पूर्वयुवराज पारस शाहले ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका छन्।
सोमबार बिहान पूजाआजाका लागि उनी त्यहाँ पुगेका हुन्। उनले त्यहाँ करिब डेढ घण्टा बिताए।
उनलाई पञ्चकन्याले फूलमाला लिएर स्वागत गरे भने सर्वसाधारणले फूलको गुच्छाले स्वागत गरे। त्यस्तै, उनलाई स्वागत गर्नका लागि ललितपुरका मेयर चिरिबाबु मर्हजन पनि पुगेका थिए।
राजा आउ देश बचाउ,युवराजधिराज सरकार जिन्दावाद भन्दै सर्वसाधारणले नारा लगाएका थिए।
धेरैपछि उनी सार्वजनिक स्थलमा देखापरेकाले उनलाई हेर्नेको भीड उल्लेख्य थियो। उनलाई स्वागत गर्नका लागि कोही नेपालको झण्डा बोकेर पनि आएका थिए।
उनी हँसिलो मुद्रामा देखिन्थे। सर्वसाधारणलाई अभिवादन गर्दै उनीहरूसँग घुलमिल भइरहेको देखिन्थे।
उनको स्वागतका लागि करिब ५/६ सय जना त्यहाँ उपस्थित थिए। भीडलाई नियन्त्रण गर्नको लागि प्रहरी परिचालन गर्नसमेत परेको थियो।
कमै सार्वजनिक स्थलमा देखिने उनी बेलाबेलामा यस्ता कार्यक्रममा भने देखिन्छन्।
हेर्नुहोस् तस्बिरमा :