कार्यकारी परिषद्ले गरेका नियुक्ति खारेजीको माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी र प्रध्यापक आन्दोलनमा छन्। आन्दोलनसँगै पाँच वटा संकायका डीन कार्यालय र केन्द्रीय कार्यालयमा लागेको ताला नखुल्दा विश्वविद्यालय नै अस्तव्यस्त बनेको हो।
विश्वविद्यालयका उपकुलपति एवम् कार्यकारी परिषद्का अध्यक्ष डा. उपेन्द्रकुमार कोइरालाले असोज ७ गते परीक्षा व्यवस्थापन प्रमुखमा डा. आनन्दप्रसाद सुवेदी, परीक्षा सहव्यवस्थापन प्रमुखमा खेमराज रावत, मानविकी तथा सामाजिक शास्त्र संकायको क्याम्पस प्रमुखमा तेजविक्रम बस्नेत र कानुन संकायको कार्यक्रम संयोजकमा अर्जुनबहादुर ऐडीलाई नियुक्त गरेका थिए।
असोज ७ गते परिषद्ले गरेका सोही नियुक्ति खारेजीको माग गर्दै विद्यार्थीसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका हुन्।
विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसका प्रध्यापक र कर्मचारीले तलब पाएका छैनन्। आन्दोलनरत पक्षसँग वार्ताका लागि गठित समितिले भने समयसीमाभित्र समस्याको समाधान गर्न नसकेर राजीनामा दिएको छ।
कार्यकारी परिषद्का सदस्य–सचिव रहेका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लको उपस्थितिबिना उपकुलपतिले परीक्षा व्यवस्थापनका साथै विभिन्न संकायमा नियुक्ति गरेपछि स्वतन्त्र विद्यार्थी युनियनसहित नेपाल विद्यार्थी संघ, अखिल छैटौं, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघलगायतका संगठनसँगै प्रजातन्त्रवादी प्रध्यापक संघलगायतका अरु प्राध्यापक संगठनहरू आन्दोलित छन्।
विश्वविद्यालयका कानुनी सल्लाहकारले नै असोज ७ गतेको कार्यकारी परिषद्को निर्णय नियमानुसार नभएको राय दिइसकेकाले खारेजी गर्नुको विकल्प नभएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष झक्क शाहीले बताए।
उनले विधि, विधान र प्रक्रियाविपरित गरिएका निर्णय खारेजी नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि बताएका छन्।
विश्वविद्यालयका कानुनी सल्लाहकारहरू वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल र प्रेमध्वज शाहीले रजिष्ट्रारलाई दिएको कानुनी सल्लाहमा विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली अनुसार कार्यकारी परिषद्को बैठकका लागि सदस्य–सचिवले एक दिन अगावै सूचना दिनुपर्नेछ भन्ने व्यवस्था गरिएको र कार्यकारी परिषद्को सदस्य–सचिव रजिष्ट्रार हुने व्यवस्था भएकाले कार्यकारी परिषद्को बैठकमा रजिष्ट्रार (सदस्य–सचिव) को उपस्थिति अनिवार्य हुनुपर्ने उल्लेख छ ।
यस्तै, परीक्षा व्यवस्थापन सहप्रमुखको नियुक्ति नियमानुसार नभएको पनि कानुनी रायमा उल्लेख छ।
‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली (तेस्रो संशोधन) २०६९ को नियम ११२ को उपनियम (३) मा परीक्षा व्यवस्थापन सहप्रमुखमा नियुक्त हुनका लागि कम्तीमा मान्यता प्राप्त विश्वविद्यालयको उपप्रध्यापक हुनुपर्ने र परीक्षा व्यवस्थापन सहप्रमुखको नियुक्ति रजिष्ट्रारको सिफारिसमा कार्यकारी परिषद्ले गर्नेछ भन्ने स्पष्ट एवम् किटानी व्यवस्था छ’ अधिवक्ताद्वयले दिएको कानुनी रायमा भनिएको छ।