अंग्रेजी शब्द प्लास्टिकलाई नेपाली भाषामा पगाल्न सकिने एक लचकदार पदार्थ भन्ने गरिन्छ जसको अर्को नाम ‘पोलिइथिन’ हो। तपाईहरूले कत्ति को याद गर्नु भएको छ, करिब(करिब तपाईको दैनिक जीवनलाई प्लास्टिकले पूर्ण रूपमा घेरेको छ। अहिले घुम्ने कुर्सीमा बस्नु भएको छ भने हेर्नोस् त त्यो प्लास्टिकले बनेको छ। अनि कम्प्युटर अगाडि छ र यदि डेक्सटप हो भने किबोर्ड, सीपीयू, चार्जर सबैमा प्लास्टिक छ।
खुट्टामा लगाउने जुत्तादेखि आकाशमा उड्ने बोइंग जहाजमा समेतमा प्लास्टिकको प्रयोग हुन्छ। प्लास्टिक प्रयोगमा कुनै ग्याप नै छैन र अहिलेको आधुनिक युगमा प्लास्टिकको प्रयोगले मानव जीवनलाई सरल बनाइदिएको छ। सन् १९०७ मा बेल्जियमका रसायनशास्त्री लियो बेकलाण्डले अमेरिकामा पोलीमराइज गरेर बेकलाइट बनाई प्लास्टिकको आविष्कार गरे र त्यसलाई प्लास्टिक नामाकरण गरे ।
थोरै परमाणविक मास भएको कार्बन, हाइड्रोजन, अक्सिजन, हेलोजन भएका अर्गानिक कम्पाउन्डलाई उत्प्रेरकको सहायताबाट पोलीमराइज गरेर विशाल परमाणविक मास भएको लचकदार पदार्थको कृत्रिम संश्लेषण गरेपछि बन्ने प्लास्टिक कृत्रिम जैविक यौगिक, सेन्थेटिक अर्गानिक कम्पाउन्ड हो। यो एक किसिमको लचकदार पोलिमर, बहुलक हो जसको लचकदार हुन सक्ने गुण प्लास्टिसिटिका कारण यसलाई चाहिएको आकारमा सजिलै परिवर्तन गर्न सकिन्छ।
प्लास्टिक धेरै प्रकारका हुन्छन्। प्लास्टिक बनाउँदा प्रयोग हुने अर्गानिक कम्पाउन्डमा भएको अणु र पोलीमराइज गरेर दिने अन्तिम आकारले प्लास्टिकको भौतिक गुण निर्धारण गर्दछ। जस्तै थोरै मास भएको अर्गानिक कम्पाउन्डलाई अत्यधिक पोलीमराइज गरेर विशाल मास भएको प्लास्टिकको निर्माण गरियो भने यस्तो खालको प्लास्टिक बाक्लो बलियो र कडा हुन्छ। यदि अर्गानिक कम्पाउन्डलाई सिमित समयसम्म पोलीमराइज गरेर थोरै परमाणविक मास भएको प्लास्टिकको संश्लेषण गरियो भने यस्ता प्लास्टिकहरू नरम र कमसल हुन्छ। एक लाइनमा लेख्नुपर्दा धेरै मास भएको प्लास्टिक सामान्यतय कडा र थोरै मास भएको प्लास्टिक सामान्यतय नरम हुन्छ। तर यस्तो किसिमको भौतिक गुण पोलीमर कस्तो किसिमको अणुले भनेको छ त्यसमा पनि भर पर्छ।
सामान्य जनजीवनमा प्रयोग हुने प्लास्टिक कसरी कुन अवस्थामा प्रयोग हुन्छ भन्ने उदाहरणहरू प्रशस्त छन्। उदाहरणस्वरूप हामीहरूले भन्ने पोलिथिनको प्लास्टिक अथवा पोलिथिनको पाइप त्यो पनि पोलिथिनको प्लास्टिक नै हो।
पसलवालाले बुझ्ने पनि पोलिथिन नै हो। त्यसको सही उच्चारण पोलिथिन नभई पोलिइथिन हो। ‘इथिन’ भन्ने ग्यासबाट पोलिइथिनको आविस्कार भएको हो। ‘इथिन’ ग्यास अथवा अर्गानिक कम्पाउन्डमा २ ओटा कार्बन र ४ ओटा हाइड्रोजन हुन्छ र मास जम्मा २८।०५ ग्राम पर मोल हुन्छ। यसलाई पोलीमराईज गरेर हजारौं गुणा विशाल मास भएको ठोस पदार्थमा परिवर्तन गरेर पोलिइथिनको संश्लेषण गरिन्छ। हरेक वर्ष करिब ८ करोड टन पोलिइथिन संसारभरिबाट उत्पादन हुन्छ।
अर्को उदाहरण पीभीसी पाइपलाई लिन सकिन्छ। ‘पी’ अर्थात पोली ‘भी’ अर्थात भाइनिल ‘सी’ अर्थात क्लोराइड अथवा भाइनिल क्लोराइडलाई पोलीमराइज गरेर पीभीसी पाइप बनाइन्छ। पीभीसी पाइपको प्रयोग धेरै ठाउँमा हुन्छ।
प्लास्टिकलाई चिसो पानीले कुनै असर गर्दैन। खाल्डोभित्र परेर माटोले पुरिएको प्लास्टिक धेरै वर्षसम्म जस्ताको तस्तै रहन्छ। माटोमा हुने सुक्ष्म जीवले प्लास्टिकलाई आक्रमण गर्दैन त्यसैले प्लास्टिक कुहिँदैन। प्लास्टिकलाई माटोमा पुर्नु भनेको माटो फोहोर बनाउनु हो। आगो अथवा तातो वस्तुले प्लास्टिकलाई असर गर्छ र यसको आकारलाई बिगार्न सक्छ। नरम प्लास्टिकलाई घामले पनि विस्तारै गलाउन सक्छ तर कडा खालको प्लास्टिकलाई खासै घामले पनि असर गर्न सक्दैन।
यदि प्लास्टिक बनाउँदा पोलिमर मात्र प्रयोग गरिएको छ भने यो हानिकारक हुँदैन। तर प्लास्टिकलाई सुन्दर, रंगीचंगी, लचिलो, चम्किलो र प्रयोगको आवश्यकता अनुसारको आकारमा परिवर्तन गर्नको निम्ति प्लास्टिक बनाउँदा थप केमिकलहरूको प्रयोग गरिन्छ भने त्यस्ता प्लास्टिक हानिकारक हुन्छन्।
उदाहरणको लागि केटाकेटीहरूले खेलाउने प्लास्टिकका रंगीचंगी गुडिया, खेलौनाहरू, दूधदानी, मिनिरल वाटरको बोतलको सही प्रयोग गर्न जानिएन भने यी हानिकारक हुन्छन्। अचेल बजारमा पाइने कमसल प्लास्टिकका तातो चिया, कफी र दूध पिउन प्रयोग हुने कप चाँही अत्यन्त हानिकारक हुन्छन्।
यस्ता किसिमको कमसल र रंगीचंगी प्लास्टिकमा थालेट र बिसफेनोल ए नामक केमिकलको प्रयोग गरिएको हुन्छ। जब यस्ता प्लास्टिक तातो अथवा प्रचण्ड घाममा पर्छ अनि विस्तारै थालेट र बिसफेनोल ए प्लास्टिकबाट चुहिन थाल्छन्। उदाहरणको लागि केटाकेटीहरूको प्लास्टिकको टिफिन बक्समा तातो अम्लेंट राखेर छोपेर पठाइदिँदा तातोले गर्दा प्लास्टिकबाट विस्तारै थालेट र बिसफेनोल ए टिफिनमा प्रवेश गर्छ अनि खाजासँगै उनीहरूले थालेट र बिसफेनोल ए रसायन पनि खान्छन्।
