नेपाल प्रहरीले दरबारमार्गमा एक युवतीको सामुहिक बलात्कार भएको भनिएको घटनाको छानबिन दुई ओटा समिति बनाएर गर्ने भएको छ।
काठमाडौं प्रहरी परिसर एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति बनाएको तीन दिनपछि बिहीबार महानगरीय प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा अर्को छानबिन समिति बनाएको छ।
कार्यालयका एसएसपी पूर्णचन्द्र जोशी नेतृत्व नयाँ समितिले आजैबाट छानबिन सुरु गर्ने जोशीले बताए।
‘परिसरले बनाएको छानबिन समितिले आफ्नो तरिकाले अनुसन्धान गर्छ, हामीले आफ्नै तरिकाले गर्छौं,’ एसएसपी जोशीले सेतोपाटीसँग भने, ‘अनुसन्धान सकिएपछि सँगै बसेर दुबै रिर्पोट सार्वजनिक गर्छौं। ’
माघ ११ गते दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा आफूलाई बलात्कार भएको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्। घटना लुकाएर मिल्न दबाब दिएको रहस्य खुलेपछि इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीलाई नियन्त्रणमा लिएर १ नम्बर गणमा राखिएको छ, भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई अनुसन्धानकै लागि जिल्लामा तानिएको छ।
त्यसैगरी अभियुक्तलाई भगाएको आरोपमा सही चन्द भण्डारीलाई निलम्बन गरिएको छ।
यसैबीच आजै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्।
दरबारमार्गमा नवनिर्मित भवनको उद्घाटन गर्दै महानीरिक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर दोषीलाई मद्धत गर्ने प्रहरी अधिकारीमाथि कानुनबमोजिम कारवाही गरी पीडितलाई न्याए दिलाउने बताए।
‘सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु चानचुने कुरा होइन, त्यसमा जो प्रहरी कर्मचारी दोषि साबित हुन्छन्, कारवाही भोग्न तयार भए हुन्छ,’ उनले भने।
प्रहरीले पहिला बनाएको समितिका संयोजक जोशीले युवतीले बयान फेरेको बताएका छन्।
प्रहरीमा जानकारी गराएपछि सम्पर्कविहिन भएकी युवती बुधबार साँझ काठमाडौं प्रहरी परिसरमा उपस्थित भएर आफू सामूहिक बलात्कारमा नपरेको भन्दै बयान फेरेकी हुन्।
गत शुक्रबार राती ल्याण्डमार्क होटलमा आफू बलात्कृत भएको भन्दै ती युवतीले शनिबार बिहान दरबारमार्ग प्रहरीमा मौखिक जाहेरी दिएकी थिइन्।
छानबिन समितिसँगको छलफलमा उनले आफूले रामेछापका एक साथीसँग सहमतिमा नै शारिरीक सम्पर्क गरेको बताएकी हुन्।
उनी दबाबमा परेर बयान फेरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जोशीले 'कसैको दबाबमा बयान परिवर्तन गरेकी त होइनौं' भन्दा ती युवतीले कसैको बहकाउमा आफू नलागेको बताएको छानबिन समितिका एक सदस्यले सेतोपाटीलाई जानकारी दिए।