रुपन्देहीको रोहिणी गाउँपालिकाको खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ।
रोहिणी गाउँपालिका वडा नम्बर २ श्रीनगरका ८० वर्षीय मथुरा बानियाँको खोलामा डुबेर मृत्यु भएको हो।
गाउँ बाहिर रहेको खोलाको कल्भर्ट छेउमा बसिरहेका बानियाँ एक्कासी पानीमा खसेका थिए। खोलाकै छेउछाउमा रहेको बालबालिकाले वृद्धलाई खोलामा खसेको देखेपछि गाउँलेलाई खबर गरेका थिए।
बालबालिकाले दिएको खबर पछि गाउँलेले खोजी गर्दा वृद्ध नभेटिएपछि बल्ल ईलाका प्रहरी कार्यालय धकधईमा खबर गरेका थिए।
घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल पजरकट्टी बेस क्याम्प र स्थानीयहरू समेतको सहयोगमा खोलामा खसेको करिब २ घण्टापछि उनलाई मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ।
वृद्ध खोलामा कसरी खसे भन्नेबारे अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि भैरहवाको भीम अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायब निरीक्षक भरत थापाले बताए।