हुम्लामा भएको टिपर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ। १३ जना सवार टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।
उपचारका लागि जिल्ला अस्पताल हुम्ला ल्याइएका अर्का एक घाइतेको उपचारका क्रममा निधन भएपछि मृतकको संख्या चार पुगेको हो।
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटनामा परेको थियो ।
जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला अस्तालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन।
दुर्घटनामा घाइते अन्य ११ जनाको अवस्था चिन्ताजनक रहेको बोहराले बताएकी छन्।
नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामानका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजिकै दुर्घटना भएको हो।
चालकले अत्याधिक मदिरा सेवन गरी टिपर हाँकेको पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ।
घटनापछि स्थानियवासीले काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्क घर भएका टिपर चालक आनन्द तामाङलाई प्रहरीसमक्ष बुझाएका थिए।
मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया छन्।
टिपर मूल सडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताए।