नमस्ते प्रधानमन्त्री ज्यू!
म यो देशको असल नागरिक। आफ्नो परिचय दिँदा 'असल' शब्दको प्रयोग आफैँलाई गर्ने म पहिलो व्यक्ति हुन सकुँला। तर आश्चर्य नमान्नुहोस्, यो शब्दको प्रयोग कथाले अनि परिस्थितिले मागेको कारण मैले दिएँ।
'नागरिक' को अगाडि 'असल' बनाउन मैले मेरो सम्पूर्ण जिम्मेवारी पूर्ण गरेको छु। म विश्वस्त पनि छु। तर के तपाईंले आफ्नो पदको अगाडि असल बनाउन आफ्नो जिम्मेवारी पूरा गर्नु भएको छ?
सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरलाई यो पत्र मैले रातिको ११:२८ बजे तिर काठमाडौँको नयाँ बानेश्वरबाट कोर्दै छु। मैले पत्रको मार्फत हजुरको अन्तर हृदयलाई बिउँझाउन चाहेँ। यद्यपि मलाई आश भने छैन, धेरैले कोसिस गरेका कुरा न हो।
सुन्दै छु हजुर पाचौँ पल्ट देशको प्रधानमन्त्री हुनु भयो भनेर। त्यसको लागि हार्दिक बधाई। पटक पटक प्रधानमन्त्री भइसक्नु भएको हुँदा हजुरलाई राम्ररी नेपाल र नेपालीहरूको समस्या, गहिरो रुपमा अवश्य थाहा छ।
राजनीतिक परिवर्तनमा तपाईंको योगदान कदरयोग्य नै छ। तपाईंको त्यागको पनि हामीले निकै भरिलो सम्मान गरेका नै छौँ। हाम्रो साथ र सहयोग हरदम छ। त्यसैले त तपाईंलाई नेपाली जनताले धेरै पटक जिताए।
नेपाली जनताले जितेको महसुस गरे, परिवर्तनको सपना देखे, समृद्धिलाई अंगाल्ने बाटो देखे तर हजुरले कुर्सीको मोह देख्नुभयो होला, फर्केर पनि जनताको घाउमा मल्हम लगाउन आउनु भएन। कि कुर्सी भन्ने पद त्यस्तै होकि बसेपछि छोड्न नमिल्ने?
सम्माननीय प्रधानमन्त्रीज्यू, एकचोटि आफ्नो भित्री मनलाई खोलेर हेर्नुहोस्। मैले यो के गर्दै छु? भनेर प्रश्न गर्नुहोस्। उत्तर आफै पाउनु हुनेछ। देश र जनतालाई सर्वोपरी ठानेर काम गरेको भए आज हामी कहाँ पुग्थ्यौँ।
हजुर पाँचौ पल्ट प्रधानमन्त्री हुँदा अरु पनि थुप्रै यो देशको प्रधानमन्त्री भइसक्नु भयो। तर यो अवधि भर त केही हुन पर्ने हैन र? फेरि, 'किन भएको छैन? त्यत्रो बाटो घाटो कसले बनाएको?' भनेर भन्नुहोला। यो त पुरानो तपाईंको जवाफ हो।
अरु नयाँ केही छ भने भन्नुहोस्, हामी सुनिदिउँला। हामीले सधैँ सुन्दै आएका त थियौँ नि। हामीलाई क्षणिक आश्वासन दिलाए पुगिहाल्छ नि। काम त त्यस्तै हो। जहाँ कमिसन त्यहाँ काम, हैन त?
हजुरबुवा लडे एकताको लागि, बाउ लडे शान्तिको लागि अनि छोरा लड्दै छ फेरि सुशासनको लागि! नाति पनि अझै देशको लागि नै लड्दै छ भन्ने थाहा पाए स्वर्गबास भएका हजुरबुवाले के भन्लान्? लडेर परिवर्तन आउँछ भन्ने सिद्धान्त नै गलत भयो त नेपालको परिवेशमा।
राजनीतिलाई कति सम्मान गर्नुपर्नेमा हामी आज धिकारिरहेका छौँ। हाम्रो देशको राजनीतिक अवस्था निकै गम्भीर छ। सबै षड्यन्त्रले नै भरिएको छ।
राजनीति त सबैले जान्नु पर्ने खेल हो भन्दै हरेक कुरामा राजनीति नगरिदिनु होला। मेरो यो दुई हातको विनम्र अनुरोध छ। तपाईंहरु स्वास्थयमा नै राजनीति गरिदिनुहुन्छ अनि हामी कसरी बाँच्ने? त्यस्तै शिक्षामा गरिएको राजनीति त विद्यमान नै छ। अनि कसरी बढ्छ हाम्रो समृद्धि?
'देश विकास अवश्य हुने छ' भन्दै भ्रामक तर्क नदिनुहोला। ठोकेर भन्छु, देश विकास कदापि हुँदैन। अझै पनि दुर्गम गाउँका सनमको घरमा बत्ती छैन। इन्टरनेटको कुरा त परै जाओस्। विमलाले २ घण्टाको बाटो हिँडेर पानी ल्याउँछिन्। रमेश अझै टुकी बाल्दै आफ्नो परीक्षाको तयारी गर्दै छ।
'ए तैँले दुर्गम गाउँको कुरा गर्छस?' भन्दै औँला नठडाइदिनु होला। किनभने सहरमै बसेको श्यामले पनि दुई छाक खान पाएको छैन। जागिरको सिलसिलामा भौतारिँदै गल्लीमा रात बिताइरहेको छ।
हामी नेपाली सोझा, सरल, शान्त अनि सामान्य छौँ। उसै पनि दुःखमा सन्तुष्ट खोज्ने हामी नेपाली न हौँ। खाने त एक पेट हो, लगाउने एक जोर अनि जमिन तीन हातैको सुत्नलाई प्रशस्त छ भन्दै आएका हामीलाई अरु केही आवश्यक नै छैन।
खान बस्न र सुत्न पाए हामीलाई यही नै प्यारो। तर खै त पूरा भएको? वर्षौँदेखि राजनीति गर्नुभयो तर जनताको भोके पेटमा अन्न अनि घाउमा मल्हम लगाउन खोज्नु भएन। अनि किन भन्दैनन् त जनता, 'न त आश न त जोश नै!'
सबै जना थाकिसके। ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको सत्यता देखाउन लाग्नु भएका हरेक नेताप्रति हाम्रो घोर असन्तुष्टि छ।
अरु कोही माग्न चाहिनँ तर एउटा कुरा मागेँ। हजुरको समयावधि सकिएपछि प्रधानमन्त्री पदको लागि अरु कोही आउनु होला। तर तिनै पुराना नेताहरुलाई देख्न नपरोस् भन्ने मेरो धारणा हैन, यो समस्त नेपालीको धारणा हो।
हामी नयाँ अनुहार, साँच्चै देशभक्त, कर्मठ र जुझारु नेताको प्रतिक्षामा छौँ। यसको लागि हजुरले जे जति भूमिका खेल्नुपर्छ, निर्धक्क भएर खेल्नु होला। हाम्रो साथ र सहयोग छ।
हामी नेपाली भएर बाँच्न चाहान्छौँ। गर्व गर्न चहान्छौँ। सुखमा रम्न चहान्छौँ। त्यसैले यति कुराको बन्दोबस्त मिलाइदिनु होला भन्दै आशाको साथ पत्रलाई यहीँ बन्द गर्न चाहेँ।
भवदीय
यो देशको नागरिक।