सबैभन्दा डरलाग्दो समस्या त अचेल हरेक चोकचोक, घुम्ती, मेला, सपिङ मल तथा अस्पतालको चमेनागृहमा तातो चिया, तातो दूध, तातो पानी र तातो कफी कमसल प्लास्टिकको कपमा बेच्ने गरिन्छ। तातो तरल पदार्थ हालेर लचकलचक र पग्लने अवस्थामा पुग्दा पनि ग्राहकहरूले पिँधमा समातेर भए पनि पिउने गरेको प्रशस्त देखिन्छ। अब आफैँ सोच्नुहोस् यस्ता प्लास्टिक प्रयोग गर्दा तातोले चुहावट भएको थालेट र बिसफेनोल ए कति पिउनु भयो होला? यस्ता किसिमको कमसल प्लास्टिकको कप चिसो पानी पिउनको निम्ति बनाइएको हो तातोको लागि होइन। भ्रममा नपर्नु होला तातो तरल पदार्थ पिउनको लागि कागजको कप हुन्छ यसमा खाँदा कुनै असर गर्दैन।
वातावरणीय स्वास्थ्य दृष्टिकोण अनुसन्धानपत्रमा प्रकाशित लेखको अनुसार बिसफेनोल ए र थालेटले मानव मस्तिष्कको आकारप्रकारमा क्षति, क्रोध र तनाव पैदा गर्ने, शरीरमा बोसोको रसायनिक परिवर्तनमा कमी ल्याउने, रोग प्रतिरोधात्मक क्षमतामा हृास ल्याउने, प्रजनन शक्ति कमजोर बनाउने, प्रोस्टेट क्यान्सर, केटाकेटीहरूको एकाग्रतामा क्षति गर्ने, गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर गराउने तथा पाचनथैलीमा इन्सुलिनको मात्र बढाउने जस्ता थुप्रै नकारात्मक असर गर्दछ ।
यसको नकारात्मक प्रभावबाट बच्न बच्चाहरूको टिफिन राख्ने प्लास्टिकको बट्टा किन्दा अलि कडा र राम्रो खालको किन्ने र धेरै तातो खाने कुरा टिफिन बट्टामा नराख्ने, किचेनमा प्रयोग गर्ने कमसल खाले प्लास्टिकको बट्टा, मिनरल वाटरको बोत्तल आदिमा तातो खाने कुरा नराख्ने, प्लास्टिकको कपमा बिर्सिएर पनि तातो चिया, कफी दूध नपिउने तथा माईक्रो ओभनमा खाना तताउँदा कमसल प्लास्टिक प्रयोग नगर्ने जस्ता कार्यहरू गर्नुपर्छ ।
यूरोप र अमेरिकामा सन् २००९ देखिनै बिसफेनोल ए र थालेटको प्रयोग गरिएको प्लास्टिकको खेलौना र बच्चाहरूको लागि प्रयोग गरिने टिफिन बट्टाहरूमा प्रतिवन्ध लागि सकेको छ तर दुर्भाग्यवस नेपाल जस्तो विकासोन्मुख मुलुकमा भने यस सम्बन्धी जनचेतनाको अभाव छ। खुलमखुला चोक चोकमा चिसो पानीको प्रयोग गर्न बनाइएको प्लास्टिक कपमा तातो दूध, कफी र चिया हालेर बेचिन्छ। यता हस्पिटलको बेडमा बिरामी सुतिरहेको हुन्छ उता हस्पिटलको चमेनागृहबाट बिरामीलाई खुवाउने सय डिग्री सेल्सियसभन्दा धरै तापक्रममा उमालेको दूध कमसल प्लास्टिकको कपमा राखेर बेचिन्छ। कलिला बच्चाहरूलाई तातो खानेकुरा कमसल प्लास्टिकको बट्टामा छोपेर पठाइने गरिन्छ। यसलाई हाम्रो चेतनाको दुर्भाग्य भन्दा फरक नपर्ला ।