हिमालपारीको जिल्ला मुस्ताङमा अत्यधिक चिसो र हिउँ पर्न थालेपछि यहाँ सञ्चालित सरकारी विद्यालय, गुम्बा र निजी विद्यालय बन्द हुन थालेका छन्। उपल्लो मुस्ताङमा सञ्चालित विद्यालयले पोखरा लगेर घुम्ती कक्षा सञ्चालन गरेका छन्।
मुस्ताङमा आधारभुत र माध्यमिक तह गरेर ५६ वटा सरकारी विद्यालय र ८ वटा गुम्बा बिद्यालय सञ्चालनमा छ। जसमध्ये १ देखि ३ कक्षासम्म पढाई हुँने १९ वटा विद्यालय,१ देखि ५ सम्मको २३ वटा विद्यालय,१ देखि ८ सम्मको ६ वटा विद्यालय,१ देखि १० सम्मको ४ वटा विद्यालय,१ देखि १२ सम्मको ३ वटा विद्यालय र ब्याचलर सम्मको पढाई हुँने १ मात्र जनहित क्याम्पस छन्।
त्यस्तै १ देखि ५ कक्षासम्म २ वटा ,१ देखि ८ कक्षासम्म १ र १ देखि १० सम्मका १ वटा गरेर ४ वटा निजी विद्यालय सञ्चालित छन्।
भौगोलिक बनाबट र प्राकृतिक संरचनाका कारण हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा हिउँदयामको मौसमका कारण अत्यधिक चिसो बढ्ने र हिमपातले जनजिवन कष्टकर हुँने हुँदा यस्ता बिकट जिल्लामा संञ्चालित बिद्यालयलाई बेशीतर्फ स्थान्तरण गरिदै आएको छ। हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरलानाका आसपास छोसेर, छोनुप, सुर्खाङ, चराङ, मराङ, घमी र लोमान्थाङ आदि स्थानमा सञ्चालित विद्यालय कात्तिक महिनामै बन्द हुँन्छन्।
उपल्लो मुस्ताङमा अत्याधिक चिसो बढ्ने र हिमपातले जनजिवन प्रभावित हुँने हुँदा यहाँ सञ्चालित सरकारी र गुम्बा विद्यालय तल्लो मुस्ताङमा सञ्चालित विद्यालयभन्दा डेढ महिना अगावै बन्द हुँने गरेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक टंकराज बरालको भनाई छ।
उनले जिल्लाको दालोमे र लोमान्थाङ गाउँपालिका भित्र सञ्चालित सरकारी र गुम्बा बिद्यालयका बिद्यार्थीलाई पोखराका बिभिन्न स्थानमा लगेर घुम्ती कक्षा सञ्चालन गरेर पढाईलाई निरन्तरता दिने गरेको निरीक्षक टंकराज बरालले बताए। उनका अनुसार उपल्लो मुस्ताङका १० वटा सरकारी बिद्यालय र ८ गुम्बा बिद्यालयले वर्षेनी पोखराका बिभिन्न स्थानमा घुम्ती कक्षा संञ्चालन गरेको बताए ।
हिउँदे चिसो छल्न बेशी झरेका उपल्लो मुस्ताङमा सञ्चालित १८ सरकारी र गुम्बा बिद्यालयले पोखराका बिभिन्न स्थानमा लगेर ३ महिनासम्म घुम्ती कक्षा संञ्चालन गर्छन्।
कात्तिक महिनामा बेशी झरेका यी विद्यालयले वैशाखको पहिलो सातादेखि पूनःसाविक अनुसार कक्षा सञ्चालन गर्ने बिद्यालय निरीक्षक बरालको भनाई छ।
यस्तै मुस्ताङका ३ स्थानीयतहमा संञ्चालित ३६ विद्यालयलाई भने २ महिना मात्र बिदा दिईन्छ। नेपाल सरकार दिने बिभिन्न सार्वजनिक बिदामा समेत कक्षा संञ्चालन गरेर मंसिर मसान्तसम्म बिद्यालयको परिक्षा सकेर हिउँदे बिदा गरिन्छ। यसरी बिद्यालय बन्द गर्दा जिल्ला शिक्षा कार्यालयले क्यालेन्डर समेत प्रकाशित गरेर बिद्यालयको कार्यतालिका प्रकाशित गर्ने गर्छ।