काठमाडौं, चैत प्रधानमन्त्री के.पी.शर्मा ओलीले सोमबार राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको शिला अनावरण गरी उद्घाटन गरेका छन्। त्यस वअसरमा उनले अत्याधुनिक कार्यालय परिषरको अवलोकन समेत गरेका थिए।
प्रधानमन्त्री के.पी.शर्मा ओलीले सोही अवसरमा सो प्रशिक्षण प्रतिष्ठानको भौतिक संरचनाहरु निर्माणमा अनुकरणीय भूमिका निर्वाह गर्ने चाइना रेलवे चौधौं व्यूरो ग्रुप कर्पोरेसन लिमिटेडका जेनेरल म्यानेजर ज्याङ्ग जिन जुङ्गलाई प्रशंसापत्र प्रदान गरेका थिए।
प्रधानमन्त्री ओलीले आकर्षक र उपयोगि भौतिक संरचना तयार भएको उल्लेख गर्दै समयानुकुल दक्ष र सक्षम मानवश्रोत उत्पादनमा सधैं ध्यान पुर्याउनुपर्ने कुरा समेत उल्लेख गरे।
गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले भवन परिषरको अधिकतम उपयोग गरी विज्ञ उत्पादनमा उक्त प्रशिक्षण प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे।
चीनका महामहिम राजदूत यु होङ्गले उक्त प्रशिक्षण प्रतिष्ठानको निर्माण कार्य महत्वपूर्ण प्रोजेक्ट रहेको बताए।
उनले निर्धारित समय अगावै सो प्रतिष्ठानको निर्माण कार्य सम्पन्न भएको कुरा समेत उल्लेख गरे।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सीमा सुरक्षा, विपद व्यवस्थापन, औद्योगिक सुरक्षा, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विविध कार्यमा मानव संसाधन विकासको दिशामा सो प्रतिष्ठानको निर्माण एवं संचालनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
चीन सरकारबाट ३ अर्ब ६० करोडको लागतमा निर्माण सम्पन्न भएको बताए।
उक्त राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, नेपाल सरकारको २०६४ साल असोज ३० गतेको निर्णयले स्थापना भएको हो ।
प्रारम्भमा नुवाकोटको ककनीमा रहेको सो प्रतिष्ठानका लागि साविक मातातीर्थ गाउँ बिकास समिति वडा नं. ५ मा रहेको ३ सय १८ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय २०६७ साल पुस ६ गते नेपाल सरकारबाट भएको थियो ।
वातावरणीय दृष्टिकोणले अत्यन्तै उपयुक्त सो स्थान हाल चन्द्रागिरी नगरपालिकाको वडा नं. ८ मा पर्दछ, जुन समुन्द्र सतहबाट १ हजार ६ सय मिटरको उचाईमा रहेको छ ।
३ सय १८ रोपनी क्षेत्रफलमा पाँच तले प्रशासनिक भवन, चार तले चारवटा व्यारेक भवन, दुई तले मेस भवन, एउटा क्वार्टर गार्ड, कभर्ड हल, फाइरिङ रेन्ज, अन्तर्राष्ट्रिय स्तरको स्वीमिङ पुल, रंगशाला र दुई सय चार सीट क्षमताको सभाहल लगायतका पूर्वाधारहरु निर्माण सम्पन्न भएको छ ।
उक्त कम्पनीले तोकिएको समयभन्दा ६ महिना अगावै निर्माण सम्पन्न गरी २०७४ साल असार १६ गते चीनिया राजदूतद्वारा नेपाल सरकारका तत्कालीन गृहमन्त्री मार्फत सशस्त्र प्रहरी बल नेपाललाई सो प्रतिष्ठान हस्तारण भएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्रीहरु, गृहसचिव मोहनकृष्ण सापकोटा, पूर्व सशस्त्र प्रहरी महानिरीक्षहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकृतहरु एवं विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो।