पर हुनेले मोबाइलमा टाइप गरेर सन्देश पठाउँदा समस्या हुँदैन। तर, आमने सामने रहेको मानिसले पनि टाइपै गरेर संवाद गर्नुपर्दा साह्रै असजिलो लाग्दोरहेछ।
झम्कप्रसाद गौतमको चाहिँ जिन्दगीका हरेक क्षण त्यो असजिलोबाटै गुज्रिरहेको छ।
अरूले बोलेको उनी सुन्न सक्दैनन्। अरूलाई केही भन्नुपर्दा उनले बोलेकै बुझिन्नँ।
एकैछिनको भेटघाटमा सबैथोक बुझेर समाचार बनाउनुपर्ने मानिसका लागि चाहिँ यो झनै जटिल प्रकृया थियो।
उनी काठमाडौं आइपुगेको जानकारी र भृकुटीमण्डपमा भेट्ने हाम्रो योजना म्यासेजबाटै तय थियो। पुगिसकेपछि फोन गर्दा उठाएनन्।
‘मैले फोनमा कुरा कसरी गर्न सक्छु? कता हुनुहुन्छ म्यासेजबाटै भन्नुहोस्’ उनले लगत्तै पठाएको म्यासेजले म झसंग भएँ।
हामी भेटियौं र भृकुटीमण्डपकै एउटा कुनामा कम्प्युटरमा टाइप गर्दै प्रश्नोत्तर सुरू भयो।
उनी त्यहीँ आयोजित क्यान इन्फोटेकमा आफ्ना निम्ति उपयोगी कुनै प्रविधि छ कि भनेर खोज्न आएका रहेछन्।
‘यसपाला बहिराहरूका लागि खास नयाँ केही आएको रहेनछ,’ प्रदर्शनीबाट निस्केका उनले थपे, ‘केवल नेत्रहीनहरूका निम्ति कामलाग्ने आविष्कारहरु मात्र देखियो।’
हामी विषयवस्तुमा केन्द्रीत भयौं।
उनी लेख्न थाले।
झम्कप्रसाद मकवानपुर पदमपोखरीका बासिन्दा रहेछन्।
‘हेटौंडाबाट १३ किलोमिटर पश्चिम भएता पनि उतिबेला असाध्यै दुर्गम थियो,’ उनले लेखे, ‘मैले ५८ सालमा एसएलसी दिँदासम्म पनि टुकी बालेर पढ्नुपथ्र्यो।’
जन्मदाखेरि सामान्य अवस्थाका झम्कप्रसादका विपत्तिको दिनहरु सात वर्ष पुगेपछि सुरूभएको थियो। उनलाई अचानक टाइफाइड भयो। त्यसपछि सुन्ने शक्ति गुम्यो।
‘सुन्ने शक्ति मात्र होइन, अलिक पछि गएर मेरो बोलीमा पनि समस्या आउन थाल्यो,’ उनले लेखे, ‘मैले बोलेका कुरा पनि मानिसहरुले बुझ्न छाडे।’
त्यसपछि लामो समय बोलीकै निम्ति वीर अस्पतालमा उनको प्रयास चल्यो।
‘वाक प्रशिक्षण केन्द्रमा डा. लक्ष्मी नारायणले उपचार गर्नुभयो,’ उनले उल्लेख गरे, ‘त्यहाँ पाँच वर्षसम्म वाक प्रशिक्षण लिँदा पनि सफलता मिलेन।’
सांकेतिक भाषामा चाहिँ राम्ररी संवाद गर्ने उनी सँधै व्यवहार गरिरहने मानिसका कुरा चाहिँ ‘लिप रिडिङ’बाटै ठम्याउन सक्छन्।
तर, यो सबै त धेरै पछिको कुरा। सुरूमा त विस्तारै सुन्न र बोल्न छाडेका उनलाई स्कुलको कक्षाबाटै आतंक सुरू भयो। कक्षामा पढाएको कुरै बुझिँदैन थियो। त्यस्तोमा उनले किताबबाट सारेर ल्याउने काम मात्र गर्थे।
‘शिक्षकहरु मेरो अवस्थाबारे अनभिज्ञ भएकैले स्कुलमा सँधै कुखुरा बनेरै मैले पाँच कक्षा पास गरेको हुँ,’ उनले लेखे, ‘छ कक्षामा पुगेपछि बल्ल सांकेतिक भाषा र लिप रिडिङ सिक्न सुरू गरेँ।’
