महोत्तरीमा केही समययता नेपाली नक्कली नोटको विगविगि बढेको छ । यस्ता नोटबारे वित्तिय कारोबार गर्ने निकायसमेत पुष्टि गरेका छन्।
बैंक श्रोतका अनुसार भन्सारका कर्मचारी सुन ब्यवसायी, जग्गा कारोबारी र ब्यापारीले जम्मा गर्न ल्याएका रूपैयाँका गड्डीबाट नक्कली नोट फेला पर्ने गरेका छन्। सरकारी कार्यालय र बैंकको स्लीप लागेका ठेलीमा समेत नक्कली नोट फेला परेको छ।
संगीन अपराधको सूचिमा पर्ने नक्कली नोटको विगविगिबारे प्रहरीले अनभिज्ञता प्रकट गरेको छ भने बैंकहरुले ग्राहक भड्कने कारण घटनालाई गुपचुप राख्ने गरेका छन्।
बरामद नक्कली नोटमा सेक्युरिटी थ्रेड बाहिरबाट टासेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाईएको छ।
जलेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंकका अनुसार जलेश्वर भन्सार कार्यालयले जम्मा गर्न ल्याएको राजस्वका ठेलीबाट १ हजारको एक थान नक्कली नोट फेला परेको थियो।
जलेश्वर भन्सार कार्यालयबाट दर्जनौ पटक यस्ता नक्कली नोट ल्याउने गरेको बैंक स्रोतले जनाएको छ। बैंकका क्यासियर शुसीलकुमार साहले यसरी फेला पर्ने नक्कलीमा अधिकांश हजारका नोट पाइएको बताए।
त्यसपछि ५ सय र १ सयका नोटहरू पनि छन्। साहले नक्कली नोटहरू देखाउँदै बरामद भएपछि मार्करले क्रस चिन्ह लगाएर प्राय उनीहरुलाई नै फिर्ता पठाउने गरिएको जनाए।
बर्दिवासस्थित राष्ट्र वाणिज्य बैंकको शाखाले ग्राहकलाई भुक्तानी गरेको नोटमा पनि नक्कली फेला परेको छ। त्यो दिन नक्कली फेला परेका नोटका गड्डीमा एसवीआई बैंकको स्लीप थियो। ग्राहकले भुक्तानी लिएर बर्दिवासकै सनराईज बैंकमा जम्मा गर्न जाँदा २ थान हजारका नोट नक्कली रहेको पहिचान भएको थियो।
उजुरीपछि ग्राहकलाई नोटसहित एसवीआई बैंक पठाएको थियो। बाणिज्य र एसवीआईमा मात्र नभएर नक्कली नोटको समस्या धेरथोर जिल्लाका सवै बैंकले ब्यहोर्दै आएका छन्। सक्कली जस्तै देखिने जाली नोटबाट बैंकका कर्मचारी र लेखापालसमेत झुक्किने हुँदा यसको विगविगि सहजै अनुमान गर्न सकिन्छ।
सेन्चुरी बैंकका एक कर्मचारीका अनुसार अत्याधुनिक मेसिनले मात्र यी नोट पहिचान गर्न सक्छन्। तर, सबैभन्दा बढी नगद कारोवार गर्ने जलेश्वरस्थित राष्ट्र बाणिज्य बैंकमासमेत यस्ता मेसिन नभएकाले कति नक्कली खपत भइरहेछन् भन्न गाह्रो छ ।
जिल्लाभर नक्कली नोटको विगविगि बढेको बैंकहरुले जनाईरहेको बेला प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । बैंकहरुमा नियमित जसो नक्कली नोट फेला परे पनि जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाको रेकर्डअनुसार २०७० साल यता त्यस्तो नोट फेला परेको छैन।
एक बैंकका कर्मचारीले जाली नोट फेला परेको प्रहरीलाई सूचना दिँदा ग्राहक भड्किने र कर्मचारीलेसमेत बयान, दसीप्रमाण जस्ता कानूनी झण्झट बेहोर्नुपर्ने हुँदा बैंकहरुले सूचना गुपचुप राख्दै आएको बताए।
मुलुकी ऐन अनुसार जाली नोटका कसुरदारमाथि विगोबमोजिम जरिवाना र १० वर्ष कैदको ब्यवस्था छ ।