इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट शनिबार साँझ सात जना थुनुवा फरार भएका छन्।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६:३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ।
अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रजिअ अधिकारीले बताए।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा आज भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए।
सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान प्रहरीको छ।
ठूलो सङ्ख्यामा एकै पटक थुनुवाहरु फरार भएकाले घटना बारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाइ छ।
यता घटना बारे सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीसँग थप जानकारी लिन खोज्दा उनले कुरा गर्न चाहेनन्।