त्यसपछि बल्ल सबैलाई उनको अवस्थाबारे जानकारी भयो र उनले पनि अरुले भन्न चाहेको कुरा बुझ्नसक्ने भए।
तर, संकट टरेन। पाँचको पढाइ पुरा गर्दानगर्दै बा, आमा र एउटा भाइ सहितको चारजनाको परिवार माओवादीका कारण विस्थापित हुनपुग्यो।
‘खोल्साको पाखामा पर्ने एक मात्र हाम्रो घर एकान्तमा थियो,’ उनले लेखे, ‘त्यहाँ कहिलेकाहिँ नचिनेका मानिसहरु आउँथे। बस्थे खान्थे। त्यसपछि सेना आएर हामीलाई माओवादी पालेको आरोप लगाउन थाले। यसरी सेनाले दुःख दिनथालेका थिए। लगत्तै फेरि माओवादी आएर सेनालाई कुरा लगाएको भन्दै हाम्रो ज्यानै जाने अवस्था आएपछि गाउँ छाडेर भाग्यौं।’
यसरी छाडेर हिँडेपछि माओवादीलाई लुक्न र भाग्न त्यो एकान्तको घर झनै सजिलो भइदिएछ।
अलिअलि गरेर २०६० सालपछि भने झम्कप्रसादको परिवारले त्यो घर चटक्कै छाडेर काठमाडौं बस्न सुरू गरे।
‘काठमाडौं आएपछि बहिरा स्कुलमा पढ्न पाएँ,’ उनले लेखे, ‘मेरो पढाइका निम्ति पिसकोर स्वयंसेवकको सहयोग पनि पाउन थालेँ।’
त्यस बहिरा स्कुलमा आठ कक्षापछि प्राविधिक तालिम दिइन्थ्यो। झम्कप्रसादलाई चाहिँ तालिम नलिएर पढाइ नै गर्ने मन थियो।
‘हामीले एसएलसीसम्म पढ्न पाउनुपर्छ भनेर मेरै नेतृत्वमा आन्दोलनसमेत चल्यो,’ उनले लेखे, ‘त्यसपछि स्कुलले मलाई निकालिदियो।’
त्यसपछि झम्कप्रसाद फेरि गाउँ फर्केर उतै नौ र दस कक्षा पढे।
‘त्यो बेला कक्षाका एक सय चारजना विद्यार्थीमध्ये मेरो अवस्था बेग्लै भएकाले सरहरुले निकै मेहनत गरेर मलाइ पढाउनुभएको थियो,’ उनले टाइप गर्दागर्दै टाउको हल्लाए र फेरि लेखे, ‘मलाइ सँधै पहिलो बेन्चमा राख्नुहुन्थ्यो र घरि घरि सम्झाउनु हुन्थ्यो।’
यसरी २०५८ सालमा उनले एसएलसी उत्तीर्ण गरे। झम्कप्रसादका अनुसार त्यतिबेला कक्षाभरिका एक सय चारजना विद्यार्थीमध्ये केवल चारजना मात्र उत्तीर्ण भएका थिए।
‘मेरो ब्याचका साथीहरु अहिले सरकारी अधिकृत छन्,’ उनले लेखे, ‘दसैंमा गाउँ आएका बेला भेटघाट हुनेगरेको छ।’
आफ्नो भाइ पनि यतिबेला त्रिभूवन विश्वविद्यालयमा स्थायी जागिरे रहेको जानकारी दिँदा उनको अनुहारमा गर्व देखिन्थ्यो।
के झम्कप्रसादले चाहिँ सरकारी सेवाका निम्ति प्रयास गरेनन्?
‘गरेँ नि,’ उनले टाइप गर्न छाडेर नमिठो अनुहार लगाए अनि जिब्रो पड्काउँदै हातका पन्जा हल्लाए।
‘स्नातक गरिसकेपछि दुई पटक लोकसेवा दिएकोमा दुवैपटक लिखितमा पास भएको थिएँ,’ उनले टाइप गरे, ‘तर, अन्तवार्तामा दुवैपटक फालिदिए।’
के भनेर फाले त?
