र मालेको गठबन्धन सरकार थियो। गिरिजाप्रसाद कोइरालाले निर्वाचन गराउँदै थिए। माले र कांग्रेसको चुनावी तालमेल हुँदै थियो। ६० र ४० मा माधव नेपाल पक्षले रातारात गिरिजाबाबुसँग सम्झौता गरेर तपाईंले गर्न लाग्नु भएको तालमेल तुहाइयो।
एकातिर तपाईंलाई भनियो, पार्टी विभाजित भएपनि कम्युनिस्ट मत विभाजित हुन नदिने र एमालेसँग समानरुपमा तालमेल गर्ने तर अर्कोतिर माधव गुटले भित्रभित्र कांग्रेससँग साँठगाँठ गरिदिए। तपाईं सोझो मान्छे मानिदिनु भयो। तपाईं हौसिएर ‘कांग्रेसलाई निर्वाचनमा देखाइदिने’ भनेर भाषण गर्नुभयो।
त्यसपछि माधव गुटले गिरिजाबाबुसँग निर्वाचन तालमेल गर्ने भन्दै सरकार बनाएर गौतमलाई सक्ने रणनीति तय भयो। तपाईं र तपाईंको सरकारलाई सडकमा ल्याइयो। तपाईंको पार्टीले ५ लाख भोट त पायो तर तपाईंलाई बर्दियाबाट हराइयो। हारेपछि तपाईंको प्रतिक्रिया नेपाली जनता भेडा रहेछन् भनेको याद होला। एक सिट पनि जित्न सकेन मालेले।
यता सीपी मैनालीको चेपुवा, उता माधवको। तपाईंलाई भित्रीरुपले मूल घरमै फर्काउन केपी ओलीले भूमिका खेले। ०५८ फागुनमा तपाईं एमालेमै फर्किनु भयो। ०६२ सालमा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भटृराईलाई रोल्पामै पुगेर बार्ता गरी ६ बुँदे सम्झौता गर्नुभयो।
इतिहासमा यो कुराको मूल्यांकन हुनु पर्दथ्यो। तर तपाईंलाई कारबाही गरिनु पर्ने प्रस्ताव गरिए दुःख लाग्दो कुरा थियो। यद्यपि इतिहासले यस कुरालाई समीक्षा गर्ला।
कमरेड, तपाईंलाई प्रचण्डहरुले कसरी धोका दिएका थिए, यहाँ स्मरण गर्न चाहान्छु। कटुवाल काण्डमा प्रचण्डले राजिनामा गरेपछि बनेको माधव नेपालको सरकार विरुद्ध तपाईंलगायत ६० जनाले बुझाउन लागेको गोप्य हस्ताक्षरलाई त्यतिबेलाका माओवादीहरुले सार्वजनिक गरीदिएर तपाईंलाई पार्टीभित्र कमजोर र आलोच्य बनाएको याद दिलाउन चाहान्छु।
तपाईंलाई प्रचण्डहरुले प्रयोग त्यहाँ पनि गरे। रोल्पामा पनि गरे। जबकी माओवादीलाई हेर्ने दृष्टिकोण तपाईंको नरम थियो।
सन् २००८ को आठौं महाधिवेशन बुटवलमा हुँदै थियो। तपाईंले जोडतोडका साथ झलनाथ खनाललाई साथ दिनुभयो र खनाललाई अध्यक्ष बनाउनु भयो तर तपाईंलाई झलनाथले कहिल्यै साथ दिएनन्, धोका मात्रै दिए।
सन २०१४ मा नवौं महाधिवेशन हुँदै गर्दा तपाईंले बुझाएको दस्तावेज अझैं ताजा छ। ‘तपाईंले एमाओवादी समाप्त हुनेछ र कम्युनिष्ट एकता हुनेछ’ भन्नु भयो। त्यसैअनुरुप आज भएको पनि हो।
तपाईंले अघि सारेको महाधिवेशनमा मुख्य नेताको कार्यकाल दुई वर्ष हुने र ७० वर्षको उमेर हद तोक्ने प्रस्ताव गर्नु भएको थियो। तपाईं जता पुग्यो पल्ला त्यतै भारी हुन्थ्यो। तपाईंले केपी ओलीलाई साथ दिनुभयो पार्टी अध्यक्ष बनाउन।
केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भए। पार्टीमा तपाईं उपाध्यक्ष भएपनि कार्यवाहक तपाईंलाई दिइएन। सन् २०१७ मा जब संसदमा प्रधानमन्त्रीका लागि प्रस्ताव गरिदै थियो, त्यहाँ तपाईंलाई उठाइएन। पार्टी अध्यक्ष हार्नका लागि उठ्ने कुरा भएन।
झलनाथ खनाल र माधव नेपाल प्रधानमन्त्री र अध्यक्ष भैसकेका मान्छे हार्नका लागि उठ्ने कुरा भएन। बरियतामा तपाईं भएपनि तपाईंका लागि सहमती गरिएन। त्यसैले माधव र खनाल गुटले संसदमा चर्को आवाज उठाउने रणनीति तय गर्दै तपाईंलाई रोक्ने नीति लिइयो।
वामदेवलाई बार लगाउनु पर्दछ बरु शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बाटो खोलिदिनु पर्दछ। माधव झलनाथ गुटको सहमति थियो। तपाईं उठे एमाओवादीले सहयोग गर्ने र तपाईंमा बहुमत पुग्ने आधार हुँदाहुँदै पनि शेरबहादुर देउवा ४० प्रधानमन्त्री एक्ला उम्मेदवार बनाइए। यसरी पार्टीभित्रै तपाईंमाथि धोका भयो।
हुनत वर्तमान प्रधानमन्त्री ओलीसँग तपाईंको सम्बन्ध बहुत पुरानो छ। गोलघर जस्तै गोलो घुमाउरो छ। सेन्ट्रल जेलमा २०३३ सालदेखिको तपाईंको सम्बन्ध पारिवारिक छ भन्ने सबैलाई थाहै छ। यो पारिवारिक सम्बन्धको घाटा पनि तपाईंलाई नै छ।
यद्यपि तपाईं र केपी ओलीबीच भावनात्मक सम्बन्ध यति धेरै छ कि कुनैबेला तपाईंले भन्नु भएको थियो ‘हामीसँगै रक्सी पियौं, सँगै रौयौँ, सँगै हास्यौं पनि’। तर तपाईंहरुबीच पिउने र रुनेभन्दा पनि दर्शन र आदर्शका कुराहरु जेलमा बस्दा चिठीबाट आदान प्रदान हुन्थे रे।
तपाईंहरुको प्यारो सम्बन्धलाई तोड्न तत्कालीन प्रशासनले पछि तपाईंलाई दमौलीको जेलमा सारेको थियो रे। स्वभाव पनि तपाईंहरु दुवैजनाका हक्की र मिल्दाजुल्दा देखिन्छन्।
तपाईंले आफ्नो दस्ताबेजको इमान्दारीपूर्वक पालना गरी कम्युनिष्ट एकता गर्नुभयो तर तपाईंलाई फेरि अन्तर्घात गर्दै चुनावमा हराए। तर राष्ट्रिय राजनीतिमा देशमा तपाईंको आवश्यकता महशुस गरी राष्ट्रिय सभामा र पार्टीको उपाध्यक्ष जस्तो जिम्मेवारीमा हुनुहुन्छ भने नेकपाको ९ जनाको सचिवालयमा तपाईं पनि हुनुहुन्छ।
नेकपाको राजनीति सचिवालयको बैठक र केपी प्रचण्डको झैँझगडामा बारम्बार तपाईंलाई दुवैपक्षबाट भकुण्डो बनाइएको नमिठो उदाहरण हामीहरुलाई थाहै छ। कहिले डिनर मिटिङ त कहिले केक खुवाउदै नेताहरुले तपाईंलाई मख्ख पार्दै लगे। कहिले प्रधानमन्त्रीको कार्ड त कहिले पार्टी अध्यक्षको कार्ड तपाईंमाथि फ्याक्न प्रधानमन्त्री बाध्य हुनुभयो।
प्रिय कमरेड, यतिबेला देश संगिन मोडमा उभिएको छ। तपाईं कसैको कार्डको प्रयोग नभइ देश जनताका लागि उपयुक्त बाटो भनेको तपाईंको लामो राजनीति अनुभव उर्जा भएको नेता हुनु भएकोले तपाईंको साथ वर्तमान प्रधानमन्त्रीलाई हुनुपर्ने देखिन्छ।
तपाईंले नै ल्यमाउनु भएको ७० वर्षपछि नेतृत्वदायी भूमिकाबाट बिदा लिने विधिलाई एकपटक सोचेर संशोधन गर्दै तपाईं चुनावमा गएर चुनिएर आउन अनुरोध गर्दछु। तपाईंले गोल हान्न अझैं १ वर्ष बाँकी छ। तपाईं चुनावमा गएर जितेर आउनुहोस्। देश र जनता तपाईं प्रधानमन्त्री बनेको हेर्न व्यग्र प्रतिक्षामा छन्।
तपाईं अहिले पर्ख र हेरको स्थितिमा हुनु राम्रो होइन। सर्वोच्चले तपाईंको नीजि र विवेकको समीक्षा गर्दैन। जनताको भविष्य तपाईंले सोच्नु पर्दछ। युवा पुस्ताको भविष्य तपाईंको हातमा छ। त्यसैले आफ्नो विवेकपूर्ण निर्णय गर्नुस्, अदालतको निर्णय नपर्खनुस् र निर्वाचनमा जानुस्।