बधाई लुट बहादुर ज्यु,
निकै प्रतिस्पर्धा माझ ८४ मतले नेपाली काँग्रेसका मेयर उम्मेदवारलाई पछि पारेर पहिलो कोहलपुर मेयरको उपाधि जित्न सफल हुनुभयो। टक्कर त युवा उम्मेदवारका माओवादीका नरेन्द्र न्यौपानेले पनि दिने आंकलन गरिएको थियो, तैपनि कोहलपुरबासीले तपाईलाई विश्वास गरे। मेयरको उम्मेदवारी दिने बेला राजनैतिक जीवनको उत्तरार्द्धमा पुग्नुभएका तपाईंभन्दा पनि अन्य युवा उम्मेदवार कोहलपुर एमालेबाट योग्य छन् भन्ने चर्चा पनि नचलेका हैनन। तथापि, तपाईंले बाजी मार्न सफल हुनुभयो। तपाईंभन्दा पनि एमाले पार्टीलाई विश्वास गरेर भोट दिनेको सङख्या बढी छन् भनिन्छ। खैर, मेरो पत्रको विषय पार्टी र उम्मेदवार भन्दापनि तपाईं एक मेयरको रुपमा कोहलपुरलाई अगाडि बढाउन सक्ने आधारको विषयमा लेख्दै छू।
केही समयअघि तपाईंको कोहलपुरमा ह्याट्रिक सम्बन्धी लेख पढेको थिएँ। कोहलपुरलाई पर्यटक नगरी बनाउने तपाईंको चाहना सकारात्मक लाग्यो। इच्छा र चाहना नराख्ने नेता बिरलै भेटिएलान् यहाँ, तर ती ईच्छा र चाहना पूरा गर्ने नेता १० प्रतिशत मात्रै हुन्थे भने पनि देश निकै अघि बढिसक्थ्यो। तपाईंको आफ्नो योजना पूरा गर्ने रोडम्याप के –के छन्, त्यो त बिस्तारै कोहलपुरबासीले देख्ने नै छन्। अहिलेलाई मैले तपाईंले कोहलपुरलाई पर्यटक नगरी बनाउनका लागि गर्न सक्ने कामका बारे सुझाब यसै पत्र मार्फत लेखेको छू।
कोहलपुर बसपार्कपर्यटक नगरी बनाउने पहिलो चुनौती बसपार्क सुधार नै हो। पर्यटकले देख्ने पहिलो दृश्य एअरपोर्ट या बसपार्क नै हो। सो क्षेत्र आकर्षक भएमा पर्यटकमाथि पहिलो छाप राम्रो पर्छ। कोहलपुर बसपार्क सुधारको लागि तपाइले निम्न कार्य गर्न सक्नुहुनेछः
– स्क्रिन डिस्प्लेमा बसको रूट एवं भाडा विवरण
– वातानुकूलित सशुल्क बिश्राम घर
– सुधारिएको सफा शौचालय एवम् स्नान गृह
– पिच गरिएको बसपार्क
– बसपार्क वरपर बृक्षारोपण
– बसपार्क सफाइ गर्न केही कर्मचारी
– बसपार्क प्रवेशद्वार निर्माण
चपरगौडी पुलबाट रोहिणी पुलसम्म सडक विस्तारपश्चिममा धनगढी, महेन्द्रनगरलगायत उत्तरमा सुर्खेत, दैलेखबाट आउने गाडी खाजा वा खाना खाने ठाउँको रुपमा चर्चित छ चपरगौडी क्षेत्र। मध्यरात १२ बजे आसपाससम्म पनि बसहरुको चहलपहल रहन्छ त्यो ठाउँमा। त्यो क्षेत्रको सडकलाई फराकिलो बनाउने अनि सोलार जडित बत्तीहरु सडकको दुवैतर्फ लगाउनाले कोहलपुरको स्तर निकै बृद्धि हुने थियो। त्यसो हुन सकेमा टाढाको यात्रुमात्र होइन कोहलपुरकै जनताहरु पनि रात्रिकालीन जीवनको मजा लिन सक्ने थिए कि।
कम्तिमा १०० जना क्षमताको कोहलपुर होस्टेलप्राकृतिक एवम् अन्य विपत्ति कुन बेला आउँछ थाहा हुँदैन। सन् २०१५ को भूकम्पले धेरैको घरबार उड्यो अनि पालमुनि बस्न बाध्य भए। सरकारको यस्तो विपत्तिको बेलाको तयारी कमजोर देखियो। कोहलपुरमा त्यसको असर नपरे पनि, अन्य विपत्तिको तयारीको लागी कम्तिमा १०० जना बस्न मिल्ने होस्टल या सामुदायक भवन बनाउन सक्नुहुन्छ। त्यस्तो बेला बाहेक अन्य समयमा त्यसलाई पर्यटकले सुलभ मूल्यमा बस्न मिल्ने होस्टेलको रूपमा प्रयोग गर्न सक्छन्।
हरित कोहलपुर अभियानयसअघि पनि हरित कोहलपुर कार्यक्रमको लागि नेपाल सरकारबाट १ करोड निकासा भएको सुनियो। तर काम खासै प्रभावकारी भएको देखिएन। रकम राम्रोसँग प्रयोग नगरिएको समाचार स्थानीय अनलाइन पत्रिकामा आए। यो कार्यक्रमलाई पुनः प्रभावकारी रुपमा अगाडि बढाउन सकिए कोहलपुर पर्यटनलाई टेवा पुग्ने देखिन्छ। हरित कोहलपुर अन्तर्गत कुहिने र नकुहिने फोहोरको बर्गिकरण, सार्वजनिक स्थलमा डस्टबिन, सार्वजनिक स्थलमा सरसफाई कार्यक्रम र फोहोर गर्नेलाई कारबाही, वृक्षारोपणलगायत कार्यक्रम गर्न सक्नुहुनेछ।
कवर्ड हल र दौड ट्रेक अनि राष्ट्रिय स्तरको प्रतियोगिताकोहलपुरमा २ देखि ३ ओटा भलिबल कोर्ट र सोही संख्यामा ब्याटमिन्टन कोर्ट रहने गरी कबर्ड हल बनाउन सक्नुहुनेछ। साथै विभिन्न खाले एथलेटिक्स ट्रेक निर्माण गर्नाले पनि खेल पर्यटनको विकाससँगै स्वस्थ कोहलपुर बनाउन सहयोग पुग्ने थियो।
यसैगरी राष्ट्रिय स्तरीय ब्याटमिन्टन, भलिवल, क्रिकेट या एथलेटिक्स प्रतियोगिताको बार्षिक आयोजना गर्नाले पनि कोहलपुरमा पर्यटनको विकासमा निकै मद्दत पुग्ने देखिन्छ।
यी बाहेक अन्य कार्यहरु बूँदागत रुपमा भन्नुपर्दाः
– कोहलपुर अन्तर्गत पर्ने पूर्व
–पश्चिम र रत्न राजमार्गमा प्रवेशद्वार निर्माण एवम् वृक्षारोपण
– कौशिलानगर क्षेत्रमा होमस्टेको प्रबर्द्धन
– डुडुवा खोलामा बोटिङ सेवा
– विभिन्न स्थानमा ठाउँहरुको संकेत विवरण अनि बसपार्क क्षेत्रमा सानै भए पनि पर्यटक सूचना केन्द्र
– पर्यटकको तथ्याङ्क एवं पर्यटन विकासमा सूचना प्रविधिको प्रयोग
कोहलपुर –११ , हाल फिनल्याण्ड