नेपालको पहिलो सिनेमास्कोप सिनेमा ’राँको’बाट नेपाली सिनेमाको निर्देशनमा डेव्यु गरेका निर्देशक किशोर रानाको बुधबार निधन भएको छ । उनी गायिका संगीता राना प्रधानका पति हुन्।
५४ वर्षिय राना लामो समयदेखि मृगौला रोगबाट पीडित थिए। विगत ६ वर्षदेखि उनले मृगौलाको नियमित डाइलिसिस गर्दै आएका थिए । आर्थिक अभावका कारण उनले मृगौला प्रत्यारोपण हुन सकेको थिएन।
‘प्रतिबिम्ब’ सिनेमा निर्माणको क्रममा मृगौलामा समस्या देखापरेपछि सुरूमा उनलाई भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गराइएको थियो । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उनको दुबै मृगौलामा खराब भएका थिए ।
२०१२ साल माघ ७ गते सुनसरीमा जन्मिएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो । २० वर्षको उमेरमा दार्जीलिङको डुवर्सबाट भागेर मुम्बई पुगेका किशोरलाई सडकमा भेटिएका गोपाल भुटानीले सामान्य कामदारका रुपमा बलिउड प्रवेश गराएका थिए ।
बलिउडमा करीब २२ वर्ष बिताएका उनले नेपाली सिनेमामा पहिलो पटक विएस थापाको ’कान्छी’बाट सहायक निर्देशकको रुपमा काम गरेका थिए । त्यसका अलावा उनले केही भोजपुरी सिनेमा समेत उनले लेखन तथा निर्देशन गरेका छन् ।
राँको, कर्जा, एक नम्बरको पाखे, करोडपति, तथा सीमारेखा उनले निर्देशन गरेका सफल सिनेमा हुन्।
उनले नेपाली सिनेमासँगै सिनेमाका निर्देशक गरेका किशोर रानाले नेपालको जोमसोममा छायाँङ्कन गरिएको मल्टीस्टार हिन्दी सिनेमा ‘खुदा गवाह’ को लोकेशन व्यवस्थापन हेरेका थिए।
यस्तै मुम्बईमा रहँदा उनले अन्धा कानून, जोन जानी जनार्दन, मुझे इन्साफ चाहिए, घरघरकी कहानी लगायत जमानाका दर्जनौं हिन्दी सिनेमाका मुख्य सहायक निर्देशक भएरसमेत काम गरेका छन् ।
किशोरलाई २०७४ को एलजी सिने अवार्डमा दीर्घ साधना सम्मानबाट सम्मान्नित गरिएको थियो ।