भदौ १० गते दिउँसो बजे सिरहा कर्जन्हा नगरपालिका-३ का पाँच वर्षीय बालक शिवम् यादवको अपहरण भयो।
जिल्ला प्रहरी कार्यालयबाट चालीस किलोमिटर उत्तरपश्चिमस्थित शंकर कार्कीको घरमा बालक र उनका बुवा-आमा डेरा बस्थे।
बुवा बच्चालाल र आमा सुखनीदेवी ज्याला मजदुरी गर्थे। दिउँसै छोरा हराएपछि उनीहरूले तनावमा गुज्रिन पुगे।
साउन महिनादेखि सुखनीकी भदैनी सुरेखा र ज्वाइँ शोभित मुखिया उनीहरू बसेकै घरमा डेरा बस्न थालेका थिए। त्यसअघि उनीहरू महोत्तरी बस्दै आएका थिए। उनीहरू चटपटे बेच्थे।
फूपू-भदैनीले सँगै बस्ने निर्णय गरेपछि सुरेखा श्रीमान् शोभितलाई लिएर सिरहा आएकी थिइन्। सुखनी र बच्चालाल त्यहाँ पाँच वर्षदेखि बसिरहेका थिए।
भदैनी र ज्वाइँ आएको एक महिना मात्रै हुँदै थियो। भदौ २ गते सुरेखा घरबाट बेपत्ता भइन्। उनको अहिलेसम्म पत्तो लागेको छैन। न शोभितले कानुनी प्रक्रिया अपनाएर खोजेकै थिए।
भारत सितामढी घर भएका शोभित श्रीमती हराएपछि आक्रोशित हुन थाले। आफ्नी श्रीमतीलाई फूपू-फूपाजूले भगाएको आरोप लगाउन थाले।
उनले बारम्बार आरोप लगाउँथे- मेरी श्रीमती तिमीहरूले नै भगायौ।
तर, ‘नखाएको विष लाग्दैन’ भन्दै सुखनीदेवी र बच्चालालले उनको आरोप अस्वीकार गरिरहे।
शोभितसँग उनीहरूको सम्बन्ध त्यही घटनाले विस्तारै चिसिँदै गयो। न सुरेखा भेटिइन् न शोभितले आरोप लगाउनै छोडे।
बीचबीचमा शोभित धम्की दिन्थे- मेरी श्रीमतीलाई नल्याए छोरो अपरहण गरिदिन्छु।
भदौ १० गते नभन्दै छोरो हराएपछि सुखनी र बच्चालालले शंका शोभितमाथि नै गर्न थाले। उनैले बालक लगे भन्ने यकिन हुन एक-दुई घन्टा लाग्यो।
साँझ मोबाइलमा फोन गरेर शोभितले भने- तिमीहरूको छोरा मैले अपहरण गरेँ। प्रहरीलाई खबर गरे मारिदिन्छु।
सुखनीदेवी र बच्चालाललाई अब आपत्ति आइलाग्यो। प्रहरीलाई भनौं छोरो मारिने डर, नभनौं अपहरण त भइसक्यो।
त्यो समस्यासँग जुध्दैगर्दा उनीहरूलाई छरछिमेकीले फकाए र प्रहरीमा फोन गर्न लगाए।
राति ९ बजे जिल्ला प्रहरी कार्यालयमा खबर आयो- कर्जन्हाबाट बालकको अपहरण भयो, अपहरणकारीको हुलियासहित।
भारतसँग सीमा जोडिएको जिल्ला। तराई र त्यसमाथि अपहरण र फिरौतीका घटना भइरहने क्षेत्र। अब प्रहरीलाई तनाव सुरू भयो।
प्रहरी तत्काल घटना भएको घरमा पुग्यो। शोभित पहिले बसेको क्षेत्र र सीमावर्ती क्षेत्रमा परिचालित भयो।
शोभितले बोक्ने मोबाइल नम्बर ‘ट्रेस’ गर्दै खोजी गर्न जिल्ला प्रहरी कार्यालय सिरहा र संघीय प्रहरी इकाई जनकपुरबाट प्रहरी परिचालन भए। प्रहरी सीतामढीसम्म पुग्यो। तर, शोभित भेटिएनन्।
यता अपहरणकारी शोभितले बच्चालाल र सुखनीदेवीलाई फोन गर्न छोडेका थिएनन्। नेपाल तथा भारतको सीमकार्डबाट फोन गरेर भन्थे- मेरी श्रीमती ल्याएको खबर पाउँ, नत्र बच्चा मारिदिन्छु।
