आमा हजुर मेरो जन्मदाता , हजुर मेरो पहिलो खुसी अनि जीवनमा पहिलो चोटि मैले उचारण गरेको शब्द हो-आमा।
हजुरको बारेमा जति बोल्छु उतिनै कम हुन्छ । आमा अरूको लाखभन्दा हजुरको काख निकै प्यारो हुन्छ। आमा जुन शब्द जतिपटक उचारण गर्छु त्यति पटक उच्च सम्मान र महसुस गर्दा न्यायोपनको आभास हुन्छ।
म घरकी माइली छोरी, मभन्दा माथि एक जना दिदी अनि म भन्दा मुनी एक जना बहिनी र एउटा भाइ अनि आमा बुबा। घरको सबैभन्दा छुच्ची र जिद्दी स्वभावको म। जाँगर चलेको बेलामा म सबै काम गर्थेँ। स्कुलका हरेक कार्यक्रममा म सहभागी हुन्थेँ। धेरै कार्यक्रम त मैले जितेको पनि छु। त्यतिबेला सबैभन्दा खुसी मेरी आमा हुनुहुन्थ्यो। आमाले सधै आशिर्वाद र हौसला दिनुहुन्थ्यो।
आमा एउटा कुरा याद छ हजुरलाई। म कक्षा ८ मा पढ्नेबेला १३ वर्षकी थिएँ। त्यतिबेला हाम्रो घरमा सानो पसल थियो। अनि म जब स्कुलबाट पढेर आउँथेँ त्यतिबेला हजुरले बस्तु लगिसक्नुभएको हुन्थ्यो। भाइबहिनी अगाडि नै आउँथे ,खाजा खाएर खेल्न जान्थे। दिदी कक्षा ११ मा पढ्नुहुन्थ्यो। घरभन्दा अलि टाढा जानुपर्ने भएकाले दिदी ढिलो आउनुहुन्थ्यो। त्यसदिन मैले पसलबाट एक कार्टुन चाउँचाउ चोरेर खाएको थिएँ। चाउचाउँ मैले खाएँ र अरूलाई पनि दिए। नखाइसकेपछि धानको भकारी भित्र लुकाएर राखेँ। बेलुका हजुर आउनुभयो अनि चाउचाउ चोरेर खाएको भन्दै गाली गर्दै पिट्नुभयो। म चाउचाउ मात्र होइन धेरैथोक चोरेर खान्थेँ। एकदमै छुच्चो, कसैले भनेको नमान्ने, घमन्डी स्वभावको थिएँ।
तर पनि आमाको माया न हो म बेस्सरी रोएको देख्दा आमाले सहन सक्नुभएन। मलाई आएर काखमा राखेर नरो न भन्नुभयो। अनि सुमसुमाउनु भयो। अब यस्ता काम कहिले नगर है, गर्न हुँदैैन भन्नुभयो।
त्यसभन्दा पछाडि पनि धेरै पटक त्यस्ता काम गरेको छु। पछि उमेर बढेसँगै त्यस्ता कामहरु गर्नुहुन्न भन्ने लाग्दै गयो र त्यो चोर्ने बानी म बाट हट्दै गयो। अहिले सम्झिँदा लाग्छ भुल गरिएछ।
त्यसपछि आमाको महत्वको कुरा गरौं। अथाह माया र प्रेम परिपूर्ण एउटै ब्यक्ति हुनुहून्छ आमा। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हून्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिँदा हजारौँ कोषिका चुडिएको कठोर पिडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छन्। हजारौँ वजनको भारी नदेखाएर भुल्न सक्ने ताकत सिर्फ आमामा मात्रै हुन्छ।
हाम्रो समाजमा चलन छ, हाम्री आमा झुत्री, मैलो, अनि टालेको लुगा लगाउनुभएको छ भने अरूको अगाडि उहाँ मेरो आमा भन्न समेत हिचकिचाउँछौ। आमा भनेको आमा नै हुनुहन्छ त्यसैले आमालाई नराम्रो कदापी गर्नुहुँदैन्।
आफूले पाएका हरेक पीडा कठोरताका साथ सहन सक्ने भएकाले नै होला त्यो ईश्वरीय वरदान, त्यो स्वर्गीय आनन्द ,सन्तान उत्पादन भगवानले आमालाई नै सुम्पिएको। त्यसैले त आमा हामी यो संसारमा छौ होला । अझै आज हामी छोरी भोलि हामी त्यसैगरी आमा हुँदै हजुरआमासम्म बन्छौं। एउटा भनाइ छनी मलाई एउटा असल आमा देऊ म तिमीलाई एक असल राष्ट्र दिनेछु।