त्यसको जवाफमा उनले थोरै लेखे र बाँकी इशारा गर्दै बताए। जसको आशय थियो, ती अन्तवार्ता लिनेहरुले एकछिन कुरा गर्न खोजेपछि उनको अवस्था बुझ्ने बित्तिकै नमस्ते भनेर पठाइदिँदा रहेछन्।
एसएलसी पास गरेपछि झम्कप्रसादले मकवानपुर क्याम्पसमा भर्ना लिए।
‘गाउँबाटै ओहोर दोहोर गर्नखोज्दा माओवादीबाट पिटाइसमेत खानुप¥यो,’ उनले लेखे, ‘सेनाले पनि पिटेका थिए।’
उनलाई किन यी दुवैले देखिसहँदैनन् भन्ने चाहिँ कहिल्यै थाहा भएनछ।
त्यसपछि उनले पिसकोरका स्वयंसेवक जेम्सलाई फेरि आफ्नो अवस्थाबारे अवगत गराए। जेम्सले उनलाई काठमाडौंकै ग्लोबल कलेज अफ म्यानेजमेन्टमा पढ्ने बन्दोबस्त मिलाइदिए। त्यहीँबाट उनले बाह्रसम्मको पढाइ गरेछन्।
त्यसपछि त्रिचन्द्र क्याम्पसबाट स्नातक र प्राइभेट पढाइबाटै त्रिभूवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तरसमेत गरिसकेका छन्। झम्कप्रसाद यतिबेला जनप्रशासनमा अर्को स्नातकोत्तरको तयारी पनि गरिरहेका रहेछन्।
३३ वर्षीय झम्कप्रसादले पाँच वर्षअघि हेटौंडामै मागीविहे गरेका थिए। बिहे गरेपछि श्रीमतीलाई आफैंले पढाएर प्राइभेटबाटै एसएलसी उत्तीर्ण गराइदिएका छन्। महाभूकम्पको तीन दिनपछि जन्मेकी छोरी यतिबेला बसुन्धारास्थित स्कुलमा ‘प्लेग्रुप’की छात्रा छिन्।
‘काठमाडौं आएपछि परिवार यतै बसेका छन्,’ उनले लेखे, ‘म चाहिँ गाउँबाट ओहोर दोहोर गर्छु।’
झम्कप्रसादका बुवा आमाले महाराजगञ्ज ब्यारेकको पछाडि पूजा सामाग्रीको पसल चलाउँदै आएका छन्।
झम्कप्रसादले नुवाकोटको श्री भैरवी माध्यमिक विद्यालयको श्रोत कक्षामा पाँच वर्ष बहिराहरुलाई पढाउने काम पनि गरेका थिए। पछि शिक्षकको लाइसेन्स नभएकै बहानामा उनलाई त्यो जागिरबाट पनि हटाइयो। त्यसपछि ‘नेशनल डेभलपमेन्ट भोलन्टियर सर्भिस’ अन्तर्गत ताप्लेजुङ पुगेर दुई वर्ष काम गरे। त्यो कार्यक्रममा कुनै पनि स्वयंसेवकले दुई वर्षभन्दा बढी कामै गर्न नपाउने रहेछन्।
उनी फेरि बेरोजगार भए। २०६८ र २०६९ सालमा लोकसेवा परीक्षा दिएकामा बहिरा भएकैले दुवैपटक अन्तवार्ताबाट फालिए। उनले महिनाको चार पाँच हजार मात्र तलब पाउनेगरि काम भेटिरहन्थे। उनी त्यसैलाई स्वीकारेर गुजारा चलाउँथे।
यस्तैमा दुई वर्षअघि उनले विश्वबैंकबाट सञ्चालित ‘सुनौला हजार दिन परियोजना’मा काम पाएपछि खोटाङ पुगेछन्। त्यहाँको जिल्लाविकास समितिमै बसेर काम गर्दा त्यो परियोजना लागूभएको १५ वटा जिल्लामध्येकै उत्कृष्ठ अर्थात् ९० प्रतिशत कार्यसम्पादन भएको भनेर प्रशंशित पनि भए। तर, भर्खरै त्यो परियोजना समाप्त भयो।
‘त्यसपछि काठमाडौंमा अनेकतिर प्रयास गरेँ,’ उनी लेख्छन्, ‘जसले पनि अन्तवार्ता लिने बेलामा मेरो अवस्थाप्रति दया देखाएजस्तो गर्छन्। तर, रोजगार दिँदैनन्।’
पछिल्लो समय जर्मन विकास संस्था जीआइजेडमा पनि उनी लिखित उत्तीर्ण भएछन्। अन्तवार्ताको बेला चाहिँ ‘संवाद नै गर्न नसक्ने भएपछि कसरी काम गर्नुहुन्छ?’ भन्दै फर्काइदिएछन्।
‘यसरी सबैतिर हण्डर खाएपछि साह्रै चित्त दुख्यो र अब आफ्नै काम गर्ने निधोमा पुगेँ,’ उनी भन्छन्, ‘केही महिनायता पदमपोखरी गाउँ कै आफ्नो पाखोबारीमा गाई पालन गर्ने योजना बनाइरहेको छु।’
तर, त्यो पनि झम्कप्रसादका लागि के सजिलो हुन्थ्यो? बैंकले सहजै रिन दिए पो!
