देशका सम्पूर्ण नेतागणहरु,
मेरो नमन।
नेतागणहरु, तपाईंहरुलाई आरामै छ होला। सत्ता बाँडीचुँडी, छिनाझपटी छ। कहिले म्याउ, कहिले ङ्यार्र गर्दै। कहिले सत्तामा, कहिले बाहिर।
सत्तालिप्सा पनि कति चरम हो तपाईंहरुको? केही समय सत्ता बाहिर भए छटपटीले बसिखप्न हुँदैन। सत्तामा पुग्यो आफ्नो भुँडी भर्न र भराउन हतारो। कति ठूलो हो त्यो भुँडी? जति हालेपनि नभरिने? जति खाएपनि नढाडिने? अनिकाले।
नेताहरुको त महान् छाती हुनुपर्ने हो। तपाईंहरुको त भुँडी नै ठूलो। बिगहोल पनि छिर्छ होला है?
मेरो हालत त तपाईंहरुलाई कसरी थाहा होला? तपाईंको घरको कुकुरको जतिको हालतमा रहन सकेको भए पनि म आफूलाई भाग्यमानी ठान्ने थिएँ। कुकुरको पनि अधिकार हुन्छ। यो शब्दले कुकुरको अधिकार हनन् नहोस्।
वास्तवमा आज मेरो नियती गल्लीको कुकुरको जस्तै छ। इमानदारीता र बफादारीतामा भने मेरो कुकुरको जस्तै बानी छ भन्दा मलाई अप्ठ्यारो लाग्दैन। तर म मानव हुँ।
पत्र त कोरेँ तर तपाईंहरुलाई यो पत्र वाचन गर्न समय छैन होला। तर कृपा गरी यो पत्र पढ्ने प्रयास गर्नुहोला। देश र जनताका लागि लडेको भनेर बेलाबेलामा भन्ने तपाईंहरुले हामी जस्ताको मनमा के चलिरहेको छ भन्ने बुँझ्ने कोशिश गर्नुहोला।
नेताज्युहरु, जीवनका कतिपय सपनाहरु जहाँ पुगेर तुहिन्छन्, त्यही मोडबाट नयाँ सपनाको जन्म हुन्छ भन्छन्। मेरो हकमा यो भनाइ लागु भएन। मेरो जीवनको उर्जाको अन्त्य अपांगतामा लगेर टुङ्ग्याइयो। मलाई गोली लाग्यो। बाँच्ने आशा थिएन। भगवान भरोसा धन्न बाँच्न पुगेछु।
उचित उपचार र हेरविचार पाएको भए पक्का नयाँ सपनाको सम्भावना थियो। तर त्यसो हुन सकेन। म गाउँबाट एउटा असल राजनीतिक प्राणी बन्न सहरमा आएँ। स्नातक पढ्दै गर्दा दोस्रो जनआन्दोलनमा होमिएँ। बहुअपांग भएर अहिले जीवन र मरणको दोसाँधमा रहेको छु। अपांग भएका कारण मेरा सपनामा पूर्णबिराम लाग्यो।
०६३ पछि देशमा सबै ठूला दलबाट तपाईँहरु सरकारमा जानुभयो। मैले विलौना गर्दै गरेँ। उपचार, रोजगारको माग राखेँ। तथापि कसैलाई सुन्ने फुर्सद भएन। मलाई आफू बेसहारा भएकोमा चिन्ता हुने थिएन, यदि देशले परिवर्तको सही आभाष पाउन सकेमा।
जीवनमा धोकाको भारी बोकेर युवा अवस्थाको उत्तारार्धसम्म धकेलेँ। तर अनायस अब विश्रामको बेला आए जस्तो अनुभव भइरहेको छ। विश्राम लिनु मेरो बाध्यता हो। आज म मृत्युको संघारमा छु। अब सहयोगको सार्थकता सकियो।
तपाईंहरुको भिख अब चाहिएन। तैपनि अन्य म जस्ता पीडित र सम्पूर्ण नेपालीहरुलाई उप्रान्त परिविर्तनको आभाष दिनुहुन बिन्ती बिसाएको छु। सायद यो मेरो अन्तिम पुकार रहनेछ।
