पाटनकी नयाँ कुमारीमा ५ वर्षिय निहिरा बज्राचार्य छानिएकी छन्।
चार प्रतिष्पर्धीलाई पछि पार्दै, ललितपुर चाकुपाट बस्ने ५ वर्षीया निहीरा ललितपुर पाटनको नयाँ कुमारी बनेकी हुन्।
चाकुपाट बस्ने मोहिनी बज्राचार्य र निरजरत्न बज्राचार्यकी छोरी निहीरालाई सोमबार एक कार्यक्रममाझ नयाँ कुमारीको रूमा छानिएको हो।
तलितपुर तलेजु मन्दिरका मूल पूजारी अनन्त ज्वालानन्द राजोपाध्याय र उनकी श्रीमती पूर्णभद्रा देवी राजोपाध्यायले प्रतिष्पर्धामा ल्याइएका ५ बालिकामध्ये निहीरालाई छनोट गरेका हुन्।
यो सँगै पाटनले करिब ४ वर्षपश्चात कुमारी पाउने भएको छ। यसअघि युनिका बज्राचार्य पाटनकी कुमारी थिइन्। उनी ६ वर्षकी हुँदा पाटनकी कुमारीको रूपमा छनोट भएकी थिइन्, अहिले १० वर्षकी भइन्। नयाँ कुमारी छानिएसँगै उनको विधिवत विदाई पनि हुँदैछ।
कुमारीको लागि नितिसा बज्रचार्य, निविता बज्रचार्य, सुरूभी बज्रचार्य, सोहना बज्रचार्य र निहिरा बज्रचार्यको नाम दर्ता भएको थियो। उनैबाट निहिरा बज्रचार्य छनोट भएकी हुन्।
कुमारीलाई जिवित देवीको रूपमा पुजिने गरिन्छ। पाटनमा बज्रचार्य समूहबाट कुमारीको छनोट हुन्छ। उनीहरूको छनोट तलेजु भवानीको पूजारीले गर्ने परम्परा छ।
‘कुमारीको छनोट गर्दा उनीहरुको चिना, राशि, गोत्र, नक्षत्र लगायतका विविध कुराहरु हेरिन्छ,’ रत्नकार महाबिहारका सह–सचिव सञ्जय शर्मा राजोपाध्यायले सेतोपाटीसँग भने, ‘त्यो सँगै उनीहरुको अनुहार पनि राम्रो हुनुपर्छ, शरीरमा कुनै खत नभएको, आखाँहरु पनि राम्रो र ३२ लक्ष्ण भएको हुनुपर्छ।’
पाटनमा कुमारीको छनोट प्रक्रियाको सुरुआतमा कुमारीको छनोट रत्नाकर महाविहारबाट नै हुन्छ। राजोपाध्यायका अनुसार कुमारीका लागि विहारमा रहेका कसैले पनि कुमारीको लागि नामावली दिन सक्छन्। यसै अनुरुप पछिल्लो पटक ३ जना र यो पटक ५ जनाले नाम दिएको उनले बताए।
पाटनको कुमारीको रुपमा दर्ता भएका पाँच जनाबाट रत्नाकर महाविहारमा दुई जना कुमारीको लागि छनोट भएका थिए। त्यसमा सोहना बज्रचार्य र निहिरा बज्रचार्य छनोट भए।
उनीहरुलाई तलेजु भवानीका पूजारीले विधिवत रुपमा पूजाआजा गर्दै चिना पनि हेरेर छनोट गरेका हुन्। महाविहारमा छनोट भएका दुई जनालाई पिम्बहालमा लगिएको थियो। पिम्बहालमा तलेजु भवानीकी पूजारी आमाले निहिरा बज्रचार्यलाई छनोट गरेकी हुन्।
काठमाडौंमा शाक्य समुदायबाट कुमारीको छनोट हुन्छ भने पाटनमा बज्राचार्य समुदायबाट कुमारी छनोट हुने चलन छ। योसँगै विविध कुराहरु पनि भिन्न छन्।
पाटनमा कुमारीको रेखदेख एवम् नित्यकर्मका निम्ति उनका बुवाआमा नै बस्ने गरेको पूर्वकुमारीको बुवा रमेश बज्रचार्यले बताए। ‘कुमारीले बिहान उठेर नित्य पूजा गर्नुपर्छ। त्यसका भेट्न आउनेलाई उहाँले दर्शन दिनुहुन्छ,’ उनले भने, ‘त्यस पश्चात हामीले चोखो गरेर खाना पकाएर उहाँलाई खुवाउँछौं। उहाँको शिक्षा दिक्षाका निम्ति शिक्षकहरु घरमै आउँछन्।’
पाटनमा छनोट भएकी कुमारीलाई फागुन ५ गते थपना गरिने राजोपाध्यले बताए। यो सँगै पुरानी कुमारीलाई विदाई गरिनेछ।
[caption id="attachment_129720" align="alignnone" width="1200"]
पाटनकी नयाँ कुमारी छानिएपछि आमा मोहिनी बज्राचार्यसँग बस्दै ५ वर्षिय निहिरा। तस्बिरः नारायण महर्जन[/caption]