निष्पट्ट अन्धकारबाट प्रकाशको मसिनो किरण देख्दा पनि मन सन्चो हुन्छ। काठमाडौं महानगरका सडकमा केही दिनयता भइरहेका थोरै सरसफाइले यस्तै अनुभूति दिइरहेको छ।
काठमाडौं महानगरमा बिहानको समय तीनवटा ब्रुमरले सडक सफा गर्न थालेका छन्। साँझ र दिउँसो व्यस्त सडकमा ब्रुमर चलाउन अप्ठ्यारो पर्ने हुँदा बिहानै सफा गर्न थालेको महानगर, वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए।
सडक सफाइमा जुटेका यी ब्रुमर महानगरका भने होइनन्। चीनले महानगरलाई नि:शुल्क दिएका तीनमध्ये दुइटा बिग्रिएका छन्। एउटा सद्दे पनि वसन्तपुर दरबार क्षेत्रमा छ। जसले दरबार क्षेत्रको फोहोर सफा गरिरहेको महानगरले जनाएको छ।
आफ्नो बिग्रिएपछि महानगरले सडक विभागसँग समन्वय गरी उसैका ब्रुमर प्रयोग गरिरहेको श्रेष्ठले जानकारी दिए।
यो सधैंका लागि भने होइन।
दुई महिनाभित्र महानगरका सात ब्रुमर भित्रिँदैछन्। तीमध्ये दुईवटा चीन सरकारले दिन लागेको हो। यसको समझदारी पहिल्यै भइसकेको थियो।
वातावरणीय सुधारका लागि चीनको छेङ्दु नगरले ती ब्रुमर दिएको हो। छेङ्दुका प्रतिनिधि वाङ ग्वाङ्लियाङले गत साउन १३ गते साँचो हस्तान्तरण गरेका थिए। चीन सरकारले दिने यी दुई ब्रुमर यसै महिनाभित्र आइपुग्ने महानगरले जनाएको छ।
बाँकी पाँचवटा ब्रुमर महानगरले किन्न लागेका इटालियन हुन्। यसको लागत १३ करोड रूपैयाँ रहेको महानगरले जनाएको छ।
'यी सबै ब्रुमरले एकैचोटि सफा गर्न थालेपछि काठमाडौंका मुख्य सडक सफाचट देखिनेछन्,' विभाग प्रमुख श्रेष्ठले भने।
उनका अनुसार यी ब्रमुरले महानगरभित्रका सडकमा जम्मा भएको धूलो दिनहुँ उठाउनेछ। मेसिनले एक घन्टामा ५ किलोमिटर सडकको धूलो उठाउने उनले जानकारी दिए। यसअनुसार प्रतिदिन करिब २ सय किलोमिटर सडक सफा गर्ने लक्ष्य छ।
महानगरले किन्न लागेका यी इटालियन ब्रुमर पहिलेका भन्दा स्तरीय र टिकाउ भएको पनि उनले दाबी गरे।
‘हामीसँग भएका पुराना ब्रुमरले साना धूलो मात्र उठाउँथ्यो। हाम्रो सडक सुहाउँदो थिएन,’ प्रमुख श्रेष्ठले भने, ‘अब आउने मेसिनले सडकमा छरिएका गिट्टी, बालुवाजस्ता ठूला फोहोर पनि सजिलै उठाउँछ।’
पाँचमध्ये ४ वटा ब्रुमर १६ टन बराबरका छन्। यसको प्रतिथान मूल्य १ करोड ७९ लाख ५३ हजार रुपैयाँ हो। बाँकी ६ टन बराबरको एक थान ब्रुमरको १ करोड ४८ लाख पर्नेछ।
यति मात्र होइन, ब्रुमरले सडक सफा गरेपछि पानी खन्याएर थप धुलो उड्नबाट रोक्न महानगरपालिकाले पाँच वटा जेट मेसिन पनि ल्याउने भएको छ। चार करोड रूपैयाँ बराबरको जेट मेसिन आयात ठेक्का नेपाली कम्पनी म्यापले पाएको छ।
'ब्रुमरले धूलो उठाएपछि जेट मेसिनले सडकमा पानी छरेर सानोतिनो धूलो उड्नबाट रोक्नेछ,' उनले भने, '९८ किमी प्रतिघन्टा गति भएको यसले सडकको अवस्था हेरेर प्रतिघन्टा तीन किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ।'