देशका लागि लढेँ, धोका पाएँ। जिउँदो सहिदको हल्का बिल्ला भिराइयो। बस्, स्पष्ट शब्दमा भन्नुपर्दा तपाईंहरुले मलाई बलात्कार गर्नुभयो र बेवारिसे बनाएर छाड्नु भयो। म अहिले घिस्रियर हिड्नु परेको छ। अरुको सहारा लिनुपरेको छ।
म सद्धे हुन्थेँ भने राजनीतिले धोका दिएपनि बाँच्ने बाटाहरु धेरै थिए। केही न केही उपाए निकाल्थेँ। तपाईंहरुसँग भिख मागेर बस्नुपर्ने थिएन। जनआन्दोलनमा होमिएका कारण पढाइ रोकियो। पेशा व्यावसाय केही भएन। रोजगार भएन। म अधकल्चो भएँ।
अहिले म शारीरिक, मानसिक रुपमा विक्षिप्त अवस्थामा छु। अतः म आफू आफैलाई बोझ भएको छु। पृथ्वीको भार भएर बाँच्नु साह्रै पीडा हुँदो रहेछ। बा-आमाका लागि केही गर्न सकिनँ। चिन्तै चिन्तामा उहाँहरु स्वर्गबास हुनुभयो। श्रीमतीले पनि मलाई त्यागेर अरुलाई अंगाल्न पुगिन्। उनले मलाई त्याग्नुमा पनि तपाईंहरु नै दोषी हो।
आज मलाई मेरा बुबाले भन्ने गरेको कुरा याद आइरहेको छ। उहाँले ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्नु हुन्थ्यो। म त्यस्तै ओरालो लागेको मृग झैँ भएको छु। कसैको सद्भाव, सहयोग पाएको छैन। पाएको छु त हेलत्व, छिछि र दूर दूर।
मेरो जीवनको दियो त अब निभ्ने नै भयो। मेरा सपनाहरु मर्नु भएन। देशमा आएको परिवर्तनको रफ्तार रोकिनु हुँदैन। जिउँदा सहिदहरु र सबै नेपालीको अपेक्षामा कुठाराघात हुनु हुँदैन। देशले गणतान्त्रीक संविधानले निर्दिष्ट गरेको दिशानिर्देश पाउनुपर्छ। देश अग्रगमनतिर जानुपर्छ।
गणतन्त्र संस्थागत हुनुपर्छ। संबिधानले प्रदत्त गरेका अधिकार सबै नेपालीले बिनासर्त प्रयोग गर्न पाउनुपर्छ। घरवार विहीन स्याङ्जा अर्जुन चौपारीका मुक्ति दाइ जस्ताको घरमा गणतन्त्र आउनुपर्छ। उज्याला दिनको सुरुआत हुनुपर्छ।
म यति गलेको छु कि अब उप्रान्त कलम समाउन मेरो शक्तिले भ्याउने छैन। सायद यसपछि म मेरा विचारहरु तपाईंहरु माझ सम्प्रेषण गर्न सक्ने छैन। मर्ने मिति नहुने पात्रोमा मेरो जीवनको अन्त्य उल्लेख हुने सवाल रहेन। त्यसैले यसैलाई मेरो अन्तिम कोशेली सम्झनु होला। सुझावहरुलाई ग्रहण गरिदिनु होला। वर्गीय रुपमा विपन्न र जिउँदा सहिदहरुको जीवन अनि मरण मेरो जस्तो नहोस्।
व्यक्ति जन्मन्छ अनि मर्छ। यो शाश्वत सत्य कुरो हो। तथापि नेतृत्वले जनताको बलिदान स्वरुप आएको परिवर्तनलाई स्थायी स्वरुप दिन सक्नु पर्छ। म मरेर के भो? मेरो सपना नमरोस्। म नारकीय जीवन बिताउन बाध्य भएर के भो? नेपालीले सुखी र समृद्ध नेपालमा बाच्न पाँउन्। शासनाधिकार तपाईंहरुको हातमा छ। बाँकी तपाईंको जो इच्छा।
भनिन्छ, मानिसको जीवनमा जन्ती र मलामीको संख्या हेरेर उसको व्यक्तिगत उचाइ मापन गरिन्छ। मलाई आशा छ, मलामीका रुपमा लाखौँ नेपालीहरुबाट पनि मेरो लोकप्रियताको संकेत गर्नेछन्।
