श्रीमान् परीक्षा नियन्त्रक ज्यू,
परीक्षा नियन्त्रण कार्यलय
भिमदत्त, महेन्द्रनगर।
विषय: परीक्षा र भविष्यको निकास सम्बन्धमा।
महोदय,
आजभोलि मलाई मोबाइमा फोन आयो कि दिक्क लाग्छ। मलाई हरेक दिन अभिभावक तथा साथीभाइको एउटै प्रश्न 'बाबु अहिले कुन सेमेस्टरमा? पहिलेकै होकि अर्को सेमेस्टरमा पुगेऊ? पुगेउ भने अघिल्लो सेमेस्टरको परीक्षा भयो?’
छुरा जस्ता यी प्रश्नले वाक्क दिक्क लगाउँछ। किनकि म एक लाचार विद्यार्थी मात्र हुँ। निर्णयक तहको मान्छे होइन। म बाध्य भएर एउटै जवाफ दिन्छु हुन्छ- ‘आत्तिनु पर्दैन बुवा-आमा, छोराले छिटै सक्छ स्नातक।’
अहिलेसम्मको निर्धारित वर्ष/ मितिमा नै हुन्छ भनेर म आस्वास्त तुल्याउँछु। तर परिस्थिति यति सहज छैन। कोभिड-१९ को संक्रमणले आफ्नो गति तीव्र बनाउँदै छ। विद्यालयमा हामीहरुको स्वभाव संसार बिजेता आफू नै हुँ जस्तो मान्छौँ। त्यही भएर पनि सामाजिक दूरी राख्न सम्भव छैन, अनि पढाइ र परीक्षा पनि।
एकातिर अवस्था विषम् बन्दै गएको छ, अर्कोतर्फ सरकारको प्राथमिकतामा शिक्षा क्षेत्र कहिल्यै परेको छैन भन्दा पनि हुन्छ। सरकारले शिक्षक विद्यार्थीलाई कोरोनाको खोप दिन नै उचित ठानेन।
भोलिका राष्ट्रका कर्णधार विद्यार्थी जहिल्यै ओझेलमा पार्ने गरेको छ। बालबालिकामा संक्रमण तीव्र आक्रमण गरिरहेको छ। फेरि काठमाडौं मात्र नेपाल होइन। सहर मात्र पनि होइन। संक्रमणको अवस्था हेरेर कम संक्रमण भएका ठाउँमा र धेरै भएका ठाउँमा फरक फरक सयममा खोप लगाइदिएको भए?
हाम्रो परम्परागत मूल्यांकन आधार मानेर स्तर निर्धारण गर्ने प्रचलन रहेको देशमा आन्तरिक मूल्यांकन, निर्माणात्मक मूल्यांकनलाई प्राथमिकता दिइँदैन। सोही कुराले आज हामी सम्पूर्ण विद्यार्थीको भविष्य अन्योलमा छ।
त्यसैले एउटा विद्यार्थी भएको नाताले म के भन्छु भने नियन्त्रक ज्यू! विभिन्न देशहरूले यही समयमा, यही मौकामा आफ्नो शिक्षा प्रणालीमा निकै फड्को मारिसकेका छन्। आफ्ना विद्यार्थीको भविष्य सुनिश्चित पारिसकेका छन्।
वैज्ञानिक प्रणालीबाट आन्तरिक मूल्यांकन र प्रयोगात्मक पद्धतिको आधारमा परीक्षण गरिसकेका छन् तर हामी पुछारमा छौँ, आँखा चिम्लेर बसेका छौँ। आँखा खोल्नु पर्ने बेला आएको छ सर।
परीक्षा हुनु नहुनु ठूलो कुरा होइन। प्रमुख कुरा भनेको विद्यार्थीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भन्ने हो। वैकल्पिक सिकाइलाई प्रभावकारी बनाएर सिकाइलाई निरन्तरता दिनु उचित होला जस्ते लाग्छ म र म जस्ता अन्य विद्यार्थीलाई।
अहिलेको वास्तविक परिस्थितिमा कोरोनाको डरभन्दा बढी भविष्यको चिन्ताले विद्यार्थी र अभिभावक आत्तिएका छन्। विभिन्न भय, पीडाले गर्दा हजारौँ युवाहरु आत्महत्याको शिकार हुन थालेका छन्। मानसिक रोगले सताएको छ, के गर्ने के, नगर्ने भनेर मेसो पाउन सकेका छैनन्।
ती दिनसम्म, कहिलेसम्म यसरी बस्ने हो? कोरोनाको डर भएको अवस्थामा सरकारले एकाएक परीक्षा लिएर विद्यार्थीको भविष्यमाथि दबाब सिर्जना गर्ने होकि भन्ने चिन्ता छ। यस्ता किसिमका चिन्तालाई ध्यान दिएर निकै होसियारीपूर्वक निर्णय लिनुहुन्छ भन्नी आशावादी छौँ।
अब कसरी समाधान गर्न सकिन्छ त? यो नै मुख्य एजेन्डा हो। सरकारले परीक्षा लिनै पर्ने बाध्यता हो त? कि रहर हो? परीक्षा बिना परीक्षण गर्न असम्भव छ त? अरु कुनै विकल्प छैन? परीक्षा नलिँदा सबै समाप्त हुन्छ? देश पूर्ण रूपमा अपांग हुन्छ त? विद्यार्थीहरु सबै असफल हुन्छन्?
हिजोको विधि र व्यवस्था शतप्रतिशत नै उपयुक्त हो त? घोकन्ते विद्या र परीक्षा प्रणालीलाई बिदाइ गर्न सकिँदैन? कतै सरकारको विद्यार्थीलाई मारमा पार्ने मानसिकता त होइन? विद्यार्थी हक अधिकार माथि दुस्साहस गरिएको त होइन? विद्यार्थीलाई बन्दी बनाएर सरकार मस्त सुत्न खोजेको त होइन?
कतै पैसा कमाउने प्रपन्च त रचिँदै छैन? जवाफ कस्ले दिने, कहिले दिने? यति धेरै प्रश्नवाचक चिन्न सहित आज हामी सम्पूर्ण विद्यार्थी लाचार भएर, भविष्य अन्धकार भएको हेरी बसिरहेका छौँ।
यदि थोरै पनि विश्वविद्यालयले विद्यार्थीको मर्म बुझ्छ भने डिजिटल सिस्टममा केन्द्रित हुनुपर्छ। शिक्षा प्रणालीलाई रुपान्तरण गर्ने सुवर्ण अवसर हो, यता आन्तरिक मूल्यांकनको परीक्षण गर्ने उता प्रविधियुक्त शिक्षाको तयारी गर्ने।
परीक्षा लिनु मात्र सबै समस्याको समाधान होइन, विकल्पको खोजी हुनुपर्छ। बुद्धि र विवेकमा रहेर वैज्ञानिक ढंगबाट एक कदम अगाडि उठ्नुपर्छ। यो कुरामा कुनैपनि प्रकारले विश्वविद्यालय पन्छिनु हुँदैन।
विद्यार्थी अभिभावक चिन्तामा छन् त्यसैले चाडैं जवाफ पाउने अपेक्षा राखेको छु।
तपाईको उहीँ
लाचार विद्यार्थी।