साविक माहाभारा ५ होकलवाडीका प्रेम राईको घर स्थानीय कमल बनियानि खोलाको डिलमा छ।
उनको घर असअघि खोलादेखि झण्डै ५ सय मिटरको दुरीमा थियो। बर्षेनि खोलाले कटान गर्न थालेपछि उनको घर र खोला अब १५० मिटर मात्र नजिकको दुरीमा छ।
राज्य पुर्न संरचना आयोगले स्थानीय निकायको पुर्नसंरचना गर्दा साविकको सिङ्गो महाभारा गाविसलाई गौरिगञ्ज गाँउपालिकामा गाभ्यो। अहिले साविकको महाभारा गौरिगञ्ज गाँउपालिकाको वडा नम्बर ५ भएको छ।
महाभारा नदि कटानको मुख्य जोखिममा छ। वर्षेनि आउने भेलले एकै रातमा गाँउका खेति योग्य जमिन खोलाको बगर बनाउँछ।
होकलवाडीको सिंगो बस्तीलाई चारै तिरबाट नदिले घेरेको छ। पूर्वमा कन्काई नदि छ भने पश्चिममा कमल वनियानि खोला छ। यस्तै उत्तरमा कन्काई नदिको भङ्गालो पसेर अर्को खोला बनेको छ।
त्यो खोला पश्चिमको कमल वनियानिमा मिसिएको छ। दक्षीणमा कमल वनियानि र कन्काई नदिको दोभान छ। वर्षामा भेल आउँदा स्थानीय बासीन्दा उम्कने ठाँउ कतैबाट पनि हुँदैन। चारैतिर जलमग्न हुन्छ। भारि वर्षा भएपछि आउने बाढीले बिजुलीका पोल ढालिदिन्छ र गाँउ अन्धकार हुन्छ।
सञ्चार सेवा त्यै बेला ठप्प हुन्छ। गाँउमा वर्षाका वेला नत कोई पुग्नसक्छ नत कोई गाँउ बाहिर नै निस्कन सक्छ। सिंगो गाँउसँग मुलुककै सम्पर्क विच्छेद हुन्छ। नेपाल सरकारले दिएको दुई वटा डुंगा मध्ये एउटा गत वर्षको बाढीले बगायो।
अब एउटा डुङ्गाले गाँउका मानिस भेल चलेका बेला ओसार पसार गर्नुको विकल्प छैन।
चारैतिरबाट बाढी उर्लेपछि गाँउमा रूवावासी हुन्छ। बचाउ बचाउभन्दा कोही पुग्नसक्ने अवस्था हुँदैन। वडा नम्बर ५ का वडा सदस्यसमेत रहेका स्थानीय राजभक्त सुनुवारले भने बाढी आउनुपूर्व कि गाँउ छोड्नु पर्यो कि बगेर मर्न तयार हुनुपर्यो।
हुन त अहिलेसम्म एकाध बाहेक त्यस्तो मानवीय घटना भएको छैन। ‘पशुपंक्षी भने वर्षेनी खोलाले बगाएर मर्ने गरेका छन्। असार, साउन, भदौ र असोजको पहिलो सातासम्म प्राय गाँउ सुनसाननै हुन्छ। गाँउमा कुन बेला बाढी आउने भन्ने वारेमा स्थानीयलाई थाहै हुन्न,’ उनले भने, ‘हिमाल पहाड तिर वर्षा भयो भने माईखोलामा बाढी आउँछ।’
तराई खुलेका बेला हिमाल पहाडमा भारी वर्षा हुन्छ त्यसवेलाको बाढीबाट बच्न गाँउका अधिकांश बालबालिका, बिरामी, सुत्केरी र वृद्धवृद्धालाई अन्यत्रै सुरक्षित स्थानमा पुर्याउने गरिएको सुनवारले बताए।
एक दशक उता गाँउमा ७ सय घर थियो। अहिले ६९ वटा मात्र घरमा स्थानियको बसोवास छ। बाढीका डरले गाउँ रित्तीन थाल्यो।
‘२०६५ साल यता गाँउवाट ६३१ घरका मानिस विस्थापित भए। गाँउका हुने खाने अन्यत्रै बसाई गए, हुँदा खाने गाँउमै छन्,’ सुनवारले भने, ‘जग्गा जमिन भएर अन्यत्रै वसाई गएका स्थानीयको खेतवारीमा दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्छन् वसाई नगएका गाँउका स्थानियवासी।’