बैंकको प्रकृया नचल्दै पनि झम्कप्रसादले दुई वटा दुधालुसहित चार वटा गाई किनेर काम थालिसकेका छन्। सहयोग गर्नका निम्ति आफूजस्तै एकजना घरबार थाहा नभएका बहिरालाई रोजगार पनि दिएका छन्।
कृषि कार्यालयको निरन्तर सम्पर्कमा रहनुका साथै घाँसका बिउ र अन्य विषयहरु बारे नियमित परामर्श लिइरहेका छन्। त्यसैगरि कृषि पढेका साथीभाइहरुसँग पनि उनी नियमित सम्पर्कमा छन्। खेतीकिसानी परिवारको विरासत त छँदैछ। यतिबेला गाउँमा बाँझै रहेको एक बिगाहा पाखोलाई फेरि हराभरा बनाउने सपनामा उनी अघि बढेका छन्।
‘घाँस रोप्ने र नयाँ गोठ बनाएर थप गाइ पाल्ने योजना बनाएको छु,’ उनी लेख्छन्, ‘त्यसैको निम्ति बैंकको प्रकृया चलाइरहेको छु।’
उनलाई दसदेखि बाह्र लाख रुपैयाँ ऋणको खाँचो रहेछ। त्यसका निम्ति धेरै बैंक धाएछन्। सबैले उनको बहिरा अवस्था हेरेरै अस्वीकार गरिदिए। एनआइसी एसिया बैंकले चाहिँ उनलाई ऋण दिने संकेत दिएको रहेछ।
‘तर त्यो बैंकको ब्याजदर नै १७.५ प्रतिशत रहेछ,’ उनले लेखे, ‘त्यति धेरै ब्याज तिर्नुपर्नेगरि ऋण लिँदा त जोखिम हुन्छ भनेर आँट आएन।’
त्यसै क्रममा उनी दोश्रोपटक कृषि विकास बैंक पुगेछन्।
‘कृषि विकास बैंकमा पहिले जाँदा सरकारी अनुदानको कृषि ऋण अहिलेलाई सकिएको छ भनेर फर्काएका थिए,’ उनी लेख्छन्, ‘अहिले चाहिँ दिन्छु भनेर संकेत दिएकाले काम अघि बढिरहेको छ।’
यसरी दोस्रोपटकमा संकेत पाउनुको पनि कारण रहेछ। बैंककै हाकिमका भतिजा बहिरा रहेछन्। अहिले सात कक्षामा पढिरहेका ती बालकलाई पढाउने काम झम्कप्रसादले गर्दै आइरहेका कारण परिस्थिती सहज बनेको जानकारी उनले दिए।यतिबेला हेटौंडा–६ गौरीटारस्थित स्कुलमा मासिक साढे सात हजार लिएर उनी बहिरा विद्यार्थीहरुलाई पढाउने काम पनि गर्दैैआएका रहेछन्।
‘सेतोपाटीमा समाचार आएपछि बैंकका गभर्नरले हामीजस्ता मानिसलाई खुदै सहयोग गर्ने चाँसो देखाउनुभएको थाहा पाएँ,’ झम्कप्रसादले थपे, ‘यसै फागुनमा सहुलियत ब्याजमारिन दिनेगरि धितो मूल्यांकन गर्न आउने सूचना पाइसकेको अवस्थामा यो प्रकृया सम्पन्न भइदिए म सफल कृषक र असल ऋणी बनेर देखाइदिन्थेँ।’