बाचुन्जेल सहानुभूति त मरेपछि मलामी पर्याप्त कमाएकोमा मलाई गर्व लाग्छ। मेरो सम्पत्ति भनेकै लोकप्रियता हो। नेपाली जनताको साथ हो। तपाईँ नेताहरुले सम्झना नगरे पनि करोडौँ नेपालीले सम्झन योग्य बनेको छु। मेरो जीवनको सफलता भनेको यही नै हो।
तर बिन्ती केवल सहिद दिवसमा मात्र शहादत पाएका र म जस्ताको बलिदानको उच्च मूल्यांकनको नाममा विभिन्न ठाउँमा ठड्याइएका सालिकमा गएर गोहीका आँसु नझार्नुस्। न्यायको प्रतिक्षामा वर्षौंदेखि ठिंग ठडिएका सहिद स्तम्भहरुमा बढेमानका मालाको भारी नभिराउनुहोस्। मुरी मुरी आश्वासन नदिनुहोस्। शालिकलाई झन् पीडा थपिन्छ।
सरकारले सम्मान गरेछ भन्ने ढोङ नरच्नुस। सामान्य मानिसहरुलाई त सहिदको बलिदानको उच्च मूल्यांकन गरेछ भन्ने भान हुन्छ। तर वास्तविकता बेग्लै छ। जनतालाई छलछाम गर्न सालिकहरु बनाइएका हुन। जनआन्दोलनमा बलिदान दिएका र जिउँदो सहिदका रुपमा रहेकाहरुलाई सम्मान गरेको भन्ने मिथ्या प्रमाण थिए ती सालिकहरु। त्यत्रो खर्चेर सालिकहरु बनाउनुको के अर्थ? जब म जस्ताका सपना सपना नै रहन्छन् भने।
भन्नै पर्ने कुरा छुटेछ। नेपाल कुनै एक सम्प्रदाय, भूगोल, जातजाति वा धर्म मान्नेहरुको मात्र देश होइन। विभिन्न जातजाति, धर्म, संस्कृतिबीच परस्पर भाइचाराको भावना बोकेर बाँचेको देश हो। यो सबै नेपालीहरुको देश हो। सामुहिक फूलबारी हो।
इतिहासका कुनै पनि कालखण्डमा यी विभिन्न सम्प्रदायबीच कुनै पनि खालको द्वन्द भएको छैन। जातीय दंगा त परै जाओस्, द्वेष समेत देखिएको छैन। मैत्री भावनाले बिहेबारी, मर्दापर्दा, अर्मपर्म, दुःख, सुखमा एकत्रित भएको पाइन्छ।
एउटा जाति विशेषकोलाई दुख्दा अर्कोले मल्हम लगाउने जस्तो व्यवहार यहाँ पाइन्छ। सदिऔँदेखि विविधताबीच एकता रहदै आएको छ। त्यसैले साम्प्रादायिक विद्वेष राख्ने क्रियाकलाप कसैबाट भए त्यस्तो कालिदास प्रवृत्तिलाई निष्तेज पार्नुपर्छ।
अहिले साम्प्रादायिकताका कुरा उठाउनेहरु भोलि तपाईं हामीलाई साथ दिने छैनन्। अहिले उचाल्नेहरु हामीलाई भिडाएर कुलेलाम ठोक्नेछन्। तपाईं हामी सदिऔँदेखि जसरी मिलर बसेका छौँ, त्यसलाई निरन्तरता दिउँ। जस्लाई घाउ लागे पनि नेपालीलाई लागेको ठानौँ। दुःख/सुखमा एक बनौँ। समग्र नेपाल र नेपालीको रक्षाका लागि बलिदान दिन तयार होऔँ।
हाम्रा एजेण्डाहरु समाधान गर्न हामी नै सक्षम बनौँ। हालसम्म जेसुकै गल्ती भएपनि अब विचार पुर्याऔँ। विदेशी सल्लाह सुझावलाई सुनौँ, गुनौँ र हाम्रो हितमा भएमात्र लागु गरौँ।
राष्ट्रियताको सवालमा सम्झौता कहिल्यै नहोस्। लिपुलेक, लिम्पियाधुारा, कालापानी, सुस्ता लगायत सयौँ ठाउँमा छिमेकीहरुबाट मिचिएका भूमिहरु छिटो फिर्ता हुन्। बस्, यतिमात्र भयो भने मेरो आत्माले शान्ति पाउने छ। बिदा पाउँ। जय देश, जय राष्ट्रवाद।