सधैंजसो यसपालि पनि फेरि ८ मार्च आयो र गयो। अर्थात् नारी दिवस आयो र गयो । के हो त नारी दिवस? एक दिने छुट्टी? हो! सिर्फ एकदिने छुट्टी स्कूलबाट, कलेजबाट र कुनै कुनै अफिसबाट । मैले त सिर्फ यही देखेको छु। अनि फेसबुकमा अपलोड गरिने एक दुई वटा व्यङ्ग्यात्मक र अर्को तीन चार वटा संवेदनशील स्टाटस र कुनै संघ संस्थाले चाहिँ जनचेतना मुलक कार्यक्रम पनि गरेका छन् है।
नारी दिवस किन मनाइन्छ? के कारणले मनाइन्छ भन्नी प्रश्नको उत्तर चाहिँ मैले व्यावहारिक रूपमा देखेको छैन।
हुन त नारी दिवसको सुरुवात सन् १९०९ मा न्यूयोर्क सिटीबाट नारीको अधिकार र लैङ्गिक समानताको लागि भएको थियो। तर अन्तराष्ट्रिय नारी दिवस (International Women Day) को आधिकारिक सुरुवात चाहिँ युएनद्वारा सन् १९७७ बाट भएको हो।
नेपालमा वि. सं. २०१६ देखि नियमित सुरु भएको हो। हामीले आजसम्म ६१ वटा नारी दिवस मनायौं । यत्रो वर्षको अवधिमा नारीले पाउनुपर्ने अधिकार अझ पनि पूर्ण रूप पाइसकेका छैनन् । फेरि यो भन्नु पनि उचित हुँदैन कि नारीलाई अधिकार दिएको छैन। उनीहरूलाई सरकारद्वारा अधिकार दिएको छ तर उनीहरूले आफ्नो अधिकार भोग्न पाइरहेका छैनन् ।
राजधानीबाट अलि पर गएर हेर्ने हो भने यही काठमाडौं उपत्यका भित्रै कयौं चेलीबेटीले पढ्न पाइरहेका छैनन्। आफ्नो जिन्दगीको निर्णय गर्न पाइरहेका छैनन्। अझै पनि कयौं परिवारले यही सोच्छ कि, छोरीको बिहे गरेपछि उसको जिन्दगी सप्रिन्छ। उसको क्यारियर सेट हुन्छ । नारीलाई सरकारले ३३ प्रतिशत ठाउँ छुट्याइ दिएको छ । तर पुरुष भन्दा बढी आवादी भएको हाम्रो देशमा नारीको संग्लनता एकदम न्यून छ। नारीको अधिकार र हकहितको लागि आवाज पनि प्रसस्त उठेको छन् तर उनीहरूले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण दिलाउन सकिएको छैन।
पहिलाको समयसँग तुलना गर्ने हो भने अहिलेको समयमा नारीको संग्लनता हरेक क्षेत्रमा बढेको देखिन्छ तर यतिले मात्र पुग्दैन। किनकि, यो संग्लनता मात्र शहरी क्षेत्रमा छ जहाँ सबै प्रकारको सुविधा छ। प्राय सबैको सोच पढेलेखेको छ।
अहिलेको समयमा नारीको हकहित र उनीहरू अधिकारको लागि धेरै आवाज उठेका छन्। कयौं सचेतनामुलक कार्यक्रमहरू भइरहेको छ। तर प्राय आवाज शहरी क्षेत्रमा मात्र गुन्जिरहेको छ। अनि यहीँ मात्र सीमित छ । जहाँको जनमानस पहिलै अगाडि बढिसकेको छ। उनीहरूलाई नारीको हक, अधिकार, लैङ्गिक समानताबारे थाहा छ। आवाज उठाउन सक्छन् भने त्यही जनमानसलाई अघि बढ्न र आवाज उठाउन जागरूक गरीरहनपर्छ जस्तो मलाई लाग्दैन।
अब आउने २०७८ साल को नारी दिवससम्म हामीले यो शहरी क्षेत्रलाई छोडेर बाहिर ध्यान केन्द्रित गर्नुपर्छ। जहाँको सोच अझै विछडिएको छ। सरकारले अधिकार त दियो तर त्यो अधिकारलाई बुझ्नी, त्यसलाई प्रयोग गर्ने यदि परिआए आफ्नो अधिकारको लागि लड्ने वातावरण पनि दिन सक्नुपर्छ । यही काठमाडौं भित्र अझै यस्तो ठाउँहरू छन् जहाँको सोच अझै विकसित भएको छैन भने हाम्रो देशको कुना काप्चाको अविकसित क्षेत्रको हालत के होला?
जबसम्म शहर बाहिरका नारीले आफ्नो अधिकार पाउँदैनन् तबसम्म नारी दिवस मनाइएको कुनै औचित्य नै हुँदैन। सिर्फ एक दिने छुट्टीबाहेक। बरू छुट्टी चाहिँदैन नारीले आफ्नो हक अधिकार प्रयोग गर्ने वातावरण चाहिन्छ।