चालू आर्थिक वर्षको चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्टाचारसम्बन्धी ३२३ उजुरी दर्ता भएका छन्। जसमध्ये सबैभन्दा धेरै उजुरी सुर्खेतबाट दर्ता भएका छन्।
कार्यालयका अनुसार सुर्खेतबाट १०६ उजुरी दर्ता भएकोमा ३२ उजुरी फर्छ्यौट भएका छन् । दैलेखबाट ८५ उजुरी परेका छन् भने तीमध्ये १९ ओटा उजुरी फर्छ्यौट भैसकेका छन्। यस्तै, जाजरकोटबाट ७३, कालिकोटबाट ५८, जुम्लाबाट ४२, हुम्लाबाट ४०, रुकुम (पश्चिम)बाट ३५, सल्यानबाट ३३, मुगुबाट २१ र डोल्पाबाट ६ वटा उजुरी सुर्खेतस्थित कार्यालयमा दर्ता भएका छन् ।
जसमध्ये कालिकोटका ६, जुम्लाका १२, हुम्लाका ५, रुकुम पश्चिमका ८, सल्यानका ११, मुगुका ३ ओटा उजुरी फर्छ्यौट भैसकेका छन्। डोल्पाबाट दर्ता भएका कुनै पनि उजुरी फर्छ्यौट नभएको कार्यालय प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ बाट जिम्मेवारी सरेका र यस आर्थिक वर्षको कात्तिक मसान्तसम्मा दर्ता भएका ५०३ उजुरीमध्ये ११२ उजुरी फर्छ्यौट भैसकेको कार्यालयले जनाएको छ।
हाल बाँकी ३९१ उजुरीहरू अनुसन्धानको क्रममा रहेको प्रमुख ज्ञवालीले जानकारी दिए।
दुई करोडभन्दा धेरै राजस्व
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएदेखि हालसम्म सुर्खेतस्थित कार्यालयमार्फत् २ करोड बढी राजस्व असुल भएको छ। सुर्खेतमा २०७० सालमा आयोगको कार्यालय स्थापना भएको हो। हालसम्म यस कार्यालयमार्फत् २ करोड १४ लाख ५६ हजार ७१५ रुपैयाँ राजस्व असुल भएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५० लाख ४९ हजार ५१२, आर्थिक वर्ष ०७२/०७३ मा १ करोड १४ लाख ९२ हजार ६४६, आर्थिक वर्ष २०७३/०७४ मा ११ लाख ७३ हजार ९९१ रुपैयाँ अनुसन्धानका क्रममा राजस्व असुल गरिएको हो। यस्तै, आयोगको निर्णयबाट आर्थिक वर्ष ०७२/०७३ मा ५९ हजार ६ सय रुपैयाँ राजस्व असुली गरिएको कार्यालयले जनाएको छ।
सुर्खेतस्थित कार्यालयले अहिलेसम्म ३६ ओटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। ती सबै मुद्दामा ९० जनालाई प्रतिवादी बनाइएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै तीन मुद्दामा ७ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख ज्ञवालीले बताए।
आयोगले आजसम्म २८ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ । जसमध्ये चालू आर्थिक वर्षमा १ जना रंगेहात पक्राउ परेका छन् ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार मसान्तसम्म आयोगमा परेका उजुरीमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित १५५ ओटा उजुरी रहेका छन्। यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित १४५ उजुरी परेका छन् ।
विषयगत रूपमा सबभन्दा कम उजुरी युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ। उक्त मन्त्रालयसँग सम्बन्धित एकमात्र उजुरी दर्ता भएको छ।
सुर्खेत जिल्लाबाट मात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित ३७ उजुरी छन् भने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित २३ ओटा उजुरी छन्।
यस्तै, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित १९ तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित १० ओटा उजुरी कार्यालयमा दर्ता भएका छन्।
कार्यालयका अनुसार खानेपानी मन्त्रालयसँग सम्बन्धित ४, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित ३, उर्जा मन्त्रालयसँग सम्बन्धित २, कृषि मन्त्रालयसँग सम्बन्धित २, उद्योग मन्त्रालयसँग सम्बन्धित १, गृह मन्त्रालयसँग सम्बन्धित १ तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित १ उजुरी सुर्खेतबाट दर्ता भएका छन्।
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस सुर्खेतमा पनि मनाइँदै
भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले पनि वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ।
यही मंसिर २३ गते विहान ११ बजे कार्यालयले जिल्ला समन्वय समितिको हलमा कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा मुख्यमन्त्रीसहित विभिन्न तहका जनप्रतिनिधिको सहभागिता रहने कार्यालयले जनाएको छ।