कोदालोले हिर्काएर दैलेखमा छोराले आमाको हत्या गरेका छन्।
नारायण नगरपालिका–३ भुर्तीगाउँका २६ वर्षीय बालाराम नेपालीले ४६ वर्षीया आमा पार्वती सार्कीको सोमबार हत्या गरेका हुन्।
घरमै बसिरहेका बेला उनले आमालाई कोदालोले टाउकोमा हिर्काएका थिए। पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीका अनुसार बालाराम मानसिक रूपमा अस्वस्थ रहेका थिए । उनले सोमबार दिउँसो आत्महत्या गर्न भन्दै डोरी बोकेर घरबाट जान लागेको बेला आमाले रोकेपछि कोदालोले हिर्काएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
एक्कासी कोदालोले हिर्काएपछि बेहोस बनेकी पार्वतीलाई बचाउन गएकी ७० वर्षीया जुहारा नेपालीलाई पनि वालारामले कोदालो प्रहार गरेपछि उनी पनि घाइते भएकी छन्।
यस्तै, बचाउन गएका छिमेकी मनिसरा नेपाली र कौशिला नेपाली पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भैरहेको छ।
मृतक पार्वतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेखमा राखिएको छ । प्रहरीले वालारामलाई नियन्त्रणमा लिएको छ।