हुम्लामा रुघाखोकीले ६ जनाको ज्यान गएको छ।
मंसिरको अन्त्यमा ३ र पुसमा ३ गरी ६ जनाको मृत्यु भएको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले सेतोपाटीलाई जानकारी दिए।
‘अहिलेसम्म ६ जनाले ज्यान गुमाए। अस्ति मात्र मेरै काका पनि बित्नुभयो। प्रत्येक घरमा केटाकेटी र वृद्धवृद्धा बिरामी छन्। गाउँमा कति बिरामी परेका छन्, एकिन छैन,' रोकायले टेलिफोनमा भने, ' मुगुको गमगढीबाट औषधि मगाएका छौं। १/२ दिनमा औषधि आउँछ कि भन्ने अाश छ।’
रुघाखोकीले सर्केगाड- ७ का भ्याले कार्की, खोइया शाही, गोर्या जैसी, सोनाम शाही र रुपबहादुर शाही र वडा नम्बर ८ मा शंकरे रोकायको ज्यान गएको हो।
उनीहरू सबै ६० वर्ष बढीका थिए।
‘मंसिर अन्त्यतिर ३ जनाको मृत्यु भएको हो। बुढापाकाको मात्र मृत्यु भएकाले यस्तो अवस्था आउने आँकलन गरेका थिएनौं,’ रोकायले भने, ‘अहिले गाउँभरि नै रुघाखोकी, ज्वरो, घुँडा दुख्ने समस्या विकराल छ।'
जिल्ला जनस्वाथ्य कार्यालय हुम्लाले १ डाक्टर, १ हेल्थ असिस्टेन्ट, १ ल्याव असिस्टेन्ट र १ कार्यालय सहयोगी औषधि लिएर बुधबार बिहान सर्केगाड गएको जनाएको छ।
जनस्वास्थ्य प्रमुख रञ्जीतकुमार यादवले पनि आफूहरूलाई यसबारे गाउँपालिकाले कुनै खबर नगरेको बताए।
‘सर्केगाडमा रुघाखोकीले मानिसको मृत्यु नै भएको हामीले पनि मिडियाबाट थाहा पाएका हौं। गाउँमा विकराल अवस्था भए पनि हामीलाई कसैले खबर गरेनन्। तर हामीले सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने समस्याले विकराल रूप लिएको भन्ने जानकारी पाएपछि त्यसतर्फ टोली पठाइसकेका छौं,’ यादवले भने।
स्वास्थ्य मन्त्रालयले भने हुम्लामा रुघाखोकीले मान्छे मरेको खबर नआएको बताएको छ।
‘हामीले एक महिना अगाडि सुर्खेत, मुगु लगायतका जिल्लामा रुघाखोकी लगायतको समस्यालाई समाधान गरेका हौं। तर हुम्लामा भएको समस्याबारे भने जानकारी भएन,’ मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले भने।