गाँउ पस्ने बाटो र त्यसमा खोला तर्ने पुल नहुँदा गाँउनै खाली हुने अवस्था छ। गाँउका बालबालिका पढ्न जिल्ला शिक्षा कार्यालयले २०६५ सालमा स्थानीय ईन्देणी प्राविलाई कक्षा ५ सम्मको स्वीकृत दियो। अहिले गाँउका ६५ बालबालिका त्यै विद्यालयमा अध्ययनरत छन्। वर्षाका बेला विद्यालय बिदा गरिन्छ। अधिकांश विद्यार्थी वर्षातका वेला गाउँबाहिर लगिएपछि बिद्यालय बन्द हुने गरेको स्थानीय मन्त्री लिम्वुले बताए।
आदिवासी जनजातिको वाहुल्यता रहेको होकलवाडी टापु सुगम जिल्लाको दुर्गम गाँउमा पर्छ। स्थानीयले भने, ‘कर्णाली खोज्न झापाली माहाभाराको होकलवाडी आए हुन्छ।
गएको साउन २८ र २९ गते आएको बाढीले स्थानीयको खेत वालुवाले पुरेको छ। उनीहरूले भने, ‘अब खेतमा पनि काँक्रा र तरवुजा मात्र फल्छ होला।’
गाँउसम्म पुग्न दुधे माहाभारा सडक छ। तर खोलामा पुल छैन। नेपाल ग्रामिण पुर्ननिर्माण संस्थाले २०६८/०६९ मा निर्माण गरेको कजवेलाई कन्काई नदिको भङगालोले डुवाउँछ । त्यै कजवे माथिबाट आपतकालिन अवस्थामा डुंगा चलाउनुपर्छ। बाढीले कजवे त वगाएको छैन तर त्यो कजवे हिउँदमा मात्र प्रयोगमा आउँछ। वर्षा लागेपछि बाढीले कजवे डुवाउने गरेको छ।
२६ वटा ह्मपाईप जडान गरिएको सो कजवे २६ लाखमा निर्माण भएको नेपाल ग्रामिण पुर्न निर्माण संस्था (आरआरएन) का तक्कालिन झापा संयोजक दुर्योधन अधिकारीले बताए।
त्यसअघि पनि सांसदकोषको ७ लाख रूपैया पूर्व सांसद दिपक कार्कीले कल्भर्ट निर्माणमा खर्चेका थिए। त्यसपछि तत्कालिन जिल्ला विकास समितिले १३ लाख कल्भर्टमा खर्च गरेको थियो। साविकको महाभारा गाविसले पनि ५ लाख कलभर्टमै खर्च गरेको थियो तर सांसद कोष, जिल्ला विकास समिति र माहाभारा गाविसको लगानि निर्माण भएका वर्षको एकै भेलमा वग्यो।
आरआरएनले निर्माण गरेको संरचना बचेको छ तर वर्षा लागेपछि कजवेमाथिबाटै पानी बग्न थालेपछि ७ वर्षको लगानी वालुवामा पानी भएको स्थानीयले बताए।
हिउँद लागेपछि स्थानिय कमलवनियानि खोलामा बाँसको पुल वनाएर आवत जावत गर्छन् तर वर्षा शुरु भएपछि मर्ने हो कि बाच्ने भन्दै हिउँद आउने दिनगन्ति शुरू गर्छन्।
स्थानीयको दैनिकी होकलवाडी टापुमा त्यति सहज छैन। वर्षामा खाद्यान्न संकट झेलिरहेका छन् होकलवाडीवासीले। स्थानीय भन्छन् मुलुक संचालनका लागि सबै तहको सरकार गठन भयो अब हामी कतिञ्जेल पीडा सहेर बस्ने? स्थानिय गौरिगञ्ज गाँउपालिका, जिल्ला समन्वय समिति, अब गठन हुने प्रदेश सरकार र केन्द्र सरकारसँग उनिहरुले भने, ‘सरकार हाम्रो गाँउ पस्ने खोलाको पुल कहिले बन्छ?’