एक वैज्ञानिकले भनेका छन्-जीवनमा एक दिन मात्रै त्यस्तो दिन आउने गर्छ, जुन दिन सन्तान रूदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रूदा आमा मुस्कुराउन्। सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउदा होस् वा सन्तानले नराम्रो काम गर्दा हो पहिलो पीडा आमालाई नै हुन्छ।
आमा पहिलो औषधि हुन्। अँध्यारोको दीप पनि आमा नै हुन्। सन्तानलाई पुग नपुग खुवाइसकेपछि रित्तो भाडोमा पानी खन्याउँदै मलाई त भोक छैन आज, भनेर सुत्ने पनि आमा नै हुन्।
आमा सम्बन्धी केहि भनाइहरु छन् जुन एकदमै मन छुन्छ , आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमाबाटै प्राप्त हुने गर्छ।
त्यस्तै म रातभर स्वर्गको आनन्द उठाईरहेँ ,जब निन्द्राबाट ब्युझिएँ तब थाहा भयो म त आमाको अंगालोमा पो निदाएको रहेछु।
त्यस्तै जीवनमा यति कुरा भगवानसँग माग्नु कि, आमा बिनाको घर कसैको नहोस् र कुनै आमा बेघर नहोस् र अन्तिम भनाइ मर्नको लागि त धेरै बाटोहरू छन् तर जन्म लिनको लागि एउटा मात्रै बाटो छ त्यो हो आमा।
जीवनमा सबैभन्दा खुसी पनि आमाकै काखँमा मिल्छ। आमाले जस्तो सुकै पीडा सजिलै टार्न सक्छिन्। तर आफ्नो सन्तान गुमाएको पीडा उसलाई असह्य हुन्छ
आमा भगवानको अर्को रुप हुनुहुन्छ। आमालाई घृणा हैन माया गरौँ, स्नेह गरौँ, आमालाई वृद्धाश्रम होइन आफूले जे खानुहुन्छ त्यही दिएर घरमै सँगै राखौं ,राम्रोसँग पालनपोषण र हेरविचार गरौं।
आमाको मुख हेर्ने दिन वर्षमा एकचोटी आउँछ। जबदेखि म घर भन्दा टाढा गए त्यसदिनदेखि आमाको मुख हेर्ने दिनमा म आमालाई भेट्न गएको छैन। यो विशेष दिनमा मात्रै राम्रो गर्ने अरू दिन बेवास्था गर्नेभन्दा पनि सदाबहार आमालाई हेर्ने दृष्टिकोण अनि स्याहारसुसारदेखि पालनपोषणमा समेत विशेष ध्यान दिन जरूरी छ।
जब म आमा बन्छु म तपाई जस्तो बन्न चाहन्छु। जसले हरेक कुरालाई राम्रो देख्छ र हरेक खराबीलाई माफी गर्छ। त्यसैगरी संसारको लागि तपाई एक आमा हुनुहुन्छ भने हाम्रो लागि आमा संसार हुनुहुन्छ।
अझै एउटी आमा हुनुहुन्छ जसले अन्य सबैको ठाउँ लिन सक्छिन् तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन्। एकदिन खुसी राख्ने, मिठामिठा खान दिने अनि ३६४ दिन रुवाउने बरु सदाबहार मायालाई माया गर्ने गर्न जरुरी छ। यति कुरा पनि बुझौं आज हामी हाम्री आमालाई हेला गर्छौ भने भोलि तपाईको पनि आमा बन्ने पालो आउँछ है यो कुरा कदापि नभुलौं।
यीनै आमा हुनुहुन्छ जसले हामीलाई यो संसारमा जन्म दिनुभयो। पाइला चाल्दै ताते गर्दै सिकाउनुभयो। देवीको प्रतिरुप अनि ममताकी खानी हुनुहुन्छ आमा जसले आफ्ना इच्छाहरू मारेर सन्तानको खुसीको लागी दिनरात ,घामपानी नभनि लागिरहनुहुन्छ।
जन्मदिनु हुने अनि कर्म दिनुहुने सम्पूर्ण आमाहरूलाई आमाको मुख हेर्ने दिनको धेरै शुभकामना।