हुस्सु र बादलले राम्ररी घाम लाग्न नपाए पनि काठमाडौं उपत्यकामा केही दिनभित्र पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अघिल्लो साता परेको पानी र नजिकैका डाँडाकाँडामा भएको हिमपातले पछिल्लो समय उपत्यकामा बिहान र साँझ बढी चिसो महशुस हुन्छ।
‘बुधबार बिहान हुस्सु लागेको छ, आकाशमा हल्का बादल पनि देखिएको छ,’ पौडेले भने, ‘तर पानी पर्ने सम्भावना भने छैन, किनकी यो जलवाष्प बोकेर आएको नभई यहीँको स्थानीय बादल हो।’
अघिल्लो साता पश्चिमी वायूका कारण देशभरि वर्षा भएको थियो।
महाशाखाका अनुसार बुधबारको काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस छ। यो वर्ष काठमाडौंको तापक्रम शुन्य डिग्री सेल्सियसमा पनि झरेको थियो।