बच्चालाल र सुखनी प्रहरीलाई यही सुनाउँदै रोइकराइ गर्थे। प्रहरी झन् तनावको गहिराइमा पुग्थ्यो। साथसाथै, शोभित र बालकको खोजीलाई तीव्र पारिरहन्थ्यो।
फोनको लोकेसन हेर्दै जाँदा बिहीबार प्रहरी टोलीले सर्लाही विष गाउँपालिका-५ बाट शोभितलाई बालकसँगै पक्राउ गर्यो।
रातदिन गरेर दुई दिनको मेहनतमा प्रहरीले बालकलाई सकुशल उद्धार गरेपछि प्रहरी तनावमुक्त बन्यो।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नाउब उपरीक्षक अपिलराज बोहराका अनुसार यसबीचमा शोभितले बालकलाई धनुषा, महोत्तरी, भारत सीतामढी हुँदै पुन: सर्लाही ल्याएका थिए।
बोहराका अनुसार शोभितले पहिले बालकलाई धनुषाको पोताहा लगेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ। त्यसपछि उनले महोत्तरीको बर्दीबास, राम गोपालपुर, भितामोड हुँदै भारत सीतामढी लगेका थिए। बिहीबार बिहान सीतामढीबाट सर्लाही फर्किएका थिए। बालकलाई लिएर सर्लाही आउने क्रममा नेपाल-भारत सिमानाको विष्णु गाउँपालिका वडा नम्बर ५ बाट प्रहरीले समातेको थियो।
बिहीबार उद्धारपछि अपहरित बालकको स्वास्थ्य परीक्षण गर्दा उनी सामान्य अवस्थामा रहेको बुझिएपछि शुक्रबार आफन्तको जिम्मा लगाइएको बोहराले बताए। शोभितलाई अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान थालिएको उनले बताए।
सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार सिरहामा अपहरण-फिरौतीका घटना यसअघि धेरै हुन्थे। तर, यस किसिमको ‘बार्गेनिङ’युक्त घटनाले प्रहरीले निकै सास्ती खेप्नु पर्यो।
उनका अनुसार शोभित बालकलाई अपहरण गरेर आफ्नी श्रीमती फर्किने आशमा यो घटना गराइरहेका थिए। ‘उनी धेरैसमय बालकलाई राख्न सक्दैनथे, केही समयपछि मार्ने योजना बनाइसकेका थिए,’ चतुर्वेदीले सेतोपाटीसँग भने, ‘हाम्रो अथक मेहनतले बालकको ज्यान जोगिएको छ, हामी यसैमा खुसी छौं।’
सिरहामा अपहरण भएर सकुशल उद्धार गरेको यो निकै दुर्लभ घटना भएको उनले दाबी गरे।
उनका अनुसार सितामढीबाट महोत्तरी आएर चटपटे बेच्ने क्रममा शोभित र सुरेखाको चिनजान भएको थियो। केही समयको चिनजानपछि उनले सुरेखालाई बिहे गरेका थिए। त्यसअघि सुरेखा अर्कैकी श्रीमती थिइन्।
चतुर्वेदीका अनुसार शोभितले लगाएको आरोपबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, बालकका आमा-बाबुले सुरेखालाई भगाएको भन्ने आरोपमा सत्यता भेटिएको छैन।
‘हराउनेवित्तिकै कानुनी रुपमा शोभितले कतै पनि रिपोर्ट नगरेकाले खोजी भएन, अपहरण घटनाले सो प्रकरणको पनि पर्दा खोलेको छ,’ चतुर्वेदीले भने, ‘सुरेखा कहाँ गइन् भन्नेतिर पनि हामी अनुसन्धानमा जुटेका छौं।’
सुरेखा आफ्ना पूर्वपतिसँग गइन् कि भनी प्रहरीले अनुसन्धान गर्दा त्यहाँ पनि नभेटिएपछि सो घटनाको वास्तविकता पत्ता लगाउन जटिल बनेको एसपी चतुर्वेदीले बताए।