हिमालपारीको जिल्ला मुस्ताङमा सोमबार राति परेको हिमपातका कारण जोमसोम–मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको छ भने उपल्लो मुस्ताङ जाने छुसाङ –लोमान्थाङ चल्ने सवारी साधन समेत हिमपातकै कारण रोकिएको सिमा प्रहरी चौकी लोमान्थाङले जनाएको छ।
उपल्लो मुस्ताङको छोसेर, छोनुप, सम्जुङ, सुर्खाङ, लोमान्थाङ, चराङ, मराङ, घमी र समरमा २ फिटसम्म हिउँ परेको सीमा प्रहरी चौकी लोमान्थाङका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए। उनका अनुसार भारी हिमपात भएपछि चिसो समेत अत्यधिक बढेको र स्थानीयवासी घर बाहिर समेत निस्कन नसक्ने अवस्था छ।
हिमपातकै कारण छुसाङदेखि लोमान्थाङ जाने ७० किलोमिटर सडक प्रभावित बनेको खनालले जानकारी दिए । सडक अवरुद्ध भएपछि चिसो छल्न बेशी झरेका स्थानीय घरफर्कने क्रममा बीच बाटोमै अलपत्र परेका छन् भने बिभिन्न कार्यालयमा कार्यरत कर्मचारी समेत कार्यालय फर्कने क्रममा बीच बाटोमै रोकिएका छन्।
तल्लो मुस्ताङको जोमसोम, मार्फा, टुकुचे, कोवाङ र लेतेमा समेत भारी हिमपात भएको भएको एक्याप जोमसोमले जनाएको छ।
जोमसोमदेखि मुक्तिनाथतर्फ जाने कालोभीर, खिङ्गा र झारकोट र कागबेनी आदि स्थानमा सडकमै भारी हिमपात भएपछि सडक अवरुद्ध भएको निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिए। मुक्तिनाथ जाने कालोपत्रे सडकमै २ फिटसम्म हिउँ जमेपछि दर्जनौ यातायातका साधन कागबेनीमै रोकिएको उनले बताए।
सडकमै बाक्लो हिउँका कारण सवारी साधन मुक्तिनाथ जान नसक्ने भएपछि मुक्तिनाथ मन्दिर पुग्ने नेपाली तथा भारतीय तिर्थालु ५ घण्टाको ठाडो उकालो उक्लन बाध्य भएका छन्।
हिउँदे ३ महिने चिसो छल्न बेशी झरेका स्थानीय, कर्मचारी र विद्यालयका विद्यार्थी जिल्ला फर्कने क्रममा हिउँ परेको हो। हिउँ परेपछि अन्यक्षेत्र प्रभावित बनेपनि यहाँका किसानमा भने नयाँ उत्साह पलाएको छ। हिउँ पर्दा जमिनलाई चाहिने आवश्यक चिस्यानको मात्रा पुग्ने र बायुमण्डलको कार्वनडाईअक्साड समेत हिउँमा मिसिएर जमिनको सतहमा आईपुग्ने भएकाले खेतियोग्य जमिनको उर्वराशक्ति बढ्ने मार्फा बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए।
हिउँ परेपछि मुस्ताङमा उत्पादन हुने स्याँउ, आलु, फापर, जौ, उवालगायत अन्य अन्नबाली फस्टाउने जामसोमका किसान अजित थकालीले बताए। हिमालापारीको जिल्ला मुस्ताङ स्याँउ उत्पादन प्रमुख केन्द्र भनेर चिनिने गर्छ। लामो समय सम्म पर्न नसकेको यो सिजनको हिउँले यहाँका किसानलाई राहत पुर्याएको थकालीले बताए।
मुस्ताङ घुम्न र मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकलाई समेत हिउँ खेल्ने अवसर मिलेको छ।हिउँमै बसेर फोटो खिच्न पर्यटक मात्र होईन यहाँका युवायुवती समेत तछाडा मछाड देखिएका छन्। केही दिनअघि फुस्रा देखिएका मुस्ताङका नाङ्गा डाडाकाँढा समेत हिउँले सेताम्मे भएका छन्। यसअघि एकपटक मात्र छिटफुट हिउँ परेका थियो।